नेपालमा ३४ हजारमध्ये ८ हजार एचआईभी सङ्क्रमित उपचार बाहिर

 मंसिर १४, २०८२ आइतबार १५:१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – नेपालमा अहिले ३४ हजार ३ सय ३७ जना एचआईभी सङ्क्रमित रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्याङ्क छ । उनीहरूमध्ये २६ हजार ३ सय ७२ जना उपचारको दायरामा आएका केन्द्रका निर्देशक डा. सर्वेश शर्माले जानकारी दिनुभयो ।

विश्व एड्स दिवसको अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै निर्देशक शर्माले उपचार बाहिर रहेका सङ्क्रमितहरू एचआईभी सङ्क्रमण फैलाउन सक्ने मुख्य चुनौतीका रूपमा रहेका बताउनुभयो । सङ्क्रमितले ठेगाना तथा फोन नम्बर गलत टिपाउने र बसाइसराइँ गर्ने गरेकाले उनीहरूलाई सम्पर्क गरेर उपचार गराउन पनि कठिन रहेको डाक्टर शर्माले बताउनुभयो ।

एचआईभी सङ्क्रमितलाई सरकारले निःशुल्क औषधि उपचारको व्यवस्था गरेको छ । नेपालमा सन् २०३० सम्ममा एड्स तथा एचआईभी निर्मूल गर्ने लक्ष्य छ । तर राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१–२०२६ अनुसार उच्च जोखिममा रहेकाहरूका लागि एचआईभी रोकथाम कार्यक्रम तथा सङ्क्रमित र प्रभावितका लागि उपचार, हेरचाह तथा सहयोग कार्यक्रम सञ्चालन भए पनि प्रभावकारी हुन सकेको छैन ।

'ह्युमन इमुनो डिफिसेन्सी भाइरस' अर्थात् एचआईभी शरीरमा प्रवेश गरेपछि प्रतिरक्षा प्रणालीमा आक्रमण गरी प्रतिरोधात्मक क्षमता घटाउँदै लैजान्छ । एकपटक एचआईभी सङ्क्रमित भएपछि उसले जीवनभर यससँगै बाँच्नुपर्छ । उचित चिकित्सकीय हेरचाह र उपचारको सहयोगमा एचआईभी सङ्क्रमणलाई नियन्त्रणमा भने राख्न सकिन्छ ।

भोलि अर्थात् डिसेम्बर १ तारिखमा नेपालसहित विश्वभरि नै ३८औं विश्व एड्स दिवस मनाइँदैछ । यस वर्षको नारा ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ भन्ने रहेको छ ।

अन्तिम अपडेट: मंसिर २२, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया