चुनावको निष्पक्षता र सुरक्षाप्रति चिन्ता गर्नुपर्दैन

 फागुन २१, २०८२ बिहीबार ६:१०:१५ | रामप्रसाद भण्डारी
unn.prixa.net

आज हुने प्रतिनिधि सभा चुनावको सबै तयारी पूरा भइसकेको छ । सबै मतदाताका लागि मतदान केन्द्रमा उपस्थित भएर बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्ने समय छ । चुस्त दुरुस्त भएर, सहज अनि शान्तिपूर्ण ढङ्गबाट सबै सरोकारवाला, मतदाताहरुलाई मतदान गरी सहयोग गरिदिनुहुन निर्वाचन आयोगको तर्फबाट अनुरोध गर्दछु । 

सबै ठाउँमा चुनाव गराउन सहजीकरण गरेका छौं 

कतिपय हिमाली भेगमा हिमपात र चिसोका कारण अप्ठ्यारो हुने हो कि भन्ने चिन्ता छ । तर यसका लागि आयोगले सबै सहजीकरण गरिसकेको छ । मौसम पूर्वानुमान विभागले आज चुनावको दिन मौसम प्रतिकुल हुँदैन भनेर प्रतिवेदन दिइसकेको छ । पछिल्लो हप्ताको समय विश्लेषण गरेर मौसम पूर्वानुमान महाशाखाको प्रतिवेदन आयोगलाई प्राप्त भइसकेको छ । यो प्रतिवेदनलाई विश्वास गनुपर्ने वैज्ञानिक आधार भएको हुनाले पनि मौसममा समस्या नहोला । यसका अतिरिक्त कुन ठाउँमा कस्तो समस्या हुन्छ, त्यो समस्याको पहिचान गरेर ती समस्याको समाधान कसरी गर्ने भनेर आयोगको विशिष्ट तयारी छ । त्यसैले यो चुनावको मतदान प्रक्रियामा कोही पनि मतदाता छुट्नु हुँदैन भन्ने हाम्रो पहिलो प्राथमिकता हो । कोही छुट्नुहुन्न, अनि कोही छुट्ने सम्भावना पनि छैन । 

यो चुनावको महत्त्व 

यो शताब्दीमा विभिन्न चरणका आन्दोलन र जनआन्दोलनहरु भए । गएको भदौ २३ र २४ गते नेपालमा नवयुवाले विद्रोह गरे । यो विद्रोह भएपछि नेपालमा बस्ने र नेपालका शुभेच्छुकहरु शासन प्रणालीसँग रुष्ट भए । यसरी पूरै देश विद्रोह पछिको रुष्टता भएपछि देशलाई लयमा ल्याउने मुख्य उपाय भनेकै चुनाव हो । यो बाहेक अरू विकल्प छैन । त्यसैले शताब्दीकै यो पेचिलो चुनाव बनेको छ । साथै यो चुनाव शान्तिपूर्ण ढङ्गले सम्पन्न हुने हुँदा सबै सरोकारवाला, मतदाताले आफ्नो अमूल्य मत प्रदान गर्दै नेपालमा सुशान प्रवाह गरेर शान्ति, सुरक्षा, अमनचयन कायम गर्नलाई सहयोग गर्नुहोस् । यो सहयोगकै कारणले देशमा सुशान प्रवाहका साथै शान्ति र प्रगति छाउँछ भन्ने विश्वास गर्छौं । 

चुनावको निष्पक्षता र सुरक्षाप्रति चिन्ता गर्नु पर्दैन 

कतिपयले चुनावको निष्पक्षता र सुरक्षाप्रति चिन्ता गरेका छन् । तर सुरक्षा र निष्पक्षतामा चिन्ता गर्नुपर्ने कुनै कारण छैन । चुनावमा गलत ढङ्गले सरिक गराउने अनि पक्ष र विपक्ष गर्ने भन्ने कुरा आयोगले विश्वास गर्दैन । निष्ठापूर्वक, निष्पक्ष ढङ्गबाट जुन उम्मेदवारले जे मत पाउनुहुनेछ त्यो मत गणना गरेर घोषणा गर्ने काम आयोगले गर्छ । त्यसैले यस्ता कुरामा शङ्का गर्नु पर्दैन । निर्वाचन आयोगको निष्ठा छ । त्यो निष्ठालाई सिन्द्धान्तले बेरेको छ । सिन्द्धान्त पछाडि संविधान, कानून र ऐनको परिधिभित्र रहेर प्रक्रियागत चुनाव हुने भएकाले आयोगले गराउने चुनावको सन्दर्भमा शङ्का गनुपर्ने ठाउँ छैन । स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउने निर्वाचन आयोगको अन्तिम लक्ष्य हो । 

निर्वाचन आयोगले राजनीति गर्दैन, निर्वाचन गराउँछ 

राजनीतिक दल र दलका उम्मेदवारले शान्ति, सुशासन प्रवाह गर्ने, विकास निर्माणका कामहरुलाई समेटेर स्थानीयस्तरको आवश्यकतालाई पहिचान गरेर नागरिकलाई सुख र खुशी गराउनेबारे सोच्ने हो । यो सोच्ने प्रयोजनका लागि राजनीतिक दल, दलका उम्मेदवार र मतदाताबीचको आ–आफ्नो समन्वयको कुरा हो । यी सबै राजनीतिक कुरा हुन् । त्यसैले निर्वाचन आयोगले राजनीति गर्दैन, निर्वाचन गराउँछ । 

मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक हुन्छ 

निर्वाचन आयोगले मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले गरेको वाचा पूरा पनि गर्छ । मतपेटिका सङ्कलन पनि छिटोभन्दा छिटो गर्न प्रयास गर्नेछौं । सडक पुगेको ठाउँमा गाडीबाटै मतपेटिका ढुवानी हुन्छ । छोटो दुरीका लागि बोकेर पनि ढुवानी हुन्छ । हुम्ला र डोल्पासहित १५ जिल्लाका ६१ ठाउँबाट भने हेलिकप्टरमार्फत मतपेटिका सङ्कलन गरिन्छ । हेलिकप्टरबाट ढुवानी गर्दा मतपेटिका साटिने भनी चलाइएका हल्लाहरू पूर्णतः निराधार र भ्रामक हुन् ।

मतदान सम्पन्न भएपछि राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिहरूको रोहबरमा मतपेटिका सिल गरिन्छ । त्यसमा प्रतिनिधिहरूको आफ्नै चिह्न अङ्कित लाहाछाप लगाइन्छ । मतपेटिका सुरक्षाका लागि बाहिरी घेरामा नेपाली सेना, बीचको घेरामा सशस्त्र प्रहरी बल र भित्री घेरामा नेपाल प्रहरी रहने पुरानै व्यवस्था कायम रहेको छ । दुर्गम क्षेत्रबाट मतपेटिका ल्याउन नेपाली सेनाको भरपर्दो र सुरक्षित हेलिकोप्टर प्रयोग गर्न लागिएको छ । सेनाले छुट्टै मतपेटिका ल्याउने भन्ने हल्लामा विश्वास नगर्न म आग्रह गर्छु । 

(निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग विकाश चापागाईंले गरेको कुराकानीमा आधारित) 

अन्तिम अपडेट: बैशाख ५, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामप्रसाद भण्डारी

भण्डारी निर्वाचन आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया