‘गुजाराको आधार सडकपेटी’

 मंसिर ११, २०८२ बिहीबार ७:५३:१६ | रासस
unn.prixa.net

महोत्तरी – ‘आफ्नो त केही पनि छैन, मकै पोलेर बेच्ने यही सडकपेटी छ । घर पनि रातु नदी उकासको पर्तिमा छ, न लालपुर्जा न त कुनै कागजको चिर्कटो’, मिथिला–१० लालगढको सुन्दर बस्तीकी ४० वर्षीया सरिता दासले भन्नुभयो । उहाँले महोत्तरीको बर्दिबास–१ को बर्दिबास जलेश्वर सडकपेटीमा मकै पोलेर गुजारा चलाइरहनुभएको छ । भन्नुहुन्छ, ‘हातगोडा चलुञ्जेल त धानौला, थला परेपछि के गति हुने हो ? खै !’ 

हरेक दिन दासको दैनिकी मकैको घोगाबाट शुरू हुन्छ । बिहान ओछ्यानबाट उठ्नासाथ छोरीको खानेकुरा ठिक पारेपछि उहाँलाई विद्यालय जान भनेर आफू हरिया मकैका घोगा किन्न बजार दौडनुहुन्छ । कहिलेकाहीँ नजिककै बर्दिबास, बडहरी र ढल्केबर बजारमा मकै पाइए पनि प्रायजसो सर्लाहीको नवलपुर, हरिऔन र लालबन्दी बजार पुग्नु परेको दासले बताउनुभयो ।  

करिब ३०/३५ किलोमिटर धाएर ल्याएको मकै सडकपेटीमै पसारेर हातमुख जोर्ने बन्दोबस्त गर्ने दासलाई त्यसरी आर्जेको एक गाँस खान पनि निकै हतार हुन्छ । ‘मकै लिन जाँदै एउटा थैलामा खानेकुरा बोकेर हिँड्छु, यहाँ बर्दिबासको सडकपेटीमा मकै बिसाउनासाथ ग्राहक झुम्मिन्छन्, आफू खानेकुरा खानु कि ग्राहक हेर्नु हुन्छ’, दास भन्नुहुन्छ, ‘सधैँको राख्ने ठाउँबाट तावा र कोइला निकाल्छु, हतारहतार दुई गाँस खाएर मकै पोल्न थाल्छु ।’

उहाँको दैनिकी दशाैँ वर्षदेखि चलिरहेको छ । ‘लाउँलाउँ खाउँखाउँकै उमेरमा पतिको ज्यान गएपछि मेरा अगाडि कुनै सहारा थिएन, छोरी भर्खर एक वर्ष टेक्दै थिइन्, त्यसैबेला बज्रपात पर्याे’, दासले पीडा सुनाउनुभयो, ‘छोरीतिर हेरेँ, अनि म सम्हालिन पर्छ भन्ने लाग्यो । यसलाई लेखपढ गराउँछु भन्ने त्यतिखेरै सोचेँ । केही गर्छु भन्ने मनमा आए पनि आफूसँग पूँजी नभएपछि केही दिन छरछिमेकमा ज्यालामजदुरी गरेर जीवन धान्न थालेँ ।’

अर्काको अधीनको कामले आफू र छोरी पालिन धौधौ परेपछि आफ्नै केही पेसा गर्नुपर्छ भन्ने हुटहुटीले मकै पोल्न थालेको उहाँ सम्झनुहुन्छ । ‘कोइला (दाउराको अँगार) आफ्नै बस्तीका आरनेकाकासँग उधारोमा पाएँ, एउटा ठूलो तावा र मकै चाहियो, त्यसका लागि टोलका तीन/चार जनासँग मागेर दुई हजार पुर्याएँ’, झन्डै १० वर्षअघिको कुरा सम्झँदै उहाँ भन्नुहुन्छ, ‘बस्, भोलिपल्टदेखि नै बर्दिबासको सडकपेटीमा मकै पोल्न थालेँ । यो काम थालेयता दुई/चार पैसा थैलीमा हुन थालेको छ । छोरी सपनालाई पढाउन पाएको कुरामा सन्तुष्ट छु । सपना (छोरी) राम्रो पढेकी छ भन्छन्, उनका माड्साबले यस्तो सुन्दा दङ्ग पर्छु । आफूले अक्षर चिनिन, छोरीले राम्रो पढेकी छे भन्ने सुन्दा आफ्नो मन बुझाउने ठाउँ पाएकी छु ।’

शुरूमा एक सय घोगा मकैबाट शुरू गरेको व्यापार हाल दिनहुँ तीन सय घोगासम्म बेच्ने गरेको दास बताउनुहुन्छ । हाल पेसा गरिरहेको सडकबाट हटाउन बेला–बेला दबाब आए पनि उपयुक्त नयाँ ठाउँ नपाएकाले ठाउँ सर्न नसकेको उहाँको भनाइ छ । ‘कति ठाउँमा फुटपाथ पसलेका सामान कर्मचारीले फ्याँके भन्ने सुनेकी छु, डर लाग्छ, तर मलाईचाहिँ त्यस्तो गरिएको छैन । टेक्ने समाउने अरू ठाउँ नहुँदा यही पेटीलाई सहारा बनाएकी छु । कसैगरी छोरीले राम्रो पढी भने जीवन अलि सहज हुने आसमा यही पेसामा रमाइरहेकी छु’, उहाँ भन्नुहुन्छ । 

दिनहुँ मध्याह्नपछि थालिने मकै पोल्ने र बेच्ने कामले सात/आठ सय रुपैयाँसम्म कारोबार हुने गरेको र यसले आमाछोरीको गुजारा र छोरीको पढाइ धानिरहेको दासले बताउनुभयो । उहाँकै छिमेकी अघनियाँ महराले पनि उहाँबाट प्रभावित भएर मकै पोल्ने पेसा अँगाल्नु भएको छ । बर्दिबासचोककै सडकपेटीमा मकै पोलेर बेच्ने ५५ वर्षीया महराको जीवन पनि दासको जस्तै छ ।

श्रीमान रौदी महराको २० वर्षअघि ज्यान जाँदा दुई छोरी र छोरा सबै १० वर्षमुनिका थिए । बस्ती वरपर बनिबुतो (मजदुरी) गरेर परिवारको गुजारा चलाएका श्रीमानको ज्यान गएपछि कतिपय दिन भोकभोकै सुत्नु परेको महराको सम्झनामै छ । ‘कतिले दयामाया गरेर एकमुठी खानेकुरा दिन्थे, ससाना लालाबालालाई अब भोलि खाउँला भनेर थुमथुम्याउँदै सुताउँथे’, अप्ठ्यारा दिनहरू सम्झँदै उहाँ भन्नुहुन्छ, ‘सरिताले मकै पोल्न थालेकी थिइन्, उनैको सल्लाहले बनिबुतोको पैसा जम्मा गरेर मैले पनि थालेँ । यसले जीवन धानिएको छ ।’

महराले मकै पोलेर बेचेको पैसाले नै दुई छोरीको विवाह गर्नुभयो । छोराको पनि बिहे भयो । नाति काखमा छ । छोराबुहारी दुवै सहयोगी हुँदा व्यापारमा साथ पाएको उहाँ बताउनुहुन्छ । ‘अब छोरा विदेश जाने भन्दैछ, त्यसका लागि रकम जम्मा गर्दैछौँ, ऊ गएपछि सासूबुहारी मिलेर यहाँको काम चलाउँछौँ,’ भविष्यको मीठो सपना सँगाल्नुभएकी उहाँ भन्नुहुन्छ, ‘छोराले दुःख बुझेको छ । पक्कै हाम्रा दिन फेरिएलान् नि !’

दास र महराजस्तै बर्दिबास–२ बारनचौडीकी ६० वर्षीया जयकलादेवी मुखिया पनि बर्दिबासको भोलावसन्तचोक छेउकै सडकपेटीमा मकै पोलेरै जीवन निर्वाह गरी रहनुभएको छ । पारिवारिक अवस्था भने मुखियाको दास र महराभन्दा निकै कहालिलाग्दो छ । श्रीमान सत्यनारायण मुखियाको रक्सीका कारण ३० वर्षअघि ज्यान गयो । चार छोरामध्ये हुर्केका दुई छोराको पनि रक्सीकै कारण ज्यान गयो । साइँलो छोरो हराएको २५ वर्ष भयो । घरमा अब कान्छो छोरा, बुहारी र आफूसहित तीन जनाको गुजारा मकै पोलेरै गर्नुपरेको मुखियाले बताउनुभयो । उहाँले मकै पोलेर गुजारा चलाउन थालेको २० वर्ष भइसकेको छ । 

‘श्रीमान हुँदा पनि सहारा त थिएनन्, दिनभरि भट्टीतिरै हुन्थे, गुजाराका लागि आफैँ बनीबुतो गर्नुपर्थ्याे । पछि केही पैसा जम्मा गरेर मकै पोल्न थालेकी हुँ, यसले धानेको छ । अहिले दिनमा चार सय घोगासम्म मकै बेचेर दैनिक एक हजार रुपैयाँ जति कारोबार हुने गरेको छ’, मुखिया भन्नुहुन्छ, ‘कामले थोरै सन्तोष दिए पनि छोरो र विगत सम्झदा विरक्त लाग्छ । श्रीमान रक्सीले नै मरे, छोराहरूको पनि त्यही कारण ज्यान गयो । एउटाको अत्तोपत्तो छैन ।’

यसरी बर्दिबासमा सडकपेटीमा स–साना व्यवसाय गर्ने धेरै छन् । यिनलाई प्रोत्साहन गर्दै निर्धक्क पेसा गर्ने वातावरण बनाउन आवश्यक रहेको बर्दिबास–२ की सामाजिक अभियन्ता नगिना महतो बताउनुहुन्छ । 

अन्तिम अपडेट: मंसिर २२, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया