साफ पुरुष फुटसल च्याम्पियनशिपमा नेपाल र पाकिस्तानबीच ४–४ गोल...
माघ ६, २०८२ मंगलबार
इथानोल एक प्रकारको अल्कोहल वा रक्सी नै हो । गाउँघरमा रक्सी बनाउन जे जे प्रयोग हुन्छ, त्यसरी नै इथानोल बनाउने हो । इथानोल उखु, सिमल तरुललगायतका कुनै पनि बोटबिरुवा वा फललाई पकाएर वाफ निकालेर उत्पादन गरिन्छ । कृषिजन्य वस्तु उखु, गहुँ, मकै, सिमल तरुललगायतबाट इथानोल निकालिन्छ ।
तर यस्ता कच्चा पदार्थबाट निस्केको बाफमा पानी मिसिएको हुनु हुँदैन । यसले गाडीको इन्जिन खराब गर्ने सम्भावना रहन्छ । रक्सी नै भए पनि यो गाउँघरमा बनाएकोजस्तो मात्र भएर पुग्दैन, किनकी यो शुद्धतासँग पनि जोडिएको हुन्छ । यसका लागि कम्तीमा पनि ९७ देखि ९९ प्रतिशतसम्म शुद्धता हुनु जरुरी छ । त्यसो भएमा मात्र यसलाई गाडीमा मिसाएर प्रयोग गर्न सकिन्छ ।
पेट्रोलमा इथानोल मिश्रण गर्ने कुरा त्यति सहज भने छैन । पेट्रोलमा मिश्रण गर्नका लागि ९९.९९ प्रतिशत इथानोल हुनुपर्छ । नेपालमा उत्पादन हुने उखुको मोलासिस अर्थात् गुडबाट ९५.५ प्रतिशतमात्र इथानोल निस्किन्छ । यसलाई फेरि प्रशोधन गरी ९९.९९ प्रतिशत इथानोल निकाल्न लागत बढ्न सक्छ ।
भारतमा पेट्रोलमा २० प्रतिशत इथानोल मिसाइरहेको छ । अहिलेसम्म स्वदेशमा इथानोल उत्पादन गरी पेट्रोलमा मिश्रण गर्न सकिने सम्भावना छ तर यसका लागि सरकारसँग यससम्बन्धी गुणस्तर मापदण्ड हुन जरुरी छ ।
इथानोल खासमा किटाणु मार्नका लागि प्रयोग हुँदै आएको छ । जस्तो कोभिडका समयमा इथानोल स्यानिटाइजरका रुपमा प्रयोगमा आयो । विशेषगरी इथानोल सरसफाई गर्नका लागि प्रयोग हुँदै आएकामा अहिले सरकारले पेट्रोलमा मिसाएर प्रयोग गर्ने कुरा आएको छ ।
अल्कोहल बनाउँदा बाफसँगै इथानोललाई जम्मा गरेर बनाइन्छ । यस्तो अल्कोहलमा बाफसँगै पानी पनि मिसिएर आउने हो तर पेट्रोलमा प्रयोग हुने इथानोलमा पानी मिसिएको हुनु हुँदैन । त्यसैले यसका लागि थप अरु प्रशोधन गर्नुपर्ने हुन्छ । यसका लागि विशेष खालको पानी हटाउने प्रविधि आवश्यक पर्छ । गाडीमा पेट्रोल हालेपछि त्यसले इन्जिन घुमाउने र इनर्जी दिनुको साथै ठूलो आवाज पनि आउँछ ।
पूर्णरुपमा इथानोलबाटै गाडी चलाउन सम्भव नभए पनि कति प्रतिशत मिसाउने भनेर स्पष्ट हुनुपर्छ । साथै इथानोल दैनिक कति आवश्यक पर्छ र पेट्रोल बाहिरबाट ल्याउँदा नै कति मिसाउने भनेर निर्क्यौल गर्नुपर्छ । शुरूमा कूल खपतको १० प्रतिशत पेट्रोलमा इथानोल मिसावट गर्ने योजना आयल निगमले बनाएको छ । अहिले प्रयोगमा आएका गाडीका इन्जिनमा कुनै फेरबदल नगरी २० प्रतिशतसम्म इथानोल मिसाउन सकिन्छ ।
इथानोलको उपलब्धताका आधारमा मिसावटको मात्रा विस्तारै बढाउँदै लैजाने योजना बनाउनुपर्छ । नयाँ तथा पुराना गाडीमा इथानोल प्रयोगले इन्जिनमा कुनै खराबी गर्दैन । तर इथानोल कुन गुणस्तरको हो, त्यसमा शुद्धता प्रतिशत कति छ भन्ने चाहिँ महत्त्वपूर्ण हुन्छ । यसमा आयल निगम चनाखो र सजग हुनुपर्छ । त्यसलाई मापन गर्ने प्रविधि पनि सँगै भित्र्याउनुपर्छ ।
इथानोल यदि बाहिरबाट नै आयात गर्ने हो भने पनि त्यसको गुणस्तरमा ध्यान दिनुपर्छ । देशभित्रैका उद्योगीहरुसँग माग गर्ने हो भने सरकारले शुद्धता कायमका लागि प्लान्ट मेसिनहरु खरिद गर्दा लगानीमा पनि सहयोग गर्नुपर्छ । गाउँघरमा अल्कोहल सजिलै उत्पादन भइरहेको छ । त्यसलाई सबैबाट संकलन गर्ने र गुणस्तर र शुद्धतामा ध्यान दिने हो भने बृहत इथानोल उत्पादनमा सहयोग पुग्छ ।
तर यसका केही चुनौती पनि छन् । यसले भोलि चिनी, मकै, गहुँलगायतको उपलब्धतामा कमी तथा मूल्यवृद्धि हुने सम्भावना हुन्छ । यस्तै एक जर्किन इथानोल उत्पादनमा ६ जर्किनसम्म पानीको प्रयोग हुन्छ भने भोलि दैनिक लाखौं लिटर इथानोल उत्पादनका लागि करौडौं लिटर पानीको जोहो कसरी गर्ने भन्ने चुनौती पनि छन् ।
नेपालमा इथानोलको कच्चा पदार्थ उपलब्धता प्रचुर मात्रामा छ । त्यसैले यसको प्रयोगले अहिले पेट्रोलबाट निस्केका कार्बन मोनोअक्साइड कम गर्न मद्दत पुग्छ । साथै इन्जिनको प्रभावकारिता र आवाज आउने (ध्वनी प्रदुषण) न्युनिकरणलाई पनि कम गराउन सहयोग पुग्छ ।
(वनस्पति विभागका उप–महानिर्देशक, रसायनशास्त्री तथा प्राकृतिक सम्पदा सदुपयोगविज्ञ सरोज कुमार चौधरीसँग सम्झना महर्जनले गरेको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
चौधरी वनस्पती विभागका उप–महानिर्देशक तथा रसायनशास्त्री हुनुहुन्छ ।