मानिसको मस्तिष्क र सृजनासँग प्रतिस्पर्धामा छ 'च्याट जीपीटी'
चैत १५, २०७९ बुधबार
वैदेशिक रोजगारीको कारण बालबालिका कि त आमासँग कि त बुवासँग मात्र हुर्कन बाध्य भइरहेका छन् । पहिले पुरुषहरु धेरै वैदेशिक रोजगारीमा जाने गर्दथे । तर पछिल्लो समय त वैदेशिक रोजगारीमा जाने महिलाहरुको संख्या पनि बढेको छ । कसैको त श्रीमान श्रीमती नै वैदेशिक रोजगारीमा जानुभएको पनि छ । घरमा उनीहरुका बालबालिका मात्र बसिरहेको अवस्था पनि छ । बालबालिकाहरु प्रायजसो लगभग १० वर्षमुनिका हुने गरेको पाइन्छ । घरमा रेखदेख गर्ने मान्छे नहुँदा उनीहरुमध्ये जेठोबाठोले नै घरको कामदेखि सबैकुराको रेखदेख गरेको पाइन्छ ।
अभिभावकमध्ये एक जना वा दुवै जना नहुँदा त्यस्ता बालबालिकामा विभिन्न खालको मनोवैज्ञानिक असर भएको पाइन्छ । मानसिक रुपमा उनीहरुलाई निकै धेरै अप्ठेरो र असहजता भएको पनि पाइन्छ । विशेषगरी त्यस्तो अवस्थामा बालबालिकाहरु विद्यालय जान नपाउने, घरका कामहरु गर्नुपर्ने, घरमा भएका अरु सदस्यबाट धेरै खालका समस्याहरु भोग्नुपर्ने, एक्लोपन हुने गर्छ । यस्तै यौन दुर्व्यवहार लगायतका हिंसात्मक व्यवहारमा पनि पर्न सक्ने, बेचबिखनमा पनि पर्न सक्ने सम्भावना हुन्छ । यस्तै कतिपय बालबालिकाहरुले आफैले अभिभावक भएर भाइबहिनीको स्याहारसुसार गर्नुपर्ने हुँदा उनीहरुलाई बोझको अनुभूति पनि हुने गर्छ । उनीहरु अप्ठेरोमा पर्न सक्ने सम्भावना पनि धेरै हुन्छ ।
पहिले त पुरुषहरु धेरै हुन्थे विदेश जानेमा । पछिल्लो समय महिलाहरु जाने क्रम पनि बढेको छ । अर्थात्, पुरुष सदस्य वैदेशिक रोजगारीमा जाँदा पहिले छोराछोरीहरुले बुवाको माया पाउँदैन थिए भने अहिले आमाहरु वैदेशिक रोजगारीमा जाँदा कतिपय बालबालिका आमाको मायाबाटै पनि बञ्चित हुनुपर्ने अवस्था छ । हुन त आमा र बुवामध्ये कुनै एक नहुँदा पनि एक्लोपन त भइहाल्छ । अभिभावकको अभाव महसुस हुन्छ । त्यसमा पनि आमाको ममता वा समय नहुँदाखेरि बालबालिकाहरुलाई अन्यौलता अनुभूति हुने, आफूलाई असुरक्षित ठान्ने हुन्छ ।
सुरक्षा अनुभूति गर्नको लागि अप्ठेरो खालको सम्बन्धमा फस्ने सम्भावना पनि हुन्छ । आमा वा बुवा दुवैको माया ममता कस्तो हो भन्ने अनुभूति गर्न नपाउँदा र अभिभावकको अनुपस्थितीमा माया ममता कसरी गर्ने भनेर सिक्ने मौका नपाउँदा उनीहरुले अरुलाई दिने मायामा पनि कमी आउने गरेको पाइन्छ । यसको तत्कालिन र दीर्घकालीन दुवै समस्या पनि देखिन्छ । कतिपय बालबालिकाहरु ‘डिपे्रशन’मा जाने पनि गरेका छन् । यस्तै कतिपय बालबालिकाका बुवाआमा वैदेशिक रोजगारीमा गएका छन् भने आफूले पनि वैदेशिक रोजगारीमै जानुपर्छ भन्ने मान्यता राख्ने हुन्छन् । पैसा नै सबैथोक हो भन्ने ठान्छन् । उमेर बढाएरै भए पनि कम उमेरै वैदेशिक रोजगारीमा जाने गरेको पाइन्छ ।
श्रीमान् श्रीमतीमध्ये कोही वैदेशिक रोजगारीमा हुँदा लाञ्छना लगाउने चलन हाम्रो समाजमा छ । अझै पुरुष भन्दा पनि महिलालाई बढी लाञ्छना लगाउने गरिन्छ । यसको असर उनीहरुका छोराछोरीमा पर्न जान्छ । श्रीमान् परदेशमा छन्, श्रीमती घरमै छिन् भने पनि यस्ता लाञ्छना लगाइन्छ । यो एकदमै धेरै भइरहेको समस्या हो यो । कतिपय अवस्थामा त कमाउन परदेश गएका बुवाले घरमा पैसा नपठाइदिँदा त्यसको असर पनि बालबालिकाको मानसिक स्वास्थ्यमा पर्छ ।
त्यसको साथसाथै आमालाई लगाइएको लाञ्छनाले घरमा एकदमै धेरै झैझगडा हुने, समुदायमा हिँड्ने क्रममा पनि ‘बाउ विदेश, आमा चाइ अन्तै’ लगायतका कुरा सुनाउने, यस्तोको छोराछोरी भनेर उनीहरुलाई नाम राखिदिने लगायत समाजका केही व्यक्तिहरुले गर्ने व्यवहारले उनीहरुका छोराछोरीको मस्तिष्कमा नराम्रो असर पर्न जान्छ । त्यसैमाथि महिला आफैलाई परेको लाञ्छनाले गर्दा उनीहरुले छोराछोरीलाई जति स्याहारसुसार गर्नुपथ्र्यो त्यो कुरा पर्याप्त मात्रामा गर्न नसक्ने हुँदा पनि छोराछोरीको अलपत्र हुने हुन्छ । यसले गर्दा ती छोराछोरीको खानपान लगायत स्वास्थ्यसँग सम्बन्धित कुराहरु पनि हुन नसकेको पाइन्छ ।
आफ्ना अभिभावक साथमा नहुँदा वा माथि भनिएझैँ वैदेशिक रोजगारी लगायत विविध कारणले मानसिक समस्या भोगिरहेका बालबालिकाले अलग्गै व्यवहार देखाउँछन् । प्रायजसो बालबालिका झिंझो मान्ने, खान मन नगर्ने, राति निन्द्रामा अप्ठेरो भयो भन्ने, नराम्रो सपना देखेँ भन्ने, विद्यालय जान नमान्ने, पेट दुख्यो, टाउको दुख्यो भन्ने आदि व्यवहार देखाउँछन् । यस्तै किशोरावस्थाका बालबालिकाले गलत संगत गर्न थाल्ने, रक्सी चुरोट खान थाल्ने, रिसाउने, झगडा गर्ने, स्कुल नै छाड्र्ने, घरबाटै भागिदिने, घर आउन नमान्ने जस्ता व्यवहार देखाउँछन् । यदि बालबालिकामा यीमध्ये कुनै पनि समस्या देखिएको छ भने अभिभावकले समयमै ध्यान दिन जरुरी छ ।
वैदेशिक रोजगारीमा कतै बुवाहरु धेरै गएको पाइन्छ भने कतै आमाहरु गएको पाइन्छ । हुन त बुवा वा आमामध्ये एकजनाले छोराछोरीको स्याहारसुसार कसरी गरिएको, समय कत्तिको दिइएको छ, आदि इत्यादिले पनि फरक त बनाउँछ । तर अभिभावकमध्ये एउटा पनि नहुँदा त्यसले पक्कै पनि असर त गर्छ नै । सबै जनाको अवस्था एउटै हुँदैन ।
बाध्यात्मक अवस्थाका कारण वैदेशिक रोजगारीमा जाने गर्छन् । तर सकेसम्म बालबालिकाको स्याहारसुसार कसरी भइरहेको छ, कसले गरिरहेको छ भन्ने कुरामा भने अभिभावकले नै ख्याल गर्नुपर्छ । किनभने अहिले जसको लागि कमाउन गएको हो भन्यो पछि तिनै छोराछोरी बिग्रियो भने कमाएको जति सबै उनीहरुलाई सुधार्नमै सकिन्छ । त्यसैले त्यसरी कमाउन जानुको पनि के अर्थ । त्यसैले वैदेशिक रोजगारीमा किन जाने, जानै पर्ने के छ, जाँदाखेरि केकस्ता झण्झट आइपर्लान् भनेर पनि दुईजना दम्पतीबीच समझदारी हुनुपर्छ ।
एक जनाले मात्र स्याहारसुसार गर्दा अप्ठेरै पर्छ भन्ने पनि होइन । जसले स्याहारसुसार गरे पनि कसरी गर्यो भन्ने कुराले असर गर्छ । त्यही भएर वैदेशिक रोजगारीमै जानु गलत होइन । त्यसरी टाढा हुँदाखेरि फोनसम्पर्क गर्नु, छोराछोरीका कुराकानी सुन्नु, उनीहरुसँग कुराकानी गर्नु, अप्ठेरो परेका कुराहरुमा टाढै भए पनि मद्धत गर्नु, बौद्धिकतामा पर्ने असर र ज्ञान हासिल गर्न टाढै भए पनि सहयोग गर्ने लगायत कुरामा अभिभावकको भूमिका हुनुपर्छ ।
समाजका हरेक व्यक्ति चाहे विद्यालय होस् वा घरपरिवारले बालबालिकाको क्षेत्र ठूलो हो, उनीहरुको मानसिक स्वास्थ्यमा जति लगानी गरिन्छ त्यो हाम्रो भविष्य हो भन्ने कुरा बुझ्न जरुरी छ । मानसिक स्वास्थ्यको कुरा गर्दा कतिपयले मानसिक रोगको बारेमा मात्रै कुरा गर्ने गर्छन् । सानैदेखिको लगानीले त्यसले पछि ठूलो परिणाम दिन्छ भन्ने कुरालाई बुझ्न जरुरी छ । उनीहरुको मनोविज्ञानलाई बुझेर उनीहरुसँग कुराकानी गर्ने, प्रोत्साहन गर्ने, राम्रो पक्षलाई हाइलाइट गरिदिने गर्नुपर्छ ।
कतिपय अवस्थामा विद्यालयमा राम्रोसँग प्रस्तुत हुन नसकेको हुनसक्छ । त्यस्तो अवस्थामा विद्यालयमा शिक्षकहरुले पनि कुरा बुझेर पढाउनमा प्रोत्साहन गर्नुपर्छ । घरमा पनि अन्य परिवारका सदस्यले सहयोगी भूमिका खेलिदिने गर्नुपर्छ । लाञ्छना लगाउने, बाउआमाको दोष उनीहरुमाथि नथोपर्ने काम परिवारले तथा छिमेकीले गर्न सक्छन् । बालबालिकाको विकासको लागि हामीहरुले ठूलो भूमिका खेल्न सक्छौँ भनेर हरेक व्यक्तिले बुझ्न जरुरी छ ।
(रेडियो कार्यक्रम देशपरदेशको लागि वरिष्ठ मनोविद डा. करुणा कुँवरसँग गरिएको कुराकानीमा आधारित ।)