प्राकृतिक खेती : महिलामैत्री कृषिको नयाँ मार्ग

 चैत १८, २०८२ बुधबार १२:५७:१२ | शिवशंकर शर्मा
unn.prixa.net

नेपालको ग्रामीण समाजमा कृषि केवल जीविकोपार्जनको माध्यम होइन, जीवनशैलीकै अभिन्न अंग हो । आज नेपाली कृषि मुख्यतः महिलाको नेतृत्वमा अघि बढिरहेको छ । यद्यपि खेतबारीमा काम गर्दा र किसानसँग भलाकुसारी गर्दा महसुस हुन्छ कि अहिले प्रयोग भइरहेका कृषि प्रविधि र अभ्यासहरू अझै पनि महिलाको आवश्यकता, क्षमता र सहजताअनुसार ढालिएका छैनन् ।

पछिल्ला वर्षमा वैदेशिक रोजगारीका कारण पुरुषहरू ठूलो संख्यामा गाउँ र देश छोडेर बाहिरिन थालेपछि महिलाको भूमिका परम्परागत घरायसी दायित्वभन्दा बाहिर विस्तार भएको छ, कृषिको मूल जिम्मेवारी महिलाको काँधमा आइपुगेको छ । सन् २०२१ को जनगणनाले देखाउँछ कि २१ लाखभन्दा बढी नेपाली विदेशमा छन् जसमा ८० प्रतिशतभन्दा बढी हिस्सा पुरुषको छ । गाउँमा बाँकी रहेका खेतबारी, पशुचौपाया, बालबालिका र वृद्ध आमाबुबाको रेखदेखजस्ता जिम्मेवारी अब महिलाको काँधमा आएको छ । विश्व बैंकको सन् २०२१ को रिपोर्टअनुसार ८० प्रतिशतभन्दा धेरै महिला कृषिमा सक्रिय छन् र यसले स्पष्ट पार्छ कि नेपालको कृषि प्रणाली आज मुख्यतः महिलाको श्रममा निर्भर छ ।

के हाम्रो कृषि प्रणाली महिलामैत्री छ ?

महिला किसान बिहानदेखि साँझसम्म खेतबारी जोताइ, रोपाइँ, गोडमेल, सिँचाइ र बजारीकरणमा खटिन्छन् । त्यसपछि घरको जिम्मेवारी पनि उनीहरूकै हुन्छ । श्रमको यो दोहोरो बोझसँगै स्वास्थ्य जोखिम अझ गम्भीर छ ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको तथ्यांकले झन् चिन्ताजनक अवस्था प्रस्तुत गरेको छ । पछिल्लो एक दशकमा नेपालमा कीटनाशकको प्रयोग झन्डै चार गुणाले बढेको देखिन्छ र गएको वर्ष मात्र झन्डै ४० प्रतिशतले वृद्धि भएको उल्लेख छ । यदि सक्रिय तत्त्वको मात्र तथ्यांक हेर्ने हो भने सन् २०१३/१४ मा नेपालले ४.५ लाख किलो विषादी आयात गरेको थियो भने सन् २०२३/२४ सम्म यो वार्षिक झन्डै १६.६ लाख किलो पुगेको छ । यो वृद्धिले किसानको विषादीप्रतिको निर्भरता र यसको दुष्प्रभावको गम्भीरतालाई स्पष्ट पार्छ ।

व्यावसायिक तरकारी खेतीका विभिन्न नमूनामा ८० देखि ९० प्रतिशतसम्म विषादी अवशेष भेटिएको तथ्य बारम्बार सञ्चारमाध्यममा उल्लेख भइरहनुले हाम्रो खाद्य प्रणाली विषादीजन्य गम्भीर जोखिममा रहेको स्पष्ट रूपमा पुष्टि गर्छ । संवेदनशील तथ्य के हो भने केही अध्ययनहरूकाअनुसार करिब ९० प्रतिशत महिला किसानले अहिलेसम्म विषादी प्रयोगसम्बन्धी औपचारिक तालिम पाएका छैनन् र अधिकांशले सुरक्षात्मक सामग्रीविना विषादी छर्किरहेका छन् ।

अरू केही स–साना अध्ययनअनुसार करिब दुईतिहाइ महिला किसानले विषादी प्रयोगपछि टाउको दुख्ने, छाला पोल्ने, आँखा पोल्ने, वाकवाकी लाग्नेजस्ता समस्याहरू अनुभव गरेका छन् । दीर्घकालमा यस्ता रसायनको सम्पर्कले क्यान्सर, श्वासप्रश्वास रोग, मिर्गौला समस्या र प्रजनन स्वास्थ्यमा जटिलता निम्त्याउन सक्छ । नेपालमा दैनिक करिब ४० जनाले क्यान्सरका कारण ज्यान गुमाउने तथ्यले पनि (स्वास्थ्य तथ्यांकअनुसार) कृषि प्रणालीसँग सम्बन्धित जोखिमलाई संकेत गर्छ ।

विषादीको असर खेतबारी, बोट–बिरुवा तथा रोगकीरामा मात्र सीमित हुँदैन । गर्भवती, स्तनपान गरिरहेका शिशु र परिवारका अन्य सदस्यहरू पनि सँगसँगै प्रभावित हुन्छन् । यसरी हेर्दा वर्तमान आधुनिक कृषि प्रणाली महिलाका लागि दोहोरो जोखिम बोकेको छ–एकातिर अत्यधिक श्रम, अर्कोतिर स्वास्थ्यमा गम्भीर खतरा ।

त्यसमाथि जलवायु परिवर्तनले थप अस्थिरता ल्याएको छ । अनियमित वर्षा, लामो खडेरी, रोगकीराको बढ्दो प्रकोपले खेतीलाई झन् जोखिमपूर्ण बनाएको छ । साना किसान, विशेषगरी महिला किसान, यी सबै चुनौतीको पहिलो र सबैभन्दा ठूलो मार सहिरहेका छन् ।

नीतिगत रूपमा हेर्दा नेपालले कृषि विकास रणनीति (२०१५–२०३५), जीईएसआई (२०२०–२०३०) र राष्ट्रिय जलवायु परिवर्तन नीति–२०१९ जस्ता दस्तावेजमार्फत लैङ्गिक समानता र दिगोपनाको प्रतिबद्धता जनाएको छ । साथै जलवायु अनुकूलन खेतीको अवधारणा पनि अघि सारिएको छ । तर नीति र व्यवहारबीचको दूरी अझै ठूलो छ । कागजमा लेखिएका प्रतिबद्धता र खेतमा पसिना बगाइरहेकी महिलाको यथार्थबीच अझै खाडल छ । महिलाको श्रम देखिन्छ तर निर्णय प्रक्रियामा उनको आवाज कमजोर छ । भूमि स्वामित्व, प्रविधि छनोट, कर्जा पहुँच र बजार व्यवस्थापनमा उनीहरू अझै पछाडि परेका छन् । यही सन्दर्भमा प्राकृतिक खेती महिलामैत्री सम्भावनाको मार्गका रूपमा देखा पर्छ ।

प्राकृतिक खेती महिलामैत्री

प्राकृतिक खेती बाहिरबाट हेर्दा परम्परागत अभ्यासजस्तो देखिए पनि यसको दर्शनले आजका जटिल समस्याहरूको गहिरो समाधान बोकेको छ । यसको मूल दर्शन सरल छ : माटोलाई पुनः जीवित बनाउनु, प्रकृतिसँग प्रतिस्पर्धा होइन सहकार्य गर्नु र बाह्य रसायनमा निर्भरता क्रमशः घटाउँदै आत्मनिर्भर प्रणाली निर्माण गर्नु ।

नेपालमा पछिल्ला वर्षहरूमा करिब ६ हजारभन्दा बढी किसानले प्राकृतिक खेती अपनाएका छन् । उनीहरूको अनुभव उत्साहजनक छ, उत्पादन लागत घटेको छ र विषादीरहित उत्पादनको बजार माग बढ्दो छ । यस प्रणालीमा न्यूनतम वा शून्य जोताइ, माटोलाई जैविक छापोले छोप्ने, घरमै तयार गरिने जैविक झोलजस्तै जीवामृत र स्थानीय सूक्ष्म जीवहरूको प्रयोग समावेश हुन्छ । यी अभ्यासहरू केवल प्रविधि होइनन्, सोचको परिवर्तन हुन् : माटोलाई वस्तु होइन, जीवित प्रणालीका रूपमा हेर्ने दृष्टिकोण ।

प्राकृतिक खेती कसरी महिलामैत्री बन्न सक्छ ?

१. श्रममा राहत : प्राकृतिक खेतीमा बारम्बार जमिन जोत्नु पर्दैन जसले गर्दा शारीरिक श्रममा उल्लेखनीय कमी ल्याउँछ । छापोका कारण झार कम उम्रन्छ जसले गोडमेलको काम घटाउँछ । माटोमा चिस्यान लामो समयसम्म टिकिरहने भएकाले सिँचाइको आवश्यकता पनि कम हुन्छ । यसले महिला किसानलाई सिँचाइमा कम समय र ऊर्जा खर्च गर्न मद्दत गर्छ । महिला किसानका लागि यो सानो सुधार होइन, यो उनको दैनिक जीवनमा श्रममा राहत दिने परिवर्तन हो । खेत, घर र परिवारको दोहोरो जिम्मेवारी बोकेकी महिलाका लागि श्रम कम हुनु भनेको स्वास्थ्य जोगिनु, समय बचत गर्नु र आफ्नै जीवनका लागि केही समय निकाल्ने अवसर प्राप्त हुनु हो ।

२. स्वास्थ्यको सुरक्षा : प्राकृतिक खेतीको सबैभन्दा ठूलो शक्ति यसको विषादीरहित अभ्यास हो । रासायनिक कीटनाशक र मल प्रयोग नगर्दा विषादीजन्य रोगहरूको जोखिम स्वतः घट्छ । महिला किसान स्वास्थ्य जोखिमबाट मुक्त हुँदा उत्पादन पनि सुरक्षित हुन्छ र यसले परिवार, समुदाय र समग्र राष्ट्रको स्वास्थ्य सुरक्षामा सकारात्मक प्रभाव पार्छ ।

३. माटो र जलवायु अनुकूलता : माटोमा जैविक पदार्थको मात्रा बढ्दै जाँदा त्यसको पानी धारण गर्ने क्षमता पनि उल्लेखनीय रूपमा वृद्धि हुन्छ जसका कारण सुक्खा मौसममा समेत माटो आवश्यक चिस्यान कायम राख्न सक्षम हुन्छ । विभिन्न अध्ययन र अनुभवले देखाएका छन् कि प्राकृतिक खेती अपनाएका किसानको खेतमा माटोको जैविक पदार्थ १ देखि ३ प्रतिशतसम्म बढेको पाइएको छ ।

यस अर्थमा प्राकृतिक खेती केवल उत्पादन वृद्धि गर्ने प्रविधि होइन, दिगो भविष्य निर्माण गर्ने आधार हो । जलवायु परिवर्तनका अनिश्चित चुनौतीबीच यस प्रणालीले माटोको पारिस्थितिकीलाई सुदृढ बनाउँदै खेती प्रणालीलाई थप सहनशील र स्थिर बनाउँछ । परिणामस्वरूप जलवायुजन्य जोखिमको प्रभाव घट्दै जान्छ जसले विशेष गरी महिलामाथि पर्ने अतिरिक्त बोझ र असुरक्षालाई कम गर्न सहयोग पुर्‍याउँछ ।

४. आत्मनिर्भरता र सशक्तिकरण : महिला किसानहरूले आफ्नै उत्पादन बजारमा बेच्दा उनीहरू केवल आम्दानी मात्र गर्दैनन्, उनले आत्मसम्मान, निर्णय क्षमता र आर्थिक स्वतन्त्रता पनि प्राप्त गर्छन् । गाउँमै उपलब्ध गोठको मल, पातपातिङ्गर र जैविक झोल उनीहरूका मुख्य साधन बन्छन् जसले ऋण लिन वा बाह्य रसायनमा निर्भर हुनुपर्ने अवस्था हटाउँछ । यसले महिलाहरूलाई परिवार र समुदायमा सशक्त बनाउँछ । बालबालिकाको स्वास्थ्य सुरक्षित रहन्छ, कुपोषण र दीर्घरोगको जोखिम कम हुन्छ । प्राकृतिक खेती महिलामैत्री मात्र होइन, परिवारमैत्री र वातावरणमैत्री पनि हो । किनभने उत्पादन बढाउने मात्र होइन, स्वास्थ्य र जीवनको संरक्षण पनि यसको मूल उद्देश्य हो ।

अबको बाटो के हुनुपर्छ ?

नेपालले अर्थतन्त्र र रोजगारीको मुख्य आधार कृषि नै हो भनेर स्वीकार गरिसकेको छ । तर यदि कृषि प्रणाली महिलाको बोझिलो श्रम र स्वास्थ्यको मूल्यमा टिकेको छ भने त्यो दिगो हुन सक्दैन । प्राकृतिक खेती कुनै ‘फेशन’ होइन, यो आवश्यकता हो । यसले महिलाको श्रम घटाउँछ, स्वास्थ्य जोगाउँछ, माटो पुनर्जीवित गर्छ र परिवारलाई सुरक्षित बनाउँछ । सम्पूर्ण महिला किसान जो दिनभर खेतमा खटिन्छन् र साँझ आफ्ना सन्तानलाई अँगालो हालेर सुताउँछन्, उनीहरूको जीवन सहज बनाउने बाटो खोज्नु हाम्रो सामूहिक जिम्मेवारी हो । प्राकृतिक खेती त्यो बाटो हुन सक्छ जहाँ किसानको अनुहारमा थकानभन्दा बढी सन्तोष र आत्मविश्वास झल्कियोस् ।

कृषिलाई महिलामैत्री बनाउन सरकार र सम्पूर्ण सरोकारवालाहरूको सक्रिय सहयोग र प्रतिबद्धता आवश्यक छ । यसमा प्राकृतिक खेती प्रवर्द्धन गर्ने नीति बनाउनु, महिला किसानका लागि तालिम र क्षमता विकास गर्नु, सुरक्षित उत्पादनका लागि छुट्टै सप्लाइ चेन र बजार व्यवस्थापन सुनिश्चित गर्नु र नीति निर्माण तथा निर्णय प्रक्रियामा उनीहरूको वास्तविक सहभागिता सुनिश्चित गर्नुपर्छ । किनकस महिलामैत्री कृषिविना नेपालको दिगो भविष्य सम्भव छैन र प्राकृतिक खेती त्यही भविष्यतर्फको एउटा सही कदम हो ।

अन्तिम अपडेट: बैशाख ५, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शिवशंकर शर्मा

शर्मा गुड नेवर्स इन्टरनेशनल नेपाल र एग्रिकल्चरल टेक्नोलोजी सेन्टरमा कृषि विज्ञको रूपमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया