जनकपुर बोल्ट्स : मधेश र क्रिकेटलाई जाेड्ने अटुट पुल

 मंसिर १९, २०८२ शुक्रबार १३:१:२१ | महेश ज्ञवाली
unn.prixa.net

काठमाण्डाै – मधेशमा एउटा भनाइ निकै प्रख्यात छ– ‘मधेशमा जन्मेपछि कि क्रिकेट खेल्न जान्नुपर्छ, होइन भने पढाइ–लेखाइ वा व्यापार–व्यवसाय गरेर बाँच्न सक्षम हुनुपर्छ ।’ यो वाक्य भनाइ मात्र होइन, मधेश र क्रिकेटबीचको सम्बन्ध देखाउने पहिचान पनि हो ।

नेपालमा क्रिकेटको इतिहास हेर्दा यसको शुरुआत नै मधेशबाट भएको मानिन्छ । भारत नजिकको भूगोल र खुला सीमाका कारण क्रिकेटप्रतिको रुचि यहाँ पहिले नै बढिसकेको थियो । भारतका खेलाडीहरूको शैली, नियम, खेलप्रतिको लगाव; यी सबै मधेशमा पुगेर नेपाली क्रिकेटको रूपरेखा बनाउन थाले ।

मधेशको समथर जमिनले पनि क्रिकेट फैलिन सहज बनायो । धान काट्ने बेलामा गाउँका युवाहरू भेला भएर खेल खेल्ने चलन आजसम्म यथावत् छ । फूलबारी, आँपका बगैँचा, खुला मैदान; जहाँ थोरै समथर जमिन भेटिन्छ, त्यहीँ युवाहरू बल–ब्याट बोकेर क्रिकेट खेल्न थाल्छन् ।

त्यसैले भनिन्छ, ‘मधेशमा बच्चा जन्मेपछि सबैभन्दा पहिले क्रिकेट खेल्न सिक्छ ।’ गाउँ–गाउँ, टोल–टोल, गल्ली–गल्ली जहाँ पुगे पनि बाँसका भाटा र लठ्ठीले बनाएको स्टम्प लिएर युवा होस् वा वयस्क क्रिकेट खेलिरहेको देखिन्छ । नेपालभर क्रिकेट खेलिने ठाउँ धेरै छन्, तर रुचाइने, खेलिने र ‘महसुस’ गरिने क्षेत्र भने मधेश नै अगाडि छ ।

अहिले चलिरहेको नेपाल प्रिमियर लिग (एनपीएल) ले यो सम्बन्धलाई अझ प्रस्ट देखाएको छ । जनकपुर बोल्ट्सले उत्कृष्ट प्रदर्शन गर्न नसक्दा पनि त्रिवि क्रिकेट रंगशालामा जनकपुरका समर्थकको भीड भने उस्तै छ । त्यो हुटिङ, त्यो जोस, त्यो वातावरण जसले मधेश र क्रिकेटबीचको सम्बन्ध कति प्रगाढ छ भनेर देखाउँछ ।

यदि त्यो पनि पर्याप्त नमान्ने हो भने राष्ट्रिय क्रिकेट खेलाडीहरूको सूची हेर्नुहोस्– आशिफ सेख, आरिफ शेख, गुल्सन झा, अनिल साह, ललित राजवंशी, रञ्जित कुमारदेखि धेरै नामहरू मधेशकै छन् । त्यस्तै एनपीएलका सबै टिममा पनि मधेशका खेलाडीको महत्त्वपूर्ण उपस्थिति छ ।

आठ वटा जिल्लामा फैलिएको मधेश प्रदेशमा क्रिकेट अब भावना, पहिचान र पुस्तादेखि पुस्तासम्मको साझा अभिमान बनिसकेको छ । रौतहटकाे यमुनामाई गाउँपालिका घर भइ काठमाण्डौकाे कालिमाटीमा बसेर अध्ययन गर्ने प्रिन्स कुमार मुखिया जनकपुर बोल्ट्सका कट्टर समर्थक हुनुहुन्छ । उहाँ हरेक खेलमा टोलीलाई हौसला दिन त्रिवि रंगशाला पुग्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘टिभीमा क्रिकेट हेर्दा रमाइलो लाग्थ्यो तर आफ्नै आँखा अगाडि खेल हेर्न पाउँदा त्यो अनुभव बिल्कुलै फरक रहेछ ।’

रंगशालामा आफ्नो टोलीलाई हुटिङ गर्न पाउनु, खेलाडीको ऊर्जा नजिकबाट महसुस गर्नु, यी सबैले मुखियालाई जीवनकै अविस्मरणीय क्षण दिएको छ । उहाँ भन्नुहुन्छ, ‘हामीले जति बलियो सपोर्ट दिन्छौँ, टाेली पनि त्यति नै उत्साहित हुन्छ । यही कारणले म हरेक खेलमा रंगशाला तानिन्छु ।’

तर सबैले काठमाण्डौकाे रंगशाला पुगेर प्रत्यक्ष खेल हेर्न पाएका छैनन् । मधेशका धेरैजसो समर्थक मोबाइल वा टिभीमै भर पर्न बाध्य छन् । तर उत्साह भने उस्तै छ – गाउँगाउँमा ठूला पर्दा टाँगेर सामूहिक रूपमा खेल हेर्ने गरिन्छ ।

गाउँभरिका मानिस एउटै ठाउँमा भेला भएर हुटिङ गर्ने, रमाइलो गर्ने र रंगशालाजस्तै बातावरण बनाउने चलन अब परम्परा बनिसकेको छ ।

रौतहटकाे समनपुरका अभिनाश चौधरी अहिले काठमाण्डौकाे भोटेबहालमा व्यवसाय गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘जनकपुरले यसपालि राम्रो खेल्न नसके पनि हामीलाई आउँदाे खेलमा उत्कृष्ट प्रदर्शन गर्ने ठूलो आश छ ।’

तर क्रिकेटको लोकप्रियता र उत्साहबीच मधेश र मधेशीप्रति समाजमा अझै पनि केही पूर्वाग्रह बाँकी छन् । छाला अलि कालो भयो भने ‘मधेशी’ भनेर छुट्याउने, मधेशी भए मात्र ‘भारतीय’ भनेर अपमान गर्ने दृष्टिकोण अहिले पनि कतैकतै देखिन्छ ।

रौतहटका सुवास चौधरी अहिले सानेपामा बस्नुहुन्छ, ‘तराई, पहाड, हिमाल सबै नेपाली हुन् भन्ने बुझाइ समाजमा फैलिनै पर्छ । खेल हामीलाई जोड्ने सबैभन्दा ठूलो शक्ति बनेको छ ।’

मधेशमा पूर्वाधार अभाव भए पनि क्रिकेटप्रतिको मोह घटेको छैन । पर्साकाे वीरगञ्जमा नारायणी रंगशाला बन्दै छ, जनकपुरको क्रिकेट रंगशालाको काम पनि अघि बढिरहेको छ, यद्यपि अहिले पनि धेरै संरचना अधुरो अवस्थामै छन् । युवाहरूको चाहना पनि स्पष्ट छ, ‘काठमाण्डौको त्रिवि रंगशालामात्र होइन, आफ्नै मधेश प्रदेशको रंगशालामा बसेर खेल हेर्ने दिन छिट्टै आओस् ।’

स्थानीय तहले खेलप्रति चासो बढाएको छ । विद्यालय तहमै क्रिकेट प्रतियोगिता हुने क्रम बढेको छ जसले भविष्यका प्रतिभावान् खेलाडी तयार गरिरहेको छ ।

अहिले मधेशमा खेलको अभ्यास उल्लेखनीय रूपमा बढेको छ । पहिले अरूको खेतबारीमा खेलिने खेल अब समुदायले स्वयम् बनाएको मैदानमा खेलिन्छ । कतै गाउँ–समाज जुटेर, कतै स्थानीय तहले बजेट दिएर, कतै सरकारले जग्गा भाडामा लिएर क्रिकेट मैदान निर्माण भइरहेको छ ।

आज लगभग हरेक गाउँपालिका र नगरपालिकामा क्रिकेट मैदानको सुविधा पुगिसकेको छ – मधेशमा खेलको भविष्य उज्यालो छ भन्ने यसको स्पष्ट संकेत हो ।

रौतहटकाे गौर नगरपालिका घर भई काठमाण्डौ टेकुमा व्यवसाय गर्ने अनिल शाह भन्नुहुन्छ, ‘मधेशमा क्रिकेट केवल खेल होइन, भावना हो । आर्थिक रूपमा कमजोर मानिए पनि मधेशले हरेक वर्ष उत्कृष्ट खेलाडी जन्माइरहेको छ ।’

नेपाल प्रिमियर लिगलाई उहाँ मधेशका युवाका लागि ठूलो अवसरका रूपमा हेर्नुहुन्छ । ‘यो लिगले राम्रो खेलाडी उत्पादन गर्न, राष्ट्रिय टोलीसम्म पुग्ने बाटो सजिलो बनाउँछ । हार–जीत जे भए पनि आफ्नै टोलीलाई समर्थन गर्ने भावना कहिल्यै घट्दैन’, उहाँ भन्नुहुन्छ ।

अन्तिम अपडेट: पुस २९, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

महेश ज्ञवाली

महेश ज्ञवाली उज्यालाेमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया