Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः२० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

459 Desh Paradesh 2021-04-13

कार्यक्रम देश परदेशको ४५९ औं अंकमा विदेशको कष्ट भोगेर देश फर्केपछि काममा रमाएका तीन युवाका अनुभव र अनुभूति समेटिएको छ । धनुषाको लक्ष्मीनियाका मनोजकुमार दासले मलेसियामा बिताएका कष्टकर आठ वर्ष र अहिले आफ्नै गाउँमा काम गर्न पाउँदाको खुसी कार्यक्रममा सुन्न सकिन्छ । सिराहाका भोलाराम महराको साउदी र कतारमा बितेको १२ वर्षको सम्झना र अहिले आफ्नै घरमा खोलेको आइसक्रिम उद्योगले दिएको शीतलु आनन्दका कुरा कार्यक्रममा समेटिएको छ । रोजगारीमा फर्कन कोरोनाले रोकेपछि गाउँठाउँमै इलम गर्न थालेका इलामका योगेश बस्नेतको अुनभव र दिदीबहिनीका कुरामा आफ्नो परदेशी सन्तानलाई स्वदेश फर्काउन देशमै आम्दानीको बाटो देखाउने आमा अम्ना खातुनको भनाइ पनि समेटेका छौं । साथमा छ तपाईँले सोधेका प्रश्नमा हामीले खोजेका उत्तर र हप्ताभरीका रोजगार गतिविधि पनि ।