कर्णाली याक्स : भूगोल, पहिचान र गर्वले समेटिएकाे टाेली

 मंसिर १२, २०८२ शुक्रबार ९:११:२४ | महेश ज्ञवाली
unn.prixa.net

काठमाण्डाै – कर्णालीका धेरै गाउँहरूमा कतै अझै पक्की बाटो पुगेको छैन, कतै बिजुली बत्ती बल्दैन । कति ठाउँमा त इन्टरनेट पनि चल्दैन । अरू ठाउँमा जस्तो विकास नपुगेको कर्णालीका दशैँ जिल्लामा क्रिकेटप्रतिको उत्साह भने अरू ठाउँमा जस्तै छाएको छ ।

यसअघि गाउँमा ठूलो जमात भेला गराउने मुख्य कारण सांस्कृतिक कार्यक्रम वा मेलापात हुन्थ्यो । तर अहिले कर्णालीका गाउँ शहरमा नेपाल प्रिमियर लिगका प्रतियोगिता हेर्न त्यस्तै जमात भेला हुने गर्छ ।

इन्टरनेटको राम्रो सुविधा नभएका ठाउँमा पनि मोबाइलको नेटवर्क टिप्ने डाँडा पाखा र चौतारामा बसेर युवाहरू डाटा लिएरै नेपाल प्रिमियर लिगका खेल हेर्ने गर्छन् ।

यसरी कर्णाली राजधानी भन्दा टाढा भए पनि कर्णालीवासी आफ्नै भूगोलको प्रतिनिधित्व गर्ने टोली कर्णाली याक्सको खेल भने कहिलै टुटाउँदैनन् ।

 सम्बन्धित समाचार

शहर–बजार जस्तै प्रतिस्पर्धी वातावरण नभए पनि कर्णालीका गाउँमा क्रिकेटप्रतिको जिज्ञासा बिस्तारै बढ्दै गइरहेको छ । गाउँ–गाउँमा बाटो पुग्दै छ, बिजुली बत्तीका पोल ठडिँदै छन् र मोबाइल इन्टरनेटले कर्णालीका भञ्ज्याङ–डाँडासम्म खबर पुर्‍याउन थालेको छ ।

देश–विदेशको समाचारसँगै नेपाली क्रिकेटका सफलताका खबर पनि कर्णालीका घर–आँगनसम्म पुग्न थालेका छन् । त्यही सफलताले अहिले कर्णालीका युवाबीच क्रिकेटप्रतिको आकर्षण झनै बलियो बनाइदिएको छ ।

पहिले कर्णालीमा भलिबलकै चर्चा बढी हुन्थ्यो । विद्यालयका विद्यार्थीहरूलाई क्रिकेट भन्दा अन्य खेल नै सहज थियो । तर गाउँमा बाटो र विकास पुगेसँगै धेरैको खेलप्रतिको रुचि पनि फेरिएको छ ।

हुम्लाको खार्पुनाथ गाउँपालिकाकी वसन्ती क्षेत्री अहिले काठमाण्डौको सीतापाइला बसेर पढ्नु हुन्छ । उहाँका लागि क्रिकेट खेल मात्र होइन, भावना पनि हो ।

कर्णालीमा खेलकुदको विकास देशका अन्य क्षेत्रमा तुलना गर्दा ढिलो भइरहेको उहाँ बताउनुहुन्छ । तर काठमाण्डौ आएपछि पहिलो पटक रंगशालामा गएर प्रत्यक्ष खेल हेर्दा उहाँको खुशीकाे सीमा नै रहेन ।

‘निकै रमाइलो लाग्यो । कर्णालीमा हामीले देखिरहन नपाएका दृश्य अनि उत्साह यहाँ आएपछि पहिलो पटक नजिकै महसुस गर्न पाएँ’, उहाँले भन्नु भयाे ।

 सम्बन्धित समाचार

कर्णालीका धेरै युवाहरूको भावना वसन्तीको अनुभूतिसँग मिल्दोजुल्दो छ । गाउँमा साधन–स्रोत छैन, तर उत्साह छ । सुविधा कम छ, तर खेल भावना भने बढी छ ।

कर्णालीका युवाहरू अहिले उच्च शिक्षा र राम्रो भविष्यको खोजीमा क्रमशः शहरतिर आकर्षित भइरहेका छन् । आफैँ खेल्न नपाए पनि देशका लागि खेल्ने खेलाडीहरूलाई देख्दा गर्वको अनुभूति गर्छन् ।

क्रिकेटमा कर्णालीका खेलाडीहरू पनि अब पछाडि छैनन्—उनीहरू अघि बढिरहेका छन्, चिनिँदैछन् र देशले पनि उनीहरूलाई ध्यान दिन थालेको छ ।

कर्णालीका धेरै युवाको मन क्रिकेटसँग गाँसिएको छ । उनीहरूका लागि क्रिकेट केवल मनोरञ्जन होइन, आफ्नो भूगोल र पहिचानसँग जोडिएको भावना हो ।

वसन्ती भन्नु हुन्छ, ‘पहिले गाउँमा रेडियोबाट सुनेका खेलाडीका नाम अहिले रंगशालामा आएर आफ्नै आँखाले देख्दा जुन रोमाञ्च महसुस हुन्छ, त्यो शब्दमा बयान गर्नै गाह्रो छ ।’

कीर्तिपुर वरपर बस्ने तथा काठमाण्डौमै रहेका धेरैलाई रंगशालामा गएर खेल हेर्ने अवसर सजिलै मिल्छ । रंगशालामा कर्णालीका समर्थक पनि कम छैनन् । दूरदराजबाटै आएका उनीहरू रंगशालामा आफ्नो प्रदेशको टोलीलाई हौसला दिन गर्वको साथ उपस्थित हुन्छन् ।

 सम्बन्धित समाचार

पहिले गाउँमा ‘खेलेर के हुन्छ ? के पाउँछस् ? खेल्दा चोट लाग्छ, किन खेल्ने ?’ भन्थे तर समय बदलिँदै छ । अब खेललाई ‘जोखिम’ होइन, अवसर का रूपमा हेर्न थालिएको छ ।

युवामात्र होइन, पाकाहरूको सोच पनि फेरिँदै छ— खेलमा भविष्य छ, पहिचान बनाउन सकिन्छ भन्ने बुझाइ बढिरहेको छ ।

सुर्खेतका हिरालाल धमला अहिले कीर्तिपुरमा बस्नु हुन्छ । उहाँलाई क्रिकेटप्रतिको गहिरो मोह छ । उहाँ कर्णालीको खेल हुँदा बिहानको कक्षा छोडेर रंगशाला पुग्नु हुन्छ ।

उहाँ भन्नु हुन्छ, ‘मैदानमा खेलाडीले खेल्दा पनि आफैँले खेलेको जस्तो महसुस हुन्छ । खेलाडीले ‍छक्का लाग्दा लाग्छ मैले नै हानेँ, आफ्नै पक्षको खेलाडी आउट हुँदा लाग्छ म नै आउट भएको हुँ । खेलाडी अरू हुन्, तर भावना भने आफ्नै जस्तो ।’

प्रदेशका कुनाकुनाबाट आएका समर्थकहरू आफ्नो ठाउँ, आफ्नो भूगोल, आफ्नो संस्कृति प्रतिनिधित्व गर्ने यो टोलीलाई गर्वका साथ समर्थन गर्न रंगशालासम्म आइपुग्छन् ।

कर्णाली याक्सले अहिले दूरदराजमा बस्ने जनसमुदायलाई जोड्ने एउटा साझा पुलको काम गरिरहेको छ । रंगशालामा दर्शकहरूको भीड छ—कसैले कर्णालीको झण्डा ओढेको, कसैले हातमा पोस्टर समातेको । खेल शुरू भएपछि एकै स्वरमा चिच्याउँछन्, ‘कर्णाली! कर्णाली!’

कर्णालीकै प्रतिनिधित्व गर्ने स्थानीय खेलाडीहरू पनि मैदानमा प्रभाव जमाइरहेका छन् । उनीहरूलाई देख्दा समर्थकको उत्साह झनै बढ्छ । कर्णालीमा क्रिकेटको विकास भने बिस्तारै अघि बढिरहेको छ । रुकुम पश्चिममा ‘रुकुम कप’ जस्ता प्रतियोगिताले स्थानीयस्तरमा उत्साह जगाइरहेका छन् ।

जिल्ला तथा प्रदेश क्रिकेट संघ, निजी समूह र सामुदायिक प्रयासले विभिन्न प्रतियोगिताहरू आयोजना हुँदै आएका छन् । तर यति प्रयास हुँदाहुँदै पनि कर्णाली अझै राष्ट्रिय मञ्चमा प्रस्ट रूपमा चिनिन सकिरहेको छैन ।

देशकै नजरमा खेलाडीलाई ‘गहना’ ठान्ने भावना अझै देखिँदैन । राज्यले कर्णालीमा खेलकुद पूर्वाधार, प्रशिक्षण र अवसरमा अझ लगानी गर्न सके मात्र यो भूगोलको खेलकुद क्षमता उजागर हुन सक्छ ।

जाजरकोटका मिलन अधिकारी अहिले कीर्तिपुरमा बस्नु हुन्छ । उहाँ भन्नु हुन्छ, कर्णालीमा अहिले क्रिकेटप्रतिको चासो द्रूत गतिमा बढिरहेको छ । आजको पुस्तालाई खेलप्रतिको आकर्षण पहिलेभन्दा धेरै छ ।

कर्णालीमा खेलकुदको भविष्य अब यथार्थमा रूपान्तरण हुँदैछ । सुर्खेतमा आधुनिक क्रिकेट रंगशाला बनिरहेको छ, स्थानीय तहदेखि प्रदेशस्तरसम्म—वडा, पालिका र प्रदेशगत प्रतियोगिताहरू नियमित हुँदै गएपछि कर्णालीमा खेलकुद विकासको गति तीव्र भइरहेको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्स अहिले सबैको ध्यान खिचिरहेको टोली बनेको छ । स्वदेशी खेलाडीहरूको शानदार प्रदर्शनले टोलीलाई निकै बलियो बनाएको छ ।

गुल्सन झा, पवन सर्राफ, सोमपाल कामी, नन्दन यादव, दीपक डुम्रे, अर्जुन घर्तीजस्ता खेलाडी यसपालि कर्णालीलाई जिताउने मुख्य आधार बनेका छन् । यिनै खेलाडीको अनुभव र जोशले टोलीलाई स्थिरता र शक्ति दिएको छ ।

त्यसमाथि विदेशी खेलाडीको अनुभवले यो शक्ति दोब्बर बनाएको छ । विलियम बोसिस्टो, मार्क वाट, प्रियांक पञ्चाल, म्याक्स ओ’डौड जस्ता अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडीको उपस्थितिले टाेली अझ व्यवस्थित, आत्मविश्वासी र प्रतिस्पर्धी देखिन्छ ।

रुकुम पश्चिमकाे बाँफिकोट गाउँपालिकाका पूर्णचन्द्र खड्का अहिले काठमाण्डौको बागबजार बस्नु हुन्छ । उत्साहित स्वरमा उहाँ भन्नु हुन्छ, ‘कर्णालीका युवामा अहिले खेलप्रतिको रुचि अचम्मैसँग बढिरहेको छ । सुर्खेतमा स्टेडियम बन्दैछ, स्थानीय प्रतियोगिता बढेका छन् र एनपीएलमा कर्णाली याक्स बलियो भएको छ । अब कर्णाली खेलकुदमा पनि पहिचान बनाउन तयार छ ।’

कर्णालीका युवाको उत्साह, स्थानीय अभियन्ताको प्रयास र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको सहयोग मिलेर कर्णालीमा क्रिकेटको नयाँ अध्याय खुल्दैछ ।

अन्तिम अपडेट: मंसिर २२, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

महेश ज्ञवाली

महेश ज्ञवाली उज्यालाेमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया