सीप नहुँदा विदेशमा ‘थ्री डी’ को डर !

 माघ २६, २०७६ आइतबार १८:५:५९ | चन्द्रकान्त भुसाल

स्वभावतः मानिस रचनात्मक र सिर्जनशील प्राणी हो । मानिसलाई रचनात्मक र सिर्जनशील बनाउने भनेको नै सीपले हो । मानिसको जीवनमा सीपको निकै नै महत्व हुन्छ ।

जीवनयापनलाई सहज बनाउन सीपमूलक तालिम अत्यन्तै आवश्यक छ । सीप छैन भने अहिलेको समयमा जीविकोपार्जन नै कठिन छ । हातमा सीप नहुँदा धेरै नेपाली युवाहरु कामको खोजिमा विदेशिनुपरेको छ । 

वैदेशिक रोजगारी आफैमा नराम्रो पक्ष त होइन । देशमा रोजगारीको अवसर नहुँदा र पर्याप्त कमाइ नहुँदा राम्रो कमाइको आशामा युवाहरु वैदेशिक रोजगारीमा जाने हुन् । तर सीप नसिकेरै वैदेशिक रोजगारीमा जाँदा त्यहाँ उनीहरुले दुःख पाउने, विभिन्न अप्ठ्यारा काम गर्नुपर्ने तथा कार्यस्थलमा जोखिम भोग्नुपर्ने हुन सक्छ । के देशमा के विदेशमा, सीप नसिकेर काम गर्दा विभिन्न कुराको समस्या हुनसक्छ । जसलाई मैले ‘थ्रीडी’ समस्या भन्ने गरेको छु ।

सीप नहुँदा 'थ्री डी' 

हातमा केही पनि सीप छैन अब क गर्ने भन्ने भएपछि धेरै नेपाली युवाहरुले विदेश ताक्छन् । तर विदेश पनि अनिवार्य सीप सिकेर मात्र जानुपर्छ भन्ने अझै धेरैलाई ज्ञान छैन । सीप नसिकेर विदेश जाँदा त्यहाँ विभिन्न समस्याहरु भोग्नुपर्ने हुन सक्छ । यस्ता समस्यालाई म ‘थ्री डी’ भन्न चाहन्छु । एउटा ‘डेन्जर’ अर्थात खतरनाक, अर्को ‘डिफिकल्ट’ अर्थात कठिन र अर्को ‘डर्टी’ अर्थात फोहोरी काम । 

जस्तै शौचालय सफा गर्ने काम । विदेशमा गएर शौचालय नै सफा गर्नुपर्यो भने पनि सीप सिकेर गएको भए उहाँले प्रविधि प्रयोग गर्न सक्नुहुन्थ्यो । तथा बचाउका उपाय अपनाउन सक्नुहुन्थ्यो । यसले गर्दा त्यही काम पनि व्यवस्थित बन्थ्यो । सीप नसिक्नाको कारण हाम्रा युवाहरुले मर्यादित काम त कमैले पाउनुभयो, साथै खतरनाक काम गर्नुपर्यो ।

घर बनाउने सीप छैन तर घर बनाउने काममा लाग्नुहुन्छ । हेल्मेट प्रयोग गर्नेदेखि अन्य सुरक्षाका उपायहरु अपनाउन नजान्दा दुर्घटना निम्तिन्छ । यस्तै कम्पनीमा मेसिनको प्रयोग गर्न नजान्दा मेसिनले दुर्घटनामा पारिदिन्छ । कहिलेकाहीँ ज्यानै समेत जान्छ । दुर्घटनामा ज्यान गुमाएर काठको बाकसमा नेपाल फर्काउनुपर्ने कारुणिक अवस्था छ ।

त्यस्तो खालको कठिन खतरनाक र फोहोरी कामहरु गर्न नपरोस् र विदेशमा गएको खण्डमा पनि उहाँले सुरक्षित र मर्यादित काम पाउन् भन्नको लागि नै सीप सिक्ने हो । यस्तै सीप नसिक्नाका कारण कठिन खतरनाक र फोहोरी मात्र नभई पारिश्रमिक पनि कम हुन्छ । सीप सिकेर गएमा पारिश्रमिक पनि बढी हुन्छ ।

हातमा सीप नहुँदाको बेफाइदा

माथि भनिएजस्तै सीप सिकेपछि आफूले गरिहेको काम सुरक्षित, मर्यादित र सहज हुन थाल्छ । सीपले व्यक्तिलाई स्वरोजगार बन्ने बाटो देखाउँछ । हातमा सीप भएपछि देशमा होस् वा विदेशमा रोजगारीका अवसर पनि सहजै प्राप्त हुन्छन् । 

यति मात्रै नभएर सीपले व्यक्तिको दैनिक जीवनयापानलाई पनि सरल बनाउँछ । जस्तै, घरमा बिजुलीको तार चुँडियो, वायरिङ गर्न जानेको छ भने मान्छे खोज्दै पसलतिर दगुर्नु परेन । यस्तै शौचालमा समस्या आयो, कपडा उध्रियो । यदि पलम्बिङ र सिलाईकटाइ सम्बन्धी काम जानेको छ भने सामान्य समस्याको समाधान घरभित्रै हुन्छ । बाहिर पुगिराख्नुपरेन । यसले पैसा र समय दुइटै बचत हुन्छ ।

सीपयुक्त युवा भए समग्र देशकै विकास हुन्छ

नेपालका सहरदेखि गाउँसम्म हेर्ने हो भने बढी जसो कपाल काट्ने पसल र मोबाइल पसल भारतीय नागरिकले सञ्चालन गरिरहेका छन् । यस्तै यो कुरा निर्माणको क्षेत्रमा पनि लागू हुन्छ । घर बनाउनेदेखि विभिन्न भौतिक संरचना निर्माणका काममा भारतीय नागरिक नै बढी हुन्छन् । हाम्रा युवाले कपाल काट्ने, मोबाइल मर्मत गर्नेदेखि निर्माण सम्बन्धी मेसन, कार्पेन्टर आदि जस्ता काम सिकेको भए पनि यति धेरै भारतीय नागरिकले नेपाली बजार छोपिने थिएन ।

यसले गर्दा देशबाट वार्षिक अर्बौं रुपैयाँ भारत जाने गर्छ । हाम्रै युवाहरुले यस्तो सीप सिकेर व्यवसाय गरे यसरी विदेशिने रकम रोकिन्थ्यो र बेरोजगारी पनि घट्थ्यो । यस्तै हामीहरु कृषि गर्छौँ तर पुरानै तरिकाले ।

सीप सिकेर नयाँ प्रविधि र ज्ञानको आधारमा कृषि गर्ने हो भने तुलनात्मक रुपमा उत्पादन बढी हुन्छ । कम समयमा धेरै उत्पादन गर्न सकिन्छ । यसले पनि भारत लगायत विभिन्न देशबाट हुने वार्षिक अर्बाैं रुपैयाँ बराबरको कृषि आयात कम गर्न सकिन्थ्यो । 

यी उदाहरणले पनि देशको विकासको लागि सीपको महत्वलाई झल्काउँछ । त्यही भएर युवाहरुले सैद्धान्तिक ज्ञानसँगै सीपमुलक तालिम लिन पनि आवश्यक हुन्छ । सरकार आफैंले तथा विभिन्न संस्थासँग सहकार्य गरेर सीपमुलक तालिम प्रदान गरिरहेको छ ।

यस्ता तालिममा सहभागी भएर आफूलाई सीपयुक्त बनाउन सबै युवाहरुलाई आग्रह गर्न चाहन्छु । आफूमा भएको कुनै पनि सीप व्यक्ति स्वंको गहना त हो नै, यसले समाज र राष्ट्रलाई पनि फाइदा पुग्छ ।

(व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि (इभेण्ट) परियोजना दाेस्राेका निर्देशक चन्द्रकान्त भुसालसँग बेदानन्द जोशीले गरेको कुराकानीमा आधारित ।)
 

अन्तिम अपडेट: भदौ १७, २०७७

तपाईको प्रतिक्रिया