थाइल्यान्ड-क्याम्बोडिया सीमा विवाद : दुवैतर्फका हजाराैं मानिस ...
मंसिर २२, २०८२ सोमबार
सुनसरी – नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ ले सबैभन्दा धेरै व्यापार गर्ने चलचित्रको हैसियत पाएको छ । सेभेन सिज सिनेमाको ब्यानरमा बिनोद पौडेल र रमेश चौलागाईंको संयुक्त निर्माण तथा निर्देशक सरोज पौडेलको कलात्मक निर्देशनमा तयार भएको यस चलचित्रले देशभरका दर्शकलाई मन्त्रमुग्ध बनायो ।
सारङ्गीले दिएको यो सफलता नेपाली चलचित्र उद्योगकै ऐतिहासिक बन्यो । यसै चलचित्रको छायाँमा मात्र होइन, त्यसकै प्रकाशमा भदौ महिनाभरि तीन फरक–फरक तर आपसमा जोडिएका चलचित्रहरू पर्दामा आउन लागेका छन् । सारङ्गीले जन्माएका चलचित्रहरुलाई दर्शकको साथ कस्तो रहन्छ भन्ने कौतुहलताको विषय बनेको छ ।
सबैभन्दा पहिला भोलिबाट ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ प्रदर्शनमा आउँदैछ । यसमा ‘पूर्ण बहादुरको सारङ्गी’ का मुख्य पात्र विजय बरालले पुनः जीवन्त अभिनय प्रस्तुत गर्नुहुने भएको छ । चलचित्रको ट्यागलाइन नै ‘पूर्ण बहादुरको सारङ्गी’ का अभिनेता विजय बराल अभिनित राखिएको छ, जसले सारङ्गीको सफलता र विजयको अभिनयलाई प्रत्यक्ष जोड्छ ।
हिमाल न्यौपाने निर्देशित र कमल न्यौपाने तथा विमल न्यौपाने निर्मित यस चलचित्रमा विजय बरालसँगै केकी अधिकारी, मिरुना मगर, गौरव पहारी जस्ता चर्चित कलाकारको उपस्थिति छ । सम्बन्ध, संस्कार र भावनात्मक धागालाई जोड्ने यो कथा दर्शकलाई संवेदनशील यात्रामा लैजाने अपेक्षा गरिएको छ । त्यसपछि भदौ १२ गतेबाट ‘कोशेढुङ्गा’ पर्दामा आउँदैछ । यसलाई सारङ्गीका निर्देशक सरोज पौडेलले निर्देशन गर्नुभएका कारण यो चलचित्रलाई पनि दर्शकले सारङ्गीको निरन्तरता जस्तै रूपमा लिएका छन् । चलचित्रको नारा नै ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्देशकद्वारा निर्देशित चलचित्र राखिएको छ ।
किशोर अनुराग र प्रेबिल कँडेलले निर्माण गरेको यस चलचित्रको कथा पनि स्वयम् निर्देशक पौडेलकै लेखन हो । सुरक्षा पन्त, आर्यन सिग्देल, प्रविण खतिवडा, ऋचा शर्मा, नीति शाह लगायतका कलाकारहरूको दमदार उपस्थितिले चलचित्रलाई थप रोचक बनाउने विश्वास गरिएको छ । यसले नेपालको सामाजिक संरचना र पात्रहरूको सङ्घर्षलाई यथार्थपरक ढङ्गमा उतार्ने प्रयास गरेको देखिन्छ ।
त्यस्तै भदौ २७ गतेबाट ‘अभिमन्यु : च्याप्टर १’ प्रदर्शनमा आउँदैछ । यसलाई सारङ्गीका निर्माता विनोद पौडेलले गुञ्जन गिरीसँग मिलेर निर्माण गर्नुभएको हो भने सुशान्त गौतमले निर्देशन गर्नुभएको छ । तराई क्षेत्रका दाजु–बहिनीबीचको सम्बन्ध, सामाजिक संरचना र भावनात्मक उतारचढाव यस चलचित्रको मूल कथावस्तु बनेको छ । कामेश्वर चौरासिया, गौमाया गुरुङ, लक्ष्मी वर्देवा, सरिता गिरी, प्रकाश दाहाललगायतका कलाकारले प्रमुख भूमिकामा अभिनय गरेका छन् । चलचित्रले भावनात्मक कथालाई भव्य पर्दामा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
यी तीनवटै चलचित्रलाई एउटै सूत्रले गाँस्ने कुरा हो, ‘पूर्ण बहादुरको सारङ्गी’ ले दिएको प्रेरणा र सफलता । सारङ्गीको प्रतिध्वनिबाट जन्मिएका यी नयाँ प्रस्तुतीहरूले भदौ महिनालाई नेपाली चलचित्र नगरीमा एक विशेष क्षणमा परिणत गर्ने निश्चित देखिन्छ । यस महिनामा दर्शकले केवल मनोरञ्जन मात्र होइन, सम्बन्ध, सङ्घर्ष र संवेदनशिलताको गहिरो धुन पनि अनुभव पक्कै गर्नेछन्, तर ‘पूर्णबहादुरको सारङ्गी’ को बिडो थाम्ने चलचित्र कुन हुन्छ त्यो भने भदौ महिना पछि मात्रै थाहा हुने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मनाेज दाहाल कला तथा मनाेरञ्जन विधामा कलम चलाउनुहुन्छ ।