गुल्मीमा आजदेखि हप्तामा चार उडान
बैशाख ५, २०८३ शनिबार
विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यति ठूलो अविश्वसनीय जीत पाउला भन्ने अनुमान धेरैले गरेका थिएनन् । तर प्रतिस्पर्धा कडा हुने सङ्केत भने पहिलेबाटै देखिएको थियो । अहिले सार्वजनिक भइरहेको शुरुआती मतपरिणाम केही हदसम्म अप्रत्याशित देखिएको छ । विभिन्न जिल्लाबाट आइरहेका प्रारम्भिक परिणामले एउटा लहरजस्तै प्रवृत्ति देखाइरहेका छन् जसको सङ्केत केही समयअघिदेखि नै देखिन थालेको थियो ।
यस प्रकारका परिणामहरू चुनावमा देखिनु कहिलेकाहीँ स्वाभाविक घटना हुन् । त्यसैले यो परिणाम एकातिर केही हदसम्म अनपेक्षित भए पनि लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक परिणामका रूपमा लिनुपर्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको नागरिकले दिएको नयाँ म्यान्डेटलाई सम्मान गर्दै त्यसलाई सकारात्मक रूपमा स्वीकार गर्नु हो । त्यसैले यसलाई अस्वाभाविक ठानेर होइन, नागरिकले दिएको नयाँ जनादेशका रूपमा स्वागत गर्नुपर्ने हुन्छ ।
यस परिणामले अर्को महत्त्वपूर्ण सन्देश पनि दिएको छ । लामो समयदेखि सत्ता चलाउँदै आएका पुराना दलका केही नेताहरू जसले अपेक्षाअनुसार काम गर्न सकेनन् वा स्वार्थ केन्द्रित राजनीतिमा अल्झिए, उनीहरूका लागि यो परिणाम नागरिकको दण्डजस्तै सन्देश बनेको देखिन्छ । जनमुखी कार्यक्रम, उत्तरदायित्व र सुशासन नदिने नेतृत्वलाई नागरिकले अन्ततः दण्डित गर्छन् भन्ने स्पष्ट सङ्केत यसले दिएको छ ।
यसलाई मतदाताको मानसिकतामा आएको परिर्वतनका रूपमा पनि बुझ्न सकिन्छ । यस पटकको चुनावले नेपाली मतदाता निकै परिपक्व र सचेत भएको सङ्केत दिएको छ । चुनावी प्रक्रियामा पहिले जस्तो झैझगडा, वा हिंसात्मक गतिविधि देखिएनन् । समग्रमा चुनाव शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भयो जसले नेपाली समाज लोकतान्त्रिक अभ्यासप्रति क्रमशः अभ्यस्त हुँदै गएको सकारात्मक सङ्केत दिन्छ ।
लोकतान्त्रिक व्यवस्थामा कुनै पार्टी जित्ने र कुनै पार्टी हार्ने प्रक्रिया स्वाभाविक हाे । आज एउटा दल अगाडि देखिए पनि भविष्यमा अर्को दलले राम्रो काम गरेमा उसैले नागरिकको समर्थन पाउन सक्छ । यदि अहिले विजयी भएका दलहरूले जनअपेक्षाअनुसार काम गर्न सकेनन् भने उनीहरू पनि भोलि यही अवस्थाबाट गुज्रिन सक्छन् । यस्तो उतारचढाव लोकतान्त्रिक राजनीतिमा सामान्य कुरा हो ।
यस पटकको परिणामले नेपाली नेता र राजनीतिक दलहरूलाई स्पष्ट सन्देश पनि दिएको छ । यदि उनीहरू उत्तरदायी, पारदर्शी र जनमुखी हुन सकेनन्, भ्रष्टाचारमा लिप्त भए वा जनअपेक्षा पूरा गर्न असफल भए भने मतदाताले उनीहरूलाई सजिलै दण्डित गर्न सक्छन् । त्यस अर्थमा यो परिणाम केवल जीत–हारको कथा मात्र होइन राजनीतिक नेतृत्वका लागि नागरिककाे चेतावनी र जिम्मेवारीको स्मरण पनि हो ।
पुराना राजनीतिक दलहरूलाई यस परिणामले निकै गम्भीर सन्देश दिएको देखिन्छ । सायद उनीहरूले यति ठूलो परिवर्तनको सङ्केत आउनेछ भन्ने अपेक्षा गरेका थिएनन् । तर लोकतन्त्रमा अन्तिम निर्णय नागरिकको नै हुन्छ र अहिले देखिएको मतपरिणामलाई पनि नागरिकको स्पष्ट अभिव्यक्तिका रूपमा स्वीकार गर्नुपर्छ । देशभरि, पूर्वदेखि पश्चिमसम्म, पहाडदेखि तराईसम्म मतदाताले असन्तोष प्रकट गरेको सङ्केत देखिन्छ ।
यसलाई एउटा लहर वा तरङ्गका रूपमा पनि बुझ्न सकन्छ । कहिलेकाहीँ राजनीतिक परिस्थितिमा यस्ता लहरहरू आउँछन् जसले तत्कालीन परिणामलाई प्रभावित गर्छन् । यो लहर कति समयसम्म टिक्छ भन्ने कुरा भने आउँदा दिनहरूले देखाउने विषय हो । तर अहिलेको परिणामले पुराना दलका नेतृत्वलाई गम्भीर आत्मसमीक्षा गर्न बाध्य बनाएको छ ।
विशेषगरी प्रमुख दलका नेताहरू – जस्तै कांग्रेस, एमाले वा नेकपाका शीर्ष नेतृत्व सत्ताको समीकरण र लेनदेनमा बढी केन्द्रित भएको र तल्लो तहका नागरिकको अपेक्षा तथा समस्यालाई पर्याप्त ध्यान नदिएको भन्ने धारणा समाजमा बलियो बन्दै गको देखिन्छ । यही कारणले धेरै मतदातामा निराश र असन्तोष बढेको हुन सक्छ ।
त्यससँगै भ्रष्टाचारसम्बन्धी व्यापक चर्चा र आरोप–प्रत्यारोपले पनि जनमानसमा नकारात्मक प्रभाव पारेको देखिन्छ । आराेपहरू कति सत्य र कति असत्य छन् भन्ने कुरा सम्बन्धित निकायले प्रमाणित गर्नुपर्ने विषय हो । तर आमनागरिकको मनमा भने राजनीतिक नेतृत्वप्रति अविश्वास र सबै स्वार्थी भए भन्ने भावना बढेको देखिन्छ ।
यही परिवेशमा नयाँ राजनीतिक शक्तिहरू – विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता दलहरूले नागरिकको असन्तोषलाई आफूतर्फ आकर्षित गर्न माध्यमका रूपमा सफल भएको देखिन्छ । तर यो समर्थन कति स्थायी हुन्छ भन्ने कुरा उनीहरूको आउँदाे काम, व्यवहार र नीतिले नै तय गर्नेछ ।
यसलाई केवल मतदाताको असन्तुष्टिका रूपमा मात्रै हेर्न मिल्दैन तर त्यो असन्तुष्टि अन्ततः मतमार्फत अभिव्यक्त भएकाे हो । लामो समयदेखि सञ्चित असन्तुष्टि, आक्रोश र निराशा कतै न कतै पोखिनुपर्ने अवस्था थियो र अहिले त्यो चुनावमार्फत प्रकट भएको देखिन्छ ।
पुराना राजनीतिक दलहरूले नागरिकले दिएको अवसरलाई पूर्णरूपमा उपयोग गर्न सकेनन् भन्ने सन्देश पनि यसबाट देखिन्छ । नागरिकका अपेक्षाअनुसार काम हुन सकेन, नेतृत्वमा आवश्यक सुधार र परिवर्तन पनि पर्याप्त देखिएन । अब ती दलहरूले गम्भीर रूपमा आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता छ । नागरिकमाझ फेरि पुग्नुपर्ने, आफ्नै घेराभित्र सीमित नबस्ने, नयाँ पुस्तालाई नेतृत्वमा अवसर दिने जस्ता कदम चाल्नुपर्ने देखिन्छ ।
कांग्रेसमा सुधारको प्रयास भएको जस्तो देखिए पनि त्यो ढिलो भएको टिप्पणी सुनिन्छ । गगन थापा र विश्वप्रकाश शर्माजस्ता नेताहरूले परिवर्तनको आवाज उठाए पनि पार्टीले समयमै त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकेन भन्ने धारणा पनि छ । एमालेमा त्यस्तो स्पष्ट सुधारको प्रयास कम देखिन्छ भने माओवादी नेताहरू पनि विभिन्न कारणले कमजोर र विभाजित अवस्थामा पुगेको छ ।
यस अर्थमा यो परिणाम पुराना दलहरूका लागि ठूलो पाठ हो । सधैँ एउटै नेतृत्व वा शैलीमा राजनीति चलिरहँदैन भन्ने कुरा बुझ्नुपर्ने बेला आएको छ । नागरिकले नयाँ विकल्प खोज्ने सङ्केत दिएका छन् । भ्रष्टाचार, असन्तुष्टि र आक्रोश जस्ता विभिन्न कारणहरूले बनेको यो भावना अहिले चुनावी मतमार्फत अभिव्यक्त भएको हो ।
राजनीतिमा कहिलेकाहीँ यस्तै प्रकारका तरङ्ग, छाल वा आँधीबेहरी जस्ता परिवर्तनहरू आउँछन् जसले एकैचोटि राजनीतिक समीकरण बदलिदिन्छन् । अहिलेको अवस्था पनि केही हदसम्म त्यस्तै पहिरोजस्तो परिणामतर्फ गएको अनुभूति हुन्छ ।
मतदाताले नयाँ दलप्रति देखाएको विश्वासलाई उनीहरूले जिम्मेवारीका साथ सदुपयोग गर्नुपर्छ । नागरिकले दिएको समर्थन केवल जीतका लागि मात्र होइन, राम्रो शासन दिने अपेक्षासँग जोडिएको विश्वास हो । यदि नयाँ दलले बहुमत प्राप्त गर्याे भने त्यो उनीहरूका लागि ठूलो अवसर हुनेछ, किनकि त्यस अवस्थामा अन्य दलहरूको अवरोध कम हुनेछ र पुराना दलहरूले गरेका गल्तीहरू दोहोर्याउनु हुँदैन । आन्तरिक झगडा र शक्ति सङ्घर्षभन्दा माथि उठेर स्थिर, पारदर्शी र जनमुखी ढङ्गले सरकार सञ्चालन गर्नुपर्छ । नागरिकले परिवर्तनको आशा राखेर दिएको मतलाई परिणाममुखी काममार्फत प्रमाणित गर्नु नै अहिले नयाँ दलहरूको सबैभन्दा ठूलो जिम्मेवारी हो ।
अब मुख्य कुरा भनेको नयाँ नेतृत्व र सरकारको जिम्मेवारी हो, उनीहरूले नागरिकको अपेक्षाअनुसार काम गर्न सकेनन् भने अन्ततः निर्णय गर्ने शक्ति फेरि पनि नागरिकै हातमा छ ।
(राजनीतिक विश्लेषक लोकराज बरालसँग महेश ज्ञवालीले गरेको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बराल राजनीतिक विश्लेषक एवम् पूर्व राजदूत समेत हुनुहुन्छ ।