साफ पुरुष फुटसल च्याम्पियनशिपमा नेपाल र पाकिस्तानबीच ४–४ गोल...
माघ ६, २०८२ मंगलबार
चिया पसलमा दुई नेताको भेट भयो । एक जना पुराना, अर्का नयाँ ।
ल बधाई छ है नेताजी, समानुपातिकमा पर्नुभयो हैन ?
के को बधाई हो ? पहिले परेको, अहिले छोडेको !
किन नि ?
देख्नुभएन फलानाको आफन्त, नातागोता, सेलिब्रेटी भएकोले समानुपातिकमा पर्याे भन्दै खिसीटिउरी गरेका । हैन यो देशमा कोही न कोही मान्छे कसैको न कसैको आफन्त, नातेदार, चिनजानको भैहाल्छ नि । त्यसमाथि समानुपातिकमा पार्लान् भनेरै नयाँ पार्टीलाई सहयोग गरेको । उम्मेदवार नै बन्न पाइएन, सांसद/मन्त्री नै हुन पाइएन भने अहिले पार्टीलाई गरेको योगदान कसरी चुक्ता गर्ने हँ ?

बल्ल कुरा बुझ्न थाल्नुभएछ । हाम्रो आलोचना खुब गर्नुहुन्थ्यो नि ! राजनीतिमा लाग्ने, पार्टीलाई सहयोग गर्ने, अनि त्यसबापत केही न केही भाग नपाउने हो भने घर.. आच्या देश कसरी चल्छ ? पहिले आफ्नो खुट्टा दह्रो बनाउन सकियो भने पो देश र जनतालाई बलियो बनाउन सकिन्छ । हेर्नुस् बाहिर जति चिल्ला कुरा गरे पनि भित्री सिद्धान्त भनेको पहिले आफू बन्ने, आफ्नालाई बनाउने अनि मात्र देश र जनताको पालो । ल यो कुरा छोड्नुस्, अँ साँच्ची त्यसो भए समानुपातिकबाट नाम फिर्ता लिनु भो ?
अँ लिनैपर्याे, नत्र लाजै हुने भो । पार्टीले पनि अहिले पछि हट्नुस्, प्रत्यक्षमा लड्नुपर्छ भनेका छन् ।
ए त्यसो भए लडेको लड्यै हुनु भो ! प्रत्यक्षमा लड्न पहिले नोट चाहिन्छ, अनि भोट । नोट नभएपछि भोट हुन्न, भोट नभएपछि लडिन्छ । अनि चोट ।
त्यो त बुझेको हो नेताजी । अनि तपाईं चाहिँ त्यही पार्टीमा हुनुहुन्छ कि अन्त सरिसक्नुभो ?
जान खुट्टा उचालेपछि बल्लबल्ल समानुपातिकमा अटाएँ । चुनाव नहुँदासम्म ढुक्कै छु । त्यसपछि परिएन भने अर्कोमा गइन्छ । के छ र जति पनि पार्टी छँदैछन् !
ए त्यसो भए तपाईंलाई त ढुक्कै रैछ । समानुपातिकमा परेपछि जनतालाई फकाउन, झुक्याउन, थर्काउन केही गर्नै नपर्ने । हेर्नुस् मैले त धेरै गर्नुछ । सबैभन्दा पहिले त भाषण गर्नै सिक्नु छ ।
भाषण गर्न के गाह्रो छ र नेताजी ! चर्को–चर्को स्वरमा कराउने, विपक्षीलाई भित्तामा पुर्याउने गरि गाली गर्ने ।
गाली गर्न त के गाह्रो छ र नेताजी ! तपाईंहरूबाट सिकेको त हो नि । हामी पुरानाजस्ता होइनौँ पनि भन्ने, अनि पुरानालेजस्तो अर्कोलाई गाली मात्रै गर्ने काममा हामी पनि सिपालु भैसक्यौँ । अनि तपाईंहरूले पहिले–पहिले देशलाई स्विट्जरल्याण्डजस्तो बनाउँछौँ भन्नुहुन्थ्यो । त्यो ठाउँ देखेरै भन्नुभाको त होला नि ?
के को देख्नु हो नेताजी ! साँच्चै भन्ने हो भने स्विट्जरल्याण्ड कस्तो छ भनेर पुस्तक र गुगलमा समेत हेरेको छैन । उही हामीभन्दा अघिकाले अब देशलाई स्विट्जरल्याण्ड बनाउँछौँ भन्थे । त्यसै भन्नुपर्ने होला भनेर भनेको मात्र । अब स्विट्जरल्याण्ड बनाउँछौँ भन्ने खालको ब्रान्डको ‘डेट एक्स्पायर’ भैसक्यो नेताजी । अब त यस्तो बन्ला, बन्न दिन हुँदैन, हामी बन्न दिँदैनौँ भन्ने खालको नयाँ ब्राण्ड आएको छ ।
जस्तै ?
ल तपाईंकै पार्टीका नेताहरूले समेत भन्छन् नि देश बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, युक्रेनको बाटोमा जाला, होशियार भनेर ।
त्यो त बल्लबल्ल सोधीखोजी गरेर थाहा भयो नि नेताजी । यी हेर्नुहोस् भाषणमा मिसाउन भनेर टिपोट पनि गरेको छु । बङ्गलादेशमा युवाहरूले राजनीतिक जडता, भ्रष्टाचार र सत्ता–दलको दमनविरुद्ध उठाएको आन्दोलनले व्यापक जनसमर्थन पायो तर नवयुवाहरूले गरेको आन्दोलन र चुनाव सम्पन्न गर्न गरिएको ढिलाइले क्रमशः आशा र सङ्कट दुवै उत्पन्न गरेको छ । श्रीलङ्कामा नवयुवाहरूको आन्दोलनपछि तत्काल चुनाव भएर राजनीतिक सत्ता परिवर्तन त भयो, तर युवा र आमनागरिकको चाहनाअनुसार राज्य संरचनामा व्यवहारजन्य सुधारहरू आउन सकेन र संवैधानिक र राजनीतिक प्रणाली पुरानै रहिरह्यो । युक्रेनको उदाहरणबाट पाठ सिक्दै नेपालले आफ्नो विदेश नीतिमा सक्रिय सन्तुलनको रणनीतिलाई अनिवार्य रूपमा लागू गर्नुपर्छ । कुनै पनि शक्तिराष्ट्रको पूर्ण पक्षपोषण गर्नुहुन्न र सबै प्रमुख राष्ट्रहरूसँग नजिकको सम्बन्ध कायम राख्नुपर्छ, तर कसैको पनि सुरक्षा छातामुनि पूर्णरूपमा नबस्ने अडान लिनुपर्छ । नेपालको विदेश नीति व्यवहार, काम र बोली तीनै कुरामा सन्तुलित देखिनुपर्छ ।
ल गज्जब टिपोट गर्नुभएको रैछ त । अब यसमा भेनेजुएला थप्ने त हो नि, के गाह्रो छ र ?
के भनेर थप्ने होला त नेताजी ?
अरू केही भन्नै पर्दैन । बङ्गलादेश, श्रीलङ्काका, युक्रेन भन्दै गएपछि हेर्नुहोस् हामी सुध्रिएनौँ भने देश भेनेजुएलाजस्तो पनि बन्न सक्छ । शक्तिराष्ट्रको प्रभाव पर्न नदिन पनि अब चुप लागेर बस्न हुँदैन, अरू देशको सार्वभौमसत्तामाथिको आक्रमणको विरोध गरौँ भन्ने ।
यस्तो कुरा त विपक्षी पार्टीको नेताले पनि भन्ला । अनि जनताले मेरै कुरा पत्याएर मलाई नै भोट दिन्छ भन्ने आधार चाहिँ के त ?
हत्तेरी ! त्यो त मिलाएर भन्ने हो क्या नेताजी । यसपालि मलाई भोट दिनुभयो भने रुस–युक्रेन युद्ध अन्त्य गर्छु । भेनेजुएलालाई अमेरिकी आँखाबाट पर राख्छु । देश कस्तो हुनुपर्छ भनेर बङ्गलादेश र श्रीलङ्कालाई पढाउँछु, अनि विश्वलाई साम्राज्यवादी आक्रमणबाट जोगाउँछु भन्ने ।
जनताले पत्याउँछन् र भन्या ?
पत्याउँछन् नेताजी पत्याउँछन् । पहिले देशलाई स्विट्जरल्याण्डजस्तो बनाउँछौँ भन्दा पत्याए । अब बङ्गलादेश, श्रीलङ्का, युक्रेन, भेनेजुएला हुन दिन्नौँ; ती देश पनि हामी नै बनाउँछौँ भन्दा जनताले मज्जाले पत्याउँछन् ।
त्यो त हो नेताजी पहिले तपाईँहरूलाई पत्याउँथे, अहिले हामीलाई पनि पत्याउन थालेजस्तो छ । अलिअलि त हामीले पनि बुझ्न थालेका छौँ नि अलि चर्को स्वरमा कराउने, विपक्षीलाई भित्तामा पुर्याएर गाली गर्ने, अनि मज्जाले सपना बाँड्ने हो भने जनताले त्यसै पत्याउँदा रैछन् ।
हो बल्ल कुरा बुझ्नु भो । ल अब जाउँ मेरो त पार्टीको बैठक छ ।
मेरो पनि बैठक छ नि नेताजी, ढिलो भैसक्यो ।
ए साहुजी चियाको पैसा टिपिरहनुस् है । पछि दिउँला ।
काँ हुन्छ नेताजी, अस्तिको पनि बाँकी छ । अब तपाईंलाई चुनाव लाग्यो, कता पुग्नुहुन्छ कता । पैसा त अहिले नै दिनुपर्छ ।
तपाईंसँग होला है नेताजी, दिइराख्नुस् न पछि मिलाउँला । के गर्नु चियापसलेले समेत पत्याउन छाडे ।
ए पख्नुस् न नेताजी, कहाँ हिँड्या त्यत्तिकै !
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।
