स्याङ्जाको भीरकोट–७ बाट १० करोड रुपैयाँभन्दा धेरैको सुन्तला बिक्री

 पुष २६, २०८२ शनिबार १२:७:२७ | रासस
unn.prixa.net

स्याङ्जा – स्याङ्जाको भीरकोट–७ बाट यस वर्ष १० करोड रुपैयाँभन्दा धेरैको सुन्तला बिक्री भएको छ । वडाका विभिन्न टोलमा रहेका सुन्तला बगैँचाबाट गाउँमा १० करोड बढी रकम भित्रिएको हो ।

सुन्तला फलाएका किसानबाट लिइएको तथ्याङ्कका आधारमा यस वर्ष मात्रै वडा ७ मा १० करोड बढीको सुन्तला बिक्री भएको वडाध्यक्ष तारा अर्यालले जानकारी दिनुभयो । वडाका जिमिरे, लोलुङ्गा, बलमाटा, तिलाहार, पाङसाङ, पासिन्डाँडा, कोलडाँडा, धोवादीलगायत टोलका किसानले न्यूनतम एक लाखदेखि अधिकतम ३५ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका वडाध्यक्ष अर्यालको भनाइ छ ।

किसानले ठेक्का तथा प्रतिकिलो ७० रुपैयाँका दरले बोटबाटै बिक्री गरेका हुन् । वडामा सुन्तलाको बगैँचा विस्तार गर्ने क्रम बढेको छ । कोदो, मकै फल्ने बारीमा पनि सुन्तला बगैँचा विस्तार गर्न थालिएको छ । सुन्तलाको पकेट क्षेत्रको रूपमा रहेको भीरकोट–७ मा तीन वर्षअघि बगैँचा विस्तार गरिएको थियो । भिरकोटमा उत्पादन भएको सुन्तला स्थानीय बजारसँगै पोखरा, बुटवल, नारायणघाट, काठमाण्डौमा खपत हुने गरेको छ ।

भीरकोट–७ जिमिरेका देवीलाल अर्याल, लोलुङ्गाका लालप्रसाद कोइरालालगायतले १५ लाखभन्दा धेरैको सुन्तला बिक्री गर्नुभएको छ । स्याङ्जाबाट यस वर्ष १ अर्ब ३२ करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष कूल २३ हजार २ सय ३८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।

स्याङ्जामा गएको वर्षको तुलनामा यस वर्ष २० करोड बढी मूल्यको सुन्तला उत्पादन भएको हो । गएको वर्ष २० हजार ८४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । 
 

अन्तिम अपडेट: माघ ६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया