भोट दिन विदेशबाट फर्किएका युवाको अपेक्षा : रोजगारीका लागि विदेशिन नपरोस्

 फागुन १५, २०८२ शुक्रबार १२:३२:४४ | महेश ज्ञवाली
unn.prixa.net

चुनाव आउनै लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन क्षेत्रमा चहलपहल बढेको छ । भोट दिनकै लागि धेरै युवा स्वदेश फर्किएका छन् । चुनावको बेला स्वदेश फर्किनेहरूको आगमन खुशीको क्षण हो । तर यसपटक स्वदेश फर्किँदाको खुशीसँगै अब बन्ने सरकारले रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य गर्ला भन्ने आशा धेरैमा जागेको छ ।

कोही कम्पनीबाट बिदा मिलाएर आएका छन्, त कोही आकस्मिक बिदा लिएर । कोही भने बिदा नपाएपछि जागिर छाडेर र भिसा रद्द गरेरै भोट दिन आएका छन् । यसरी स्वदेश फर्कनेमध्ये एक हुनुहुन्छ, सिरहाकाे सुखीपुरका अजयकुमार यादव । उहाँ १७ वर्षदेखि वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो । कम्पनीले बिदा नदिएपछि उहाँ भोट दिनकै लागि भिसा रद्द गरेर स्वदेश फर्कनुभएको छ । १७ वर्ष विदेश बस्दा उहाँले एकपटक पनि मतदान गर्ने अवसर पाउनुभएन । उहाँ भन्नुहुन्छ, ‘यदि विदेशबाटै अनलाइन भोट हाल्न पाएको भए कति सजिलो हुन्थ्यो । धेरै साथीहरू भोट हाल्नकै लागि जागिर छाडेर आएका छन् । कम्पनीले चुनावको बेला छुट्टी दिँदैन, अनि आफ्नो अधिकार प्रयोग गर्न जागिरै छाड्नुपर्ने अवस्था छ ।’

कतारमा १७ वर्ष बस्दा आम्दानी भए पनि जीवन निकै कठिन भएको यादवको अनुभव छ । उहाँ भन्नुहुन्छ, ‘घरमा म, श्रीमती, दुई छोराछोरी र बुबा–आमा छौँ । छोराछोरीकै भविष्यका लागि विदेशमा यत्रो दुःख सहनुपरेको हो । कम्पनीले १३ सय रियाल दिन्छ जसमा ५–६ सय खानामै खर्च हुन्छ । बाँकी रकमले घर खर्च, स्कुल शुल्क सबै धान्नुपर्छ ।’ उहाँका अनुसार दुई छोराछोरीको स्कुल खर्च मात्रै महिनामा १० हजार रुपैयाँ पर्छ ।

यसपालिको चुनावपछि बन्ने नयाँ सरकारप्रति अजयकुमार यादवको ठूलो आशा छ । ‘कतार गएको सात महिना मात्रै भएको थियो, तर सबै छाडेर आएँ । अब देशमा केही परिवर्तन होला भन्ने विश्वास छ । मैले दुःख काटिसकेँ, तर मेरा छोराछोरीले मेरो जस्तो जीवन नजिऊन् । राम्रो शिक्षा पाऊन् र रोजगारीका लागि विदेश जान नपरोस्,’ उहाँ भन्नुहुन्छ ।

उहाँको भनाइमा पढाइ नभएकाहरूले विदेशमा अत्यन्तै कठोर परिस्थितिमा काम गर्नुपर्छ । ‘४२–४५ डिग्रीको घाममा काम गर्नुपर्छ, साहुको हेपाइ सहनुपर्छ । यदि आफ्नै देशमा अवसर भएको भए किन विदेश जानुपर्थ्याे र ?’ उहाँ भन्नुहुन्छ । यसपालि भोट हाल्नकै लागि भिसा क्यान्सिल गरेर आएको बताउँदै उहाँले थप्नुभयो, ‘अब फेरि जान्नँ । देशमा व्यवस्था राम्रो हुनुपर्छ । विदेशमा रहेका नागरिकले पनि आफ्नो अधिकार पाउनुपर्छ । यसपालि सही मान्छे जिते भने खुशी लाग्नेछ ।’

मोरङका सागर श्रेष्ठ पनि भोट हाल्नकै लागि कतारबाट स्वदेश फर्किनुभएको छ । उहाँ तीन वर्षदेखि कतारमा बस्दै आउनुभएको छ । ग्यास प्लान्टमा प्राविधिकका रूपमा काम गर्दै आएका उहाँ यसपटक चुनावका लागि ६ महिनामै बिदा लिएर नेपाल आउनुभएको हो ।

उहाँका अनुसार नेपालमा रोजगारीको अवसर नपाएकै कारण खाडी जानुपरेको हो । परिवारको भविष्य सुरक्षित बनाउने उद्देश्यले विदेश जानुपरेको भए पनि परदेशको जीवन सजिलो छैन । बिहान उठ्ने, काममा जाने, फर्किने, खाने र सुत्ने—यही दिनचर्या मात्र हुन्छ । कहिलेकाहीँ त खाने र सुत्ने समय पनि निश्चित हुँदैन । भोकै काम गर्नुपर्ने अवस्था आउँछ, कहिलेकाहीँ गनाएको खाना खानुपर्ने बाध्यता पनि हुन्छ । अर्काको देशमा आफ्नै मर्जी चल्दैन, जागिर जोगाउनु नै ठूलो चुनौती हुन्छ ।

पहिलो संविधानसभा चुनावदेखि नै मतदान गर्दै आएको अनुभव सुनाउँदै श्रेष्ठ भन्नुहुन्छ, ‘धेरै पार्टीको झोला पनि बोकियो, तर अब बुझिसकेँ ।’ उहाँका अनुसार भ्रष्टाचार मात्र रोक्न सकियो भने देशमै धेरै रोजगारीका अवसर सिर्जना हुन सक्छन् । अन्य देशका मानिसहरूले समेत नेपालको मुख्य समस्या भ्रष्टाचार नै भएको भन्ने गरेको उहाँ बताउनुहुन्छ ।

भ्रष्टाचार रोकिएमा बन्द भएका उद्योग खुल्ने र स्वदेशमै रोजगारी पाउने अवस्था बन्ने उहाँको विश्वास छ  । ‘यदि नेपालमै ३०–४० हजार रुपैयाँ कमाउन सकिने अवस्था हुन्थ्यो भने एक लाख कमाउन विदेश जाने थिएनँ,’ उहाँ भन्नुहुन्छ, ‘परिवारसँगै बसेर आफ्नै देशमा काम गर्थेँ ।’

अहिले एक महिनाको बिदामा नेपाल आए पनि फेरि फर्कनुपर्ने बाध्यता छ । तर चुनावपछि आफूले चाहेको उम्मेदवार आएर देशमा परिवर्तनको सङ्केत देखिएमा स्थायी रूपमा स्वदेश फर्किने उहाँको दृढ इच्छा छ ।

सङ्खुवासभाको धर्मदेवी नगरपालिकाका सन्तोष तामाङ पनि भोट हाल्नकै लागि कतारबाट आपत्कालीन बिदामा स्वदेश फर्किनुभएको छ । उहाँ विगत १० वर्षदेखि वैदेशिक रोजगारीमा हुनुहुन्छ । ‘जे गरे पनि आफ्नो देशप्रति गर्व लाग्छ,’ उहाँ भन्नुहुन्छ । तर नेपालमा रोजगारी नहुँदा बाध्य भएर विदेश जानुपरेको उहाँको भनाइ छ । ‘आफूसँग सीप र क्षमता भए पनि यहाँ काम गर्न गाह्रो छ । बजार, अवसर र सहयोगको अभाव छ । त्यसैले फेरि विदेश जानुपर्ने अवस्था आउँछ,’ उहाँले बताउनुभयो ।

तमाङका अनुसार वैदेशिक रोजगारी सजिलो छैन । नेपालबाट सोचेर गएजस्तो जीवन विदेशमा हुँदैन । यही कारणले यसपटक विशेषगरी चुनावमा मतदान गर्नकै लागि आएको उहाँले बताउनुभयो ।

‘पहिलाका दिनहरू त्यत्तिकै बिते । हामीले दिएको मतबाट अपेक्षित परिवर्तन भएन । नेताहरू जिते, सत्तामा पुगे, तर गाउँ–ठाउँमा विकास भएन,’ उहाँले विगतप्रति निराशा व्यक्त गर्नुभयो । तर यसपालि भने नयाँ आशा पलाएको उहाँको भनाइ छ ।

‘विदेशजस्तो कमाइ नहोला तर परिवारसँग बसेर, नेपालमै बसेर दुई पैसा कमाउन पाउनु पनि ठूलो कुरा हो,’ उहाँले भन्नुभयो ।

एकातिर देशमा हुन लागेको चुनावमा भोट दिन स्वदेश फर्किने नेपालीको भीड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिन्छ । अर्कोतर्फ यही बेला हातमा पासपोर्ट, आँखामा अनिश्चित भविष्य र मनमा अनेक प्रश्न बोकेर नागरिकहरू देश छाड्दैछन् । कोही रोजगारीका लागि, कोही अध्ययनका लागि त कोही निराशा र अस्थिरताबाट उम्कन विदेशिन बाध्य छन् ।

मतदानको मिति थाहा हुँदाहुँदै पनि देश छाड्नुपर्ने यो बाध्यताले एउटा गम्भीर प्रश्न जन्माएको छ, ‘चुनाव नजिकिँदै गर्दा देश किन रित्तिँदैछ ?’

भोट हाल्न नपाउने पीडा, चुनावी घोषणापत्रप्रतिको विश्वास वा अविश्वास, र ‘यदि देशमै राम्रो अवसर भएको भए विदेश जाने निर्णय बदलिन्थ्यो कि ?’ भन्ने प्रश्न युवाहरूको मनमा उस्तै गुञ्जिरहेका छन् ।

बर्दियाका विनोद बुढाक्षेत्री चुनावअघि नै रोजगारीका लागि यूएई उड्दै हुनुहुन्छ । उहाँ ६ वर्षदेखि वैदेशिक रोजगारीमा हुनुहुन्छ । यसपालि एक महिनाको बिदामा नेपाल आउनु भए पनि चुनावका लागि बिदा थप गर्न धेरै प्रयास गर्दा पनि कम्पनीले अनुमति दिएन । त्यसैले भोट हाल्न नपाउने निराशासहित उहाँ फेरि विदेश फर्किँदै हुनुहुन्छ ।

नेपालमा रोजगारी र आयआर्जनको अवसर नहुँदा बाध्य भएर विदेशिनुपरेको उहाँको भनाइ छ । ‘आफ्नो परिवार छोडेर जान कसलाई रहर हुन्छ र ?’ उहाँ भन्नुहुन्छ, ‘राजनीतिक अवस्थाका कारण हामीजस्ता युवाले परिवारसँग खुशी साट्न पाएका छैनौँ । यदि देशमै राम्रो वातावरण बनेको भए हामी नेपालमै बस्न चाहन्थ्यौँ ।’

विनोद बुढाक्षेत्री हरेक चुनावमा मतदान गर्न नेपाल आउने गरेको बताउनुहुन्छ । तर अहिलेसम्म कुनै ठोस परिवर्तन महसुस गर्न नपाएको उहाँको गुनासो छ । ‘गणतन्त्र आएपछि केही होला कि भन्ने आशा थियो, तर महँगी मात्रै बढ्यो,’ उहाँ भन्नुहुन्छ । विदेशबाट पठाइने रेमिट्यान्स बढे पनि त्यसले देशको अर्थतन्त्र सुधारिएको अनुभव नभएको उहाँको भनाइ छ ।

‘बिरामी हुँदा एक गिलास पानी दिने मान्छे पनि हुँदैन । एउटै कोठामा बस्ने साथीहरू पनि ड्युटीमा जानैपर्छ । परिवार छोडेर बस्नुको पीडा छुट्टै छ,’ उहाँले अनुभव सुनाउनुभयो ।

बुढाक्षेत्री उहाँ गाडी चलाउने काम गर्नुहुन्छ । दुबईमा मासिक ९० हजार रुपैयाँ कमाइ हुन्छ । ‘नेपालमा ५० हजार मात्र कमाए पनि म खुशीसाथ बस्थेँ,’ उहाँ भन्नुहुन्छ, ‘त्यो पैसाले परिवार पाल्न, छोराछोरी पढाउन र बुबाआमाको औषधि उपचार गर्न पुग्थ्यो । तर यहाँ १५–२० हजार पनि पाउन गाह्रो छ ।’ यूएईमा सरकारले आफ्ना नागरिकलाई दिने सेवा–सुविधा र नेपालका अवस्थाबीच ठूलो अन्तर रहेको उहाँको अनुभव छ । ‘त्यहाँ सरकारले नागरिकको साना–ठूला समस्या हेर्छ, उद्योग खोल्छ । हामी भने परदेशमा गुलामजस्तै काम गरिरहेका छौँ,’ उहाँ भन्नुहुन्छ ।

यद्यपि यसपालिको चुनावपछि बन्ने नयाँ सरकारप्रति बुढाक्षेत्रीले आशा राख्नुभएको छ । ‘साना–ठूला उद्योग खोलियोस्, युवालाई स्वदेशमै रोजगारी दिइयोस्, भ्रष्टाचार रोकिनुपर्छ,’ उहाँको माग छ । विदेशमा रहेका नेपालीहरूलाई स्वदेश फर्केर काम गर्न सक्ने वातावरण बनोस् भन्ने उहाँको चाहना छ ।

‘सरकारसँग विदेशमा रहेका नेपालीको ठोस तथ्याङ्कसमेत छैन,’ उहाँ भन्नुहुन्छ, ‘हामीले पठाएको पैसाले देश चलेको छ तर हाम्रो पीडा बुझ्ने कोही छैन ।’ यो चुनावपछि आउने नयाँ नेतृत्वले फेरि विदेशिनु नपर्ने दिन ल्याउनेछ भन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

दाङकाे लमही नगरपालिकाका दुर्गाबहादुर खड्का पनि वैदेशिक रोजगारीको सिलसिलामा मलेशिया जान लाग्नुभएको छ । उहाँले तीन वर्षदेखि मलेशियामा काम गर्दै आउनुभएकाे छ ।

उहाँ भन्नुहुन्छ, ‘वैदेशिक रोजगारी सोचे जस्तो छैन । तर नेपालमा भन्दा त्यहाँ अलिकति पैसा कमाइन्छ भनेर जानुपर्‍याे । नेपालमा रोजगारी छँदै छैन र भए पनि तलब निकै न्यून छ । अहिलेका विद्यार्थीहरू पनि भन्छन्, ‘पढेपछि त विदेश जाने हो ।’ मेरी छोरी ६ कक्षामा पढ्छिन्, अहिलेबाटै भन्छिन्, ‘म विदेश जाने हो ।’ सबैको सोच त्यस्तै भइसकेको छ, नेपालमा बसेर केही हुँदैन, नेताको पछि लाग्नुपर्छ वा अस्थिर काम गर्नुपर्छ । सामान्य मान्छेलाई यहाँ बिहान–बेलुका खानै मुस्किल हुन्छ ।’

खड्काकाे अनुभव अनुसार विदेशमा दुःख धेरै छ । सामान्य रुघाखोकी लाग्दा पनि आराम गर्न पाइँदैन, निरन्तर काम गर्नुपर्छ । कम्पनीले काम नगरेको खण्डमा तलब कटौती गर्छ । ‘बाहिरबाट हेर्दा फेसबुक वा टिकटकमा राम्रो लुगा लगाएको देखिन्छ, तर वास्तविकता निकै कठिन छ,’ उहाँले भन्नुभयो ।

चुनावको बेला विदेशमा रहेका धेरै नेपाली स्वदेश फर्किन चाहन्छन्, तर आर्थिक समस्याका कारण सबै पर्किन सक्दैनन् । फर्किएर केही खर्च थप्दा फेरि ऋणमा पर्छन् र फेरि विदेशिनु विकल्पमै रहन्छ । ‘चुनाव आउन धेरै दिन बाँकी छैन । भोट हाल्न पाए हुन्थ्यो, तर कम्पनीले टिकट काटिदिएपछि जानैपर्‍याे । कतै–कतै खल्लो महसुस भइरहेको छ,’ उहाँले अनुभव सुनाउनुभयो ।

खड्का भन्नुहुन्छ, ‘नेताहरूले चुनाव जितेपछि युवाहरूलाई स्वदेशमै रोजगारी दिन र उद्योग–कलकारखाना खोल्न काम गर्नुपर्छ । यहाँको तलब दिनमा कम्तीमा १ हजार पुर्‍याइदिए हामी किन विदेश जाने थियौँ र ?’

अन्तिम अपडेट: चैत ३०, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

महेश ज्ञवाली

महेश ज्ञवाली उज्यालाेमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया