सुरक्षा गार्डलाई काम नगरी सुख छैन

 चैत २७, २०७६ बिहिबार १६:४७:३३ | मेरो कथा मेरो भोगाई

मातृका चाम्लिङ, खोटाङ । हाल, मलेसिया । 

म मलेसियामा तीन वर्षदेखि कार्यरत छु । पहिले रमाई रमाई काम गरिन्थ्यो, अहिले डराई डराई काम गर्नु परेको छ । पहिले र अहिलेमा काम गराई पनि फरक छ । पहिले रहर सपना पूरा गर्नु थियो, तर अहिले ज्यान जोगाउनु छ । परदेशी भूमीमा कहाँ मान्छ र मन ? तर बाध्यता छ । 

सोच त आफ्नो देशमै केही गर्ने थियो । काम नखोजेको पनि होइन । धेरै भौतारिएँ, तर हात पाखुरा बजार्ने मेलो नमिलेपछि आफ्नो घर परिवार चलाउन परदेश आएको हुँ । तर आज यो कोरोनाले के ग¥यो ग¥यो । महिनामा तलब पाएको छैन । सबै बजारहरु बन्द छन् ।

अत्यावश्यक काम बाहेक बाहिर निस्कन पनि पाईंदैन । मलेसिया सरकारले कडा नियम बनाएको छ । कतिपय साथीहरु कोठामै बसिरहेका छन् । काम छैन कम्पनीमा ।

बाहिर निस्कंदा प्रहरीले भेट्यो भने जेल सजाय हुन्छ । त्यसैले पनि ननिस्कौं भन्छु म सबैलाई । कतिपय साथीलाई त खान बस्नको पनि समस्या छ । 
म चाहिँ यहाँ सुरक्षा गार्डको काम गर्ने भएकाले जोखिम मोलेरै काम गर्नुपर्छ । मन बलियो बनाएर काममा निस्कन्छु । तर मन डर त कति लाग्छ लाग्छ नि । कहिलेकाहीँ त यतै मरिन्छ कि झैं लाग्छ । उता घरबाट बुवाआमाले खाने खर्च छैन पठाइदेउ भनिरहनुभएको छ । यहाँ सबै बैंक बन्द छ कसरी पठाउनु ?

परदेशमा अवस्था सामान्य हुँदा त दुःख थियो । गाह्रो थियो । अहिले त मनै कमजोर, ज्यानै कमजोर भएको छ । यस्तो बेला लाग्छ, देशमै रोजगारी पाएको भए आज यो आपतका बेला आफ्नो दुःख अरुलाई सुनाउने दिन आउने थिएन । म मेरै परिवारको साथमा हुने थिएँ ।

हामीले यतिका वर्ष रेमिट्यान्स पठाएर देशलाई सहयोग ग¥यौं । सरकार अब देशमै केही गर्ने वातावरण बनाउ । म नेपालमै केही गर्न चाहन्छु । मेरो गाउँठाउँमा बुवाआमाको काखमा बस्ने रहर छ । रहरले होइन घरको छाक छ.टार्न बिदेसिएको हुँ । सरकार अब त हामीलाई स्वदेश फर्काउ । 

अन्तिम अपडेट: कात्तिक ५, २०७७

तपाईको प्रतिक्रिया