इरानले फेरि ‘हर्मुज’ बन्द गर्‍याे, अमेरिकी नाकाबन्दी हट्नुपर्ने माग

 वैशाख ५, २०८३ शनिबार १६:१९:२७ | एजेन्सी
unn.prixa.net

गेटी इमेजेज

इरानले फेरि ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग बन्द गरेको छ । अमेरिकाले आफ्ना बन्दरगाहहरूमा निरन्तर नाकाबन्दी गरेको भन्दै इरानले हर्मुज बन्द गरेको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

इरानले हर्मुज खुला गरेको २४ घण्टा नबित्दै फेरि बन्द गरेको हो । अमेरिकी नाकाबन्दी हटाएपछि मात्र हर्मुज पुनः खोल्ने इरानी सेनाले बताएको छ ।

यसअघि हिजो इरानका विदेशमन्त्रीले युद्धविरामको बाँकी अवधिमा हर्मुज व्यावसायिक जहाजहरूका लागि पूर्णरूपमा खुला हुने बताउनुभएको थियो । तर त्यसको केही समयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौता नभएसम्म इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी कायम रहने घोषणा गर्नुभएको थियो ।

अमेरिका र इरानबीच भएको युद्धविराम आउँदो बुधवार अप्रिल २२ मा समाप्त हुँदैछ । गएको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेदेखि महत्त्वपूर्ण जलमार्ग हर्मुज प्रभावित हुँदै आएको छ । 

यसैबीच इरानले आफ्नो हवाई क्षेत्र र केही विमानस्थलहरू आजदेखि आंशिक रूपमा पुनः खोलेको बताएको छ । इरानको पूर्वी क्षेत्रको हवाई क्षेत्र, केही विमानस्थल र हवाई मार्गहरू अन्तर्राष्ट्रिय उडानका लागि पुनः खुला भएको इरानी नागरिक उड्डयन प्राधिकरणलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

देशको सैन्य र नागरिक अधिकारीहरूले प्राविधिक र परिचालन तयारी पूरा गरेपछि इरानी विमानस्थलहरूमा उडान सञ्चालन बिस्तारै सामान्य हुने बताएका छन् । अमेरिका र इजरायलले संयुक्त आक्रमण गरेपछि इरानले आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो ।

अन्तिम अपडेट: बैशाख २७, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया