नवयुवा आन्दोलनका घाइतेको उपचार गरेका अस्पतालले भुक्तानी पाउँदै

 पुष २१, २०८२ सोमबार १२:१२:१८ | डा. प्रकाश बुढाथाेकी
unn.prixa.net

भदौ २३ र २४ गते भएको नवयुवाको आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारलाई लिएर सरकार, स्वास्थ्य संस्था र घाइतेबीच अझै पनि विभिन्न अन्योल र चुनौतीहरू देखिएका छन् । आन्दोलनको पहिलो रातमै स्वास्थ्य मन्त्रालयले घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरे पनि त्यसको कार्यान्वयन सबै अस्पतालमा एकरूप हुन सकेकाे छैन ।

भदौ २३ गते राति स्वास्थ्य मन्त्रालयले सरकारी स्वास्थ्य संस्था र प्रतिष्ठानमार्फत घाइतेहरूको निःशुल्क उपचार गरिने घोषणा गरेको थियो । आन्दोलनपछि घाइतेहरूले नजिकका स्वास्थ्य संस्थामा पुगेर उपचार गराए । त्यो बेला केही निजी तथा सरकारी अस्पतालहरूले स्वघोषित रूपमा निःशुल्क उपचार सेवा उपलब्ध गराए भने केही अस्पतालले उपचार शुल्क लिए ।

यसपछि भदौ ३० गते सरकारले थप निर्णय गर्दै आन्दोलनका क्रममा घाइते भएर उपचार गराएकाहरूलाई सबै स्वास्थ्य संस्थामा निःशुल्क उपचार उपलब्ध गराउने र पहिले नै उपचार शुल्क तिरेका घाइतेलाई रकम फिर्ता गर्नुपर्ने निर्णय गर्‍याे । त्यही निर्णय अनुसार स्वास्थ्य मन्त्रालयले सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई घाइतेबाट लिइएको रकम फिर्ता गर्न र त्यसबापत लागेको खर्च मन्त्रालयसँग माग दाबी गर्न अनुरोध गर्‍याे ।

मन्त्रालयले घाइतेहरूलाई आफूले उपचार गराउँदाको बिल पेश गरि अस्पतालबाट रकम फिर्ता लिन आग्रह गरेको छ । साथै अस्पतालहरूलाई पनि घाइतेलाई रकम फिर्ता गरि खर्चको विवरण मन्त्रालयमा पेश गर्न भनिएको छ । मन्त्रालयको अनुरोध अनुसार महाराजगञ्ज शिक्षण अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टरलगायत केही अस्पतालहरूले नवयुवा आन्दोलनमा घाइते भइ उपचार गराएका बिरामीलाई रकम फिर्ता गरिसकेका छन् । ती अस्पतालहरूले उपचार खर्चको बिल पेश गरि मन्त्रालयमा भुक्तानीका लागि दाबीसमेत गरेका छन् ।

सरकारसँग नवयुवा आन्दोलनका क्रममा घाइतेको उपचार गरेका झन्डै ८० वटा अस्पतालको सूची छ । तर दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि अहिलेसम्म २३ वटा अस्पतालले मात्र उपचार खर्चको विवरण मन्त्रालयमा पठाएका छन् । त्यही कारण मन्त्रालयले ती २३ अस्पतालको मात्र भुक्तानी प्रक्रिया अघि बढाएको छ । स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयको स्वीकृतिमा अस्पतालहरूलाई भुक्तानी गरिरहेको छ । मन्त्रालयले प्रोस्थेसिसका लागि पनि योजना र काम गरिरहेको छ । बाँकी अस्पतालहरूले माग दाबी पेश गरेपछि क्रमशः भुक्तानी गरिने मन्त्रालयको योजना छ ।

तर केही अस्पतालहरूले ढिलो भुक्तानी गर्ने बहाना र गुनासो गर्दै अहिलेसम्म घाइतेको रकम फिर्ता नगरेको गुनासो पनि आएका छन् । मन्त्रालयले यस्ता अस्पतालहरूसँग निरन्तर फलोअप गरिरहेको छ । मन्त्रालयका अनुसार मागदाबीसहितको बिल पेश गरेपछि उपचार खर्च ढिलो–चाँडो भुक्तानी हुने निश्चित छ । अहिले सरकारका विभिन्न कार्यक्रम र योजना अन्तर्गत अस्पतालहरूमा नियमित भुक्तानी भइरहेको उल्लेख गर्दै मन्त्रालयले त्यही विश्वासका आधारमा घाइतेको रकम फिर्ता गर्न अस्पतालहरूलाई पुनः अनुरोध गरिरहेको छ ।

दुई दिन चलेको आन्दोलनका क्रममा घाइते भएर अस्पताल पुगेका सबैले निःशुल्क उपचार पाउनुपर्ने सरकारको स्पष्ट नीति छ । तर केही घाइतेले फलोअप उपचारका क्रममा पनि शुल्क लिएको गुनासो गरेका छन् । सरकारको कार्यविधिअनुसार पहिलो आपत्कालीन उपचार नजिकको जुनसुकै अस्पतालमा लिन सकिने भए पनि त्यसपछिको फलोअप उपचार अनिवार्य रूपमा सरकारी अस्पतालमै गर्नुपर्ने व्यवस्था छ ।

फलोअप उपचारलाई सहज बनाउन सरकारले असोज १२ गतेदेखि विभिन्न सरकारी अस्पतालमा ‘जेनजी क्लिनिक’ सञ्चालनमा ल्याएको छ । साथै प्रत्येक सरकारी अस्पतालमा नवयुवा आन्दोलनका घाइतेहरूलाई निःशुल्क फलोअप सेवा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले औपचारिक पत्राचारसमेत गरेको छ । कार्यविधिअनुसार निजी अस्पतालमा फलोअप उपचारको व्यवस्था छैन । यद्यपि निजी अस्पतालले सरकारी अस्पतालकै दररेटमा उपचार सेवा उपलब्ध गराएमा त्यहाँ पनि फलोअप र उपचार सम्भव हुने छ। अन्यथा घाइतेले सरकारी अस्पतालमै फलोअप गर्नुपर्ने विकल्प बाँकी रहन्छ ।

सरकारी अस्पतालमा आवश्यक सेवा उपलब्ध नभएको अवस्थामा त्यही अस्पतालले निजी अस्पतालमा रिफर गरेमा मन्त्रालयले त्यसमा पनि सहजीकरण गर्ने छ । यसअनुसार अहिले धेरै सरकारी अस्पतालले नवयुवा आन्दोलनमा घाइते भएकाहरूलाई उपचार सेवा दिइरहेका छन् ।

तर पछिल्लो समय अस्पतालमा उपचारका लागि आउने सबै व्यक्ति नवयुवा आन्दोलनका घाइते नै हुन थालेको देखिएको छ । तीमध्ये धेरैसँग जेनजी घाइतेको परिचयपत्रसमेत नरहेको पाइएको छ । परिचयपत्र नभएका सबैलाई नवयुवा आन्दोलनका घाइते मानेर निःशुल्क उपचार दिन नसकिने मन्त्रालयको स्पष्टता छ । वास्तविक जेनजी घाइतेको परिचयपत्र भएका सबैले भने सहज रूपमा निःशुल्क सेवा पाउने र पाएका पनि छन् ।

स्वास्थ्य मन्त्रालय नवयुवा आन्दोलनमा घाइते भएकाहरूलाई उपचारका क्रममा कुनै समस्या परेमा सहजीकरण गर्न तयार छ ।

(स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथाेकीसँग महेश ज्ञवालीले गरेकाे कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: माघ ६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डा. प्रकाश बुढाथाेकी

बुढाथाेकी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया