गुल्मीमा आजदेखि हप्तामा चार उडान
बैशाख ५, २०८३ शनिबार
संसारकै अनौठो देश हो नेपाल । यहाँ दुःखी हुनुभन्दा खुशी हुनु सजिलो छ । किनभने दुःखलाई पनि हामीले धेरै गम्भीरतापूर्वक लिँदैनौँ । अलिकति हाँसिन्छ, अलिकति सहिन्छ । अनि अन्त्यमा भनिन्छ—ठीकै छ नि ! यही ठीकै छ नै हाम्रो राष्ट्रिय खुशीको सूत्र हो ।
दक्षिण एशियामा नेपाल फेरि खुशी देशको सूचीमा पर्याे रे भन्ने खबर सुनेर हामी झनै खुशी भएका छौँ । त्यो सूची कसले बनायो, कसरी बनायो, हामी खुशी भएको हेर्याे कि हेरेन या सोध्यो कि सोधेन — त्यो सबै कुरा खासै महत्त्वको होइन । मुख्य कुरा त हामी खुशी देखिएछौँ । देखिने कुरा नै त यथार्थ हो भन्नेमा हाम्रो दृढ विश्वास छ ।
हामी यस्तो देशका नागरिक हौँ जहाँ नेता जो भए पनि खुशी हुने अभ्यास छ । पहिले केपी ओलीले उखान टुक्का मिसाउँदै भाषण गर्दा हामी उल्कै खुशी भयौँ । शेरबहादुर देउवा बोल्दै नबोल्दा र पुष्पकमल दाहाल प्रचण्ड धेरै बोल्दा पनि खुशी भयौँ । रवि लामिछानेले औँला ठड्याउँदा खुशी भयौँ, बालेन्द्र शाह चुपचाप बस्दा पनि खुशी छौँ । चुनाव आयो हामी झनै खुशी भयौँ । पुराना दल हारे, त्यसमै खुशी भयौँ । नयाँहरूले जिते, झन् बढी खुशी भयौँ । जित्दा पनि खुशी, हार्दा पनि खुशी — यस्तो लोकतान्त्रिक सन्तुलन अन्त कहाँ पाइन्छ ?
हाम्रो दैनिक जीवन त झन् खुशीको प्रयोगशालाजस्तै छ । बिहानैदेखि ग्यासको लाइनमा उभिन्छौँ । घाममा पोलिन्छौँ, पसिना बगाउँछौँ । घर फर्कँदा सरकारले आधा सिलिन्डर ग्यास बाँड्ने रे भन्ने खबर सुन्दा पनि हामी खुशी ।
भोलिपल्ट उसैगरी दिनभर लाइनमा बस्दा त्यो आधा सिलिन्डर पनि नपाउँदा सरकारले अर्को समाधान दिन्छ—बिजुलीमा खाना पकाउनु सस्तो र सजिलो हुन्छ । त्यो सुन्दा हामी फेरि खुशी । हामी आधुनिक बन्दैछौँ भन्ने सन्तोष मिल्छ । अनि बल्लबल्ल इन्डक्शन चुल्हो किनेर खाना पकाउन लाग्दा बिजुली जान्छ । निराश हुनै लाग्दा फेरि आयल निगमले अर्को खुशीको खबर दिन्छ, ‘बजारमा नियमित ग्यास आपूर्ति भइरहेको छ ।’ ग्यास पाउँदा होइन, ग्यास आउने खबर सुन्दा नै खुशी हुने स्तरमा हामी पुगिसकेका हुन्छौँ ।
विदेशमा रहेका नेपालीहरू युद्धको त्रासमा छन् । यही त्रासकाबीच विदेशमा रहेका छोराछोरीले घरमा फोन गरेर भन्छन्, ‘अहिलेसम्म ठीक छौँ ।’ त्यही सुन्दा पनि बाबुआमा खुशी हुन्छन् । किनकि सास फेर्नु नै उपलब्धि हो, अनि त्यो उपलब्धि सुन्न पाउनु नै खुशी हो ।
स्वदेशमा रहेका बाबुआमाले महँगीको बीचमा गुजारा चलाइरहेका छन् भन्ने खबर विदेशमा रहेका छोराछोरीले सुन्छन् । छोराछोरी पनि खुशी हुन्छन्, किनकि ‘अझै गुजारा चलिरहेछ’ भन्ने खबर आफैँमा ठूलो सन्तोष हो । यहाँ जीवन धान्नु नै एउटा उत्सव हो जसलाई हामी चुपचाप मनाउँछौँ ।
हाम्रो खुशीको स्तर यति उन्नत छ कि हामी तथ्यभन्दा भावना माथि राख्छौँ । समाचार आउँछ, ‘नेपाल दक्षिण एशियामै सबैभन्दा खुशी देश ।’ त्यो सुन्नेबित्तिकै हामीभित्रको दुःख एकछिनका लागि लुक्छ, अनि हामी मख्ख पर्दै भन्छौँ, ‘हामी त औधी खुशी रहेछौँ नि !’ त्यो क्षणमा ग्यासको लाइन, महँगी, बेरोजगारी—सबै कुरा बिर्सन सजिलो हुन्छ ।
हामी दुःखी हुँदा पनि खुशी हुने अभ्यास गरिसकेका छौँ । किनभने दुःखी भएर के गर्ने ? दुःखलाई हाँसोमा बदल्ने, व्यङ्ग्यमा उडाउने, अनि सानो कारण खोजेर खुशी हुने हाम्रो पुरानो बानी हो । यो बानी बाध्यता हो कि संस्कार—त्यो छुट्याउन गाह्रो छ ।
सायद यही कारणले हामी साना कुरामा पनि खुशी हुन्छौँ । किनकि ठूलो खुशीको आशा गर्न हामीलाई डर लाग्छ । सानो खुशी सजिलो हुन्छ, सुरक्षित हुन्छ र सजिलै पाइन्छ । हामीलाई थाहा छ—ठूलो परिवर्तन पर्खँदा जीवन बित्छ, तर सानो खुशी खोज्दा दिन बित्छ ।
त्यसमाथि हामी नेपाली हौँ, अनि नेपाली भनेको बहादुर । बहादुर मान्छे दुःखी हुने कुरो पनि भएन । दुःख आयो भने पनि त्यसलाई काँधमा बोकेर हिँड्ने, अनि त्यसैलाई हाँसोमा बदल्ने । त्यसैले त यहाँ दुःख पनि अन्ततः खुशीकै बहाना बन्छ ।
यति कुरा सुनेपछि तपाईंलाई पनि खुशी लाग्यो होला । महँगी बढ्यो, अब कसरी गुजारा चलाउने होला भनेर चिन्तामा हुनुहुन्छ भने पनि मुसुक्क हाँस्नुहोस् किनकि सर्वेक्षण भन्छ कि नेपाल दक्षिण एशियाकै सबैभन्दा बढी खुशी देश हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।
