एनपीएल क्रिकेटमा लिग चरणका खेल सम्पन्न

 मंसिर २२, २०८२ सोमबार ६:१२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत लिग चरणका सबै खेलहरु सकिएका छन् ।

हिजो त्रिवि क्रिकेट रंगशालामा लिग चरणको अन्तिम खेलमा अघिल्लो संस्करणको बिजेता जनकपुर बोल्ट्समाथि कर्णाली याक्सले ३ रनको रोचक जित निकालेको छ । अन्तिम खेलमा जित निकालेसँगै ७ खेलबाट ४ अंक जोडेर कर्णाली छैटौं स्थानमा छ । साविक विजेता जनकपुर भने २ अंकसहित पुछार अर्थात् आठौं स्थानमा पुग्यो । जनकपुरले एक खेलमा मात्र जित निकाल्न सक्यो ।

पहिले व्याटिङ गरेको कर्णालीले जनकपुर विरुद्ध २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २९ रन जोडेको थियो । एक सय ३० रनको लक्ष्य पछ्याएको जनकपुर ७ विकेट गुमाउँदै १२६ रनमै समेटियो । अंक तालिकामा सुदूरपश्चिम रोयल्स ७ खेलबाट ६ जित निकाल्दै १२ अंक जोडेर शीर्ष बन्यो ।

दोस्रो स्थानको विराटनगर किंग्स र तेस्रो स्थानको काठमान्डु गोर्खाजले ५–५ जीत निकाल्दै १० अंक जोडे । रनरेटमा भने विराटनगर अघि रह्यो । चौथो बनेको लुम्बिनीले ४ खेलमा जित र ३ खेलमा हार बेहोर्दै ८ अंक जोडेको छ ।

यी चार टोली प्लेअफमा पुगेका छन् । अंक तालिकामा पोखरा एभेन्जर्स पाँचौ भएको छ । उसले ६ अंक जोडेको छ । चितवन राइनोज पनि ४ अंकसहित सातौं स्थानमा छन् । एनपीएलमा आज भने कुनै पनि खेल छैन । प्लेअफमा भोलि सुदूरपश्चिम र विराटनगरबीच पहिलो क्वालिफायर खेल हुनेछ । यो खेलको विजेता फाइनल पुग्नेछ ।

पराजित हुने टोलीले आउँदो बिहीबार हुने दोस्रो क्वालिफायरमा मौका पाउनेछ । पर्सि काठमान्डु र लुम्बिनीबीच इलिमिनेटरको खेल हुनेछ । जित हात पार्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने पराजित हुने टोली बाहिरिनेछ । दोस्रो क्वालिफायरको विजेता पनि आउँदो २७ गते शनिबार हुने फाइनलमा पुग्नेछ ।
 

अन्तिम अपडेट: पुस २९, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया