थाइल्यान्ड-क्याम्बोडिया सीमा विवाद : दुवैतर्फका हजाराैं मानिस ...
मंसिर २२, २०८२ सोमबार
काठमाण्डाै – दोलखा घर भई काठमाण्डौको कलङ्की बस्दै आएकी जेनी खड्का ६ वर्षअघि अचानक एसिड आक्रमणमा पर्नुभयो । बाटोमा हिँडिरहँदा चिनजान भएकै व्यक्तिले प्रहार गरेको एसिड घाँटी र छातीमा पर्याे । बाटोमा हिँडिरहेका अरू मानिसले उहाँलाई सहयोग गरे । तर अस्पताल लैजान मात्रै हतार गरिँदा प्राथमिक उपचारमा कसैको ध्यान पुगेन ।
हतारमा ओम अस्पताल पुर्याइयो । तर त्यहाँ जलनको उपचार नहुने भएपछि कीर्तिपुर अस्पताल लगियो । त्यति बेलासम्म एसिडले शरीरको धेरै भागमा जलन भइसकेको थियो । त्यति बेला समयमै प्राथमिक उपचार पाएको भए शरीरमा एसिड धेरै फैलन पाउँदैन थियो भन्ने उहाँलाई अहिले लाग्छ ।
एसिड आक्रमण भएपछि समयमै प्राथमिक उपचार पाउन नसकेकी जेनी अहिले यही विषयमा जनचेतना र परामर्श दिने काम गर्नुहुन्छ । सगुन नेपाल नामको एउटा गैरसरकारी संस्थाको पहलमा उहाँले आफूजस्तै जलनको पीडा भोगेकाहरूलाई परामर्श र जनचेतना जगाउने काम गर्न थाल्नुभयो । पछि कीर्तिपुर अस्पतालले नै उहाँलाई काम गर्ने अवसर दियो । अहिले उहाँ कीर्तिपुर अस्पतालको जलन सर्जिकल विभागमा कार्यरत हुनुहुन्छ ।
जेनी अहिले आफूले भोगेको जस्तै शारीरिक र मानसिक पीडाबाट अरू प्रताडित नहुन् भनेर हौसला र प्रेरणा दिने गर्नुहुन्छ । उहाँका अनुसार जलनपछि बिरामीलाई अस्पतालसम्म पुर्याउँदा पानी पिउने र शरीर पानीले भिजाउने जस्ता प्राथमिक उपचारमा विशेष ध्यान दिन नसकेर जलनबाट धेरैले अकालमा ज्यान गुमाउने गरेका छन् । शरीरलाई पानीले भिजाउनुपर्नेमा धेरैले आइस, घिउकुमारी, मलमलगायतको प्रयोग गर्दा यसले झन् स्वास्थ्यमा जटिलता बढाइरहेको उहाँ बताउनुहुन्छ ।
जलनमा प्राथमिक उपचार
घरबाहिर वा घरभित्र जुनसुकै ठाउँमा विभिन्न कारणले शरीरमा जलन हुन सक्छ । जलन हुनेबित्तिकै त्यो भागमा निरन्तर पानी बगाउन सकेमा शरीरका अरू भागमा फैलनबाट रोक्न सकिने कीर्तिपुर अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मी बताउनुहुन्छ । उहाँका अनुसार शरीरमा जलन भएको भागमा पानीले अझ गहिरो घाउ बन्न दिँदैन । शरीरको १५ प्रतिशत वा त्योभन्दा बढी भाग जलेको छ भने यसले शरीरका विभिन्न अङ्गमा क्षति पुर्याउने सम्भावना धेरै हुन्छ । स्वास्थ्य संस्थासम्म नपुगुन्जेल बिरामीलाई जीवनजल वा पानी खुवाइरहनुपर्छ । यो बिरामीलाई गर्ने सबैभन्दा महत्त्वपूर्ण प्राथमिक उपचार हो । यसले शरीरका अङ्गमा हुने खराब असरलाई रोक्ने उहाँ बताउनुहुन्छ । कुनै पनि कारणले शरीरमा जलन भइहालेमा सबैभन्दा पहिला बिरामीको शरीरबाट कपडा र गहना लगाइरहेको छ भने तत्काल हटाइहाल्नुपर्ने निर्देशक नकर्मीको सुझाव छ ।
प्राथमिक उपचारमा के के गर्ने ?
प्राथमिक उपचारसम्बन्धी जनशक्ति निर्माणमा पालिकाको भूमिका महत्त्वपूर्ण
नेपालमा जलनसम्बन्धी प्राथमिक उपचारमा जनचेतनाको अभाव रहेको विज्ञहरू बताउँछन । धेरै बिरामीलाई प्राथमिक उपचारभन्दा हतारहतार अस्पताल पुर्याउने गरिन्छ । जलन पीडितलाई समयमै प्राथमिक उपचार गर्न सकेमा धेरैको ज्यान बचाउन सकिने डाक्टरहरूको भनाइ छ । यसका लागि प्राथमिक उपचारको विषयमा अभियान र चेतना बढाउन जरुरी रहेको कीर्तिपुर अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मी बताउनुहुन्छ । यसका लागि पालिकाहरूको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ छ ।
‘पालिकाहरूले प्राथमिक उपचारसम्बन्धी जनशक्ति बढीभन्दा बढी तयार गर्न सकेमा जलनसम्बन्धी मात्र नभई अरू कारणबाट हुने मृत्युदरलाई पनि रोक्न सकिन्छ’, उहाँले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सम्झना महर्जन उज्यालाेमा कार्यरत हुनुहुन्छ ।