विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा

 पुष १७, २०८२ बिहीबार ११:४०:४१ | रासस
unn.prixa.net

बागलुङ – घर छेउका बारीमा लहरै राखिएका मौरीका घार । घारमा भुनभुनाइरहने मौरीसँगै लोकबहादुर केसीको दिनको शुरूआत हुन्छ र मौरीकै रेखदेखमा दिन बित्छ । 

बागलुङको बडिगाड गाउँपालिका–७ गावाका केसीले झन्डै ६ वर्ष मलेसियामा बिताउनुभएको थियो । त्यहाँ दुःख बढी र सोचेअनुसार कमाई नभएपछि उहाँ गाउँ फर्किनुभयो । त्यसपछि गाउँमै शुरू गर्नुभयो, मौरीपालन व्यवसाय । अचेल विदेशको दुःख बिर्सेर आफ्नै पाखापखेरामा मौरीसँगै रमाइरहेको उहाँले सुनाउनुभयो । 

केसी बिहान उठेदेखि साँझसम्म मौरीका घार सफा गर्ने, हुल छुटेर भागेका मौरीलाई पुनः घारमा ल्याउने र बिरामी भए/नभएको हेरचाह गर्नमा व्यस्त हुनुहुन्छ । एउटा घारबाट शुरू गरेको मौरीपालन अहिले ६५ घारमा पुर्याउनुभएको छ । ३७ वर्षीय केसीका दौँतरी कोही पनि गाउँमा भेटिँदैनन् । कोही जापान, कोही कतार त कोही मलेसियामा छन् । केसीले गाउँमै बसेर परदेशमा भएका साथीभाइले जत्तिकै कमाई गर्न गाह्रो नभएको बताउनुभयो । 

उहाँले २०७६ सालमा एउटा घारबाट व्यवसाय शुरू गर्नुभएको थियो । केसीलाई शुरूमा स्थानीय बडिगाड गाउँपालिकाले ८ हजार रुपैयाँको मौरीघार उपलब्ध गराएको थियो । त्यसपछि थप्दै–थप्दै आफूले १२ लाख रुपैयाँभन्दा बढी लगानी गरिसकेको उहाँले जानकारी दिनुभयो । 

केसीले भन्नुभयो, ‘देश, विदेश देखियो, जहाँ गएर पनि पैसा कमाउन दुःख गर्नुपर्ने रहेछ । मैले ६ वर्ष मलेसियामा काम गरेँ, अहिले त्यहाँ श्रम खर्चेकोमा पछुताएको छु, त्यो समय यहीँ केही गरेको भए धेरै प्रगति भइसक्थ्यो । विदेशले पनि केही कुरा त सिकायो नै, अब गाउँमै केही गर्छु, भन्ने सोच छ । मौरीपालन पनि राम्रो हुँदै गएको छ, अझै बढाउने योजनामा छु ।’

केसीले वार्षिक २२ लाख रुपैयाँको मह र मौरीघार बिक्री गर्दै आएको बताउनुभयो । एउटा घार १० हजार र प्रतिकिलो मह १ हजार रुपैयाँमा बिक्री हुने गरेको र महको बजार राम्रो हुँदा मागअनुसार पुर्याउन नसकिएको उहाँको भनाइ छ ।  

केसीले उत्पादन गरेको मह अहिले बागलुङ, कुश्मा, पोखरा, रुकुम, जाजरकोटलगायत ठाउँमा पुग्ने गरेको छ । नेपालसँगै अमेरिका, साउदी, कतार र जापानसम्म आफूले मह निर्यात गर्ने गरेको उहाँले बताउनुभयो ।

‘गाउँमा धेरै सम्भावना छन्, ती सम्भावनालाई हामीले सदुपयोग गर्न सकियो भने आत्मनिर्भर बन्न सकिन्छ । म पनि विभिन्न कारणले विदेश गएको थिएँ, तर त्यहाँ गएपछि बल्ल गाउँठाउँको महत्त्व बुझेँ’, केसीले भन्नुभयो, ‘अहिले जे गरिरहेको छु, त्यो पहिलेदेखि नै गर्नुपर्थ्यो, विदेश जानुभन्दा यही लगानी गरेर उद्यम गर्न सकियो भने स्वाभिमानका साथ बस्न सकिँदो रहेछ भन्ने बुझेँ, अरु युवाले पनि बुझ्नुपर्छ भन्ने लागिरहेको छ ।’ अहिले उहाँले यही व्यवसायबाट १४ जनाको परिवार धान्दै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया