बिकाउ बनाउँछन् भगवान !

 असोज २१, २०७५ आइतबार १४:४६:५२ | सन्जिता देवकोटा

काठमाडौं – नाम नै बिकाउ पण्डित । काम, भगवानको मूर्ति बनाएर बेच्ने । सानोमा बाँच्नको लागि भगवान पुकार्दै आफैं बेचिनुपर्यो, अहिले गुजारा चलाउन बिक्ने भगवान बनाउनुपर्छ । नाम, काम र जिन्दगीको यात्रामा अचम्मको संयोग छ, सर्लाहीका ५१ वर्षीय बिकाउ पण्डितको ।

ललितपुर कुपण्डोलमा मूर्ति बनाउन व्यस्त हुनुहुन्छ, उहाँ । वरिपरि भगवान नै भगवानको मूर्ति छ । मूर्तिको बीचमा हुनुहुन्छ, बिकाउ । सुकेको ज्यान । रातो टिर्सट, शिरमा गम्छा । उहाँ एकोहोरो भगवान बनाउन व्यस्त हुनुहुन्छ । दसैँका लागि धेरै दुर्गा माताको मूर्ति बनाउनु छ, उहाँलाई ।

बिकाउले बनाएका भगवानसँग कतिले के के मागे होलान् ! कतिको मनोकांक्षा पूरा भए होलान् । कतिका अपुरै होलान् । अरुले पुज्ने उनै भगवानको मूर्ति बनाउने बिकाउको मनोकामना भने विल्कुल फरक छ । भगवानको मूर्ति बनाउन पाइयोस् र त्यो बेचेर गुजारा चलाउन पाइयोस्, बस् यति मात्रै हो उहाँको कामना र चाहना ।

बिक्ने भगवान र बिकाउको कथा उस्तै छ । हिजोआज आफैंले बनाएका भगवान हजारौंमा बेच्नुहुन्छ बिकाउ । तर दुई महिनाको हुँदा उहाँ आफैं दुई रुपैयाँमा बिक्नुभएको थियो । 

यसरी बेचिए बिकाउ

बिक्री हुने भगवान बनाउने बिकाउले आफैं बिक्री हुँदाको विगतबाट सुरु गर्नुभयो जिन्दगीको कथा । चार दाजुभाइ र एक दिदीका कान्छो भाइ हुन् बिकाउ । ‘म जुम्ल्याहा हुँ, मेरो भाइ त जन्मिएको दुई महिनामै बितिहाल्यो, त्यसैले मै कान्छो हुँ,’ बिकाउले भन्नुभयो । 

बिकाउको जुम्ल्याहा भाइ दुई महिनामा बितेपछि आमाले बिकाउ पनि बाँच्ने आश मार्नुभएको थियो । किनकी बिरामीले थलिएका थिए, बिकाउ । 

बिकाउको प्राण धान्न परिवारका सबैले धामीझाँक्री र वैद्य खोजिरहेका थिए । तर बाटो अर्कै भेटियो । 

‘मलाई घर नजिकैको मुसलमानले किन्छु मलाई देउ भनेछ, उसले दुई रुपैयाँमा किन्छु भनेपछि आमाले म नमरोस् भनेर दुई रुपैयाँमा बेच्नुभएको रे’ बिकाउले आफू बेचिनुको कारण बताउनुभयो । 

 

भर्खरै जन्मेको बच्चालाई केही नहोस् भनेर बेच्ने चलन अझै पनि केही ठाउँमा कायम छ । तर यसरी बेच्दा किन्ने मान्छेले आफ्नो घरमा लिएर जाने होइन, किनें भन्ने मात्र हो । बिकाउलाई बेच्नु पनि बचाउने बहाना मात्रै थियो । आमाको काख छाड्न परेन, बिकाउले । 

दुई रुपैयाँमा बेचिएको जिन्दगी बिहे गर्दा मात्रै उहाँले फिर्ता गर्नुभयो । अर्थात ती मुसलमानलाई उहाँले बिहे भोज खुवाएर तथा कपडा दिएर सानोमा बेचिएको ऋण चुक्ता गर्नुभयो ।  

तर दुई रुपैयाँमा बेचिएकै कारण उहाँको नाम बिकाउ राखियो । अरुले किन्दैमा नाम नै बिकाउ राखिदिएको चाहिँ उहाँलाई खासै मन पर्दैन । त्यसैले पनि होला नाम सोध्दा उहाँ हत्तपत्त भनिहाल्नुहुन्न ।

भगवानसँगै खेलेर बित्यो बिकाउको बाल्यकाल

माटोमै बित्यो बिकाउको बाल्यकाल । माटोसँगै प्यार भयो । माटो नै बन्यो जिन्दगीको आधार ।

खेल्दा पनि बिकाउले माटोका भगवानसँगै खेल्नुभयो । कहिले दुर्गा माता बनाएर खेल्नुभयो त कहिले विश्वकर्मा, कहिले छठी माता ।

अझ भनौं आफूलाई मन परेका भगवान बनाएर खेल्नुभयो । हिजोआज रिमोटले चल्ने गाडी र भगवानसँग खेल्ने बालबालिकाले के त्यो अनुभव गर्न पाउलान् ? आफूलेझैं भगवान बनाउन जान्लान् ? यहाँ त भगवानकै अस्तित्व मेटिनै लागेजस्तो लाग्छ, बिकाउलाई ।  

१६ वर्षको उमेर भएपछि उहाँले कलात्मक भगवान बनाउन थाल्नुभयो । ‘सानैमा खेल्दा पनि माताको प्रतिमा बनाएरै खेलेको हो, दाइले हो मलाई माटोको भगवान बनाउन सिकाउनुभएको,’ बिकाउ भगवान बनाउन सिक्दाको क्षण सम्झनुहुन्छ ।

दाइले सिकाएको सीपलाई बिकाउले तिर्खानुभयो । ‘थर पण्डित, तर काम चाहिँ कुमालको हो हाम्रो त, हामी पण्डित्याईं गर्दैनौं,’ बिकाउ मुस्कुराउदै भन्नुहुन्छ, ‘नाम जस्तै छ काम पनि, बिक्ने भगवान बनाउने ।’ 

झण्डै ३४ वर्ष भयो, उहाँले भगवान बनाउन थालेको हो । बिकाउले घरमै बसेर धेरै भगवान बनाउनुभयो । कहिलेकाहीँ दाङ लगायतका पश्चिमका जिल्ला पनि पुग्नुभयो । ‘समितिले भनेको ठाउँमा जान पर्छ, तिमी नै जाउ न भन्छन् फेरि, जानै प¥यो,’ बिकाउले सुनाउनुभयो । 

२०७३ सालमा उहाँ पशुपतिमा भगवान बनाउन भनेर काठमाडौं आउनुभएको हो । दुर्गा पूजा समितिले नै उहाँलाई पशुपतिमा दुर्गा माताको प्रतिमा बनाउन पठाएका हुन् । 

दसैँ र छठका लागि काठमाडौंमा बसेर बिकाउ दुर्गा माता र छठी माताको प्रतिमा बनाउनुहुन्छ । अर्डर अनुसारका भगवान बनाएर सक्किएपछि उहाँ सर्लाही नै फर्किनुहुन्छ ।

सपनामा नि भगवान 

दिनभरी भगवान बनाएर निदाउने बिकाउ सपनामा पनि भगवान बनाएकै देख्नुहुन्छ । ‘म त रातमा दुर्गा माता, छठी माता बनाएको देख्छु, यस्तो लाग्छ कि भगवानले मलाई उनैको प्रतिमा बनाउनका लागि बनाएका हुन्,’ सपनाको कुरा सुनाउँदा बिकाउको अनुहारमा खुशी छायो । 

तर न त उहाँले आफ्नै हातले बनाएका भगवान बोल्छन्, न त सपनामा देखेका भगवान नै बोल्छन् । बिकाउ बस् भगवान बनाउनुहुन्छ मात्रै । 

अनगिन्ती भगवान बनाएका बिकाउलाई आफ्नो जिन्दगीमा पनि भगवानले भलो गरेका छन् भन्ने लाग्छ । ‘भगवानले भलो गरेरै त म छु, नत्र त यहाँ के भैसक्थ्यो नि,’ बिकाउ भन्नुहुन्छ, ‘यो युग त भगवानविनाको युग हो, कसैले भगवान मान्दैनन् ।’

कतिपय दाजुभाइले दिदीबहिनी चिन्दैनन् । छोराले आमा भन्दैनन् । बुवाले छोरी भन्दैनन् । जसो गरेपनि चल्ने यो भ्रष्ट युग बिकाउलाई मनै पर्दैन । उहाँलाई लाग्छ, यो विनाशको संकेत हो । 

नदेखिए पनि भगवान शिरमा हुन्छन्, भन्नुहुन्छ उहाँ । शिरका भगवानलाई हातले चित्रमा उतार्दा संसारै जितैझैं पो लाग्छ उहाँलाई । ‘मलाई भगवानले बनाए, मैले भगवानको प्रतिमा बनाएँ, भगवानको आशीर्वाद त छ नि,’ बिकाउ चित्त बुझाएझैं गर्नुहुन्छ । 

छोराको साथ

बिकाउका चार छोरा र दुई छोरी छन् । जेठो छोरा भारतमा छन् । माइलोले सरकारी जागिर खाएका छन् । साईंलो छोरा रिजाई पढ्दै बुवालाई काममा सघाउँछन् । प्रगती शिक्षा सदनको कक्षा ११ का छात्र हुन बिकाउका छोरा रिजाई । उनी व्यवस्थापन विषय पढ्छन् । 

‘मलाई त यो भगवान बनाउने भन्दा पनि पढेर सरकारी जागिर खान मन छ, देशको सेवा गर्न मन छ,’ रिजाइ आफ्ना योजना सुनाउँछन् । 

बिक्ने भगवान बनाएर यो महंगो जवानामा जिन्दगी चल्दैन भन्ने १६ वर्षको उमेरमै बुझिसकेका छन् रिजाइले । त्यसैले माइलो दाइलेझैं सरकारी जागिर खाने उनको सपना छ । 

यो साल मात्रै सर्लाहीबाट पढ्नकै लागि काठमाडौं आएका रिजाई फुसर्दको समयमा बुवालाई सघाउँछन् । बिकाउ पनि भगवान बनाएर बेचेकै पैसाले छोराको सपनामा मलजल गरिरहनुभएको छ ।

आफ्नो बावुबाजेले सिकाएको सीपलाई आफूले अंगाले पनि आफ्नोभन्दा राम्रो जिन्दगी छोराले जिउन सकून् भन्ने उहाँको चाहना छ । 

माइलो छोराले माटोको खेती छाडेर कलम समाएको देख्दा एकदमै खुशी लाग्छ बिकाउलाई पनि । ‘छोरो त म जस्तो धुलो हुनुपर्दैन, चिटिक्क लुगा लगायो, कुर्सीमा बस्यो, अनि कलम चलायो, कहाँ यस्तो दुःख गर्नुपर्छ र,’ ठट्टा गरेझैं गरी भन्नुहुन्छ, बिकाउ । 

कतिपय सपना त जिन्दगीको गोरेटोमा हिँड्दाहिँड्दै, परिस्थितिसँग जुध्दाजुध्दै तुहिन्छन् । तर छोराका सपना गन्तव्यमा पुगोस्, यही चाहनुहुन्छ, उहाँ । 

सजिलो छैन भगवान बनाउन

भगवान बनाउन सजिलो छैन । बसेर बनाउँदा ढाड, गर्धन, हात र औंलाहरु कटकटी खान्छ । सबैभन्दा कसरत त औंलाकै हुन्छ । बिकाउले भगवान बनाउन मेशिनको प्रयोग गर्नुहुन्न । हातैले बनाउँदा एउटा दुर्गा माताको मूर्ति बनाउन १५ दिनभन्दा बढी समय लाग्छ । 

‘कहाँ यो आैंला दुखेर हैरान हुन्छ नि, बस्दाबस्दा ढाड कम्मर सबै दुख्छ,’ बिकाउ दुःख पोख्नुहुन्छ । माटो खेलाउँदा खिइएका हात, दुखेको ढाड र औंला सुन्दर भगवान बनेपछि त्यसै निको भएझैं लाग्छ उहाँलार्इ । 

वर्षमा दुई सिजनमा भगवानको मूर्ति बनाउँदा झण्डै तीन लाख रुपैयाँसम्म कमाइ हुन्छ । बाँकी समय चाहिँ बिकाउ सर्लाही मै बस्नुहुन्छ । खेती लगाउनुहुन्छ । 
महिनौं लगाएर बनाएका भगवानका मूर्तिको पूजा सकिएपछि आयू सकिएझैं मानिसको पनि उसैगरी समय सकिन्छझैं लाग्छ बिकाउलाई । 

बर्सेनि नयाँ उमंगसहित नयाँ भगवानको मूर्ति बनाउनुहुन्छ उहाँ । तर उहाँलाई लाग्छ, आफू र आफूजस्तै भगवान बनाउने मान्छेको समय सकिएपछि भगवानले फेरि आफ्नो मूर्ति बनाउने मान्छे बनाउलान् कि नबनाउलान् ! 


 

अन्तिम अपडेट: कात्तिक १४, २०७५

सन्जिता देवकोटा

वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउने सन्जिता देवकोटालाई फेसबुक र ट्विटरमा भेट्न सकिन्छ ।

1 Comments

  • सुरेन्द्र देवकोटा

    Oct. 8, 2018, 6:05 a.m.

    कस्तो गज्जब शिर्षक संजिता बहिनी । well written

तपाईको प्रतिक्रिया