बेलुका ६ बजेसम्म २ हजार ९ सय २५ जनाको उम्मेदवारी दर्ता

 माघ ६, २०८२ मंगलबार १८:३९:२३ | रासस
unn.prixa.net

काठमाण्डाै – आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फ देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा बेलुकी ६ बजेसम्म २ हजार ९ सय २५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता भएपछि आज बेलुकी निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव कृष्णबहादुर राउतले ३ सय ३६ महिला र २ हजार ५ सय ८९ पुरुषले उम्मेदवारी दर्ता गराएकाे आयोगको प्रणालीमा आएको जानकारी गराउनुभयो । अझै कतिपय निर्वाचन क्षेत्रमा रुजुको काम भइरहेकाले यसमा केही बढ्न सक्ने उहाँले बताउनुभयो ।

कम दर्ता भएको मुस्ताङमा ४ वटा मात्र उम्मेदवारी दर्ता भएको छ । यसैगरी मनाङमा ५ जनाको उम्मेदवारी दर्ता भएको जानकारी पनि सचिव राउतले दिनुभयो । यी दुवै जिल्लाका उम्मेदवारीको रुजु भइसकेको छ । सबैभन्दा धेरै उम्मेदवारी दर्ता भएको रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ र ३ मा ३५/३५ उम्मेदवारी दर्ता भएको छ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ को रुजु भइसकेको छ भने ३ नम्बर क्षेत्रको बाँकी छ ।

सामान्यतया शान्तिपूर्ण रूपमै उम्मेदवारी दर्ताका काम भएको निर्वाचन अधिकृतको कार्यालयहरूबाट जानकारी आएको आयाेगले जनाएको छ । आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको थियो । उम्मेदवारी दर्ताका लागि नागरिकता वा मतदाता परिचयत्रपत्रसहित १३ प्रकारका कागजात साथमा लिएर आउन आयोगले आह्वान गरेको थियो । अहिले बेलुकी ८ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम रहेको पनि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई बताउनुभयो ।

माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएको उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ । माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवम् निर्णय गरि त्यसै दिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।‌

माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरि त्यसै दिन दिउँसो ४ बजेदेखि बेलुकी ७ बजेसम्ममा उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

अन्तिम अपडेट: माघ २९, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया