मतदाता नामावलीको त्रुटि सच्याउन शुक्रवारसम्म निवेदन दिन सकिने
मंसिर २२, २०८२ सोमबार
नेपालको कृषि प्रणाली मौसममा निर्भर छ । जाडो मौसम शुरू भएपछि तापक्रम घट्ने हुँदा यसले बिरुवा र माटो दुवैमा उल्लेखनीय जैविक तथा भौतिक परिवर्तन ल्याउँछ । तापक्रममा आएको परिवर्तनले माटोमा पोषक तत्त्वको उपलब्धतामा प्रत्यक्ष प्रभाव पार्छ । यस मौसममा धेरैजसो किसानहरूले माटोमा पर्याप्त मलखाद प्रयोग गरे पनि बालीको वृद्धि विकास सुस्त हुने, बिरुवा ढिलो बढ्ने तथा फस्फोरस लगायतका पोषक तत्त्वको कमी देखिने अवस्था आउँछ ।
माटोमा पोषक तत्त्व बिरुवासम्म पुग्नका लागि सबैभन्दा पहिला खनिजीकरण प्रक्रिया हुन्छ । यस प्रक्रियामा माटोमा रहेका प्राङ्गारिक पदार्थहरूलाई सूक्ष्म जीवहरूले विघटन गरि पोषक तत्त्वहरू घुलनशील रूपमा रूपान्तरण हुन्छन् । जाडो मौसममा तापक्रम घट्ने भएकाले माटोका सूक्ष्म जीवहरूको क्रियाशीलता कम हुन्छ । यसको परिणाम स्वरूप खनिजीकरण प्रक्रिया सुस्त हुन्छ र माटोमा पोषक तत्त्वको मात्रा घट्छ । माटोमा उपलब्ध पोषक तत्त्वहरूलाई बिरुवाले उपभोग गर्न विभिन्न माध्यमद्वारा माटोमा छरिएका पोषक तत्त्वहरू बिरुवाको जरासम्म पुगि जराद्वारा बिरुवाको प्रणालीमा संचारित हुनुपर्ने हुन्छ । माटोमा छरिएका पोषक तत्त्वहरू बिरुवाको जरासम्म मुख्यगरी तीन प्रमुख प्रक्रियाद्वारा पुग्ने गर्छन् ।
पहिलो – जल–संचारण प्रवाह जहाँ माटोमा रहेका घुलनशील पोषक तत्त्वहरू पानीसँगै जरातर्फ सर्छन् । बिरुवाले पानी सोस्दा पानीमा घोलिएका पोषक तत्त्वहरू पनि जरासम्म पुग्छन् र बिरुवाले प्राप्त गर्छ । नाइट्रोजन, सल्फर तथा क्याल्सियम जस्ता पोषक तत्त्वहरू मुख्यतया यही प्रक्रियाबाट उपलब्ध हुन्छन् । जाडोमा तापक्रम कम हुने हुँदा पानीको वाष्पीकरण दर घट्न गइ जराबाट सोसिने पानीको मात्रा पनि कम हुन्छ र यस प्रक्रियाद्वारा प्रवाह हुने पोषक तत्त्वको आवागमनमा कमी आउँछ ।
दोस्रो – प्रसरण प्रक्रिया जहाँ माटोमा रहेका पोषक तत्त्वको अणुहरूको गतिशील ऊर्जाका कारण अनियमित तापीय ऊर्जाबाट पोषक तत्त्वहरू एक स्थानबाट अर्को स्थानमा सर्ने गर्छन् । फस्फोरस, पोटासियम तथा जिङ्क जस्ता पोषक त्तत्वूरु प्रसरण प्रक्रियाद्वारा जरातर्फ सर्छन् । कम तापक्रमले पोषक तत्त्वको अणुहरूको गति र कम्पन कम गराउँछ जसले प्रसरण प्रक्रियालाई प्रभावित गर्छ । विशेषगरी जाडो मौसममा मुख्य पोषक तत्त्वहरूमध्ये फस्फोरसको माटोमा अत्यन्तै न्यून गतिशीलता हुने हुँदा बिरुवाले सबैभन्दा धेरै फस्फोरसको कमीको लक्षण देखाउँछ । फस्फोरसले माटोमा एलुमिनियम र फलामसँग बन्धन बनाउँछ र अघुलनशील फस्फेटका रूपमा बस्ने हुँदा यसै पनि बिरुवालाई सजिलै उपलब्ध हुँदैन ।
तेस्रो – जरासम्पर्क, यहाँ जराको बिस्तारसँगै माटोको कणहरू सम्पर्कमा आउँदा पोषक तत्त्वहरू प्रत्यक्ष रूपमा जराद्वारा ग्रहण हुन्छ । क्याल्सियम, म्याग्नेसियम जस्ता पोषक तत्त्वहरूको केही मात्रा यस प्रक्रियाद्वारा ग्रहण हुन्छ । जाडो मौसममा जरा बिस्तार सुस्त हुने भएकाले जरासम्पर्कद्वारा पोषक तत्त्वको ग्रहण झन् कम हुन्छ । जरासम्पर्क माध्यमद्वारा पोषक तत्त्वहरूको साटफेर माटोमा हुने जम्मा पोषक तत्त्वहरूको सञ्चारको १ प्रतिशतभन्दा कम हुन्छ ।
जाडो मौसममा धेरैजसो बालीको पातहरू पहेँलो हुने समस्या देखिन्छ । विशेषगरी तल्लो पातहरूमा हरितकण कम हुने र तापक्रम कम हुने भएकोले कोषहरू निष्क्रिय हुने कारणले यस्तो समस्या बढी देखिन्छ । जब हरितकण र कोषहरूको सकृयता कम हुन्छ तब पातमा प्रोटिन बन्न सक्दैनन् । प्रोटिन नबन्दा पातमा इन्जाइमहरूको सक्रियतामा कमी आउँछ र पात पहेलिन थाल्छ । यसरी पातको हरितपन हराउँदा बिरुवामा कार्बोहाइड्रेट उत्पादन घट्छ र बिरुवाको वृद्धि विकास दर सुस्त हुन्छ ।
पातमा प्रोटिन र हरितकण बनाउनका लागि नाइट्रोजन, सल्फर र म्याग्नेसियम आवश्यक तत्त्वहरू हुन् । तर, चिसो मौसममा जराबाट यी पोषक तत्त्वहरू बिरुवाले पर्याप्त रूपमा लिन सक्दैनन् । त्यसैले यस समयमा बिरुवालाई 'फोलियर स्प्रे' द्वारा यस्ता पोषक तत्त्वहरू दिनु प्रभावकारी हुन्छ । यसरी पातमै छरेर दिइएका पोषक तत्त्वहरू सीधै पातबाट अवशोषित भई बिरुवामा पुग्छन् र प्रोटिन तथा हरितकण पुन: उत्पादन शुरू हुन्छ । फलस्वरूप बिरुवामा कार्बोहाइड्रेट उत्पादन बढ्छ र बिरुवाको वृद्धि विकास लयमा फर्कन्छ ।
जाडोमा बिरुवाले अन्य मौसमको तुलनामा पोषक तत्त्वको कमी अनुभव गर्नु सामान्य हो । कहिलेकाँही माटोमा पोषक तत्त्वको स्रोत पर्याप्त भए पनि उपलब्धता कम हुने कारणले बिरुवाले उपयोग गर्न पाउँदैन । तसर्थ, जाडो मौसममा पोषक तत्त्वको उपलब्धता बढाउनका निम्ति विशेष ध्यान दिनुपर्ने हुन्छ । यस मौसममा आफ्नो खेतबारीमा चिस्यानको मात्रा कायम राख्न सकेमा प्रसरण र जल- सञ्चारण प्रवाह सहज हुन जान्छ र पोषक तत्त्वको उपलब्धता बढ्न जान्छ । पानीमा सजिलै घुल्ने फस्फोरसयुक्त मलहरू जस्तै : डीएपी तथा विभिन्न एनपीके मलहरूको प्रयोग गर्नुपर्छ । अन्य मौसमको तुलनामा जाडो मौसममा गड्यौला मल, गोबर मल, हरियो मल जस्ता प्राङ्गारिक मलको प्रयोग बढाएमा कम तापक्रम भएको अवस्थामा पनि माटोमा पोषक तत्त्वको आपूर्ति सुनिश्चित गर्छ ।
अहिले धान काटिसकेको अवस्थामा तापक्रम कम हुँदै जाने हुँदा अर्को बाली लगाउनुअघि अनिवार्य रूपमा माटोको नमूना जाँच गर्नु आवश्यक छ । माटोको नमूना जाँच गरि माटोको पीएच अवस्था, पोषक तत्त्वको उपलब्धता, प्राङ्गारिक पदार्थको मात्रा र लवणता जस्ता महत्त्वपूर्ण जानकारी प्राप्त गरि सन्तुलित मलखादको प्रयोगबाट पोषक तत्त्वको व्यवस्थापनमा ध्यान दिनुपर्छ । माटोको नमूना जाँचका लागि आफ्नो नजिकको केन्द्रीय कृषि प्रयोगशाला, माटो तथा मल परीक्षण प्रयोगशाला, एकीकृत कृषि प्रयोगशाला लगायत जिल्लामा रहेका कृषि ज्ञान केन्द्र तथा कृषि विकास कार्यालयमा सम्पर्क गर्न सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सुवेदी माटो तथा मल परीक्षण प्रयोगशाला सप्तरीका माटाे विज्ञ हुनुहुन्छ ।