थाइल्यान्ड-क्याम्बोडिया सीमा विवाद : दुवैतर्फका हजाराैं मानिस ...
मंसिर २२, २०८२ सोमबार
गाउँको पाखापखेरा र उकाली–ओरालीमा जिन्दगी बिताएका हजुरबा हिजोआज छोराबुहारी र नातिनातिनासँगै शहरमा बस्छन् । गाउँमा जस्तै शहरमा पनि मंसिर लागेलगत्तै बिहेको निम्तो मान्न भ्याइनभ्याइ छ । हजुरबालाई पनि बिहेभोजको निम्तो आयो । बिहेभोज भनेको बारीको पाटामा लहरै बसेर टपरीमा भात खाने, दाल चुहिएर खुट्टामा पोखिए पनि हाँसेर स्वाद लिने, भागमा मासुको चोक्टा त सपनामा पनि नदेख्ने तर झोल भने जति खोजे पनि पाइने – हजुरबाको परिभाषा यही थियो । तर हजुरबालाई निम्ता आएको कार्डमा लेखिएको थियो, ‘ग्रान्ड रिसेप्सन : फाइभ स्टार लेभलको बुफे डिनर ।’ यो कस्तो खालको भोज होला भनेर सोच्दै हजुरबा नातिनातिनाको पछि लागेर भोज खान निस्के ।

होटलको गेटमा पुग्दा हजुरबाका आँखा ठूल्ठूला भए । झिलिमिली बत्ती र थरीथरीका खानपानको चमकधमक । ‘पहिले स्टाटरबाट शुरू गर्नुपर्छ । अनि सुप, त्यसपछि मेन कोर्स, अनि लास्टाँ डिजर्ट लिनुपर्छ’ आफूलाई अलि बढी जान्नेसुन्ने ठान्ने नाति सलाद र अमिलो चटपटे खालको खानेकुरा भएतिर लाग्यो ।
भोजको लाइनको शुरूमै सलाद बार । हजुरबा प्लेट लिएर उभिए । अगाडि हरिया–पहेँला सागसब्जी, चीजका टुक्रा, चिसो र तातोका बोतल । हजुरबाले सोधे, ‘नानी यो हरियो हरियो के हो ? गाईभैँसीलाई दिने कि मान्छेलाई ?’ बहिनी हाँसिन् । हजुरबाले फेरि भने, ‘पहिले त हामीले साग टपरीमै हाल्थ्यौँ, दाल मिसाएर खान्थ्यौँ । यहाँ त साग अलग, दाल अलग, मान्छे अलग अलग !’
‘अब सुप पिउने पालो हो हजुरबा’ नातिनीले भनिन् । भात खान भनेर भोजमा आउँदा पनि कसैले सुप पिउँछ भनेर हजुरबा भात पाइने ठाउँतिर लागे । भात पनि थरीथरीका– प्लेन राइस, जीरा राइस र फ्राइड राइस । कुन खाने कुन भन्दै हजुरबा एकछिन अलमलमा परे । जुन खाए पनि चामलकै भात हो क्यारे भन्ने ठान्दै हजुरबाले प्लेटमा भात राख्न खोज्दा पछाडिबाट एक जना युवकले धकेल्दै भन्यो, ‘हजुरबा चाँडो गर्नुस् न !’
ल बाबु नै अघि लाग भन्दै हजुरबाले ठाउँ छोडिदिए । हतार भयो भन्दै धकेलेर हिँडेको केटोले मासुको काउन्टर अगाडि पुगेर अघिल्तिर भाँडामा आँखा तन्कायो । घुटुक्क थुक निल्यो । प्लेटमा भात र तरकारीको थुप्रो अघि नै लागिसकेको थियो । त्यो थुप्रोमा छोपिने गरी मासुको थुप्रो थप्यो । सानोसानो पहाड आकारको खानेकुरा बोकेर ऊ नजिकै कुर्सीमा बस्यो । अरूले पनि यसैगरी प्लेटमा मासुको चाङ लगाए । हजुरबाको जिन्दगीको सबैभन्दा ठूलो आश्चर्य ! पहिले गाउँमा हुने यस्तो भोजमा मासुको चोक्टा जति टाठाबाठाले मात्र पाउँथे । अरूले झोलसँग भात मुछेर चित्त बुझाउँथे । यहाँ त चिकेन, मटन, फिस, पर्क – सबै लाइनमा राखिएको ।
मासुको ठाउँमा थामिनसक्नुको भीड । हजुरबालाई एक जना अधबैँसे दाइले धकेल्दै भने, ‘खै न हजुरबा कतिबेर लगाएको ?’ हजुरबाले भुइँमा लौरो बजार्दै भने ‘हेर बाबु, पहिले त हामी बारीको पाटामा बसेर खान्थ्यौँ, कसैले धकेल्दैनथ्यो । यहाँ त मासुका लागि युद्ध लड्नुपर्ने रहेछ ! यो बुफे हो कि कुस्ती खेल्ने ठाउँ ?’
अलिकति पर ग्रेभी काउन्टर । हजुरबाले मटनको झोल हाल्न खोज्दा प्लेटबाट दाल पोखियो । पहिले टपरीबाट दाल पोखिनु पनि सामान्य हुन्थ्यो । यहाँ प्लेटबाट झोल पोखियो भने सबैले हेर्ने, सफा गर्ने मान्छे आउने । हजुरबाले बर्बराउँदै भने, ‘पहिले त दाल खुट्टामा पोखिए पनि हाँस्थ्यौँ, यहाँ त झोल पोखियो भने लाज हुने रैछ !’
भात खाइसकेपछि पनि अझै खानेकुरा खान बाँकी नै रैछ । अन्तिममा डिजर्ट रे । के होला यस्तो नौलो चिज डिजर्ट भनेको भन्दै हजुरबाले अघिल्तिर हेरे । कोही आइसक्रिम चाट्दैछन् । कोही प्लेटमा दही, जेरी र रसबरी लिएर मुख चलाउँदैछन् । जेरी, रसबरी र आइसक्रिम नदेखे पनि दही त गाउँमा कति खाइयो कति ? अघि नै भातसँग मुछेर खाएको भए पो मज्जा हुन्थ्यो, अब फेरि के दही खानु भनेर सोच्दै गर्दा हजुरबालाई नातिनीले दही र जेरीको प्लेट ल्याएर दिइन् । हजुरबाले चम्चा निकालेर कचौरा चाट्न थाले । नातिनीले भनिन्, ‘कहाँ चाटेको हजुरबा, चम्चाले खानुपर्छ ।’ हजुरबाले हाँस्दै भने, ‘हेर बा पहिले त हामी दही टपरी र दुनामै चाट्थ्यौँ, चम्चा कहाँ पाइन्थ्यो ? अहिले जाबो दही खाँदा पनि नियम !’
खाना सकिएपछि हजुरबा कुर्सीमा बसे । सँगै बसेकी नातिनीलाई भने, ‘हेर छोरी पहिले गाउँमा बिहे भोजमा सबै जना सँगै बसेर खान्थ्यौँ, गफ गर्थ्याैँ, हाँस्थ्यौँ । यहाँ त खान मात्रै आएजस्तो । कहिल्यै खान नपाएजस्तो गरी सबै खान मात्रै व्यस्त । हामीलाई दाल पोखिए पनि, मासु नपाए पनि रमाइलो हुन्थ्यो । यहाँ त प्लेट बोकेर लडाइँ लडेजस्तो भयो । मासु हाल्ने ठाउँमा तँछाड र मछाड । भीडले धकेल्ने, चम्चाले खानुपर्ने, यो खाना खाने ठाउँ हो कि सैनिक तालिम ?’
नातिनीले हाँस्दै भनिन्, ‘हजुरबा यो त आधुनिकता हो ।’ हजुरबाले टाउको हल्लाउँदै भने, ‘आधुनिकता त ठीक छ नानी तर पहिलेको टपरीमा दाल चुहिएर खुट्टामा पोखिँदाको मज्जा यहाँ कहाँ पाइन्छ ? मासुको चोक्टा नपाए पनि सबै सँगै बसेर खाँदा गाउँभरि हाँसो गुञ्जिन्थ्यो । यहाँ त सबै प्लेट बोकेर एक्लै एक्लै दौडिरहेका छन्, कसैसँग बोल्ने फुर्सद नै हुँदो रहेनछ ।’
ल तिमीहरू आउँदै गर, म चाहिँ घरतिर लागेँ भन्दै हजुरबा भोजको रमझम नसकिँदै बाटो लागे । घरमा पुगेर हजुरआमैसँग भने, ‘ल गुन्द्रुक र भात पकाउ त, तात्तातो खाएर सुत्नुपर्याे ।’
‘हैन के भन्नुहुन्छ ? भोज खाएर आएको होइन र ?’
‘भोज पो खाइयो त, भात खाएजस्तो त भएन नि !’ भन्दै हजुरबा लुगा फेर्न कोठाभित्र पसे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।
