गुल्मीमा आजदेखि हप्तामा चार उडान
बैशाख ५, २०८३ शनिबार
चुनावी घोषणापत्रमार्फत सबैजसो राजनीतिक दलहरूले अर्थतन्त्र सुधारका लागि विशेष सम्बोधन गर्न खोजेका छन् देशको सुस्त आर्थिक वृद्धि, बढ्दो बेरोजगारी, उच्च आयात निर्भरता र घट्दो लगानीलाई सम्बोधन गर्ने प्रतिवद्धता अधिकांश दलको साझा विषय बनेको छ । दलहरूले कृषि आत्मनिर्भरता, युवा उद्यमशीलता, स्टार्टअप प्रवद्र्धन, पर्यटन विस्तार र वैदेशिक रोजगारीको विकल्प सिर्जना जस्ता विषयलाई अर्थतन्त्रको मूल आधारका रूपमा अघि सारेका छन् । केही दलले कर संरचना पुनरावलोकन, राजस्व चुहावट नियन्त्रण र सुशासनमार्फत आर्थिक सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । यसपटकका घोषणापत्रहरूमा अर्थतन्त्र पुनरुत्थान, रोजगारी सिर्जना, उत्पादन वृद्धि र लगानीमैत्री वातावरण निर्माण मुख्य साझा बिन्दुका रूपमा देखिन्छन् । तर, कार्यान्वयन पक्ष र स्रोत व्यवस्थापनको स्पष्ट खाका कति प्रभावकारी रूपमा अघि बढ्छ भन्ने विषय नै मतदाताका लागि निर्णायक हुने देखिन्छ ।
कार्यान्वयनयोग्य घोषणापत्रमा प्रति बढी ध्यान
राजनीतिक दलहरुको घोषणापत्रमा अर्थतन्त्रबारे के–के रहेछन्, अहिलेका मुद्दा, अर्थसम्बन्धी राजनीतिक मुद्दा के–के रहेछन् भन्ने देखिन्छ । यो सकारात्मक पक्ष हो । कतिपय घोषणापत्रमा कसरी लेख्ने र कसरी गर्ने भन्ने आ–आफ्नै तौरतरिका देखिएका छन् । कतिपय दलहरुले नागरिकले बुझ्ने भाषामा घोषणापत्र बनाएका छन् भने कतिपय दलहरुले स्टन्ट अर्थात् प्रचारबाजी शैली अपनाएको देखिन्छ । दलका घोषणापत्रमा समस्याको उठान र समाधान पनि आएको देखिन्छ । सबै दलका घोषण पत्र पक्ष/विपक्ष दुवै खालका छन् । विश्वविद्यालयका अनुसन्धानकर्ता र सञ्चारमाध्यममा काम गर्नेका लागि अहिलेको राजनीति कसरी अगाडि बढिरहेको रहेछ भनेर छलफल गर्नका लागि मुद्दाहरु उठाएका छन् । यो भनेको अर्थतन्त्र कस्तो रहेछ भनेर निदानको पाटो हो । अर्को भनेको राजनीतिक दलहरुले घोषणापत्रमार्फत गर्न सकिने मुद्दाहरु उठाएका छन् । भोलिका दिनमा जुनसुकै सरकार आए पनि सबै दलका घोषणपत्रमा भएका राम्रा र कार्यान्वयन गर्न सक्ने विषयहरुमा काम गर्न सकिने अवस्था देखिएको छ ।
पहिलेका घोषणापत्रभन्दा अहिले फरक
अहिले राजनीतिक दलहरुले ल्याएको घोषणपत्र पहिलेको भन्दा केही न केही फरक देखिन्छ । तर कतिपय विषयहरु दोहोरिएका पनि छन् । पहिले राजनीतिक दलहरुले घोषणपत्रमा गर्नै नसकिने खालका अथवा ठूला–ठूला कुराहरु समावेश गरेको देखिन्थ्यो । अहिले सबै दलहरु यथार्थपरक बनेको जस्तो देखिन्छ । यथार्थपरक बन्दा बन्दै कतिपय बुँदा पढ्दै जाँदा प्रचारबाजी शैली अपनाएको हो कि जस्तो पनि देखिन्छ । अर्थतन्त्रमा परिर्वतन गर्ने भन्दा पनि नागरिकलाई खुशी पार्नेतर्फ दल लागेको जस्तो पनि देखिएको छ । यी कुराहरु विकासकै क्रमहरु रहेछन् । राजनीतिक दलहरुले गर्ने कार्यमा तौरतरिका, बनाउने तरिका, कसरी जानुपर्छ, नागरिकले कसरी बुझ्छन् भन्ने तरिकामा पनि भर पर्छ । पहिले भन्दा अहिले नागरिकको चेतना र ज्ञानको दायरा बढेको छ । साथै दलहरुले गरेका कामको मूल्याङ्कन गर्न पनि थालेका छन् । नागरिकको स्तर बढ्दै जाँदा दलहरुको घोषणापत्र पनि माथिल्लोस्तरको हुँदै जाने रहेछ भन्ने देखाएको छ ।
घोषणपत्रमा उल्लेख भएका सबै बुँदा बजेटमा समावेश गराउन सकिन्न
पहिले दलहरुका घोषणपत्र अलि गहिरिएर हेर्दा कतिपय दलका घोषणापत्र, घोषणपत्र मात्रै त हो भन्ने हुन्थ्यो । अनुसन्धानकर्ता र सञ्चारमाध्ययमले घोषणपत्रलाई कार्यान्वयन भयो कि भएन भनेर मूल्याङ्कन गर्न थालेपछि दलहरुले कार्यान्वयन गर्न सकिने खालको बनाउन थालेको देखिन्छ । घोषणापत्रमा कामको मूल्य र त्यसको बजेट लेख्ने चलन छैन । यसो नहुँदा पनि पृष्ठभूमिमा कामको खर्च कति लाग्छ भनेर देखाउन सके अझ स्पष्ट हुन्छ । अर्थतन्त्रको आकार कति बनाउने भन्ने बारेमा चर्चामा आएका मुख्य राजनीतिक दलहरुको उस्तै–उस्तै देखिन्छ । यसको अर्थ पृष्ठभूमिमा हिसाब गरेर यति हुन्छ भनेर लेखिएको जस्तो लाग्छ । तर अलिअलि दलहरुले नागरिकलाई आफूतर्फ ध्यान बढाउन प्रचारमुखी विषय घोषणापत्र समावेश गरिरहेका हुन्छन् । घोषणपत्रमा उल्लेख भएका सबै बुँदालाई बजेट बनाउँदा उस्तै गराउन सकिन्न । तर घोषणपत्रको अवधारणालाई लिएर बजेटमा कार्यान्वयन गर्न सकिन्छ ।
घोषणपत्रका हरेक बुँदामा एकरूपता चाहिन्छ
घोषणापत्रमा दुई वटा पक्ष हुन्छन् । घोषणापत्र राजनीतिक रूपमा जनाउने भएकाले देशको अर्थतन्त्रको अवस्था र कार्यान्वयन गर्ने विधि समावेश हुन्छ । यस्तै राजनीतिमा जहिले पनि जे भइरहेको छ वा जति सकिन्छ त्यो भन्दा अलि बढी आशावादीका कुरा गरिन्छ । कार्यान्वयन गर्न सकिने वाचालाई राम्रोसँग घोषणपत्रमा समावेश गर्न सके यथार्थपरक परिवर्तन ल्याउँछ । घोषणपत्रमा राखिएका हरेक बुँदा एक अर्कामा सम्बिन्धित हुन्छन् । बुँदाहरुमा फरक–फरक कुरा लेख्न थालियो भने दलहरुको बुझाइ रहेनछ भन्ने बुझाउँछ । एउटा पार्टीको घोषणापत्र र अर्को पार्टीको घोषणापत्रमा विरोधाभास भए पनि कुनै समस्या हुँदैन । यो यथार्थपरक पनि हो र हुनुपर्छ । तर एउटै पार्टीको घोषाणपत्रमा हरेक बुँदामा विरोधाभास भयो र भनेका कुरामा एकरूपता देखिएन भने पछि कार्यान्वयन गर्न पनि सजिलो हुँदैन र प्रोत्साहन पनि दिँदैन । यसरी दलहरुले घोषणापत्र बनाएको भए सबै दलका घोषणापत्र कार्यान्वय सकिने खालको हुन्थ्यो ।
सरकारमा नगए पनि दलहरुले आफ्ना मुद्दाहरु उठाइरहनुपर्छ
दलहरुले चुनावमा जानुअघि घोषणपत्रमा आफू सरकारमा गएको अवस्थामा गर्ने खाका समावेश गर्छन् । यसलाई कुनै दलले करारनामा, वाचापत्र, प्रतिज्ञापत्र लगायतका नाम दिएका छन् । जसले जे भने पनि यो घोषणपत्र नै हो । साथै सरकारमा जाँदा गर्ने काम नै भनेको हो । तर दलहरुले यसरी घोषणपत्र बनाउँदै गर्दा सबै दलहरु सरकारमा जाँदैनन् । हाम्रो जस्तो निर्वाचन संरचनामा कुनै पनि दलले बहुमत ल्याउन कठिन हुने भएको हुँदा दलहरुले आफ्ना घोषणापत्र लागू गर्न पहलकदमी गर्नुपर्छ भन्ने सन्देश दिनुपर्ने देखिन्छ । सरकारमा नगए पनि दलहरुले आफ्ना मुद्दाहरु उठाउनुपर्छ । यसले दलहरुलाई परीक्षण गर्न मद्दत पुग्छ जसले आउने दिनमा नागरिकको मन जित्न सहयोग गर्छ । सरकारमा गएको दलले आफ्नो इच्छाअनुसार फटाफट काम गर्न सक्छ । तर विपक्षमा भएका देलहरुले बारम्बार जागरुक बनाइरहनुपर्छ । जसले गर्दा प्रतिपक्ष दलका आकर्षक विषयहरु सरकारमा गएको दललाई अनुसरण गर्न बाध्य पनि बनाउन सकिन्छ । यसले घोषणापत्रमा समावेश भएका विषयलाई कार्यान्वयन गर्न र निर्णय गर्न पनि मद्दत पुग्छ । प्रतिपक्षमा हुने दलको निर्णायक भूमिका नहुने भएकाले मुद्दाको उठान भयो कि भएन भनेर हेर्नुपर्छ । साथै सरकारमा पुगेको दलले घोषणपत्रमा उल्लेख गरेका कुरा कार्यान्वयनमा लगेको छ कि छैन भनेर ताकेता गरिरहनुपर्छ ।
(राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीसँग विकाश चापागाईंले गरेको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
अधिकारी राष्ट्रिय याेजना आयाेगका पूर्व उपाध्यक्षा एवम् अर्थशास्त्री हुनुहुन्छ ।