विश्वासको मत पाउने सम्भावना कम भएपछि मुख्यमन्त्री यादव कानूनी परामर्शमा

 मंसिर १६, २०८२ मंगलबार ११:९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश दिएपछि मधेशका मुख्यमन्त्री सरोज यादव काननी परामर्शमा व्यस्त हुनुभएको छ । उहाँ बिहानैदेखि कानुनी परामर्शमा व्यस्त रहनुभएको उहाँ निकट नेताहरुले बताएका छन् ।

मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भएको भन्दै ७३ जना सांसदहरूले दायर गरेको रिट निवेदनमा हिजो सर्वोच्च अदालतले आज बेलुकीसम्म विश्वासको मत लिन परमादेश दिएको थियो । सर्वोच्चले परमादेश दिए पनि अझैसम्म प्रदेशसभा बैठक बोलाइएको छैन ।

एमाले बाहेकका दलहरुले यादवलाई विश्वासको मत नदिने बताएका छन् । सर्वोच्चले संविधानको धारा १६८ को उपधारा ३ अनुसार नियुक्त भएका मुख्यमन्त्री यादवलाई एक पटक विश्वासको मत पुर्‍याउन अवसर दिने र नसकेमा प्रदेश प्रमुखले उपधारा २ अनुसारको सरकार गठन लागि प्रक्रिया अघि बढाउने बाटो खोलेको छ ।

१०७ प्रदेश सभा सदस्य रहेको मधेशमा सरकारको विश्वास कायम राख्न ५४ मत आवश्यक पर्छ । एमालेसँग सभामुखसहित २५ सांसद छन् । जसमा एकजना निलम्बित छन् ।

सातदलीय गठबन्धन भित्र कांग्रेसका २२, जसपा नेपालका १८, जनमतका १३, माओवादी केन्द्रका ९, लोसपाका ८, नेकपा एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्ति पार्टीका १ गरी ७३ जना सांसद छन् । मुख्यमन्त्री यादवले विश्वासको मत पाउन नसकेको खण्डमा संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नुपर्ने हुन्छ ।

विश्वासको मत पाउने सम्भावना कम भएपछि मुख्यमन्त्री यादवले राजीनामा दिने सम्भावना बढेको छ । यसअघि एमालेले सबैभन्दा ठूलो दलको हैसियतमा तथा प्रदेश प्रमुख र सभामुखको सहयोगमा संविधानको धारा १६८(३) अनुसार सरकार गठन गरेको थियो । त्यो प्रक्रिया असंवैधानिक भएको दाबी गर्दै सातदलीय गठबन्धन सर्वोच्च पुगेपछि प्रदेश प्रमुख र सभामुख दुवैले पद गुमाइसकेका छन् । 

अन्तिम अपडेट: मंसिर २२, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया