जनमानसमा कोरोना परीक्षण गर्न हिचकिचाउने प्रवृत्ति देखिन्छ

 चैत २५, २०७६ मंगलबार ९:४१:३६ | डा. सरोज धिताल
unn.prixa.net

काठमाण्डौ – अहिले जति पनि समाचार सुन्नमा आएको छ ती हेर्दा हामी कोरोना सङ्क्रमणको दोस्रो चरणमा प्रवेश गरेका छौं । पहिलो चरणमा बाहिरबाट सङ्क्रमित भएर आएकाहरु मात्र थिए । अब नेपालभित्रै एकले अर्कोलाई सार्ने क्रम सुरु भइसकेको छ जुन दोस्रो चरण हो । तेस्रो चरण भनेको रोग एकजना व्यक्तिबाट अर्को व्यक्तिमा मात्र नभइ सामाजिक रुपमा फैलिनु हो । त्यसपछि सङ्क्रमितको सङ्ख्या एकैपटक बढ्न जान्छ, जुन निकै जोखिमपूर्ण अवस्था हुन्छ ।

अहिलेको अवस्था भनेको असाध्यै महत्वपूर्ण समय हो । सङ्क्रमणबाट जोगिन अरु केही गर्न नसकेको स्थितिमा ‘लकडाउन’ नै महत्वपूर्ण उपाय हो । यो समय भनेको हामीले बाहिर निस्किन पाउने अधिकार खत्तम पार्यो भन्ने अवस्था होइन । निस्फिक्री घुम्न पाउने परिभाषा सामान्य स्थितिमा र अहिलेकोजस्तो असामान्य स्थितिमा एउटै हुँदैन । त्यसैले यो कुरा सबैले बुझिदिनुपर्यो ।

घरभित्रै बन्दीजस्तो भएर बस्दा एक किसिमले मानवअधिकारको हनन् पो भयो कि भन्ने पनि लाग्ला । तर अहिलेको यो विशिष्ट परिस्थितिमा नयाँ भाइरसको कारण विश्व नै त्रसित भइरहेको अवस्थामा अझै पनि नयाँ भाइरसको व्यवहारलाई हामीले चिनिसकेका छैनौं । यस्तो अवस्थामा ‘लकडाउन’ नै सबैभन्दा बढी उपयुक्त हुन्छ । घरभित्रै बसिदिने र स्वस्थकर जीवनशैली अपनाउनु नै सबभन्दा महत्वपूर्ण र प्रभावकारी उपाय हो ।

अझ सकिन्छ भने त सबैको परीक्षण गर्न सकियो भने सही समयमा पत्ता लाग्थ्यो । तर यो त्यति सम्भव छैन । अहिलेको लागि सरकारले भनेजस्तो विदेशबाट आएका नागरिक, उनका परिवार र सङ्क्रमितका परिवारको परिक्षण गर्न सके ठूलो कुरा हुन्छ ।

अहिलेको समस्या भनेको बाहिरबाट सङ्क्रमित भएर आएकाहरु पनि पूर्ण रुपले थाहा हुन नसक्नु हो । त्यसरी आएकामध्ये पनि थोरै मान्छेमा मात्र कोरोना भएको पुष्टि भएका कारण हामी चरण दुईमा पुगेका छौं । दोस्रो चरणमा पनि ‘कन्ट्रयाक्ट ट्रेसिङ’ प्रभावकारी भएन भने कोरोनाले चाँडै तेस्रो चरणमा प्रवेश गर्छ । त्यो भन्नाले सामुदायिक रुपमा प्रवेश गर्नु हो । एकपटक यसको प्रसारण समुदाय स्तरमै भइसकेपछि नियन्त्रण गर्न असाध्यै गाह्रो हुन्छ । त्यसपछि भुटेको मकैजस्तो एकैपटक सयौंलाई सङ्क्रमण हुन जान्छ ।

अहिले जनताको तर्फबाट हामीहरुले गर्न सक्ने भनेको त चुपचाप ज्ञानी भएर घरभित्रै बस्ने हो ।

कोरोनाकै कारण नेपालमा कसैको ज्यान त गएको छैन । तर यो बन्दाबन्दीको कारण अस्पतालहरुको स्थिति जुन भइरहेको छ, शङ्का लाग्नेवित्तिकै यो यो अस्पतालमा जाने भनेर स्पष्ट नीति बनाएको भए अरु रोगले मर्ने क्रम कम हुन्थ्यो होला । अहिले त अरु रोगले पनि मानिस मरिरहेका छन् कि भन्ने पनि छ ।
सरकारले सङ्क्रमित भेटिएका कैलाली, कञ्चनपुर र बाग्लुङमा ‘र्यापिड टेस्ट’ थालेको छ । र पोजेटिभ देखिएका व्यक्तिहरुको फेरि पीसीआर विधिबाट परीक्षण गर्ने भनेको छ । पीसीआर भनेको अहिलेको ‘ग्लोबल स्ट्याण्डर्ड’ हो । त्यसले पक्कापक्की अर्थात शतप्रतिशत परिणाम निकाल्छ भन्ने हो । धेरै समूहको एकैपटक परीक्षण गर्न नसकिएको अवस्थामा ‘र्यापिड टेस्ट’बाट छनौट भएकाहरुलाई बल्ल पीसीआर प्रविधिमार्फत परीक्षण गरिने हो । 

अहिले जनमानसमा कोरोना परीक्षण गर्न हिचकिचाउने प्रवृत्ति देखिन्छ । कतै ममा कोरोना देखिहाल्यो भने भोलिदेखि मान्छे मसँग बोल्नै छाड्ने हुन् कि भन्ने एककिसिमको त्रास उनीहरुमा देखिन्छ । यो समाजले के भन्छ होला भन्ने डर पनि उनीहरुको दिमागमा छ । निको भइहाले पनि यो त कोरोनाको बिरामी हो भनेर तर्सिने पो हुन् कि भन्ने त्रास फैलिएको छ ।

यस्तै विदेशबाट आएकाहरुमा पनि यस्तै आरोप लगाउने, दुव्र्यवहार गर्ने गरेको पाइन्छ । यो भनेको मानिसभित्र रहेको शैतानी प्रवृत्ति हो । यो एकैपटक भाषण गरेर रोक्न सकिँदैन । सरकारले बारम्बार जनचेतना जगाउने, प्रचार गर्ने गर्नुपर्छ । जस्तो पहिले टीभी भएपछि मानिसमा कति त्रास हुन्थ्यो । पछि त्यसको बारेमा मानिसले बुझ्न थाले र अहिले त्यस्तो केही छैन । 

अहिले टेलिफोनमा जस्तो म्यासेज आउँछ अझै त्यस्ता प्रकारका अरु म्यासेजहरु पनि दिनुपर्छ । मोबाइलको रिङटोनमा पनि यदि तपाईंलाई कोरोना लागेको छ भने डराउनु हुँदैन भनेर सचेत गर्ने काम पनि हुनुपर्छ । 

यस्ता कुराहरु निरन्तर रुपमा हुनुपर्छ । कोही त बुझ्दै बुझ्दैनन् त्यस्तालाई त जे भने पनि केही असर गर्दैन ।

अहिले धेरै ठाउँमा परीक्षण थालेका छन् ठाउँठाउँमा क्वरेन्टीन बनाएका छन् । पहिलोचोटि यो स्तरको लडाइँमा होमिनुपरेको कारणले गर्दा केही अपरिपक्वता त होला । तर जुन स्तरको चेतना देखिएको छ, त्यो हेर्दा विश्वमा यो रोग ठूलो मात्रामा फैलिएका देशभन्दा चेतनाको हिसाबले हामी धेरै माथि छौं जस्तो लाग्छ । अहिले भेला गर्ने भन्ने कुरा लगभग बन्द नै भइसकेको छ । कसैसँग भेट हुँदा दूरी राखेर कुरा गर्ने गरेका छन् । यो एकदमै राम्रो हो ।

अहिले हामीले सबैभन्दा बढी गर्नुपर्नेे परीक्षण र सङ्क्रमितको पहिचान नै हो । यी दुईवटा कुरामा सरकारको क्षमताले नभ्याएको हो कि भन्ने ठूलो डर छ । योसँग धेरै कुराहरु जोडिएका छन् । यतिबेला सबैको परीक्षण गर्न नसके पनि शङ्कास्पद मान्छेलाई बेलैमा कसरी पत्ता लगाउने भन्ने कुरामा ध्यान दिनुपर्छ । अहिले नेपालमा यस्ता शङ्कास्पद व्यक्तिलाई पत्ता लगाउन ४, ५ वटा मोबाइल एपहरु पनि बनिसकेका छन् । यो एकदमै सकारात्मक कुरा हो । प्रविधिलाई प्रयोग गरेर शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर परीक्षण थाल्ने गर्नुपर्छ ।

काठमाण्डौ महानगरपालिकाले पनि यस्तै सर्भिलेन्स सिस्टम ‘निगरानी प्रणाली’ प्रयोग गरिरहेको छ । त्यसलाई नागरिकले पनि राम्रोसँग प्रयोग गर्ने हो भने कसको के अवस्था छ, ज्वरोमात्र आएको छ कि खोकी पनि लागेको छ भनेर डाक्टरले सजिलै पत्ता लगाउन सक्छन् । त्यसपछि डाक्टरले त्यो पालिकाका कुनै प्रतिनिधिलाई तपाईंको ठाउँमा यस्तो मान्छे छ है, विचार गर्नुहोला है भनेर जानकारी गराउन सक्छन् । यतिखेर यो प्रविधिलाई एकदमै राम्रोसँग परिचालन गर्ने हो भने यो दोस्रो चरणबाट बच्न धेरै कुरा गर्न सकिन्छ ।

बन्दाबन्दीको बेला हामीले स्वास्थ्यमा ध्यान दिनुपर्छ । बाहिर हिँड्न नपाउँदा अथवा घरभित्रै बस्दा शारीरिक व्यायाम भएको हुँदैन । यस्तोमा हामीले घरभित्रै बसेर पनि शारीरिक व्यायाम गर्न सकिन्छ । घरभित्रै हिँडेर, भर्याङ चढेर पनि व्यायाम गर्न सकिन्छ । शरीरका सानाठूला सबै जोर्नीहरुलाई चलायमान बनाइराख्नुपर्छ । आफ्नो उमेरअनुसार आफूले सक्नेजति व्यायाम गरिराख्नुपर्छ । योग, प्रणायाम पनि गर्नुभयो भने त्यसले अझ धेरै फाइदा पुग्छ ।

जतिसुकै ध्यान दिँदा पनि सबै खालको होस पुर्याउँदा पनि सङ्क्रमण हुन सक्छ । तरकारी पसल होस् या अन्य कुरा कहीँ न कतै छोइएकै हुन्छ । त्यसको लागि हामीले बाहिरबाट आउनेबित्तिकै हात धुनुपर्छ । हामीले केही सामान किनेर ल्यायौँ भने त्यसमा पनि भाइरस लुकेको हुनसक्छ । त्यही भएर हामीले के बुझौं भने बाहिरबाट ल्याएको सामानमा भाइरस छ है भनेर धोएर प्रयोग गरौं । यसको लागि हामीले यस्ता सामानहरुको प्रयोग गरौं जसलाई धोएर निर्मलीकरण गर्न सकियोस् ।

यस्तो बेला केही भइहाले अस्पताल जाने कि नजाने भन्ने पनि हुन्छ । यो निकै गम्भीर प्रश्न पनि हो । आँकडा हेर्ने हो भने अहिले ‘लकडाउन’को बेला मानिसहरुको मृत्युदर घटिरहेको देखिएको छ । तर उपचारको पद्धतिमा हामीहरुको जे जति विकास भएको छ त्यसले गर्दा व्यक्तिगत तहमा गम्भीर रोग लागेका मान्छेहरुलाई पनि बाँच्नलाई सहयोग भएको छ । तर सिङ्गै जनसङ्ख्याको स्वास्थ्यमा त्यसले कतिको असर पारेको छ भन्ने हो भने सम्भवतः हामीले सोचेजति धेरै प्रभाव पारेको छैन । आधुनिक चिकित्सा पद्धतिले गम्भीर रोग लागेकाहरुको ज्यान बचाउने सम्भावना त बढाएको छ तर समग्रमा आधुनिक चिकित्सा पद्धतिले धेरै प्रभाव पारेको छैन । अधिकांश रोगहरु घरमै बसेर आफैँ सतर्क हुँदा पनि निको हुन्छ ।  

(डाक्टर धितालसँग गरिएको कुराकानीमा आधारित)

 

अन्तिम अपडेट: असार १, २०७७

डा. सरोज धिताल

डाक्टर सरोज धिताल वरिष्ठ शल्यचिकित्सक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया