आफ्नै देश फर्कौंला, गाईभैंसी पालौंला, पाखोपखेरो खनौंला

 चैत २९, २०७६ शनिबार ९:४७:१५ | मेरो कथा मेरो भोगाई

कपिल ज्ञवाली, गुल्मी । हाल दुबई  ।

पैसा कमाउने, घर परिवार पाल्ने सुखी र खुसी हुने । अझ भनाैं गाउँको पहाडबाट सहरमा सर्ने अनि सहरमै घर बनाउने । परदेश लाग्दै गर्दा सबैको मनमा यस्तै यस्तै सपना हुन्छन्  । त्यही ठूलो सपना बोकेर म पनि दुबईमा सेक्युरिटी कम्पनीमा काम गर्दैछु । 

तर अहिलेको परिस्थिती हेर्दा लाग्छ, पैसा कसका लागि कमाउनु ? के को लागि कमाउनु ? आखिर जिन्दगीभन्दा ठूलो पैसा होइन रहेछ । सायद यस्तै लागेको होला अरु परदेशीलाई पनि ।

तर मर्नुअघि नै खुट्टा तान्न हुँदैन भन्थे बुढापाकाले । हो रहेछ । काम गर्नैपर्छ ।

आफ्नो र परिवारको लागि परदेशी भूमिमा पसिना बगाईरहेको छु ।

यूएई भनेको नियम कानुन राम्रो भएको देश हो । यहाँ सुरक्षा छ । केही भइहाल्यो भने पनि उपचार पाउन सजिलो छ ।

तर पनि किन किन परदेशमा असुरक्षित महसुश हुन थालेको छ ।

लकडाउन होस् या कर्फ्यु, सेक्युरिटीको काम त चलिनै रहन्छ । सेक्युरिटी भनेको जे जस्तो मान्छे होस्, जुन सुकै देशको होस्, कुराकानी गर्नपर्छ । सहयोग गर्नैपर्छ।

त्यसैले कुनबेला को र कस्तो मानिससँग नजिक भइन्छ के थाहा ? यस्तै कारणले गर्दा म र मेरा साथीहरुलाई हिजोआज डर लाग्न थालेको छ । तर पनि आत्मबल बलियो बनाएर काम गरिरहेको छु । घर फर्कने वातावरण पनि त छैन । 

अझ भनौं, कम्पनीले राख्ने क्याम्पको सुरक्षा त झनै फितलो छ । गाडी, ट्वाइलेट, बाथरुम, किचेन आदि इत्यादि । फरक फरक काम गर्ने ठाउँबाट एकैपटक क्याम्पमा आयो ।

अटाइ नआटाइ किचेनमा छिरेर हतार हतार खाना बनायो । न कुनै सिस्टम न कुनै सुरक्षा । यस्तै सानातिना कुरामा डराउन पर्ने अवस्था छ । आफू मात्रै सुरक्षित हुन्छु भनेर पनि नहुने । 

तर पनि घर परिवारसँग कुरा गर्दा हाँस्दै हामी सुरक्षित छाैं, पीर नगर्नुस्, बरु आफ्नो ख्याल गर्नुस् भन्दै सम्झाउन परेको छ । अरुको सुरक्षामा खटिंदाखटिंदै के थाहा भाइरस सङ्क्रमण भइ पो हाल्ने हो कि ? आफ्नो गाउँठाउँ  र आफन्तलाई भेट्नै नपाइने पो कि ?

आफ्नै माटोमा शरीर खरानी हुन नपाउने पो हो कि ? यस्ते सोचाइले दिमाग भरिन्छ काम गर्दा पनि । रहरले त होइन नि, पैसा कै कारणले यहाँसम्म आउन प¥यो । अब फर्कन पाए आफ्नै गाउँठाउँमा सानोतिनो इलम गरेर जिन्दगी कटाउने थिएँ । 

अहिले संसारभरी कोरोनाको कहर छ । तर आपत पर्दा आफ्नो देश भनेको आफ्नै हुन्छ । मेरो देशमा सबैथोक छ, तर त्यसलाई हाँक्ने रथ कमजोर भएकाले आज परदेशी बन्नु परेको होे । आज दुःखमा पनि एक्लै लड्नु परेको छ । सरकारले फर्क विदेसिएका युवा हामी दिन्छौं रोजगारी भने त सायद यो ठाउँका कोही बस्ने थिएनन् कि ।

अहिलेको समय भनेको मन दह्रो बनाएर भाइरससँग लड्ने बेला हो । त्यसैले म सबैलाई यही आग्रह गर्छु, जति पनि परदेशी भूमीमा पसिना बगाइरहनुभएको छ, हामी आत्तिनु हुँदैन । आज बाच्यौं भने भोलि आफ्नै देश फर्कौंला, गाईभैंसी पालौंला, पाखोपखेरो खनौंला । 

 

अन्तिम अपडेट: असार २५, २०७७

तपाईको प्रतिक्रिया