अहिलेको चुनाव परिवर्तनको सन्देश हो

 फागुन २५, २०८२ सोमबार १३:१५:३५ | अर्जुनध्वज अर्याल
unn.prixa.net

मतदाताको व्यवहारलाई पनि यसपटक धेरैले फरक रूपमा व्याख्या गरेका छन् । कहिलेकाहीँ नेपाली नागरिकलाई ‘भेडा’ भनेर अपमानजनक रूपमा व्याख्या गरिन्छ तर इतिहास हेर्ने हो भने नेपाली मतदाताले विभिन्न समयमा सोचविचार गरेरै मत दिएका छन् । २०१५ सालको चुनावमा दुईतिहाइ बहुमत दिएको, २०४७ र २०५६ मा स्पष्ट बहुमत दिएको, २०६४ मा आओवादीलाई ठूलो समर्थन दिएको यी सबै उदाहरणहरूले नेपाली नागरिक परिस्थितिअनुसार निर्णय गर्न सक्ने विवेकी मतदाता भएको देखाउँछ । त्यसैले अहिलेकाे परिणामलाई पनि धेरैले शान्त विद्रोहका रूपमा व्याख्या गरेका छन् । जहाँ नागरिकले गोली होइन, मतपत्रबाट परिवर्तनको सन्देश दिएका छन् ।

अहिले सार्वजनिक भइरहेका निर्वाचन परिणामहरूले नेपाली राजनीतिमा ठूलो सन्देश दिएका छन् । लामो समयदेखि राजनीति गर्दै आएका पुराना नेताहरूले आफूलाई ‘राजनेता’ ठान्दै देखाएको दम्भको असर अहिले देखिन थालेको छ । विशेषगरी नयाँ पुस्ता अर्थात् नवयुवाको भावना र सोचलाई नबुझ्दा पुराना दलहरूबाट उनीहरू टाढिँदै गएका देखिन्छ । नयाँ पुस्तालाई बेवास्ता गर्दा त्यसको प्रतिक्रिया अहिले चुनावी परिणाममा ‘लहर’ का रूपमा देखिएको छ । यो परिवर्तन कुनै एक ठाउँमा सीमित छैन, मेचीदेखि महाकालीसम्म यसको प्रभाव देखिएको छ ।

अहिले मतपरिणामलाई हेर्दा यो परिणाम अचानक आएको जस्तो देखिए पनि वास्तवमा पूर्णरूपमा अनपेक्षित भने होइन । लामो समयदेखि सञ्चारमाध्यम, लेख र कक्षाकोठाका बहसहरूमा पनि पुराना राजनीतिक दलप्रति नागरिकमा असन्तुष्टि बढिरहेको र नयाँ शक्तिप्रति आकर्षण बढ्न सक्ने सङ्केत देखिएको थियो । तर पुराना दलहरूले त्यसलाई गम्भीर रूपमा लिएनन् । सामाजिक सञ्जालमा विदेशमा बस्ने युवाहरूको सामान्य प्रतिक्रिया मात्र हो भनेर हल्का रूपमा लिइयो । वास्तविक जनभावनालाई बेवास्ता गरिँदा अहिले देखिएको यो परिणाम अझ ठूलो रूपमा प्रकट भएको देखिन्छ ।

यसलाई नेपालको राजनीतिमा आएको एउटा राजनीतिक तरङ्ग भन्न सकन्छ । कतिपयले यसलाई राजनीतिक महामारी जस्तै पनि मानेका छन्, किनकि यसको प्रभाव देशभर देखिएको छ । पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिणसम्म धेरै पुराना दलहरूलाई यसले चुनौती दिएको छ । यो लहरको मुख्य केन्द्र भनेको राष्ट्रिय स्वतन्त्र पार्टीबीचको सम्बन्धले यो लहरलाई अझ बलियो बनाएको धेरैको बुझाइ छ । यदि बालेन त्यो पार्टीसँग नजोडिएका भए यो स्तरको जनलहर नदेखिन पनि सक्थ्यो भन्ने धारणा पनि व्यक्त गरिएको छ ।

परिणामलाई हेर्दा साधारण बहुमतको सम्भावना धेरैले पहिले नै अनुमान गरेका थिए । तर दुईतिहाइको नजिक पुग्ने सम्भावना देखिनु भने केही हदसम्म अप्रत्याशित हो । यसको एउटा कारण पुराना दलहरूले नयाँ पुस्ता, विशेषगरी नवयुवा पुस्तालाई चुनौती दिने, लल्कार्ने वा बेवास्ता गर्ने शैली अपनाउनु पनि मानिन्छ । त्यसले उल्टै प्रतिक्रिया जन्मायो र युवापुस्ताले मतमार्फत आफ्नो असन्तुष्टि व्यक्त गरेको देखिन्छ ।

यसपटक धेरै मतदातामा पुराना दलप्रति बढेको वितृष्णा पनि देखियो । धेरै कार्यकर्ता आबद्ध भएका दलहरू भए पनि मतदाताले आफ्नो दलप्रति निराशा व्यक्त गरेको सङ्केत परिणामबाट देखिन्छ । यसले मतदाता कार्यकर्ताभन्दा फरक स्वतन्त्र सोच राख्ने र आवश्यक परे आफ्नो निर्णय बदल्न सक्ने भएको प्रमाणित गर्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ जनलहर जानुको अर्को कारण विकल्पको अभाव पनि मानिन्छ । पुराना दलहरू लामो समयदेखि सत्तामा रहेकाले उनीहरूलाई टेस्टेड शक्तिका रूपमा हेरिएको थियो । त्यसैले नयाँ आशा खोज्ने मतदाता स्वतः नयाँ शक्तितर्फ आकर्षित भए । बालेन शाहको काठमाण्डौमा देखिएको काम र नयाँ नेतृत्वको छवि पनि धेरैका लगि आशाको केन्द्र बन्यो ।

कतिपय ठाउँमा मतदाताले आफ्नो क्षेत्रको उम्मेदवारभन्दा पनि घण्टी चिह्न र बालेनको नाम सम्झेर मतदान गरेको अनुभवहरू पनि सुनिन्छन् । यसले देखाउँछ कि धेरै मतदाताको मनमा नयाँ नेतृत्वप्रति विश्वास र परिवर्तनको चाहना बलियो बनेको छ । त्यसैले अहिले देखिएको परिणामलाई केवल चुनावी जीत–हारका रूपमा मात्र नभई नेपाली समाजमा बढ्दै गएको परिवर्तनको चाहना र नयाँ राजनीतिक सम्भावनाको सङ्केतका रूपमा पनि हेर्न सकिन्छ ।

नागरिक असन्तुष्टि मात्रै हो कि यस पछाडि अरू कारण पनि छन् भन्ने प्रश्न उठिरहन्छ । तर नेपालमा षड्यन्त्रका कथाहरू धेरै छिटो फैलिने प्रवृत्ति पनि छ । २००७ सालदेखि नै यस्ता कुरा सुनिँदै आएका छन् । त्यतिबेला अमेरिकासँग कूटनीतिक सम्बन्ध राख्दा पनि केहीले त्यसलाई गलत भनेका थिए । अहिले पनि विभिन्न घटनालाई जोडेर विना प्रमाण षड्यन्त्रको कुरा गरिन्छ । यसरी सबै कुरालाई बाह्य शक्तिसँग जोडेर हेर्नु भनेको नेपाली नागरिकको निर्णय क्षमतामाथि शंका गर्नुजस्तै हो । पहिले विदेशी कार्याक्रममा सहभागी भएका वा विदेशमा पढेर आएका नेताहरूलाई सामान्य रूपमा लिइन्थ्यो, तर अहिले त्यही कुरालाई शंका र आरोपको विषय बनाइन्छ जुन उचित होइनन् ।

अहिले देखिएको जनलहरको मूल कारण भनेको नागरिकले परिवर्तन चाहनु हो । पछिल्ला ३५ वर्षमा राजनीतिक दलहरूले केही काम नगरेका होइनन्, तर नागरिकले अपेक्षा गरे जति परिवर्तन भने महसुस गर्न सकेनन् । यही कारणले अहिले केही पनि भएको छैन भन्ने नकारात्मक धारणा फैलिएको छ । यसले नयाँ आशाको केन्द्रका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाह जस्ता पात्रहरूलाई अघि ल्याएको छ । तर यो समर्थन स्थायी हुन्छ भन्ने ग्यारेन्टी छैन । नागरिकको भरोसालाई सम्हाल्न सकेनन् भने भविष्यमा अझ ठूलो निराशा आउन सक्छ । त्यसैले नयाँ नेतृत्वले संयम, जिम्मेवारी र सबैलाई समेट्ने सोचका साथ अघि बढ्नुपर्छ ।

यसपटकको चुनावमा केही ठाउँमा उम्मेदवारको व्यक्तिगत पहिचानभन्दा पनि परिवर्तनको लहर बलियो देखियो । कतिपय मतदाताले उम्मेदवारको नामसम्म राम्रोसँग नचिने पनि परिवर्तनको पक्षमा मतदान गरेका छन् । लामो समयदेखि चुनाव लडिरहेका पुराना नेताहरूलाई हराउनुको अर्थ नागरिकले उनीहरूको कामको मूल्यांकन गरेर नयाँ अवसर दिन खोजेका हुन् ।

चुनावको परिणाम हेर्दा सबैभन्दा ठूलो राजनीतिक क्षति नेकपा एमाले र केपी शर्मा ओलीलाई पुगेको देखिन्छ । धेरैको बुझाइमा पार्टीभित्र देखिएकाे दम्भ र राजनीतिक रणनीतिका कारण यस्तो अवस्था आएको हो । दोस्राे ठूलो क्षति नेपाली कांग्रेसलाई भएकाे देखिन्छ । लामो इतिहास र योगदान भएको पार्टी भए पनि शीर्ष नेतृत्वका निर्णयहरूले नागरिकमा नकारात्मक सन्देश गएको देखिन्छ  । पाार्टीभित्र सुधारको कुरा उठे पनि त्यसलाई समयमै लागू गर्न नसक्दा अपेक्षित परिणाम आउन सकेन ।

अन्ततः मुख्य कुरा कुन पार्टी आयो वा गयो भन्ने मात्रै होइन । सबैभन्दा महत्त्वपूर्ण कुरा देश सही दिशामा अघि बढ्नु हो । नागरिकले अहिले परिवर्तन चाहिरहेका छन् र जुनसुकै दल वा नेतृत्वले त्यो अपेक्षा पूरा गर्न सक्छ, भविष्यमा उनीहरूकै पक्षमा जनमत जानेछ ।

यस चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय उल्लेखनीय देखिएको छ । तर धेरै विश्लेषकका अनुसार यो उभारमा बालेन शाहको लोकप्रियताको पनि ठूलो भूमिका छ । बालेनप्रतिको आकर्षणले धेरै मतदातालाई प्रभावित गरेको देखिन्छ । कतिपय ठाउँमा मतदाताले आफ्नै स्थानीय उम्मेदवारबारे धेरै नजाने पनि बालेनको नामसँग जोडिएको भावनाले घण्टी चिह्नमा मतदान गरेका उदाहरणहरू देखिएका छन् । यसले पुराना दलहरूको बलियो सङ्गठनात्मक संरचनालाई पनि चुनौती दिएको छ । यहाँसम्म कि कतिपय ठाउँमा पुराना दलका कार्यकर्ताले पनि आफ्नै पार्टीभन्दा नयाँ विकल्प रोजेको देखिन्छ ।

कतिपयले यो परिणामलाई भावनामा बगेको निर्णय भन्न सक्छन् तर वास्तविकता त्यस्तो मात्र होइन । नेपाली मतदाताले विगतदेखि नै समय–समयमा फरक–फरक दललाई अवसर दिएका छन् । कहिले कांग्रेसलाई बहुमत दिएका छन्, कहिले माओवादीलाई मौका दिएका छन्, त कहिले एमालेलाई जिताएका छन् । तर अपेक्षाअनुसार काम नदेखिएपछि अहिले मतदाताले मतपत्रमार्फत असन्तुष्टि व्यक्त गरेका छन् । यसलाई एक प्रकारको शान्त राजनीतिक विद्रोह पनि भन्न सकिन्छ । यसले नेपाली नागरिक सचेत र विवेकी छन् भन्ने देखाउँछ ।

अब सबैभन्दा ठूलो चुनौती नयाँ शक्तिहरूका लागि छ । नागरिकले आशा र भरोसाका साथ मत दिएका छन् तर त्यो भरोसालाई काममा परिणत गर्न सकेनन् भने यो समर्थन लामो समय टिक्न सक्दैन । पुराना दलहरूले गरेका गल्ती—जस्तै नागरिकको अपेक्षा बेवास्ता गर्नु वा कार्यकर्तालाई मात्र केन्द्रमा राख्नु—त्यो दोहोरिनु हुँदैन । यदि नयाँ शक्तिहरूले प्रभावकारी काम गर्न सके भने मात्र देशलाई सही दिशामा लैजान र राजनीतिक स्थिरता कायम गर्न सम्भव हुनेछ ।

पुराना राजनीतिक दलहरूको भविष्यबारे सोच्दा एउटा कुरा सम्झनुपर्छ—एउटा चुनावमा हार हुँदैमा सबै कुरा सकिँदैन । भनिन्छ नि, एउटा माघले जाडो जाँदैन । तर अहिलेको परिणामले पुराना दलहरूलाई गम्भीर रूपमा आत्मसमीक्षा गर्न बाध्य बनाएको  छ । विगतका गतिविधि, नेतृत्व शैली र नागरिकसँगको सम्बन्धलाई नयाँ ढङ्गले पुनः परिभाषित गर्नु अब उनीहरूका लागि अनिवार्य जस्तै भएको छ । उदाहरणका लागि, मेरो विचारमा चुनावी परिणाम सार्वजनिक हुन थालेपछि नैतिक जिम्मेवारी लिँदै उहाँहरूले राजीनामा दिन सक्नुहुन्थ्यो । मैले चाहेजस्तो काम गर्न सकिनँ, मतदाताले मेरो नेतृत्वलाई पत्याएनन् भन्ने स्वीकारोक्ति गर्दै विशेष महाधिवेशन बोलाएर नयाँ नेतृत्वका लागि बाटो खोल्नु नेतृत्वको साहसिक कदम हुन सक्थ्यो ।

चुनावी प्रतिस्पर्धाका केही घटनाले पनि रोचक संकेत दिएका छन् । पुष्पकमल दहाल ‘प्रचण्ड’ राजनीतिमा निकै चलाख खेलाडी मानिनुहुन्छ । पछिल्ला राजनीतिक घटनाक्रमपछि उहाँले सुरक्षित आधार क्षेत्र खोज्दै रुकुम पूर्वबाट चुनाव जित्नुभयो । अहिले उहाँ आफूलाई ‘निर्णायक भूमिका खेल्ने नेता’ का रूपमा प्रस्तुत गर्न खोज्दै हुनुहुन्छ जसले भविष्यको सत्ता समीकरणमा आफूलाई केन्द्रमा राख्ने रणनीति देखाउँछ ।

झापा केपी ओलीकाे परम्परागत आधार क्षेत्र भए पनि यसपटकको नयाँ राजनीतिक लहरले उहाँलाई पनि असर गरेकाे छ । त्यस्तै भक्तपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीले गरेकाे ‘क्लिन स्वीप’ ले पनि नयाँ सन्देश दिएको छ ।

त्यसैगरी गगन थापाले सर्लाही–४ बाट उम्मेदवारी दिनु केही हतारो निर्णय जस्तो देखियो । बालेनको लोकप्रियता मधेशसम्म फैलिने अनुमानपछि उहाँ त्यहाँ जानुभएको जस्तो लाग्छ । तर स्थानीय भाषा, संस्कृति र सामाजिक संरचनासँग पर्याप्त सम्बन्ध नहुनुले उहाँको प्रतिस्पर्धा सहज बनेन ।

नेकपाको अवस्था पनि यसपटक अलि जटिल देखियो । कहिले कांग्रेसलाई समर्थन गर्ने, कहिले नयाँ शक्तिसँग नजिकिने जस्ता गतिविधिले उसकाे राजनीतिक पहिचान नै अस्पष्ट बन्दै गएको देखिन्छ ।

यो चुनावी परिणामलाई धेरैले नागरिक असन्तुष्टिको संकेतका रूपमा पनि हेरेका छन् । आमनागरिकले प्रत्यक्ष रूपमा कुनै उपलब्धि महसुस नगरेपछि उनीहरूले मतदानमार्फत असन्तुष्टि व्यक्त गरेका हुन् । नेताहरूको वरिपरि बस्ने बिचौलिया समूह, तडकभडकपूर्ण जीवनशैली र शक्तिको दुरुपयोगले नागरिकमा निराशा बढाएको देखिन्छ । धेरैले समस्या नेताभन्दा पनि नेताको वरिपरि रहने ‘सर्कल’ मा रहेको बताउँछन् ।

यसमा कर्मचारीतन्त्रको भूमिका पनि कम छैन । अझै पनि राणाकालीन मानसिकता बोकेको प्रशासनिक संरचनाले सेवा प्रवाहमा समस्या सिर्जना गरेको आरोप लाग्ने गर्छ । मतदाता परिचयपत्र वा राष्ट्रिय परिचयपत्र बनाउने प्रक्रियामा देखिने झन्झट यसको उदाहरण हो । जबसम्म कर्मचारीतन्त्रलाई सेवामुखी र परिणाममुखी बनाउन सकिँदैन तबसम्म राजनीतिक नेतृत्वले मात्र चाहेर परिवर्तन ल्याउन गाह्रो हुन्छ ।

यद्यपि पुराना दलहरूको भविष्य पूर्णरूपमा अन्धकारमय भने छैन । उनीहरूले समयअनुसार आफूलाई सुधार्न सके अझै पनि पुनर्जीवित हुन सक्छन् । भारतका दलहरू—जस्तै भारतीय जनता पार्टी र भरतीय राष्ट्रिय कांग्रेसले पनि उतारचढावपछि पुनः शक्ति प्राप्त गरेका उदाहरण छन् ।

अन्ततः राजनीति एउटा गतिशील प्रक्रिया हो । नागरिकको अपेक्षाअनुसार काम गर्न नसक्ने, समयअनुसार आफूलाई परिवर्तन गर्न नसक्ने दलहरू इतिहासमा हराउन सक्छन् । तर सुधार गरेर नयाँ एजेन्डा र परिणामसहित अघि बढ्नेहरूले भने पुनः विश्वास जित्ने सम्भावना सधैँ रहन्छ ।

यो चुनावी परिणामले स्पष्ट रूपमा परिवर्तनको संकेत दिएको छ । नागरिकले पुराना दलहरूलाई सुधारिने अन्तिम मौका दिएका छन् भने नयाँ शक्तिहरूलाई काम गरेर देखाउने अवसर दिएका छन् । अब नेपालको राजनीति केवल इतिहासको गौरव सुनाएर चल्ने अवस्था छैन । नागरिकले अब नतिजा, काम र प्रदर्शन हेर्न चाहन्छन् ।

राजनीतिक परिवर्तन मात्रै पर्याप्त हुँदैन । कर्मचारीतन्त्र र संरचनात्मक सुधार पनि उत्तिकै आवश्यक छ । हाम्रो प्रशासनिक प्रणालीमा अझै पुरानो सोच र कार्यशैली देखिन्छ । त्यसले नयाँ नेतृत्वलाई पनि प्रभावकारी रूपमा काम गर्न गाह्रो बनाउँछ । उदाहरणका लागि, सामान्य राहदानी वा परिचयपत्र बनाउन पनि नागरिकले लामो लाइन र धेरै झन्झट बेहोर्नुपर्छ । यस्तो अवस्थाले नागरिकमा असन्तुष्टि बढाएको छ । साथै नेता र नागरिकको बीचमा बिचौलियाको ठूलो प्रभाव देखिन्छ जसले शासन प्रणालीलाई अझ जटिल बनाएको छ ।

यो परिणामले प्रमुख राजनीतिक दलहरूलाई पनि गम्भीर रूपमा सोच्न बाध्य बनाएको छ । एमालेले नागरिकको सन्देश बुझ्न आवश्यक छ । दम्भ र अहंकारले संगठन चलाउन सकिएला तर नागरिकको विश्वास जित्न गाह्रो हुन्छ । अब नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनेबारे सोच्नुपर्ने अवस्था आएको देखिन्छ ।

नेपाली कांग्रेसमाथि पनि आफ्ना सिद्धान्त र आदर्शलाई सत्तासँग साटेको आरोप लागिरहेको छ । युवा नेताहरूले अब पार्टीलाई सुधारतर्फ लैजान सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता देखिन्छ ।

त्यस्तै माओवादी केन्द्र जसले परिवर्तनको नेतृत्व गरेको दाबी गर्थ्याे, अहिले आफ्नो राजनीतिक अस्तित्व जोगाउने अवस्थासम्म पुगेको देखिन्छ । त्यसैले अब भुइँतहका नागरिकको मुद्दा र आवश्यकतामा फर्किनुपर्ने आवश्यकता देखिन्छ ।

समग्रमा हेर्दा अहिले देखिएको यो परिवर्तनको लहर लोकतन्त्रको स्वाभाविक प्रक्रिया हो । नागरिकले सधैँ एउटै अनुहार र एउटै शैली स्वीकार गर्दैनन् भन्ने कुरा यसले देखाएको छ । नयाँ शक्तिहरूका लागि पनि यो ठूलो परीक्षा हो । यदि उनीहरूले पनि पुरानै शैली दोहोर्‍या भने नेपाली नागरिकले उनीहरूलाई पनि त्यही तरिकाले बदल्न सक्नेछन् ।

नेपालको राजनीतिक समस्या केवल नेताहरूमा मात्र सीमित छैन, कर्मचारीतन्त्रको सोच र कार्यशैली पनि त्यत्तिकै जिम्मेवार देखिन्छ । नयाँ नेतृत्व आउँदा सहयोग गरेर काम अघि बढाउनुपर्ने ठाउँमा कतिपय कर्मचारीहरू उल्टै कसरी असफल बनाउने भन्ने मानसिकतामा देखिन्छन् । राहदानी विभाग वा यातायात कार्यालयजस्ता ठाउँमा नागरिकले भोग्ने सास्ती यसको उदाहरण हो । त्यहाँको प्रणाली नै यस्तो बनेको छ कि बिचौलिया विना काम गर्न गाह्रो हुन्छ ।

अर्कोतर्फ सत्ता नजिक रहने स्वकीय सचिव वा सहयोगीहरूको भूमिका पनि प्रश्नको घेरामा छ । उदाहरणका रूपमा, केपी शर्मा ओलीले ठूलो संख्यामा स्वकीय सचिव राखे पनि त्यसले नागरिकको काम छिटो गराउन खासै सहयोग पुगेन भन्ने आलोचना छ । यदि नयाँ नेतृत्वले यस्ता पुराना संरचना र प्रवृत्तिलाई परिवर्तन गर्न सकेन भने उनीहरूको अवस्था पनि पुरानै जस्तो हुनसक्छ ।

कांग्रेसभित्र गगन थापा र विश्वप्रकाश शर्मा जस्ता युवा नेताबाट धेरै आशा गरिएको थियो । उनीहरू परिवर्तनको प्रतीकका रूपमा हेरिएका थिए । तर व्यवहारमा उनीहरू पनि पार्टीभित्रको दलीय संरचना र राजनीतिक समीकरणमा अल्झिएको देखिन्छ । गगन थापाले ‘बदल्यौँ कांग्रेस’ भन्ने नारा त दिए तर सर्लाही–४ को उम्मेदवारीमा स्थानीय राजनीति र प्रभावशाली व्यक्तिहरूको शक्ति सही रूपमा मूल्यांकन गर्न नसकेको टिप्पणी गरिएको छ । यसले उनीहरूलाई अब नागरिकमा पुनः विश्वास जगाउन थप ठोस काम गर्नुपर्ने चुनौती देखाउँछ ।

अबको नेपाली राजनीति पुरानो प्रभाव वा नाराभन्दा बढी कामको नतिजामा आधारित हुने संकेत देखिएको छ । नागरिकले रास्वपालाई भोट दिएका छन्, बालेन शाहलाई समर्थन गरेका छन् । तर त्यो समर्थन स्थायी हुनेछ भन्ने ग्यारेन्टी छैन । यदि उनीहरूले संसद् वा स्थानीय तहमा ठोस नतिजा दिन सकेनन् भने नागरिकले अर्को चुनावमा उनीहरूलाई पनि अस्वीकार गर्न सक्छन् ।

यो चुनावलाई नेपाली राजनीतिका लागि एउटा चेतावनी संकेतका रूपमा हेर्न सकिन्छ । पुराना दलहरूका लागि यो आफूलाई सुधार्ने मौका हो भने नयाँ शक्तिका लागि आफूलाई प्रमाणित गर्ने अवसर हो । यदि यो अवसर सदुपयोग गर्न सकेनन् भने नेपालमा राजनीतिक अस्थिरता अझै केही समय जारी रहने सम्भावना रहन्छ ।

(त्रिभुवन विश्वविद्यालयको राजनीतिशास्त्रका उपप्राध्यापक एवम् विश्लेषक अर्जुनध्वज अर्यालसँग महेश ज्ञवालीले गरेकाे कुराकानीमा आधारित)

अन्तिम अपडेट: बैशाख ५, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अर्जुनध्वज अर्याल

अर्याल त्रिभुवन विश्वविद्यालयको राजनीतिशास्त्रका उपप्राध्यापक एवम् विश्लेषक हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया