थाइल्याण्डका पूर्वप्रधानमन्त्री सिनावात्रा जेलमुक्त

 वैशाख २९, २०८३ मंगलबार ६:१३:४८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ - थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा भ्रष्टाचारको मुद्दामा जेल भुक्तान गरी मुक्त हुनुभएको छ । 

उहाँ हिजो राजधानी बैङ्ककको जेलबाट रिहा हुनुभएको हो । भ्रष्टाचारको आरोपमा एक वर्षको सजाय पाएका थाक्सिनले आठ महिना जेल सजाय भोगिसक्नुभएको छ । न्याय मन्त्रालयको एक समितिले उहाँको राम्रो आचरण, बढ्दो उमेर र पुनः अपराधको कम सम्भावनालाई ध्यानमा राख्दै उहाँको लागि ‘प्यारोल’ स्वीकृत गरेको छ । 

दशकौँदेखि विवाद र राजनीतिमा ध्रुवीकरणको केन्द्रमा रहेका थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन स्थानीय समय अनुसार सोमबार बिहानै जेलबाट रिहा हुनुभएको हो । उहाँको स्वागतका लागि बैङ्ककको केन्द्रीय कारागार ‘क्लोङ प्रेम’ बाहिर केही सङ्ख्यामा समर्थक र आफन्त भेला भएका थिए । 

रिहाइपछि पहिलो पटक सार्वजनिक रूपमा देखिएका सिनावात्राले सञ्चारमाध्यमसँग भने कुनै प्रतिक्रिया नदिएको समाचार संस्था एएफपीले जनाएको छ । दूरसञ्चार व्यवसायमा आबद्ध अर्बपति व्यापारी थाक्सिनले सन् १९९८ मा आफ्नै राजनीतिक पार्टी गठन गर्नुभएको थियो र सन् २००१ मा थाइल्याण्डको प्रधानमन्त्री बन्नुभएको थियो । 

सन् २००६ मा सेनाले ‘कू’ गरेर उहाँको सरकार अपदस्थ गरेको थियो । उहाँलाई शक्तिको दुरुपयोग, आफ्नो व्यापारिक हितलाई फाइदा पुर्‍याएको र सरकारी चिट्ठा परियोजनामा अनियमितता गरेको आरोप लगाइएको थियो । 
    
 

अन्तिम अपडेट: जेठ २६, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया