तेजेन्द्रकी आमाको मन्त्री विष्टलाई प्रश्न : कि छोरो दिनुस्, नत्र कसरी मर्‍यो भनिदिनुस् ?

 चैत १९, २०७५ मंगलबार १७:५४:११ | उज्यालो सहकर्मी

काठमाण्डौ – ‘कमाउन गएको मेरो छोराको लाश पनि देख्न पाइनँ, कि छोरो दिनुस् म त्यहीसँगै मर्छु, नत्र कसरी मर्‍यो भनिदिनुस,’ बाग्लुङकी सुर्विता भण्डारीले झोलाबाट छोराको फोटो निकालेर देखाउँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री  गोकर्ण विष्टलाई प्रश्न गर्नुभयो ।

झोलामा बोकेर ल्याएको छोराको फोटोमा लागेको धुलो टिस्यू पेपरले विस्तारै पुछ्नुभयो सुविर्ताले । फोटोमा पनि छोरालाई धुलोले नछोपोस् । धुलोले छोराको फोटो पूरानो नबनोस्  भनेर होला सायद । 

छोराको फोटोलाई सुमसुम्याउँदै सुर्विताले मन्त्री विष्टलाई प्रश्न गरिरहँदा बगिरहेका थिए आँसु । अनि भरिएका थिए सबै सहभागीका आँखा ।

सुर्विताले घामजुन झैं मेरो छोरो साउदीमै अस्तायो, काजकिरिया पनि अर्कैले गर्‍यो भनेर छोराको फोटो देखाउँदा शब्दसँगै आशु खसिरहेका थिए । सुविर्ताका आँसुसँगै निशब्द थिए सबैजना । 

यो दृश्य मंगलबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा उज्यालो मल्टिमिडियाले उत्पादन गरेको डकुमेन्ट्रि ‘मरिसकेको मान्छे’ देखाउँदाको हो । जहाँ ‘मरिसकेको मान्छे’ हेर्न श्रम मन्त्री गोकर्ण विष्ट, श्रम मन्त्रालयका सचिव महेश दहालसहित मन्त्रालयका पदाधिकारीसँगै अरु थुप्रैको उपस्थिती थियो ।

आफ्नै छोराको मृत्यु र आफ्नो पीडा सुनाउन बाग्लुङबाट सिंहदरबार आइपुगेकी सुर्विता बोलिरहनुभयो । 

कमाएर सुखले पालाैला आमा भन्दै परदेशिएको छोराको लाश पनि अर्कैले जलाएको खबर सुनेदेखि मनमा पलाएका अनगिन्ती प्रश्नहरु नरोकिइकन सोध्न थाल्नुभयो सुर्विता । 

मेरो छोरा कस्ले मार्‍यो ?

मैले लाश पनि देख्न पाइनँ ?

मेरो छोराको लाश किन नहेरी जलाइयो ?

‘मेरो सहारा भनेकै त्यही छोरा मात्र त थियो, लास ल्याइदेऊ म पनि सँगै यहीँ मर्छु ।’

कि मलाई बाच्ने आधार देऊ.. ? यस्तै अनगिन्ती प्रश्न जुन सुर्विताको मनमा गडेर बसेको छ । आँसु देख्दा लाग्थ्यो, उहाँसँग यस्ता अनुत्तरित प्रश्नको सागर छ ।

सुर्विताकै छेउमा वृत्तचित्र हेर्न सँगै बसेका थिए मोरङका सुवास तामाङ र उहाँकी श्रीमती सन्तोषी । सुर्वितालाई एक्लो छोरो गुमाउँदाको पीडा थियो भने सन्तोषीलाई कागजमा मरिसकेका श्रीमानलाई कसरी जिउँदो बनाउने अनि अब परिवार कसरी पाल्ने भन्ने चिन्ताले छोपेको थियो । 

सुर्विताका छोरा तेजेन्द्रसँगै साउदीमा दुर्घट्नामा परेका थिए मोरङको लक्ष्मीमार्गका सुवास । 

सुवास साउदीको हुण्डाई कम्पनीका काम गर्थे भने तेजेन्द्र ट्याक्सी चलाउँथें । महिनाभरीको कमाई घर पठाउन बैंक जाँदा यी दुईको भेट भयो । 

घरमा पैसा पठाउन बैंक गएर फर्किंदा तेजेन्द्रले चलाएको ट्याक्सीमा सुवास सहित हुण्डाई कम्पनीमा काम गर्ने अरु तीनजना नेपाली पनि थिए । तर उनीहरु कोही पनि कोठामा पुग्न पाएनन् ।

तेजेन्द्रले चलाएको ट्याक्सी २०७२ असार २४ गते बाटैमा दुर्घटनामा पर्‍यो । त्यो दुर्घटनामा तेजेन्द्रसहित पाँच जना नेपाली परे । साउदीको जेद्धामा रहेको किङ अजिज अब्दुल अस्पतालले दुर्घटनाको भोलिपल्ट हुण्डाई कम्पनीका काम गर्ने चारजना नेपालीको मृत्यु भएको घोषणा गरिदियो । अस्पतालले चालक तेजेन्द्रकोे भने उपचार भइरहेको खबर दियो । 

त्यो दुर्घटनाको २७ दिनपछि सुवासको शव काठमाण्डौं आइपुग्यो । परम्परा अनुसार सुवासकी श्रीमतीले श्रीमान सुवासको घेवा गर्नुभयो । सुवासको परिवार शोकमा डुबेको बेला बाग्लुङमा तेजेन्द्रकी आमा उपचार गराइरहेको छोराको होस खुलोस् भनेर भगवान पुकार्दै हुनुहुन्थ्यो । तर, उल्टो पाल्टो र हुने हुनामी पहिले नै भैसकेको थियो । 


साउदीमा उपचार गराइरहेका घाइ्तेको अनुहारको पट्टी तीन महिनापछि खोलियो । तर, पट्टीभित्रको अनुहार तेजेन्द्रको नभएर बाकसमा लास ल्याएर काजकिरिया गरिसकेका सुवासको थियो । 

मर्‍यो भनेर किरिया गरिएको मानिस जिवित भेटियो, उपचारपछि छोरा सञ्चो भएको खबर सुन्न भगवानसित प्रार्थना गरेर बसेकी तेजेन्द्रकी आमा सुविर्ताले छोरालाई अरु कसैले दागबत्ती दिएको खबर सुन्नपर्‍यो । 
छोरोको स्वर सुन्न आतुर आमाले छोरो मरेको, लाश नेपाल आएको र आफ्नो संस्कार बिपरित सद्गत भैसकेको थाहा पाएपछि भोगेको पुत्र शोकको पीडामा पुर्नभएको छ सुर्विता । 

अनि आफैले काज किरिया गरिसकेको लोग्ने घर फर्किएपछि सुवासी श्रीमती सन्तोषी हर्षित त हुनुहुन्छ, तर शारीरिक र मानसिक रुपमा विक्षिप्त भएर फर्किएका श्रीमानलाई कसरी सम्हाल्ने ? अनि घरबार कसरी चलाउने सन्तोषीलाई पनि उस्तै पीडा छ । 

उनीहरुकै पीडा समेटेर उज्यालो मल्टिमिडियाले वृत्तचित्र ‘मरिसकेको मान्छे’ तयार पारेपछि मन्त्री विष्टले दुवै परिवारलाई सँगै राखेर वृत्तचित्र हेर्ने समय निकाल्नुभएको थियो । उनीहरुको विषयमा यसअघि पनि उज्यालो अनलाइन र उज्यालो रेडियोको कार्यक्रम देश परदेशमा समेटिएको थियो ।  

वृत्तचित्र हेरेपछि मन्त्री विष्टलाई पनि तत्कालै यसै गर्छु भन्न गाह्रो पर्‍यो । तर उहाँले दुवै ठाउँको स्थानीय तहदेखि मन्त्रीपरिषदसम्म प्रस्ताव लगेर भए पनि दुवै परिवारलाई राहत र क्षतिपूर्ति दिलाउने आश्वासन दिनुभएको छ ।

त्यती मात्रै हैन कागजी रुपमा मरिसकेका सुवास तामाङलाई जिउँदो बनाउन पहल गर्ने पनि बताउनुभएको छ । यही आश्वासन पूरा हुने आशाको पोको बोकेर घर फर्किंदै छन् तेजेन्द्र र सुवासको परिवार ।

तेजेन्द्र र सुवासका बारेमा उज्यालोमा यसअघि प्रकाशित खबर पढ्नुहोस् ।

साउदीमा तेजेन्द्रको मृत्यु : एकै मानिसका दुईटा लास जले, तर मरेको प्रमाण फेला परेन

आफैंले किरिया गरेका पतिसँग फेरि बिहे गरेकी सन्तोषीको प्रश्न : मेरा श्रीमानलाई कसरी जीवित गराउने ?

हर्कबहादुरका माइला छोराको पुनर्जन्म र बिहे

 

अन्तिम अपडेट: असार २, २०७७

तपाईको प्रतिक्रिया