वैदेशिक रोजगारी : बदलिँदो गन्तव्य, बढ्दो जोखिम र नागरिकको जिम्मेवारी

 पुष २६, २०८२ शनिबार १८:१५:२१ | चन्द्रबहादुर शिवाकोटी
unn.prixa.net

पछिल्लो समय नेपाली श्रमिक जाने गन्तव्य देशहरू फेरिएको छ । विगतमा नेपाली श्रमिकको मुख्य गन्तव्य खाडी देशहरु प्रायः मलेशिया, कतार, साउदी अरब र यूएई मानिन्थे । तर अहिले ती निश्चित गन्तव्यहरू परिवर्तन हुँदै गएका छन् । आज नेपाली श्रमिकहरू विश्वका धेरै देशमा पुग्न थालेका छन् ।

अहिले कमाइ राम्रो हुने र विकसित देश जाने आकर्षण बढेको देखिन्छ । जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, बेलायत तथा विभिन्न युरोपेली देशतर्फ जाने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । तर यी नयाँ गन्तव्य देशहरुमा श्रम बजार कस्तो छ, सेवा–सुविधा के कस्ता छन्, श्रमिकको सुरक्षा कति सुनिश्चित छ भन्ने विषयमा राज्यस्तरबाट पर्याप्त अध्ययन र सुनिश्चितता भएको देखिँदैन । यद्यपि, व्यक्ति स्वयम्ले जान चाहेको देशका लागि सरकारले श्रम स्वीकृति भने दिँदै आएको छ ।

विदेश जाने नेपालीलाई मुख्य रूपमा तीन वर्गमा विभाजन 

पहिलो वर्ग दक्ष र योग्य जनशक्ति हो । यस वर्गमा डाक्टर, इन्जिनियर, पाइलट, नर्स, दक्ष सेफलगायत विभिन्न क्षेत्रका विज्ञहरू पर्छन् । यी व्यक्ति कृषि, निर्माण, उत्पादन, सेवा लगायतका क्षेत्रमा आफ्नै सीप र ज्ञानको प्रयोग गर्दै राम्रो अवसरको खोजीमा विदेश जान्छन् । यस्ता धेरै नेपाली विदेशका ठूला कम्पनी र संस्थामा उच्च तहमा कार्यरत छन् । उनीहरूको आम्दानी पनि राम्रो र स्थिर हुन्छ ।

दक्षताको आधारमा विदेश जाने व्यक्तिलाई सामान्यतया ठूलो समस्या पर्दैन । समस्या आइहाले पनि समाधान खोज्ने क्षमता उनीहरूसँग हुन्छ । यस्ता व्यक्ति नेपालमा भन्दा विदेशमा आफ्नो सीप र ज्ञानको उचित मूल्य पाउने अवस्था भएपछि मात्र विदेश जाने गर्छन् । भविष्यमा सीप र अनुभव लिएर स्वदेश फर्की त्यसको सदुपयोग गर्ने उद्देश्य पनि उनीहरूसँग हुन्छ ।

दोस्रो वर्ग बाध्यताका कारण जाने वर्ग हो । यो वर्ग बेरोजगार हुन्छ र पारिवारिक दायित्व नै मुख्य उद्देश्य हुन्छ । देशमै अवसर नदेखेपछि जीवन निर्वाह र परिवार पाल्न वैदेशिक रोजगारीलाई विकल्पका रूपमा रोज्ने गर्छन् । यस्ता धेरै नेपाली विदेश गएर परिवारको आर्थिक अवस्था सम्हाल्न सफल पनि भएका छन् ।

तेस्रो वर्ग रहर र देखासिकीमा जाने वर्ग हो । अरूको लहैलहै, सामाजिक सञ्जालमा देखिएको चम्किलो जीवनशैली वा देखासिकीका कारण विदेश जाने सोच बनाउने यो वर्गसँग न त स्पष्ट योजना हुन्छ, न सीप । केवल ‘रोजगारकै लागि’ विदेश जानु उनीहरूका लागि पछि गएर हितकर नहुन सक्छ ।

विदेश सुध्रिने ठाउँ होइन 

नेपाली समाजमा ‘स्वदेशमा नसुध्रिएको मान्छे विदेश पठायो भने सुध्रिन्छ’ भन्ने सोच पनि पाइन्छ । तर विदेश सुध्रिन जाने ठाउँ होइन । जो व्यक्ति आफ्नो देशमा सहज वातावरण, परिवारसँगै बसेर पनि केही गर्न सक्दैन, उसले विदेश गएर पनि उल्लेखनीय प्रगति गर्न सक्दैन । विदेश रहर, बाध्यता वा सुध्रिन जाने गन्तव्य होइन । गलत सोच र तयारीविना विदेश जाँदा ठगी, स्वास्थ्य समस्या, मानसिक तनाव र शारीरिक जोखिम निम्तिन सक्छ ।

वैदेशिक रोजगारीमा जाने तीन वैधानिक बाटा 

नेपालबाट वैदेशिक रोजगारीमा जान तीन वैधानिक तरिका छन् । पहिलो, सरकार–सरकार (जीटुजी) प्रणाली । दुई देशका सरकारबीचको समन्वयमा श्रमिक पठाइने यो प्रणाली तुलनात्मक रूपमा सुरक्षित मानिन्छ । अहिले दक्षिण कोरिया र इजरायलमा यही प्रणालीमार्फत श्रमिक पठाइँदै आएको छ । यसमा रोजगारी, सेवा–सुविधा र श्रमिक सुरक्षा सुनिश्चित हुन्छ ।

दोस्रो, संस्थागत श्रम स्वीकृति । मेनपावर कम्पनीले विदेशी रोजगारदाताबाट माग ल्याई पूर्वस्वीकृति लिएर विज्ञापनमार्फत श्रमिक छनोट गरी पठाउने प्रक्रिया हो । यसरी गएको अवस्थामा समस्या परे सरकारबाट उद्धार, राहत र कानूनी कारबाहीको व्यवस्था हुन्छ ।

तेस्रो, व्यक्तिगत श्रम स्वीकृति । यसमा दुई प्रकारका व्यक्ति पर्छन्, आफ्नै सीप र क्षमताका आधारमा जाने दक्ष व्यक्ति, र विदेशमा रहेका आफन्त वा चिनजानको भिसामा जाने व्यक्ति । पछिल्लो समय व्यक्तिगत श्रम स्वीकृतिमार्फत जानेको सङ्ख्या तीब्र रूपमा बढेको छ ।

दक्ष र क्षमतावान व्यक्ति व्यक्तिगत श्रम स्वीकृतिमा जाँदा सामान्यतया समस्या हुँदैन । तर अरूको विश्वासमा परेर, जानकारी नलिई जाने व्यक्तिलाई समस्या पर्दा समाधान खोज्न गाह्रो हुन्छ । धेरैजसोले आफू जाने देशमा माग छ कि छैन, आफूले गर्न सक्ने काम हो कि होइन, तलब र सेवा–सुविधा कस्ता छन् भन्ने नबुझी विदेश जाने गर्छन् । समस्या परेपछि उद्धार र कानूनी प्रक्रिया जटिल हुन्छ । ठगीमा परे पनि कारबाही गराउन कठिन हुन्छ ।

व्यक्तिगत श्रम स्वीकृति लिनु भनेको सबै सर्त स्वीकार गरी जोखिम आफैंले बेहोर्ने घोषणा गर्दै विदेश जानु हो । पछिल्लो समय सामाजिक सञ्जालमार्फत आकर्षक प्रलोभन देखाएर विदेश लैजाने ठगी झनै बढेको छ । यस्ता अवस्थामा भनिएको जस्तो तलब, सुविधा र काम नपाइन सक्छ । कामकै नाममा अर्कै काम गर्न बाध्य हुन सकिन्छ । त्यसैले नागरिक स्वयम् सचेत हुनु अनिवार्य छ ।

बढ्दो वैदेशिक मोह र सामाजिक सञ्जालको प्रभाव 

वर्सेनि झन्डै साढे पाँच लाख जनशक्ति श्रम बजारमा प्रवेश गर्छ । तर नेपालभित्र विभिन्न क्षेत्रबाट झन्डै डेढ लाख जनालाई मात्र रोजगारी दिन सकिने अवस्था छ । बाँकी चार लाख जनशक्ति स्वदेशमै रोजगारी सिर्जना गर्नुभन्दा वैदेशिक रोजगारीतर्फ आकर्षित हुने प्रवृत्ति बढ्दो छ ।

यसमा सामाजिक सञ्जालको प्रभाव ठूलो देखिन्छ । विदेशमा रहेका नेपालीले फेसबुक, टिकटक, ट्विटरलगायत माध्यममा राख्ने भिडियो र फोटो देखेर त्यहाँको जीवनशैलीप्रति आकर्षण बढ्दै गएको छ ।

विदेश जानु नागरिकको अधिकार हो । आफ्नो खुशी, हित र स्वतन्त्रताका लागि जहाँ जान चाहे पनि जान पाउने अधिकार सबैलाई छ । तर पछिल्लो समय अरूको प्रलोभनमा परेर छिटो धेरै पैसा कमाउने लोभमा जोखिमपूर्ण निर्णय गर्ने क्रम बढेको छ ।

विशेषगरी सामान्य योग्यता, सीप र दक्षता विना ‘राम्रो देश’ को नाममा अवैध रूपमा एक देश हुँदै अर्को देश जाने समस्या गम्भीर बन्दै गएको छ । पश्चिम युरोप लैजाने आश्वासन दिएर पूर्वी युरोपको बाटो हुँदै अवैध रूपमा लैजाने क्रम बढेको छ ।

कानूनको बेवास्ता र बढ्दो ठगी 

नागरिकलाई कुन बाटो सुरक्षित हो, कसरी जाने र कसरी नजाने भन्नेबारे जानकारीको कमी छैन । तर कानून, नीति र नियम थाहा हुँदाहुँदै पनि त्यसको पालना नगर्ने प्रवृत्ति देखिन्छ । अवैध रूपमा विदेश गएपछि समस्या पर्दा मात्र सरकारसँग उद्धार र समाधानको अपेक्षा गर्ने अवस्था बारम्बार देखिएको छ ।

सरकारले राहदानी बनाउने बेलामै आप्रवासन स्रोत केन्द्रमार्फत सम्भावित जोखिमबारे जानकारी दिँदै आएको छ । तर नागरिकले आफ्नै हितभन्दा लोभ देखाउने दलालको कुरा बढी विश्वास गर्ने समस्या गम्भीर छ । यही कारण युरोप जान खोज्दा हुने ठगीका उजुरी अत्यधिक छन् । कूल उजुरीमध्ये झन्डै ८० प्रतिशतभन्दा बढी युरोपसम्बन्धी ठगीका छन् । विदेशबाट ठग्ने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई अत्यन्त कठिन हुन्छ ।

अहिले सरकारले संस्थागत रूपमा वैदेशिक रोजगारीका लागि १ सय ५ देश खुला गरेको छ । व्यक्तिगत रूपमा भने १ सय ८० देशमा जान खुला गरिएको छ । तर वैदेशिक रोजगारीमा जानुअघि नागरिकले कुन देश जाने, त्यहाँको नियम, तलब, सेवा–सुविधा र सुरक्षाबारे राम्रोसँग बुझ्नैपर्छ । दलालको भरमा होइन, आफ्नै सीप र क्षमताको आधारमा सुरक्षित र वैधानिक बाटो रोज्नु नै बुद्धिमानी हुन्छ ।

(वैदेशिक रोजगार विभागका उप-महानिर्देशक चन्द्रबहादुर शिवाकोटीसँग साथी महेश ज्ञवालीले गरेको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: माघ ६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

चन्द्रबहादुर शिवाकोटी

शिवाकोटी वैदेशिक रोजगार विभागका उप-महानिर्देशक हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया