मध्यपूर्व युद्धको असर तेल बजारमा, ऊर्जा आपूर्ति जोखिममा

 फागुन २७, २०८२ बुधबार १५:२८:१० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

मध्यपूर्व क्षेत्रमा चलिरहेको युद्धका बीच इरानले क्षेत्रीय तेल उद्योग र ऊर्जा पूर्वाधारमाथि दबाब बढाउँदा विश्वव्यापी ऊर्जा आपूर्ति प्रभावित हुन थालेको छ । इरानले तेल उद्योगसँग सम्बन्धित संरचनाहरूलाई लक्षित गर्दै आक्रमण तीव्र बनाएको छ ।

इरानले यस्तो रणनीति अपनाएर विश्व अर्थतन्त्रमा दबाब सिर्जना गर्दै इजरायल र अमेरिकामाथि आफ्नो सैन्य कारबाही रोक्न दबाब दिन खोजेको हुन सक्ने विश्लेषकहरूले बताएका छन् । इरानले पर्सियन खाडीबाट हिन्द महासागरतर्फ जाने प्रमुख समुद्री मार्ग हर्मुज घाँटीमा जहाज आवागमनमा अवरोध गरिरहेको छ ।

विश्वको झन्डै २० प्रतिशत तेल यही समुद्री मार्गबाट ढुवानी हुने भएकाले यस क्षेत्रमा अवरोध हुँदा विश्व ऊर्जा आपूर्तिमा ठूलो असर पर्छ । आज बिहान ओमानको तट नजिकै हर्मुज घाँटीमा एउटा कन्टेनर जहाजमा प्रहार हुँदा जहाजमा आगलागी भएको थियो ।

आगो नियन्त्रण बाहिर गएपछि जहाजका कर्मचारीहरूलाई जहाज छाडेर सुरक्षित ठाउँमा जान बाध्य भएका छन् । साउदी अरबले आफ्नो सायबह तेल क्षेत्रमा लक्षित पाँचवटा ड्रोनलाई बाटोमै रोकेको जानकारी दिएको छ । यी घटनाले खाडी क्षेत्रका ऊर्जा पूर्वाधारमाथि खतरा बढेको सङ्केत गरेको छ ।

यस परिस्थितिबारे छलफल गर्न संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठक आज बस्दैछ । बैठकमा खाडी सहयोग परिषद्ले प्रस्तुत गरेको प्रस्तावमाथि मतदान हुने बताइएको छ । प्रस्तावमा इरानले खाडीका देशलाई लक्षित गर्दै भइरहेको आक्रमण रोक्नुपर्ने माग छ ।

मध्यपूर्वको तनावका कारण विश्व ऊर्जा बजार अस्थिर बनेको छ । विश्लेषकहरूका अनुसार यदि हर्मुजमार्गको अवरोध लामो समयसम्म रहेमा विश्वव्यापी ऊर्जा आपूर्ति, ढुवानी र अर्थतन्त्रमा गम्भीर प्रभाव पर्न सक्छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया