कोशी प्रदेशको चुनावी गणित : तराई–पहाड सन्तुलन, बसाइँसराइ र पहिचानको प्रभाव

 फागुन १३, २०८२ बुधबार ७:६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

झापा ५ मा केपी शर्मा ओली र बालेन शाहको उम्मेदवारीसँगै कोशी प्रदेश देशकै सबैभन्दा चासोको चुनावी भूगोल बनेको छ । १४ जिल्ला, २८ प्रतिनिधिसभा क्षेत्र र ३५ लाखभन्दा धेरै मतदाता रहेको यस प्रदेशको विशेषता यसको विशिष्ठ भूगोल र मिस्रित जनसंख्या हो । पूर्वी देशको सबैभन्दा होचो केचनाकवलदेखि संसारकै अग्लो सगरमाथा शिखरसम्म फैलिएको कोशी प्रदेशको अर्को विशेषता जातीय र जनजातीय विविधता सहितको जनसंख्या हो । 

प्रदेशको तराईका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा उच्च जनघनत्व, उद्योग–व्यापार र बसाइँसराइको प्रभाव बढी छ । पहाडबाट बसाई सरेको र झरेको जनसंख्या अधिक भए पनि मधेशका आदिवासीको मत निर्णायक छ । पहाडमा राई, लिम्बु र मिस्रित जातीय भोटले पहिचान र मुुद्दा–आधारित राजनीतिलाई समर्थन गर्दै आएको छ ।

शहरी क्षेत्रमा सुशासन, रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता एजेन्डा प्रभावशाली छन् । यही कारणले राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका नयाँ दलप्रति आकर्षण बढी देखिन्छ । पहाडी जिल्लाहरू–भोजपुर, खोटाङ, ओखलढुंगा, पाँचथर, ताप्लेजुङ, तेह्रथुममा भने पहिचान, स्थानीय नेतृत्व र समुदायगत भावना बलियो छ । यहाँ व्यक्तिगत सम्बन्ध, जातीय प्रतिनिधित्व र ‘हाम्रो मान्छे’ को मनोविज्ञान निर्णायक बन्न सक्छ ।

कोशी प्रदेश विशेषतः किराँत भूगोल हो । राई र लिम्बू समुदायको उल्लेख्य उपस्थिति रहेको यस क्षेत्रमा प्रदेश नामकरण, खुवालुङ–मुकुम्लुङ जस्ता सांस्कृतिक विषय र ‘पहिचान’ को बहस चुनावी मुद्दामा रूपान्तरित भएको छ ।

यसले परम्परागत दलहरूलाई रक्षात्मक बनाएको छ । नेकपा एमाले माथि ‘पहिचान–विरोधी’ ट्याग लागेकाले आदिवासी जनजाति मत घट्ने र श्रम संस्कृति पार्टी जस्ता क्षेत्रीय पार्टीको उदय मत काट्ने भूमिकामा निर्णायक हुनसक्छ ।

पहाडबाट बसाइँ सर्ने क्रम तीव्र छ । बसाई सराईले तराईको जनसांख्यिकी बदलिदिएको छ । अहिले झापा, मोरङ र सुनसरीमा ठूलो संख्यामा पहाडी र मधेशी आदिवासी जनजाति मतदाता छन् । यसको अर्थ–पहिचानको मुद्दा केवल पहाडमा सीमित छैनन्, तराईका शहरी क्षेत्रमा पनि त्यसको प्रभाव छ । तर त्यहाँ पहिचानभन्दा बढी रोजगारी, व्यापार र सुशासन जस्ता विषय अगाडि आउँछन् ।

यो संरचनाले चुनावी नतिजालाई पूर्ण रूपमा कुनै एक दलतर्फ झुक्न नदिने पक्का छ ।

यसअघि २०७९ को चुनावमा एमाले कोशीमा १३ सिट जितेर पहिलो दल बनेको थियो भने नेपाली कांग्रेस ९ सीटमा सीमित थियो । तर यसपटक समीकरण फरक छ । एमालेको परम्परागत आधार बलियो भए पनि आन्तरिक असन्तोष, पहिचान विवाद र नयाँ पुस्ताको असन्तुष्टिले सिट घट्न सक्छ । कांग्रेसले संगठनात्मक संरचनामा भरोसा राखे पनि पुरानो पुस्ताको असन्तुष्टि बाधक देखिन्छ । रास्वपाको आकर्षण पूर्वमा पनि बढेको छ । विशेषतः शहरी तराई र केही पहाडी केन्द्रमा बहुपक्षीय प्रतिस्पर्धाले परिणाम अप्रत्याशित बनाउन सक्छ ।

कोशी प्रदेशको चुनावको नतिजा भूगोल, बसाइँसराइ र पहिचानले निर्धारण गर्ने पक्का छ । योपालि चुनावको नतिजाले एमालेको प्रभुत्व कमजोर बनाउने, कांग्रेसको आंशिक पुनरुत्थान गर्ने र रास्वपाको उदय हुने संकेतहरु कोशी प्रदेशमा स्पष्ट देखिएका छन् । तर प्रभाव कति गहन र व्यापक हुनेछ भन्ने प्रष्ट उत्तर त फागुन २१ मा खसेको मत गनेपछि मात्रै थाहा हुनेछ ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया