वैदेशिक रोजगारीबाट फर्केर घोडचढी व्यवसायमा रमाउँदै इलामका युवा

 पुस १०, २०७७ शुक्रबार १६:५८:१ | सुजता सुनुवार
unn.prixa.net

पुरस्कार ग्रहण गर्दै निमा तामाङ

इलाम –  कठ्याङ्ग्रिने जाडोमा बिहानै कन्यामको चियाबगान पुग्नु । अपरिचितसँग चिनजान गर्नु । अनि आफ्नो र इलामका बारेमा बयान गर्नु निमा तामाङकाे दैनिकी हो । उहाँ इलामको सूर्योदय नगरपालिका–८ बाट हरेक दिन फिक्कलको कन्याम चिया बगानमा आउनुहुन्छ । बिहान ७ बजेदेखि सुरु भएको उहाँको भ्रमण, प्रकृतिसँग झुम्मिदै, पर्यटकहरुसँग लय बाँध्दै साँझ चार बजेसम्म चल्छ । 

कुनै समय धन कमाउन मलेसिया पुग्नुभएका निमा अहिले आफ्नै गाउँमा घोडचढी व्यवसाय अँगालेर बस्नुभएको छ । त्यतिबेला आफू परदेश जाँदा देखेका सपना अब यही पेशाबाट पूरा गर्ने उहाँको सोचाइ छ ।

‘परदेश जाँदा साचेको सपना अब पूरा गर्छु भन्ने लागेको छ’, उहाँ भन्नुहुन्छ, ‘परदेश गएर परिवारको आर्थिक अवस्था उकास्ने सोच थियो, परदेशमा सोचे अनुसारको भएन, अब यही पेशाको भर छ ।’

पारिवारिक समस्या र जिम्मेवारीका कारण निमाले कलिलो उमेरमै परदेशको बाटो अँगाल्नुपर्यो । नौ कक्षाको परीक्षा दिनै नपाइ उहाँ २०७१ सालमा मलेसिया जानुभयो । अर्काको देशमा काम गर्दा कठोर वचनदेखि अर्काको हेपाइ सम्म सहनुपर्यो । अर्काको वचन सुनेर, आफ्नो स्वाभिमान गुमाइ काम गर्न निमाको मनले मानेन । जसोतसो मलेसियामा चार वर्ष दुःख गरेर उहाँ नेपाल फर्किनुभयो ।

नेपाल आएर के गर्ने ? निमा अन्यौलमा हुनुहुन्थ्यो । गाउँका दाजुभाइले ‘घोडचढी’ व्यवसायबाट राम्रो आम्दानी गरेको देखेपछि निमालाई पनि त्यही व्यवसाय रोज्न मन लाग्यो । उहाँले विसं २०७५ सालमा एक लाख रुपैँयामा घोडा किन्नुभयो । अनि घोडचढी व्यवसाय अपनाउनुभयो । 

घोडचढी व्यवसायमा आबद्ध भएपछि निमा दुई पटक सम्मानित भइसक्नुभएको छ । २०७५ वैशाख १ गते १० मिनेट घोडाको नृत्य देखाएर उहाँ पहिलो बन्नु भयो । यस्तै २०७६ मंसिर २९ गते भएको घोडा सुन्दरी प्रतियोगितामा सबैभन्दा सुन्दर घोडा उहाँकै थियो । त्यसमा पनि उहाँ सम्मानित हुनुभयो । 

अहिले निमा गाउँघरमै घोडचढी व्यवसायमै रमाइरहनुभएको छ । विदेशमा जस्तो अर्काको निर्देशनमा खट्नु परेको छैन । परिवारसँग टाढा बस्नु पर्दा खुशी खोसिने भन्दै दुःख सुख जे भए पनि स्वदेशमै काम गर्नु राम्रो हुने उहाँको बुझाइ छ ।

‘विभिन्न पर्यटकीय स्थानमा, मेला, महोत्सव, विवाहमा जान पाइन्छ । आफ्नै माटोमा पसिना चुहाउन पाइएको छ’, व्यवसायप्रतिको सन्तुष्टि पोख्दै उहाँ भन्नुहुन्छ, ‘काम सजिलो छ, कमाई सोचे जस्तै छ । विदेशमा दुःख गर्दा पूरा नभएको सपना अब साकार पार्नुछ ।’ 

घाेडामा चढेर चियाबगानकाे दृश्यावलाेकन गर्दै पर्यटक

निमा झैं सूर्योदय नगरपालिका ८ का अर्का व्यवसायी बुद्धिमान राई पनि वैदेशिक रोजगारीबाट फर्केर अहिले घोडचढी पेशा अँगाली रहनुभएको छ । बुद्धिमान २०६७ सालमा मलेसिया गएर तीन वर्ष बस्नुभयो । नेपाल फर्केर फेरि उहाँ २०७४ सालमा साउदी जानुभयो । साउदीमा दुई वर्ष बसेर अहिले बुद्धिमान गाउँमै घोडचढी व्यवसायमा रमाइरहनुभएको छ । विदेशमा दुःख पाएर सुखको महत्व बुझेको उहाँको भनाइ छ ।

‘विदेश गएर पनि राम्रै गरेछु । नेपालमै रहदो हुँ त खुशीको महत्व बुझ्ने मौका नमिल्दो हो’, उहाँ हाँस्दै भन्नुहुन्छ, ‘खुशी कमाइले भन्दा पनि सन्तुष्टिले दिँदो रहेछ, अहिलेको पेशामा म सन्तुष्ट छु ।’

घोडचढीले कन्याममा व्यवसायको रुप

केही वर्ष पहिले ५३ वर्षीय एम।बी। घलेले आफ्नो रहर पूरा गर्न कन्याममा एउटा घोडा ल्याउनु भएको थियो । घलेको यहि रहरले ‘घोडचढी’ व्यवसाय संघ नै गठन गरी व्यवस्थित ढंगले, अहिले घोडचढीले कन्याममा व्यवसायको रुप लिएको छ । 

पर्यटकलाई घोडामा चढाएर सुन्दर पर्यावरणको दृश्यावलोकन गराउन घोडचढीहरु सूर्य नउदाउँदै कन्याममा आइपुग्छन् । झिसमिसेमा घर फर्किन्छन् ।

व्यवसायको मुख्य सिजन असोज, कार्तिक र मंसिर महिना हो । कोरोनाका कारण सिजनका दुई महिना व्यवसाय ठप्प रह्यो । घोडामा चढेर घुमाएको घोडचढीहरुले पाँचसयदेखि दुई हजार रुपैँयासम्म लग्छन् । दिनमा एक घोडाले पाँच पटकसम्म पालो पाउँछ । कुनै दिन भने दुई पटकसम्म मात्रै पनि पालो आउने गरेको घोडचढी व्यवसायीहरुको भनाइ छ । 

अहिले विदेशबाट फर्केका धेरै युवा यही व्यवसायमा लागेका छन् । निमा र बुद्धिमान जस्तै वैदेशिक रोजगारीबाट फर्केर कन्यामम घोडचढी पेशा अँगालेका धेरै जना हुनुहुन्छ । दावा तामाङ् पनि मलेसियामा ३५ हजार रुपैयाँको जागिर छाडेर अहिले घोडचढीमै रमाइरहनुभएको छ । 

यस्तै वैदेशिक रोजगारीबाट फर्केका काजी, सोम, कविराज, विमल, रोजु, प्रकाश, सोनाम, मुस्कान राई र निशान तामाङ् पनि यही पेशा अँगाल्नुभएको छ । सबैको एउटै चाहना छ, ‘नेपालमा पर्यटक धेरै आउन् र आफूहरु परदेश लाग्नु नपरोस् ।’


 

सुजता सुनुवार

सुजता सुनुवार इलामका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया