आज विश्व मिर्गाैला दिवस
फागुन २८, २०८२ बिहिबार
गएको माघ २१ गते खोटाङमा बिहे भोज खाँदा बेहुला–बेहुलीसहित करिब डेढ सय जना बिरामी भए । बिहेको भोज खाएको भोलिपल्टदेखि उनीहरू बिरामी पर्न थालेका हुन् । उनीहरूलाई भोज खाने क्रममा ‘फुड पोइजनिङ’ अर्थात् खाना विषाक्त भएको अनुमान गरिएको छ । यस्ता घटना गर्मी मौसममा अत्यधिक सुन्नमा आए पनि अहिले बिहे भोज र चुनावी अभियानका बेलामा पनि यस्ता घटना देखिने सम्भावना धेरै हुन्छ ।
बेलाबेलामा वनभोज, विवाह, व्रतबन्धलगायतका भोजहरूमा खाना खाएपछि सामूहिक रूपमा बिरामी पर्ने गरेको समाचार आइरहन्छन् । सानोसानो समूहमा तथा परिवारमै पनि फुड पोइजनिङको समस्या हुने गरेका छन् । धेरै जना एकै ठाउँमा जम्मा भएर भोज खाँदा सावधानी नअपाउनाले बिरामी पर्ने सम्भावना धेरै हुन्छ ।
दूषित खाना र पानीबाट ब्याक्टेरिया, भाइरस, विभिन्न किसिमका परजीवीहरू हातको माध्यमबाट पेटमा पुगेपछि फुड पोइजनिङ हुन्छ । इकोलाई, साल्मोनेला, लिस्टेरियाजस्ता कीटाणुबाट फुड पोइजनिङ हुन्छ । यी जीवाणु विभिन्न माध्यमबाट पेटमा पुगेर स्वास्थ्यमा समस्या देखिन्छ ।
नेपालीहरूको भोजमा प्रायः नभई नहुने भनेको अमिलो अचार हो । अमिलो अचार बनाएर राख्दा ध्यान दिएन भने त्यसले हानी गर्छ । आल्मुनियमको भाँडामा अमिलो राखेर अचार बनाएको छ भने त्यसबाट प्रतिक्रिया भएर रासायनिक विषाक्त पदार्थ निस्कन्छ र त्यस्तो भाँडामा रहेको खानेकुरा खाँदा २ देखि ३ घण्टामै ‘फुड पोइजनिङ’ हुन्छ ।
मुख्यगरी हातको सरसफाइ नगरि खाँदा; सागसब्जी, सलादहरू राम्रोसँग नपखाली खाँदा; नछोपिकन राखेको खानेकुरा खाँदा: लामो समय बाहिर राखेको खानामा ब्याक्टेरिया विकसित भएमा तथा काँचो मासु खाँदा फुड पोइजनिङ हुन सक्छ ।
फुड पोइजनिङका लक्षण
फुड पोइजनिङ हुँदा उल्टी आउने, ज्वरो आउने, पेट निमोठेर दुख्ने, थकान, बेचैनी हुने, डकार आउने, टाउको दुख्ने, बान्ता हुने, कमजोरी हुने, दिसा पातलो लाग्ने, शरीरमा पानी नपुगेर ओठमुख सुक्ने लक्षण देखिन सक्छ । गम्भीर खालको फुड पोइजनिङ हुँदा मुख सुक्ने, पेटमा एसिडको मात्रा बढी हुने, बोल्न र हेर्न गाह्रो हुने, पिसाब कम आउने वा आउँदै नआउने, ज्वरो पनि आउने र बिरामी शिथिल बन्दै जाने लक्षण देखिन्छ । यस्तो लक्षण देखिएमा तत्काल अस्पताल जानुपर्छ ।
फुड पोइजनिङ खासमा गर्मी महिनामा धेरै देखिन सक्छ । किनकि गर्मी समयमा पानी दूषित हुने, ब्याक्टेरिया र भाइरसलाई अनुकूल वातावरण पाएर चाँडै विकास हुन जान्छ । चुनावको यो समयमा पनि खानामा विषाक्त हुने सम्भावना अत्यधिक हुन्छ । किनकि यो समयमा भीडभाड हुने, हतारमा खाना खाने, भीडभाडमा पकाउने, सरसफाइमा ध्यान नदिने, पकाएर लामो समय राखिराख्ने गर्दा फुड पोइजनिङको सम्भावना अत्यधिक हुन्छ । वनभोज, विवाह, व्रतबन्धलगायतका समारोहमा बनाइने खानेकुरामा स्वच्छतालाई ध्यान नदिँदा विषाक्त हुने र त्यस्तो खाना खाएकाहरू सामूहिक रूपमा बिरामी पर्छन् ।
कसरी सावधानी अपनाउने ?
भोजभतेरमा मात्रै सावधानी अपनाएर हुँदैन, खानेकुरा तयार भएपछि खाने प्लेटबाट मुखसम्म पुग्ने बेलासम्म सरसफाइमा हरेक समय सावधानी अपनाउनुपर्छ । यसका लागि खाना र पानीमा विशेष ध्यान दिनुपर्छ । खाना खानुअघि, पकाउनुअघि र शौचालय गएर आएपछि राम्ररी हात धुने गर्नुपर्छ । साथै पकाएर लामो समयसम्म खानेकुरा बाहिर राख्न मिल्दैन । सामूहिक रूपमा खानका लागि बनाइएका खानेकुराहरू सफा खानुपर्छ । काँचो मासु, अण्डा खान हुँदैन । फलफूल खाँदा पनि राम्रोसँग धोएर वा बोक्रा निकालेर खाने गर्नुपर्छ ।
घरबाहिर सामूहिक भोजमा बनाइएका सलाद, हरियो साग, नपकाइकन बनाइएका विभिन्न थरीका खानेकुरा शङ्का लागेमा खान हुँदैन । सडकमा बनाएका खानेकुरा गुणस्तरमा शङ्का लागेमा खानु हुँदैन । सडेगलेको र बासी खाना, झिँगा भन्केका खानेकुराहरू खान हुँदैन । पानी पनि शुद्ध र सफा उमालेको वा क्लोरिनले शुद्धीकरण गरेको मात्रै पिउनुपर्छ ।
(पेटरोग विशेषज्ञ प्रा. डा. दिनेश श्रेष्ठसँग सम्झना महर्जनले गर्नुभएकाे कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
डा. श्रेष्ठ पेटरोग विशेषज्ञ हुनुहुन्छ ।