पचासी वर्षमा संसार देखेपछि...

 चैत १२, २०८२ बिहीबार ९:१९:८ | रासस
unn.prixa.net

सिराहा - विगत ७ वर्षदेखि आँखाको ज्योति गुमाएका ८५ वर्षीय सुकराम सदायलाई जीवनको उत्तरार्धमा दृष्टि फर्किएला र फेरि संसार देख्न पाइएला भन्ने कुनै आशा थिएन । 

मिर्चैया नगरपालिका-७ मुराबारीका सदायलाई छोराहरूले वास्ता गरेनन् । सहारा दिने छोरीकोसमेत मृत्यु भएपछि उहाँ झनै बेसहारा हुनुभएको थियो । तर, आफ्नै आँगनमा सञ्चालित आँखा शिविरले उहाँको देब्रे आँखाको मोतियाविन्दु हटाइदिएपछि उहाँले पुनर्जन्म पाएझैँ अनुभूति गर्नुभएको छ  । 

'आँखा नदेखी नै मर्छु जस्तो लागेको थियो, अहिले छयाङ्गै देख्न पाउँदा साह्रै खुसी लागेको छ', सदायले हर्षका आँसु पुछ्दै भन्नुभयो । सदाय मात्र होइन, मिर्चैया–१ का ८२ वर्षीय गोपाल कापर र ७३ वर्षीया एकल महिला जानकीदेवी साहको कथा पनि उस्तै छ । जानकी देवीको आँखामा लागेको ‘बादल’ जस्तो मोतियाविन्दु पनि शिविरमा उपचार गरी हटाइएको छ । उहाँले अब आफ्नो दैनिकी चलाउन सजिलो हुने बताउनुभयो ।

मिर्चैया नगरपालिका र तिलगङ्गा आँखा अस्पतालको सहकार्यमा यही चैत २ गतेदेखि ८ गतेसम्म चलेको बृहत् आँखा शिविरमा ३१२ जनाको मोतियाविन्दुको सफल शल्यक्रिया गरिएको थियो । नगरका सबै वडा र मिर्चैया अस्पतालमा गरिएको ‘स्क्रिनिङ’का क्रममा चार हजार ५५० जनाले सेवा लिएका थिए ।

तिलगङ्गा आँखा अस्पतालका नेत्र अधिकृत वासुदेव अधिकारीका अनुसार अस्पतालमा यही उपचार गराउँदा शल्यक्रिया शुल्क, औषधि र आवतजावत गर्दा करिब २८ देखि ३० हजार रुपैयाँ खर्च हुन्छ । विपन्न परिवारका लागि यो ठूलो रकम हो । तर आँखा शिविरमा निःशुल्क शल्यक्रिया गरिएको छ । 

नगरभित्रका दलित, विपन्न र वृद्धवृद्धा आँखाको समस्याले पीडित भएको जानकारी पाएपछि विशेष पहल गरेर शिविर सञ्चालन गरिएको नगर प्रमुख श्रवणकुमार यादवले बताउनुभयो । स्वास्थ्य शाखा प्रमुख राजनकुमार साहका अनुसार बिरामीको एक रुपैयाँ पनि खर्च नहुने गरी शल्यक्रिया, औषधि र चश्मासमेत निःशुल्क वितरण गरिएको छ ।

आर्थिक अभावले दृष्टि गुमाउन बाध्य भएका मिर्चैयाका सयौँ नागरिकका लागि यो शिविरले जीवनमा उज्यालो दिएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया