देशैभर मेला–महोत्सवको लहर : मनोरञ्जनसँगै अर्थतन्त्र चलायमान बनाउन महत्त्वपूर्ण

 पुष २५, २०८२ शुक्रबार १७:५४:३० | रासस
unn.prixa.net

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ चितवनको रत्ननगर महोत्सव २०८२ को उद्घाटन गर्दै । तस्वीर : सनद अधिकारी/रासस

काठमाण्डाै – हिउँदको यो बेला देशैभर मेला–महोत्सवको लहर चलेको छ । जिल्ला जिल्लामा आयोजना भएका मेला–महोत्सवले रौनक थपेको छ । ठाउँअनुसार र पर्व विशेषका उत्सव, मेला तथा प्रतियोगिताले मनोरञ्जनसँगै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएका छन् ।

मेला–महोत्सवको आयोजनाबाट आर्थिक गतिविधि र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने गरेको छ । नवलपुरमा आजदेखि चौथो संस्करणको गैँडाकोट महोत्सव एवम् व्यापार मेला शुरू भएको छ । यो महोत्सव आउँदो माघ १० गतेसम्म नवलपुरको गैँडाकोट नगरपालिका–२ नारायणी नदी किनारमा सञ्चालन हुनेछ ।

महोत्सव सचिवालय संयोजक तेजनारायण पाण्डेले यो महोत्सवले समग्र नवलपुरको पर्यटन क्षेत्रको विकास गर्दै आर्थिक क्षेत्रलाई चलायमान बनाउने बताउनुभयो । गैँडाकोट महोत्सवमा २५ करोड रुपैयाँभन्दा धेरैको आर्थिक कारोबार हुने अनुमान छ ।

यस्तै गएको पुस ३ देखि १४ गतेसम्म चलेको २१औँ संस्करणको लेखनाथ महोत्सवमा ११ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको आयोजकले जनाएको छ ।

आठौँ संस्करणको बागलुङ महोत्सव पनि भर्खरै सम्पन्न भएको छ । १२ दिनसम्म चलेको बागलुङ महोत्सवमा झन्डै आठ करोड रुपैयाँको कारोबार भएको आयोजक बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले जानकारी दिनुभयो ।

कला, संस्कृतिको संरक्षणसँगै पर्यटन, कृषि, उद्योग तथा व्यापार प्रवर्द्धनमा महोत्सवले टेवा पुर्‍याएको उहाँले बताउनुभयो । यस्ता मेला–महोत्सवबाट मनोरञ्जन मात्र नभएर पर्यटन र व्यवसाय प्रवर्द्धनको माध्यम बनेका शाक्यकाे भनाइ छ ।

आठौँ पर्वत महोत्सव गएको पुस ९ देखि १९ गतेसम्म चलेको थियो । त्यस्तै १२औँ गोरखा महोत्सव पनि अहिले चलिरहेको छ । गोरखा उद्योग वाणिज्य सङ्घको आयोजनामा गएको पुस १४ गते शुरू भएको महोत्सव यही पुस २८ गतेसम्म चल्नेछ ।

यस्तै चितवनकाे रत्ननगर नगरपालिकामा रहेकाे टिकौली चौरमा आजदेखि रत्ननगर महोत्सव शुरू भएकाे छ । माघ ६ गतेसम्म हुने महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, कला र संस्कृतिसहित राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा बहुराष्ट्रिय गरि झन्डै २ सय ५० वटा स्टल रहेको आयोजकले जनाएको छ ।

पोखरामा १४औँ संस्करणको पोखरा महोत्सव यही पुस २९ गतेदेखि माघ ११ गतेसम्म आयोजना हुँदैछ । त्यस्तै माघे सङ्क्रान्तिका अवसरमा देशका विभिन्न ठाउँमा मेला महोत्सव आयोजना भएका छन् ।

गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रिडी, म्याग्दीको बेनी बजार, बागलुङको जैमिनी, पोखराको ढुङ्गेसाँघुलगायतका क्षेत्रमा मेला हुँदैछन् । स्थानीय उत्पादन, खेल, कला, संस्कृति, पर्यटन र व्यवसाय प्रवर्द्धनको उद्देश्यसहित मेला–महोत्सवको आयोजना हुने गरेको छ ।

त्यस्तै आउँदो माघ ८ गतेदेखि २० गतेसम्म नवौँ लमजुङ महोत्सव हुँदैछ ।

अन्तिम अपडेट: माघ ५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया