गुल्मीमा आजदेखि हप्तामा चार उडान
बैशाख ५, २०८३ शनिबार
अबको ४ दिनपछि प्रतिनिधिसभाको चुनाव हुँदैछ । चुनावका लागि सबै तयारी पूरा भएको छ । आवश्यक निर्वाचन सामग्री ढुवानी, जनशक्ति व्यवस्थापन, बजेट व्यवस्थापनलगायतका काम सकिएका छन् । अब जिल्ला तहमा हुने कामहरूको सहजीकरण आयोगले गरिरहेको छ । शान्ति–सुरक्षाको समन्वय, आचारसंहिता उल्लङ्घनका घटनामा निगरानी तथा कारबाहीजस्ता काम निरन्तर भइरहेका छन् ।
फागुन १८ गते राति १२ बजेदेखि हामी प्रचारप्रसार निषेध अवधि अर्थात् ‘मौन अवधि’ मा प्रवेश गर्दैछौँ । यो समयदेखि मतदान सम्पन्न नहुँदासम्म कुनै पनि प्रकारको प्रचारप्रसार गर्न पाइँदैन । अबको समयलाई तीन चरणमा बुझ्न सकिन्छ । मौन अवधिअघि दल तथा उम्मेदवारले आफ्ना नीति, कार्यक्रम र विचार मतदातासमक्ष शान्तिपूर्ण र मर्यादित रूपमा प्रस्तुत गर्नुपर्छ । मौन अवधिमा मतदातालाई स्वतन्त्र रूपमा सोच्ने वातावरण दिनुपर्छ । कसैलाई प्रभाव पार्ने, प्रलोभन दिने वा सामाजिक सञ्जालमार्फत प्रचार गर्ने कार्य निषेध छ । मतदानको दिन मतदानस्थलमा समन्वय र शान्तिपूर्ण वातावरण कायम राख्न सबै पक्षले सहयोग गर्नुपर्छ । यसरी आचारसंहिता पालना भएमा चुनाव स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न हुन्छ ।
मतदाताले मतदान गर्न जाँदा ध्यान दिनुपर्ने कुरा
मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुन्छ । मतदाताले आफ्नो मतदान केन्द्रको जानकारी पहिल्यै लिनुपर्छ र समयमा नै केन्द्रमा पुग्नुपर्छ । मतदाता परिचयपत्र साथमा लिएर जानुपर्छ । यदि कुनै कारणवश परिचयपत्र नभएमा नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्रका आधारमा पनि मतदान गर्न सकिन्छ । पहिले प्रत्यक्षतर्फको मतपत्र दिइन्छ जसमा आफूले रोजेको उम्मेदवारको चुनाव चिह्नमा स्वस्तिक छाप लगाउने । त्यसपछि समानुपातिकतर्फको मतपत्र दिइन्छ जसमा आफूले रोजेको राजनीतिक दलको चिह्नमा मतदान गर्ने । मतदान गोप्य रूपमा गर्नुपर्छ र मतपत्रमा चिह्न बाहिर ननिस्कने गरी स्पष्ट छाप लगाउनुपर्छ ।
ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिका लागि व्यवस्था
घरदेखि मतदान केन्द्रसम्म पुग्न नसक्ने मतदाताका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत पासको व्यवस्था गरिएको छ । आवश्यक कागजातसहित आवेदन दिनुपर्छ । मतदान केन्द्रमा पुगेपछि ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिले लाइन बस्नु पर्दैन । आवश्यक परेमा ह्विलचेयरको व्यवस्था गरिएको छ । आफूले मतदान गर्न सक्ने अवस्था नभएमा एकै परिवारको सबैभन्दा विश्वासिलो व्यक्ति त्यो पनि आफूले चाहेको व्याक्तिले मत हाल्न पाउने हुन्छ । अशक्त वा ज्येष्ठ नागरिकका लागि भौगोलिक अवस्थाअनुसार सहज पहुँचको प्रबन्ध मिलाइएको छ ।
मत बदर हुने समस्या कम गर्ने प्रयास
मत बदर नहोस् भन्ने हाम्रो विशेष प्रयास छ । यस पटक उम्मेदवार नभएका दलका चिह्न हटाइएको छ । प्रत्यक्षतर्फ पनि उम्मेदवार भएका व्यक्तिहरू मात्र मतपत्रमा छन् । झन्डै १० लाख नमूना (काल्पनिक चिह्नसहित) मतपत्र छापेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । यस पटक बदर मत उल्लेख्य रूपमा घट्ने अपेक्षा गरेका छौँ ।
मतदानस्थल नजिक दल तथा उम्मेदवारले के गर्न पाउँछन्, के पाउँदैनन् ?
दलहरूले आफ्ना प्रतिनिधि खटाउन सक्छन् । उनीहरूले वास्तविक मतदाता को हुन् भनेर कर्मचारीलाई जानकारी गराउने दायित्व हुन्छ जसले फर्जी वा दोहोरो मतदान रोक्न सहयोग गर्छ । तर मतदानस्थल आसपास चुनाव चिह्न प्रदर्शन गर्ने, मतदातालाई प्रभावित पार्ने वा प्रचारात्मक गतिविधि गर्न पूर्णरूपमा निषेध छ ।
फागुन १८ गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म कुनै पनि राजनीतिक गतिविधि, मत माग्ने कार्य वा सामाजिक सञ्जालमार्फत प्रचार गर्न पाइँदैन । सञ्चारमाध्यमबाट पनि मत माग्न निषेध छ । यो समय मतदाताले स्वतन्त्र रूपमा सोच्ने समय हो ।
मतदानपछि तत्कालै मतगणना
मतदान सकिएपछि मतगणना तुरुन्त शुरू गर्ने नीतिगत व्यवस्था छ । सबै क्षेत्रको अवस्था समान हुँदैन, भूगोलका कारण कतै ढिलाइ हुन सक्छ । तर जुन क्षेत्रको मतपेटिका पहिले आइपुग्छ, त्यहीँबाट गणना शुरू हुन्छ । एक ठाउँको ढिलाइले अर्को ठाउँको मतगणना प्रक्रिया रोकिँदैन ।
प्रत्यक्षतर्फको परिणाम २४ घण्टाभित्र सार्वजनिक गर्ने लक्ष्य छ । यसका लागि मतगणनास्थलको व्यवस्थापन, मतपेटिका छिटो सङ्कलन, आवश्यक कर्मचारी र प्रतिनिधि पूर्वतयारीमा राखिएका छन् । सबै माध्यम प्रयोग गरी छिटो र पारदर्शी रूपमा नतिजा सार्वजनिक गरिनेछ ।
समग्र सुरक्षा रणनीति
मौन अवधिदेखि मतगणनासम्म शान्ति–सुरक्षाको विशेष निगरानी हुन्छ । अहिलेसम्म अवस्था सामान्य छ । छिटपुट घटनालाई स्थानीय प्रशासनले नियन्त्रण गरेको छ । मतदान र मतगणनाको दिनसम्म सुरक्षा व्यवस्थालाई प्रभावकारी रूपमा कायम राखिन्छ ।
सामाजिक सञ्जालको दुरुपयोग नियमनको प्रयास
सूचना प्रविधिको युगमा एआई अर्थात् (कृत्रिम बुद्धिमता) प्रविधिबाट सिर्जित भ्रामक सूचना फैलिनु चुनौतीपूर्ण छ । आयोगले ‘सूचना सदाचार प्रवर्द्धन इकाइ’ गठन गरी नेपाल प्रहरी, नेपाल प्रेस काउन्सिल, आचारसंहिता अनुगमन समिति तथा मेटा र टिकटकजस्ता सामाजिक सञ्जाल कम्पनीहरूसँग समन्वय गरिरहेको छ । यस क्षेत्रमा सकारात्मक प्रगति भइरहेको छ ।
मतदान प्रतिशत बढाउन आयोगको पहल
मतदान अधिकार मात्र होइन, कर्तव्य पनि हो । सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ । वडा तहसम्म स्वयंसेवक परिचालन गरिएको छ । सञ्चारमाध्यमले पनि सहयोग गरिरहेका छन् । सबै पक्षले यसलाई राष्ट्रिय पर्वका रूपमा लिएकाले मतदान प्रतिशत बढ्ने अपेक्षा छ । मौन अवधि शुरू भएपछि मतदाताले एकाग्र भएर सोच्ने समय पाउनु हुन्छ । मतदानको दिन आफ्नो मताधिकार प्रयोग गर्नुहोस् । आचारसंहिताको पूर्ण पालना गर्दै आफूलाई मन परेको उम्मेदवार वा दललाई मतदान गरी चुनाव सफल बनाउन सबैले सहकार्य गरौँ ।
(निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईसँग हृदय रिमालले गरेको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
भट्टराई निर्वाचन आयोगका प्रवक्ता हुनुहुन्छ ।