छटपटी र आक्रोशबीच लकडाउन मनोवाद : कति सोच्नु, अब जे हुन्छ भगवान् भरोसा

 जेठ ९, २०७७ शुक्रबार २०:३१:२३ | सजना बस्नेत
unn.prixa.net

काठमाण्डौ - साँझको ८ बजिसकेको थियो । खाना खाइवरी र घरधन्दा सकेर कोठाभित्र छिरेँ । सिरानीमाथि लमतन्न पल्टिरहेको मोबाइलले टुलुटुलु हेरेर मलाई नै बोलाइरहेझैँ लाग्यो । आउना साथ हत्त न पत्त मोबाइल समाएँ । फेसबुकको न्युजफिडमा आउने समाचार र त्यस्ता समाचारको त्रासले यति सताइसकेको थियो कि मानौँ कुनै मानसिक रोग लागिसक्यो । त्यसैले दुई दिन भएको थियो फेसबुक नहेरेको । तर मेसेन्जर, युट्युब र टिकटक नहेर्ने कुरै भएन ।

मेसेन्जर खोलेर हेरेँ । दिदीको लुडो खेल्ने निम्तो आएनछ । सोचेँ, आफैँ पठाउँछु । छोटो वाक्यमा लेखेँ ‘पठाउँ ?’ । उताबाट जवाफ आयो – आज खेल्ने मन छैन । ‘किन ?’ सोधेपछि जबाफ आयो, ‘नेपालमा कोरोनाले मान्छे मर्न थालेछन् । अब त झनै डरमर्दो हुने भयो ।’ मुटु ढक्क फुल्यो । धड्कन तेज भएझैं लाग्यो । न्युजफिड हेर्न थालेँ । कोरोना सङ्क्रमणले नेपालमा एक महिलाको मृत्यु भनेर आएका समाचारहरुले फेसबुक वाल भरिएको रहेछ । 

कोरोनाले विश्वभरमा त्यतिका मानिसहरुको मृत्यु भइसकेको खबरले नबढेको धड्कन आजको मृत्यु खबरले बेस्सरी धड्कियो । समाचार पढिसकेपछि धड्कन अझ तेज हुन थाल्यो । एक अबोध सन्तानलाई छोडेर सुत्केरी अवस्थामा धर्तीबाट बिदा भएछिन् । भगवान् पनि कति निर्दयी ! दुधे बालकले आमालाई समेत चिन्न पाएन । त्यही अबोध बालकलाई सम्झिएँ । दिमागमा एउटा नाबालकले डेरा जमायो । भोक र प्यासले छटपटिएका ओठहरुले आमाको दुध खोज्दै गरेको रोदन र चित्काररुपी आवाजले दिमाग गुञ्जियो । मुटु छिया छिया पार्यो । रगत तातेर आयो । तर चित्त बुझाउनुको विकल्प नै के थियो र ? 

हुन त हामी सबैले समयमै आआफ्नो दायित्व पुरा गरेको भए, सबै नागरिक सचेत र जिम्मेवार भएको भए आज यो दिन देख्नै नपर्ने हुन सक्थ्यो । आज यो खबर सुन्नै नपर्ने हुन सक्थ्यो । कडा सावधानी अपनाउनुपर्ने समयमा नेपालमा कोरोना छँदै छैन, नेपालीसँग ‘इम्युनिटी पावर’ छ, कोरोना लाग्दैन, चिनेजानेको मान्छे हो वा आफन्त हो, कोरोना सर्दैन, भेट्दा केही हुन्न, ‘मर्निङ वाक’ गर्दा कोरोना लाग्दैन, प्रहरीले नदेख्ने गरी घुमौँ भन्दै बाहिर ननिस्किएको भए, सरकारले पनि सीमा सुरक्षा बलियो बनाएको भए, लुकीछिपी हुने आवातजावतलाई कडाइका साथ निगरानी गरेको भए, पर्याप्त मात्रामा क्वरेण्टीन र आइसोलेसनलाई व्यवस्थित बनाएको भए सङ्क्रमितको सङ्ख्या बढिरहेको खबर सुन्नुपर्ने थिएन । 

तर के गर्नु, मानिसहरु अझै इमान्दार भएका छैनन् । अघि साँझको घटना सम्झिएँ । चिसो हावा खान भन्दै झ्याल खोलेर बाहिर हेरिरहेकी थिएँ, ‘अब त कस्तो डरमर्दो भयो, कसरी बाँच्ने होला है ?,’ भन्दै चार जना महिलाको समूह नजिकैको तरकारी ठेलातिर अगाडि बढे । अघि नै भिड भइसकेको ठेलावालाको तरकारी पसल झनै भरियो तँछाड् मछाड् गर्दै । तरकारी छानिरहेकाहरुमध्ये पाँच जनाले मात्र मास्क लगाएका थिए । व्यक्तिगत दूरी कायम गर्नु त परैको कुरा । त्यहाँ हेर्दा लाग्थ्यो, अक्सिजनले पनि छिर्ने मौका पाएको छैन । उनीहरुले एक अर्काको श्वास साटासाट गरिरहेका थिए । त्यो हेरेपछि लाग्यो, व्यक्तिगत दूरी बोलीमा मात्र सीमित रहेछ । 

सार्है दिक्क लाग्छ । न्युजफिड हेर्दै जान्छु । फेरि अर्को खबर देखा पर्छ - अब सरकारले लकडाउनलाई थप कडाइ गर्ने । झनक्क रिस उठ्यो । ... पनि सक्यो, दैलो पनि देख्यो भनेजस्तो मान्छे मर्न थालेपछि बल्ल बुद्धि आएछ ? आखिर लकडाउन गरेकै थियो । फेरि किन खुकुलो गरेको ? लकडाउन खुकुलो गरेर कति मानिसले रोजगारी सुरु गरे ? कति मानिसले काम पाए ? कति गरिब मजदुरले मजदुरी गरेर परिवार पाले ? कि यताउता लुखुरलुखुर चहार्नेहरुका लागि मात्र खुकुलो गरिएको थियो लकडाउन ? काम गरेर जीविका चलाउनेहरु त हिँड्न पाएका थिएनन्, हैन र ? बेकामेहरुलाई फनफनी घुमाएर कोरोना फैलाइसकेपछि बल्ल कडाइ गर्ने सोच आयो ? 

रिसलाई शान्त पार्दै मन बुझाउँछु । अनि फेरि सोच्छु, ‘कडा गरे पनि खाना त खानै पर्यो। सामान किन्न जानैपर्छ । पैसाको जोहो नभएपछि ऐँचोपैँचो गर्न यताउती हिँड्नै पर्छ । अलिकति हुनेहरुले पनि बैंकमा राखेका होलान् । त्यहाँसम्म लिन जानैपर्छ । कति रोगी होलान् । कति बिरामी होलान् । हस्पिटलसम्म जानैपर्छ । यतिका दिनसम्म घरैभित्र बसेर गुजारा चलाउन पनि त गार्हो छ नि ।’

फेरि मन फेर्छु, ‘हाम्रोजस्तो देशमा यसरी निरन्तर लकडाउन थपेर पनि कुनै अर्थ छैन । व्यक्तिगत दूरी कायम गरी घरभित्रै थुनिएर बस्नेहरु भोकभोकै छटपटिरहेका छन् । घरभित्र मिठामिठा परिकार बनाएर खानेहरु खाना पचाउन घरबाहिर सडकतिर चहारिरहेका छन् । उनीहरुलाई सामाजिक दूरीको नियम लागु भएको छैन । यहाँ श्रीमतीलाई हस्पिटलमा राखेर रगत लिन हिँडेकाहरुलाई नाङ्गेझार पारिन्छ । स्वास्थ्य सामाग्री लिन हिँडेका स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गरी बाटैबाट फर्काइन्छ । तर बिनाकारण यताउता लखरलखर गर्दै चहार्ने माथिल्लो वर्गका व्यक्तिहरुलाई लकडाउन लाग्दैन ? सबैलाई एकैनासले लागु नहुने हो भने यो लकडाउनको के काम ? 

लामो सुस्केरा हाल्छु । कति सोच्नु अब जे हुन्छ भगवान् भरोसा । दिमाग पनि यति विचलित भएछ कि आज मलाई लुडो खेल्नै मन लागेन । हातका औँलाहरु मोबाइलको स्क्रिन तल माथि गर्नमै व्यस्त थिए । मेरा आँखा फेरि एकपछि अर्को खबरमा गएर रोकिन्छन्, ‘कुवेतमा नेपालीहरु अलपत्र परेको खबर रहेछ’ । यस्तो खबर सुनेको पहिलोपटक होइन । तर पनि उनीहरुको समस्या सुनेपछि मुटु छियाछिया भएर आउँछ । निमोठिएर आउँछ । कति महिनादेखि काम पाएका छैनन् रे ! काम नपाएपछि खान पनि पाइन्न । कति गार्हो भएको होला उनीहरुलाई ! काम छुटेर बेरोजगार बन्नुको पीडा । खान नपाएर भोको पेट बस्नुको पीडा । आफ्नो जन्मभूमिमा जान नपाउनुको पीडा । परिवारसँग भेट हुने हो कि होइन भन्ने दोसाँधको पीडा । त्यसमाथि कोरोनाको त्रास । 

यी सबै कुराले दिमागमा डेरा जमाएपछि मानिस कतिन्जेल बाँच्न सक्ला वा कति दिन दिमागलाई सही सलामत राख्न सक्ला । अनि ती परदेशीका परिवारलाई यता कति पीडा भएको होला । आफ्ना सन्तान वा मुटुका टुक्राहरुले परदेशमा अलपत्र परेर रुदै लाइभ आएका ती भिडियोहरु हेरेर कति तड्पे होलान् तिनका परिवार । सम्बन्धित निकाय अझैपनि मौन छ । कसले सुन्छ उनीहरुका पीडा ? कसले फकार्उछ उनीहरुलाई नेपाल ?

आफ्नो भूमिमा काम गर्न छोडेर अर्काको देशमा पसिना पोख्न गएका थियौँ । बल्ल थाहा पायौँ भनेर गाली गर्ने समय हो र यो ? भोलि कोरोनाको महामारी सकिन नपाउँदै विदेश जाने लाइनमा हामी नै अगाडि पर्यौँ भने ? अहिले अलपत्र परेर नेपाल फर्किन खोज्नेहरु तिनै हुन् जो रहरले होइन, कहरले विदेश गएका छन् । रहरले जानेहरु विदेशमा सुरक्षित बसेका छन् । विदेशको मात्र के कुरा गर्नु । नेपालमै विविध कारणले घरबाहिर भएकाहरु जो लकडाउनको कारण घर फर्किन पाएका छैनन्, उनीहरुको पीडा पनि सम्झिसक्नु छैन । घरबाहिर हुने छोराछोरीले अहिले सुरक्षित बस्नुपर्छ, कोरोना सकिएपछि भेट भइहाल्छ नि भनेर आफैँ मन बुझाउलान् । तर ती बुढा बाउ आमाको मन बुझाउन पक्कै सजिलो छैन । छोराछोरी सँगै भएपछि कोरोनाभन्दा ठूलो रोग आएपनि जित्न सकिन्छ । तर परिवारबाट टाढा हुँदा कोरोनालेभन्दा चाँडो चिन्ताले मरिने भन्ने आमाको पवित्र विचारमाथि कुनै सन्तानले फरक मत राख्न सक्दैन । तैपनि यस्ता भावनात्मक कुरामा बहकिएर पनि त हुँदैन । लकडाउनको बाध्यतालाई हामीले जबरजस्ती भएपनि स्वीकार गर्नैपर्छ । 

गहिरो सोचाइमा डुब्दाडुब्दै मेरा आँखा फेरि अर्को स्टाट्समा गएर रोकिन्छन् । ‘नर्स र स्वास्थ्यकर्मी जति सबै क्वरेण्टीनमा बसिसके । हस्पिटलमा गएर उपचार पनि तिनैले गरुन्, जसले सुरुसुरुमा पीपीई लगाउँदै फेसबुकमा फोटो राखेका थिए ।’ यो कुराले फेरि रगत ततायो । यस्तो विषम परिस्थितिमा पनि अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी जसले आफू र आफ्नो परिवारको जीवनको समेत प्रवाह नगरी देश र जनताको सेवामा लागिरहेका छन् उनीहरुलाई उच्च मनोबल र हौसला प्रदान गर्नुको सट्टा विभिन्न खालका दुव्र्यवहार वा अपमान गरिएका समाचारहरु सुनिन्छ । अझै पनि पर्याप्त सुरक्षा सामग्रीबिना काम गरिरहेका छन् । कहिलेसम्म खतरामा काम गर्लान् ? कसले सोच्यो उनीहरुको बारेमा ? रोग फैलिएपछि सबैभन्दा पहिले स्वास्थ्यकर्मीलाई सङ्क्रमण सर्यो भने सबैभन्दा धेरैलाई उनीहरुले नै रोग सार्ने हुन् भन्ने थाहा हुँदाहुँदै पनि सुरक्षामा किन चुक्यो सरकार ? त्यसैको फलस्वरुप स्वास्थ्यकर्मीलगायतमा भटाभट सङ्क्रमण देखिँदैछ ।

स्वास्थ्यकर्मीले ज्वरो आएको बिरामीलाई नछोएको भन्ने भिडियो भाइरल बनाएर उनीहरुलाई तथानाम गाली गर्ने जमात स्वास्थ्यकर्मीहरु असुरक्षित अवस्थामा काम गरिरहेका छन् भन्ने समाचार किन देखेको नदेखै गर्छ ? हो, बिरामीहरुको सेवा गर्नु उनीहरुको कर्तव्य र जिम्मेवारी हो । जुन उनीहरुले निभाइरहेका छन् । तर जिम्मेवारी र कर्तव्यमाथि प्रश्न उठाउँदा हामीले उनीहरुको सुरक्षित भएर सेवा गर्न पाउने अधिकारबारे किन चुइँक्क बोलेनौँ ? 

फेरि लामो श्वास तान्छु । कताकता आफैँसँग डर लागेको भान हुन्छ । आफैँ असुरक्षित भएझैँ लाग्छ । नजिकै रहेको टेबुलबाट स्यानिटाइजर झिकेर हातभरि दल्छु । तर मन भने कता कता के के सोचिरहेको थियो । सङ्क्रमितको सङ्ख्या दिनहुँ यति बढिरहेको छ । तैपनि अहिलेसम्म सङ्क्रमितहरुको अवस्था सामान्य छ भनिएको छ । सबैको चाहना पनि सामान्य रहोस् नै हो । चाँडै सङ्क्रमण हटोस् भन्ने नै हो । यदि उनीहरुको अवस्था जटिल बन्दै गयो भने के गर्ने ? हामीसँग त्यसको व्यवस्थापनको लागि पर्याप्त स्रोतसाधन छ त ? देशका सबै हस्पिटलमा पर्याप्त मात्रामा भेन्टिलेटरसहितको बेड छ त ? पुग्ने गरी जनशक्तिको व्यवस्थापन छ त ? ६० दिनसम्मको लकडाउनमा कोरोना नियन्त्रणको लागि के के गर्यो त सरकारले ? जनतासँग महँगो शुल्क लिएर उपचार गरिरहेका निजी हस्पिटलहरुले कोरोना उपचारको लागि के कस्तो कार्य गर्दै छन् ? कति वटा बेड कोरोना उपचारको लागि छुट्याए ? 

अब त निन्द्रा पनि लागिसक्यो । सधैँ यतिखेर सपना देखिसक्ने आँखाहरु आज राति ११ बजेसम्म पनि जागै थिए । सुत्ने तयारी गर्दा गर्दै फेरि मेरो आँखा लिपुलेक र कालापानीको समाचारमाथि पर्यो । केही दिनदेखि यो सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म चर्चाको विषय बनिरहेको छ । यो विषयले समेत मेरो मस्तिष्कमा ठाउँ लियो र मेरो निन्द्रालाई थोरै भएपनि पछाडि धकेलिदियो । देशको सार्वभौमिकतामाथिको प्रहारलाई हामी सबै मिलेर विरोध गर्नुपर्छ । देशको स्वाधिनता रक्षा गर्नुपर्छ । लड्नै परे पनि सबै लड्नुपर्छ । अहिले देशको सिमाना जनमानसदेखि सदनसम्म बहसको विषय बनिरहेको छ । 

हाल विश्वका सुविधासम्पन्न देशमा समेत कोरोना नियन्त्रणको सङ्केत नआइरहेको अवस्था छ । यसरी कहिलेसम्म बाँच्नुपर्ने हो ? लकडाउन नै सदाका लागि कोरोनालाई परास्त गर्ने माध्यम पनि नहोला । यो त केवल सङ्क्रमणलाई फैलिन नदिने उपाय मात्र हो । जे नहुनु थियो, भइसक्यो । यस्तो भएन, उस्तो भएन भनेर सरकारलाई गाली गर्ने काम मात्र पनि गर्नु भएन । किनकि कोरोनालाई परास्त गर्ने हामी सबै नागरिकको पनि कर्तव्य हो । सरकारले गरेको लकडाउनलाई हामीले पूर्ण रुपमा पालना गरेको भए यस्तो अवस्था आउने थिएन । अतः गल्तीबाट हामीले पाठ सिक्नुपर्छ । अब सुध्रिनु पर्छ । सरकारले सीमाबाट लुकीछिपी आउने मानिसलाई रोक्नुपर्छ । हामीले पनि सावधानी अपनाउन कन्जुस्याइँ नगरौँ । अत्यावश्यक काममाबाहेक बाहिर ननिस्कौँ । बाहिर निस्किँदा सामाजिक दूरी कायम गरौँ । कोरोनाबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ । 

अन्तिम अपडेट: असोज ४, २०७७

सजना बस्नेत

बस्नेत स्वास्थ्यकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया