लैङ्गिक हिंसा : बुझौँ, रोकौँ, सशक्त बनौँ

 मंसिर १७, २०८२ बुधबार १४:१५:५४ | गीता सुवेदी
unn.prixa.net

कुनै अस्वस्थ सामाजिक भूमिका, शक्ति असन्तुलन वा असमानताको कारणले हिंसा हुन्छ । प्रायः महिलामाथि हिंसाको प्रवृत्ति बढी देखिन्छ तथापि हिंसा सबै ठाउँमा र जो कोहीलाई पनि हुन सक्छ । घर, कार्यालय वा सार्वजनिक ठाउँमा नजानेर वा जानेर हिंसा भइरहेको हुन्छ वा देखिन्छ । हिंसा केवल शारीरिक हानि वा नोक्सानीमा मात्र सीमित छैन, यो मानसिक, प्राविधिक, सामाजिक वा आर्थिक रूपमा पनि भइरहेको देखिन्छ ।

नेपालको सन्दर्भमा हिंसाका स्वरूप धेरै देखिन्छन् । शारीरिक हिंसा जस्तै– कुटपिट, धक्का, पिट्ने, आगो लगाउने वा अन्य प्रकारका हानिकारक शारीरिक कार्यहरू देखिन्छन् । यौनिक हिंसामा बलात्कार, जबरजस्ती, वैवाहिक बलात्कार र यौन शोषण जस्ता कार्यहरू देखिन्छन् । मनोवैज्ञानिक वा भावनात्मक हिंसामा धम्की, अपमान, एक्ल्याउने, नियन्त्रण वा घृणा गर्ने जस्ता कार्यहरू देखिन्छन् । आर्थिक हिंसामा पैसा, सम्पत्ति, शिक्षा वा रोजगारीमा नियन्त्रण गर्ने, आर्थिक रूपमा परनिर्भर बनाउने जस्ता कार्यहरू देखिन्छन् । प्राविधिक वा डिजिटल हिंसामा साइबर बुलिङ, अनुमति विना फोटो/भिडियो सार्वजनिक गर्ने, अनलाइनबाट पछ्याउने, गलत कुराहरू प्रचार गरेर कसैको अपमान गर्ने लगायतका गतिविधिहरू देखिन्छन् ।

यसैगरी हाम्रो समाजमा परम्परागत रूपमा रहेका हानिकारक अभ्यासहरू जस्तै– बालविवाह, दाइजो, बोक्सीको आरोप, छाउपडी, जातीय भेदभाव जस्ता कार्यहरूले हिंसालाई थप प्रोत्साहन दिइरहेका छन् । पितृसत्तात्मक समाज, शक्ति असन्तुलन, रुढीवादी परम्परा, आर्थिक परनिर्भरता, कमजोर कानूनी कार्यान्वयन र रिपोर्ट गर्दा सामाजिक कलङ्क हुने डरले हिंसा लामो समयसम्म जारी रहिरहेको देखिन्छ । जसका कारणले शारीरिक चोटपटक, अपाङ्गता, मानसिक स्वास्थ्यमा असर (चिन्ता, निराशा), आर्थिक अवसरको ह्रास र शिक्षामा कमजोर उपलब्धि आइरहेको देखिन्छ। कानूनहरू बनेका छन् तर तिनको कमजोर कार्यान्वयन, कानूनलाई लागू गर्न पर्याप्त बजेटको कमी, सरोकारवालामा जिम्मेवारीको कमी, दण्डहीनताको अवस्था, पितृसत्तात्मक सोच, जे गरे पनि केही हुँदैन भन्ने मानसिकता र कानूनी साक्षरताको कमीले गर्दा हिंसा दिनदिनै बढिरहेको देखिन्छ । जसले गर्दा नेपालले अन्तर्राष्ट्रियस्तरमा राखेका प्रतिबद्धता, लैङ्गिक समानता र हिंसामुक्त समाजको परिकल्पना कागजमै सीमित हो कि जस्तो देखिन्छ ।

हिंसा प्रायः घरभित्रैबाट शुरू हुन्छ । चिनेजानेकाबाट बढी हुने गरेको देखिन्छ । जब दम्पतीबीच शक्ति असन्तुलन र नियन्त्रण हुन्छ त्यहाँ हिंसा बढ्न थाल्छ । हिंसाका स्वरूपहरू फेरिएका देखिन्छन् । पुरुष वा परिवारका सदस्यहरूले महिलालाई अनावश्यक रूपमा नियन्त्रण गर्ने, बाहिर जान नदिने, सम्पत्ति वा स्रोतमा नियन्त्रण राख्ने कार्यहरू पनि हिंसाका स्वरूप हुन् । अनावश्यक रूपमा मोबाइल वा सन्देशहरू जाँच गर्ने, परिवारका सदस्यहरूसँग भेटघाट गर्न नदिने, बाहिर काम गर्न जान नदिने जस्ता व्यवहार विस्तारै दुर्व्यवहार र हिंसामा परिणत हुन्छन् । हिंसा जो कोहीबाट पनि हुन सक्छ । कानूनको अनुपालन नहुने स्थिति कसैलाई क्षम्य हुँदैन भन्ने सन्देश दिन पनि आवश्यक देखिन्छ ।

धेरैजसो घरमा केटीहरूलाई आज्ञाकारी, सेवक बनाइने प्रयास गरिन्छ । यसले महिलाहरूलाई हिंसा सहन बाध्य बनाउँछ । श्रीमानले श्रीमतीलाई ‘अनुशासित’ बनाउने अधिकार राख्छन् भन्ने सोच, महिलाले जस्तो भए पनि सहनैपर्छ भन्ने धारणा र महिलाले घरका सबै काम गर्नैपर्छ भन्ने मान्यताले पनि हिंसा बढाइरहेका छन् । व्यक्तिलाई व्यक्तिका रूपमा सम्मान गर्न आवश्यक छ । स्कूलबाट नै यो शुरू गर्ने, भड्किलो व्यवहारलाई नियन्त्रण गर्ने संस्कार विकास गराउन आवश्यक छ । शिक्षा र आर्थिक सशक्तिकरणले धेरै हदसम्म हिंसा नियन्त्रण गर्न सहयोग पुग्न सक्छ ।

अझै पनि हाम्रो समाजले महिलाहरूलाई आर्थिक रूपमा परनिर्भर बनाएको छ जसले साना–साना कुरामा पनि पुरुषमाथि निर्भर हुन बाध्य पारेको छ । हिंसा एकैदिनमा हुने होइन समयसँगै बढ्दै जाने प्रक्रिया हो । हेप्ने, गाली गर्ने, धम्की दिने, चरित्रहीनको आरोप लगाउने, पिट्ने, हतियार प्रयोग गर्ने वा जलाउने जस्ता हिंसाका रूपहरू पनि देखिन्छन् । पार्टनरको सहमति विना यौनसम्पर्क गर्ने, सासू–बुहारीबीच नियन्त्रण वा झगडा गराइदिने, महिलाले महिलालाई नै हेप्छन् भन्ने मिथ्या फैलाइदिने, दाइजोको लागि दबाव दिने, खानपिन वा सुताइमा रोक लगाउने, गर्भवती महिलालाई गाह्रो काम लगाउने जस्ता हिंसा भइरहेका देखिन्छन् ।

जाँड–रक्सी वा लागूऔषध खाएपछि झगडा गर्ने, रिसाउने वा आक्रामक व्यवहारले पनि हिंसा बढाइरहेको देखिन्छ । परिवार भत्कने डर, सामाजिक प्रतिष्ठामा आँच आउने डर, कानूनी झमेलाको भय, परिवारबाट मिलेर बस्न समाजले दिने दबाव, आर्थिक परनिर्भरता, कमजोर कानूनी कार्यान्वयन र लाजशरम जस्ता कारणले पनि महिलाहरू वा पीडितहरू हिंसा सहन बाध्य भएका देखिन्छन् । यसले शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । बच्चाहरू डर र हिंसापूर्ण व्यवहारका साक्षी बनेर दीर्घकालीन रूपमा प्रभावित भएका छन् । यसले हाम्रो समाजलाई दीर्घकालीन गरिबीको चपेटामा पारिरहेको छ ।

त्यसैगरी कार्यालय वा संस्थाभित्र पनि हिंसा भइरहेका देखिन्छन् । होच्याउने, शक्ति वा पदको दुरुपयोग गर्ने, हानि पुर्‍याउने, नियन्त्रण गर्ने जस्ता हिंसाका स्वरूप देखिन्छन् । म्यानेजरले पद वा शक्तिको दुरुपयोग गरी कर्मचारीमाथि शोषण गरेको पाइन्छ । भनेको मानेन भने जागिरबाट हटाइदिने, कामको बढी भार पारिदिने, मिटिङ वा निर्णयबाट वञ्चित गराउने, योग्य महिला हुँदाहुँदै पनि स्थान नदिने, कर्मचारीलाई समूह कार्यबाट अलग पार्ने, गलत तरिकाले छुने, यौनिक कार्यका लागि बाध्य पार्ने, व्यक्तिगत स्पेसको अतिक्रमण गर्ने, बदनियत तरिकाले तलब रोक्ने, पद झार्ने, विना कारण सरुवा गर्ने वा गरिदिन्छु भन्ने जस्ता धम्की दिने कार्यहरू भइरहेका देखिन्छन् । नियतवश अत्यधिक निगरानी गर्ने, आरोप लगाउने, सार्वजनिक अपमान गर्ने, विषाक्त कार्य वातावरण बनाउने जस्ता कार्यले हिंसा बढाइरहेका छन् । त्यस्ता कार्यहरू जागिर जाने डर वा लाजका कारण धेरैले लुकाएर राख्छन् । यी सबै हिंसाका स्वरूप हुन् जसलाई सुझबुझपूर्ण तरिकाले सम्बोधन गर्न आवश्यक छ ।

यदि सुरक्षित रिपोर्टिङको व्यवस्था छैन भने हिंसा अझ बढ्छ । विषाक्त वातावरणले हिंसा बढ्ने सम्भावना धेरै हुन्छ । याैनवादी मजाकलाई सामान्य ठान्ने, वरिष्ठलाई संरक्षण गर्ने, समर्थक नेतृत्वको अभाव, कमजोर नीति, बोल्ने संस्कृतिको कमी, शक्ति असन्तुलन, कर्मचारीमा कानूनी जानकारीको कमी जस्ता कारणले पनि कार्यस्थलमा हिंसा बढ्छ वा बढाइरहेको देखिन्छ । यसले मानसिक स्वास्थ्यमा असर, चिन्ता, नैराश्यता, आत्मविश्वास घट्ने, 'स्टाफ टर्नओभर' बढ्ने, असमान करियर प्रगति, असुरक्षित वातावरण र दीर्घकालीन स्वास्थ्य समस्याहरू देखा पारिरहेको छ ।

हिंसा नियन्त्रण सामूहिक जिम्मेवारी हो । यस्ता हिंसा रोक्नका लागि व्यापक रूपमा जनचेतना बढाउन आवश्यक छ । यसका लागि हिंसा के हो र के होइन पनि बुझ्नुपर्छ । हिंसाका लक्षण र हानिकारक अभ्यास पत्ता लगाउनुपर्छ । हिंसा सहेर नबस्ने र अरूलाई पनि बोल्न प्रोत्साहित गर्ने संस्कारको विकास गर्नुपर्छ । गोप्य तरिकाले विश्वास गरिएको व्यक्ति वा सम्बन्धित निकायलाई जानकारी दिने कुरा संस्थागत गर्नुपर्छ । रिपोर्ट गर्दा तथ्य–सूचना सही छ कि छैन जाँच्ने कुरा पनि हुनुपर्छ र  गोपनीयता कायम राख्ने कुराले पनि हिंसा कम गर्नलाई सहयोग गर्छ । पीडितलाई विना शर्त समर्थन वा सहयोग गर्नुपर्छ । विना फैसला उसको कुरा सुन्ने र सेवा प्रदायक निकाय जस्तै– प्रहरी, मनोपरामर्शदाता, कानूनी निकाय, न्यायिक समिति, सुरक्षित बसोबास केन्द्र वा सामाजिक कार्यकर्तासँग सिफारिश गरिदिन सकिन्छ ।

समुदायमा जनचेतना जगाउन अत्यन्तै जरुरी देखिन्छ । जीवनको ऊर्जाशील समय अनावश्यक सामाजिक अभ्यासमा देखा पारिरहेको छ । सभ्य र समुन्नत समाजको निर्माण गर्न हिंसामा शून्य सहनशीलता जरुरी छ । आध्यात्मिक व्यक्तिहरूको परिचालन पनि राम्रो अभ्यास हुन सक्छ । अभियान, छलफल, संवाद र चेतना कार्यक्रम चलाउन जरुरी देखिन्छ । महिलामाथि हुने हिंसाका सन्दर्भमा पुरुषहरूको सहभागिताले पनि हिंसालाई केही हदसम्म कम गर्न सक्छ ।

नेपालको सन्दर्भमा कानूनको कार्यान्वयनमा ध्यान दिन आवश्यक छ । धेरै राम्रो कानूनी प्रबन्ध भए पनि कमजोर कानूनी कार्यान्वयनले गर्दा हिंसा बढिरहेको देखिन्छ । कानूनी साक्षरता बढाउने प्रयास अत्यन्त जरुरी छ । प्रहरी, स्थानीय सरकार र रोजगारदातालाई जिम्मेवार बनाउनुपर्छ । पीडितलाई छिटो भन्दा छिटो मनोपरामर्श दिने व्यवस्था, सुरक्षित आवास, कानूनी सहयोग प्रदान गर्न जरुरी छ ।

घरमा सम्मानजनक सम्बन्ध, स्वस्थ संचार र जिम्मेवारीको न्यायोचित वितरणले पनि हिंसा कम गर्न मद्दत गर्छ । समाजमा रहेका परम्परागत हानिकारक अभ्यासलाई चुनौती दिनु र बालबालिकालाई सुरक्षित व्यवहार सिकाउनु हाम्रो साझा जिम्मेवारी हो । व्यक्तिगत रूपमा पनि सञ्चार–सीप, सकारात्मकता, आत्म–पहिचान, रिस र संवेदनाको सन्तुलन कसरी गर्ने भन्ने कुरा घर र विद्यालय दुवैबाट सिकाउनुपर्छ । बालबालिकालाई हिंसा के हो र के होइन भन्ने कुरा सँगैसँगै बुझाउनुपर्छ ।

ससाना प्रयासहरूले पनि हिंसा कम गर्न ठूलो योगदान दिन सक्छन् । उदाहरणका लागि– वडावडामा लैङ्गिक हिंसासम्बन्धी अभिमुखीकरणका लागि बजेट छुट्याउने र कार्यान्वयन गर्ने, घरदैलो कार्यक्रम, सडक नाटक, विद्यालयमा लिङ्गमा आधारित हिंसासम्बन्धी कार्यक्रम, शिक्षक प्रशिक्षणमा लिङ्गमा आधारित हिंसासम्बन्धी विषयवस्तु समावेश, प्रत्येक कार्यालयमा तालिम प्राप्त लैङ्गिक सम्पर्क व्यक्ति अनिवार्य बनाउने, सुझाव पेटिका राख्ने, हटलाइन नम्बर सार्वजनिक गर्ने, स्थानीय प्रहरीसँग मिलेर आत्मरक्षा तालिम सञ्चालन गर्ने, लिङ्गमा आधारित हिंसासमब्नधी तथ्यहरू सार्वजनिक गर्ने, नागरिक समाज सङ्गठनलाई जिम्मेवार बनाउने, चेतनामूलक भिडियो प्रसारण गर्ने, गीत-कविता-कथा लैङ्गिक उत्तरदायी बनाउने जस्ता अभ्यासहरूले पनि लैङ्गिक हिंसामुक्त समाज निर्माणमा ठूलो योगदान पुर्‍याउन सक्छन् ।

अहिलेको समय समानता र न्याय, पारस्परिक सम्मान र सामूहिक जिम्मेवारी बढाउने समय हो । यो समय, समान नेतृत्व र कानूनको प्रभावकारी कार्यान्वयनमार्फत सशक्तिकरण र परिवर्तनको समय हो । गलत र हानिकारक अभ्यासलाई चुनौती दिन शिक्षा र सशक्तिकरणबाट परिवर्तन खोजेको समय हो । लैङ्गिक समानता प्राप्त गर्न महिलाहरूलाई सशक्त बनाउन अत्यन्तै आवश्यक महसुस भएको समय हो । यो केवल आधारभूत मानव अधिकारको कुरा मात्र होइन; शान्ति, समृद्धि र दिगो विकासका आधार पनि हुन् । कानूनी प्रावधानलाई व्यक्तिगत तथा सार्वजनिक जीवनमा लागू गर्नैपर्ने बेला आएको छ । घरायसी कामलाई पनि मूल्याङ्कन गरी राष्ट्रिय जीडीपीमा जोड्न धेरै ढिला भइसकेको छ । नेतृत्वमा महिलाहरूलाई संविधानले परिकल्पना गरे अनुसार ल्याउन अझै धेरै प्रयास आवश्यक देखिन्छ जसले हिंसामुक्त समाज निर्माणमा धेरै योगदान पुर्‍याउने कुरामा कुनै शङ्का छैन । ससाना कदमहरूले पनि लैङ्गिक समानता प्राप्त गर्न ठूलो योगदान पुर्‍याउन सक्छन् । हिंसा गर्नु वा सहनु दुवै गलत अभ्यास हुन् । हिंसामुक्त समाज निर्माण गर्नु हामी सबैको साझा जिम्मेवारी हो । आजैदेखि महसुस गरौँ र सबै मिलेर मानिसलाई मानिसको रूपमा व्यवहार गर्न सिकौँ । पद र शक्तिको दुरुपयोग नगरि समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय सपना पूरा गर्न तर्फ लागौँ ।

अन्तिम अपडेट: पुस २९, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया