चुनाव हो कि सर्वसम्मत विजेता अभियान !

 फागुन १७, २०८२ आइतबार १२:२४:५० | मिलन तिमिल्सिना
unn.prixa.net

तस्वीर : एआईबाट

चुनावी रमझमको अन्तिम क्षण । दिनभर खेतीपातीको कामले थाकेका काका घरको पिँढीमा बसेर रेडियो सुनिरहेका छन् ।

यसपटक चुनावमा उठेका उम्मेदवारलाई अनौठो रोग लागेको छ—आफू नै जित्छु भन्ने रोग । कोही भन्छ, ‘यो क्षेत्र त मेरो गढ हो ।’ अर्को भन्छ, ‘हावा हाम्रो पक्षमा छ ।’ रेडियो सुन्दा काकालाई लाग्छ हावा मात्र हैन, चुनावमा आँधीबेहरी नै आउँछ । काका सोच्छन् यो चुनावमा सबै जित्ने भन्छन्, हार्ने को होला त ? हिसाब मिलाउँदा काकालाई लाग्छ—उम्मेदवार सबैले जिते भने हार्ने त मतदाता मात्रै पो हुने भए !

काकालाई लाग्छ – देशको समस्या एक्लैले समाधान गर्न सक्ने खालको छैन । त्यसैले सबैले जित्नुपर्छ । एउटाले जितेर के हुन्छ र ? सरकार पनि मिलीजुली बन्ने, निर्णय पनि मिलीजुली, दोष पनि मिलीजुली । त्यसैले उम्मेदवारले एक्लै जितेर पुग्दैन, सबैले जित्नुपर्छ ।

काकालाई त लाग्छ—यो चुनाव चुनाव होइन, ‘सर्वसम्मत विजेता अभियान’ हो ।

तर भोट माग्न आउँदा दृश्य अर्कै हुन्छ । उम्मेदवारहरू घरआँगनमा पुग्छन्, ढोका ढकढक्याउँछन्, खुट्टा ढोग्छन् । ‘काका, आशीर्वाद दिनुस्’ भन्छन् । काकाले विगत सम्झिन्छन्, ‘तीन वर्षअघि ढोगेको खुट्टा त यही हो । खुट्टा त त्यहीँ छ, तर वाचा हरायो ।’

रोचक कुरा के भने, भोट माग्न जाँदा कसैले पनि ‘म के गर्छु’ भन्दा धेरै समय ‘ऊ कति बिग्रिएको छ’ भन्नमै खर्च गर्छ । एकले अर्को नेताको चरित्र विश्लेषण यति गर्छ कि काकालाई लाग्छ—देशमा समस्या नेता होइन, अर्कै नेताको दोष रहेछ । ‘मैले जितेँ भने त्यसलाई पख्लास्’ भन्ने भाषण हुन्छ । देश बनाउनेभन्दा पहिले अर्को नेतालाई ‘पखाल्ने’ योजना सुनिन्छ ।

काका मनमनै हाँस्छन् । नारा सबैको एउटै छ ‘देशले परिवर्तन खोजेको छ’ । तर परिवर्तनको शुरुआत आफैँबाट गर्ने कुरा आयो भने नेताहरूलाई एलर्जी जस्तो लाग्छ । त्यो पनि ठीकै हो, नेता अहिल्यै सुध्रिए भने देश छिटो बन्छ । देश अहिल्यै बनिहाल्यो भने चुनावी एजेन्डा पनि सकिन्छ । अहिले एकअर्कालाई गाली नगरे, आरोप–प्रत्यारोप नगरे, मेलमिलाप भए—अब अर्को चुनावमा के भनेर भोट माग्ने ? त्यसैले काकालाई लाग्छ—अहिलेको चुनावका लागि मात्र होइन, अर्को चुनावका लागि पनि एजेन्डा साँचेर राखिएको छ । समस्या पूरै समाधान भए अर्को पटक भाषण केमा गर्ने ?
काका फेरि मुस्कुराउँछन् । ‘हामीले पनि नेताहरूलाई बुझ्नुपर्छ’ उनी आफैँसँग भन्छन्, ‘उनीहरू दूरदर्शी छन् । आजको काम भोलिको चुनाव सम्झेर गर्छन् ।’

गाउँको बाटो सुनसान हुँदै जान्छ । प्रचारको समय सकिनै लागेको छ । काकालाई अलिक नरमाइलो लाग्छ । अब भोट माग्ने निहुँमा नेताहरू छिट्टै गाउँ आउँदैनन् । खुट्टा ढोग्ने, मकै भुट्ने, खेतबारी जोत्ने, भाका हालेर नाच्ने दिन सकिन्छ । चुनावी मौसममा नेता यति मिलनसार हुन्छन् कि गाउँकै छोरा जस्तै । यसबीचमा यिनीहरूले गाउँमा रौनक ल्याए । कोही कम्मर मर्काएर नाचे । कसैले असिनपसिन हुँदै खेतबारी र गोठभकारोको काम सघाए ।

काकाले टोलतिर हेर्छन् । अलि दिन प्रचार गर्ने समय भएको भए मकै रोप्न सघाउँथे कि ? गाउँमा मकै रोप्ने मान्छे पाउन गाह्रो छ । जवानहरू विदेश, नेता चुनावी मैदानमा । खेत खाली छ, भाषण भरिएको छ ।

काकालाई सम्झना आउँछ—उम्मेदवारले भनेका थिए, ‘हामी कृषिलाई आधुनिकीकरण गर्छाैँ ।’ काकाले मनमनै सोचे, ‘पहिले खेतमा आधा घण्टा काम गरेर देखाऊ, अनि आधुनिकीकरणको कुरा गर ।’

अब प्रचार सकिन्छ । नेताहरू फर्किन्छन् । गाउँ फेरि आफ्नै लयमा जान्छ । काका पिँढीमै बस्छन् । रेडियोको आवाज सानो हुन्छ । चुनावपछि को जित्छ, को हार्छ—त्यो त नतिजाले देखाउँछ । तर काकालाई थाहा छ, भाषणको खेती भने सधैँ हराभरा हुन्छ ।

उनी अन्तिम पटक हाँस्छन् र भन्छन्, ‘देश बनाउन सबैले जित्नुपर्छ रे । ठीकै छ, जितुन् सबै । तर कहिल्यै कसैले देश हार्न नदिन पनि जितोस् ।’

अन्तिम अपडेट: बैशाख ३, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया