कोरोना कथा : माफ गर कियान

 जेठ ३१, २०७७ शनिबार ११:४२:३२ | राजुबाबु श्रेष्ठ
unn.prixa.net

कोठे जीवन त्यागेर कोलोनी जीवनमा प्रवेश गरेको केही वर्ष मात्र भएको छ । जीवनभरको मेहनत, अनुशासन र भाग्यको त्रिवेणीले यहासम्म आईपुगेको कहानी आफैसँग छ ।

कोलोनीमा बस्नेहरु सबैका आआफ्नै कथाहरु छन् । सबैले यहाँसम्म आईपुग्न जीवनमा दुईचार सग्लै पहाड छिचोलेको विगतको कथा वाचन गर्छन् । जेहोस् कोलोनी बसाई ठिकठाक चलिरहेछ । घर बाहिर देखिएकै संसार सत्य हो भने सबै सुखी छन् । सबै खुशी छन् । कसैको घर भित्रको संसार चिहाएर हेर्ने मौका मिलेको छैन ।

बिहान दुध सागपात किन्नेहरुको लामै लर्को लाग्छ मुल सडकतर्फ । कतिले यसै मौकामा मर्निङ वाकको मेलो पनि सक्छन् । बिहान एक अर्कासँग हेल्लो हाई गर्ने मौका मिल्दछ । जसले पहिला देख्यो उसैले अभिवादन गर्ने चलन छ । सानो ठूलोको कुनै भेद छैन । अभावको अग्लो भन्ज्याङ काटेर यहाँ आईपुगेको हुनाले अधिकांशको जीवन सहि गतिमा नै छ । धेरैजसो संघर्षको दौड सकेर आरामको जिन्दगी बिताउने सुरका छन् भने केही जीवनलाई तीब्र गतिमा हाँकिरहेका युवा जोडीहरु पनि छन् ।

कोलोनीका बिभिन्न लाईनमध्ये उत्तरतर्फको लाईनमा छ हाम्रो घर । यो लाईनमा नौ वटा घरहरु छन् । सबै घरहरुको बाहिरी कम्पाउण्ड होचा र पारदर्शी भएकाले बाहिरबाटै देखिन्छ कम्पाउण्ड भित्रका सबै गतिबिधिहरु । बिहान उठेदेखि साँझ भित्र नपसेसम्म देखिने भेटिने हुनाले आफ्नो घर नजिकका छिमेकीहरुसँग अरुभन्दा सामान्यतया केही बढी सामिप्यता हुँदो रहेछ ।

मेरो घरकै सामुन्नेमा डाक्टर जोडीको घर छ । जोडी अर्थात श्रीमान श्रीमती दुबै डाक्टर । लोचन र हुमा । उनीहरुको एउटै छोरा छ कियान । दुई वर्षको । दुई वर्षको भए पनि निकै तिक्ष्ण बुध्दिको । तोते बोलीमा छोटा छोटा जवाफ फर्काउन सक्ने । अनुहार उत्तिकै राम्रो । क्युट बेबी । 

भर्खर भर्खर दौडन सिकेको हुनाले बिहानदेखि कोलोनीमा दौडिरहन्छ ऊ । कहिलेकाहीँ त दौडेर बुबा आमालाई हैरानै पार्छ । घरबाट निस्केपछि सिधै गेटतिर पुग्छ । उसको बुबाआमा पनि उसको ईच्छा पुर्याउन उसले चाहेको ठाउँमा पुगिदिन्छन् । आफुले भनेजस्तो भएपछि उसको खुशीको सीमै हुँदैन । उसको सिक्ने बेला यही हो भनेर उसका बुबाआमा कहिलेकाहीँ उसलाई लिएर कोलोनी बाहिर गाउँमा पालेको गाईको गोठ र सुँगुरको खोरमा समेत पुग्छन् । गाईसँग उसको छुट्टै मोह छ । बेला बेलामा गाई हेर्न जाने भनेर पिरिरहन्छ । 

लोचन र हुमा दिउँसो काममा जाँदा दिनभर हजुरआमा मात्र हुन्छ उसको खेल्ने साथी । दिउँसोको समय कटाउन उसलाई निकै गाह्रो पर्छ । धन्न उसलाई आफ्नो ज्यानभन्दा नि बेसी माया गर्ने हजुरआमा पाएको छ उसले । जो उसको खुशीको लागि सकिनसकी दौडिरहन्छिन् उसको पछिपछि । उसको सयौं चकचक र बिठ्याई पनि कुनै झर्को नमानी सहन्छिन्  ।

उनलाई देख्दा सावाँको भन्दा ब्याजको माया बढी लाग्छ भन्ने लोकोक्ति सत्य हो जस्तो लाग्छ । नातिको लागि उनको त्याग, मेहनत र माया देख्दा कियान निकै भाग्यमानी बालक हो भन्दा फरक पर्दैन । हुन त नाति पाएपछि सानोतिनो रोग त हराएर गयो भन्छिन् बुढी आफै । सायद सन्तोष र व्यस्तताका कारण हराएको हुनुपर्छ उनका रोगहरु ।

कोलोनीमा कियानको निकै भाउ छ । यसो हुनुको कारण हाम्रो लाईनमा उसको उमेरको बच्चा अरु कोही नभएकोले गर्दा पनि हो । छन त अर्को लाईनको संघर्ष भाइको छोरा मनास्लु पनि उही उमेरका छन् । तर मनास्लुसँग कियान जतिको बाक्लो भेटघाट र बोलचाल हुन पाउँदैन ।

हाम्रै लाईनमा महेन्द्र जीको एक छोरी  छिन् ओजु । करिब सात वर्षकी । उमेरले कियानको कोही दौंतरी छैन हाम्रो लाईनमा । आफूले खेले जस्तै खेल मन पराउने, आफू जस्तै दौडन मन पराउने, आफू जस्तै चकचक गर्न मन पराउने कोही साथी छैन कियानसँग । उसलाई मनबाटै बुझ्ने कोही छैनन् नजिक ।

उसका लागि उसले भने जस्तै गरिदिनु पर्छ उसका आमाबाबुले । उसले चाहे जस्तै गरी बोलिदिनु पर्छ हामीले । उसले चाहे जस्तो भएन भने कि त रोएर जित्छ । कि वरपरका सामान फालेर बिरोध जनाउँछ । उसको रीसको अगाडि घरका सबै झुक्नु पर्ने हुन्छ । कहिलेकाहीँ त राति गाई हेर्न जाने भनेर वाक्कै पार्छ । उसको हठ तोड्न उसको बाबु आमालाई निकै पापड बेल्नुपर्छ ।

कियान घर बाहिर निस्कंदा खेल्ने स्टेशनमध्ये मेरो घर पनि एक हो । म र मेरो परिवारसँग निकै मिठो र गाढा सम्बन्ध बनेको छ उसको । कहिलेकाहीँ कौसीबाटै पनि गफगाफ हुन्छ । म उसलाई सधै कियान सर भनेर बोलाउने गर्छु । ऊ मलाई अंकल भन्छ । मेरो छोरा छोरीलाई दिदी र दादा । दिनमा एकचोटी मेरो घरमा नपसी उसलाई सन्तोषै हुँदैन । मलाई पनि उसलाई एकपटक नजिस्क्याई, उसँग नखेली आनन्द लाग्दैन । त्यो उमेरका बच्चाहरु देख्दा मायाले गाला चिमोट्ने र म्वाई खाने मेरो पुरानै बानी हो । 

मलाई घर बाहिर देख्यो भने त उसलाई मेरो घरमा नपसी हँुदै हँुदैन । मलाई देख्नासाथै ऊ दौडेर मरो गेटमा आई गेट समाएर हल्लाउन थाल्छ । यो उसको गेट खोल्ने आग्रह हो । ऊ गेटमा देखेपछि म सबै काम भुल्छु र गेट खोलिदिन्छु । गेटबाट छिर्नासाथै दौडिएर पोण्डमा रहेको माछा हेर्न पुग्छ । अघाउन्जेल माछा हेरे पछि घर भित्र पस्छ । ढोका खुलेपछि ऊ सरासर भान्सामा पुग्छ ।

गाजर, स्याउ र केरामध्ये एउटा कुरो माग्छ । म जे छ त्यो दिन्छु । एक टुक्रो भए पुग्छ । खानमा उसको खासै रुची छैन । हातमा लिएर केवल मनको तृष्णा मेटने मात्र हो । त्यसपछि ऊ मेरा छोराछोरी को कोठाकोठा चाहार्छ । उसलाई मन लागेको सामानहरु चल्छ । मेरा छोराछोरी पनि ऊसँग खेल्न निकै रुचाउँछन् । छोरासँग त उसको गहिरो दोस्ती नै छ । मेरो छोरा आफ्नो बाल्यकालको खेलौनाहरु दिएर के के के के गराईरहन्छ ।

छोरी पनि कियान भनेपछि भुतुक्क हुन्छिन् । मेरी छोरीले कतिपटक त उसको फोटो र भिडियो खिचेर साथीहरुलाई पठाएकी पनि छिन् । बेलाबेलामा उनको साथीहरुसँग कुरा गर्ने पात्र नै भएको छ कियान । 

मेरो पछि अर्कोे स्टेशन हो मेरै निकट छिमेकी जगतबीर बा को घर । उमेरले असी नाघे पनि जगत बा कियानसँग खेल्न र कुरा गर्न हुरुक्कै हुन्छन् । हामी सबैले बा भन्ने हुनाले उसले पनि बा नै भनेर बोलाउँछ । बा उसलाई कियान चा भनेर बोलाउँछन् । जगत बाको घरमा पनि भान्सासम्मै पहुँच छ उसको । त्यो घरभित्र पस्न कसैको अनुमति चाहिंदैन उसलाई । जगत बाका छोरा जयवीर र बुहारी प्रभाले पनि औधि माया गर्छन् उसलाई । बिहान घरबाट निस्केर जगत बाको गेटमा आई बालाई बोलाउन कहिल्यै भुल्दैन ऊ । बा पनि उसले बोलाए पछि हतारिंदै बाहिर निस्कन्छन् । उसले बालाई बोलाएको मेरो कोठामा प्रस्टै सुनिन्छ । फुर्सदिला भएकाले कहिलेकाहीँ उसलाई लिएर बाहिर गेटसम्मै पुग्छन् जगत बा । कहिले उसलाई जिस्काउँदै उसको घरसम्मै पुग्छन् । बास्तवमा बालाई पनि ऊ बुढ्यौलीको एउटा साथी भएको छ । समय कटाउने बहाना भएको छ ।

साँझ परेपछि हाम्रो लाईनमा निकै चहलपहल हुन्छ । हाम्रो लाईन अन्यभन्दा थोरै फराकिलो र सिधा भएकोले वरपरका मान्छेहरु पनि झुम्मिन्छन् । कोही ईभिनिङ वाकमा निस्कन्छन् । हामी भने कियानसँग दौडिने कार्यक्रम नै चलाउँछौ । हामी सबैले उसलाई दौडमा जित्न दिएपछि जितेको खुशीले ऊ दङ्ग पर्छ । उसको त्यो खुशीमा हामी मख्ख पर्छाैं । साँच्चै भन्ने हो भने ऊ हाम्रो टोलको रौनक नै बनेको छ ।

हामी सबैलाई ऊसँग बोल्ने र जिस्कने बानी परेको छ । उसलाई हामीसँग खेल्ने लत लागेको छ । बोल्न सिक्ने बेला भएकोले ऊ हामीसँग बोल्न रुचाउँछ । उसको तोते र निश्छल बोलीमा हामी लट्ठ पर्छांै । हामी सबै अनेक अनेक प्रकारका कुराहरु सोध्छौं । ऊ मातिंदै लाडिंदै जवाफ दिन्छ । ऊसँग कुरा गर्दागर्दा अब त दिनमा एकपटक उसलाई नदेख्दा र ऊसँग बोल्न नपाउँदा पनि कतै केही छुटे छुटे जस्तो लागेर आउँछ ।

कहिलेकाहीँ ऊ ओजुको घरमा गई ओजुलाई हात समाएर तान्दै घरमा ल्याउँछ । ओजु पनि उसको मन राखिदिन आईदिन्छ । घरमा पुगेपछि हजुरआमासँग खानेकुरा मागेर ओजुलाई दिन्छ । ओजुलाई आफूसँगै खेल्न भन्छ । ऊ रुन्छ भनेर ओजु उसले जसोजसो भन्छ त्यसै त्यसै गरि खेलिदिन्छ ।

आफूले भने जसरी खेलिदिने हुनाले ओजु पनि कियानको मनपर्ने मान्छेमध्येमा पर्छ । ओजु पनि उसलाई माया गर्छ । दिउसो ओजु स्कुल गएको बेलामा पनि ऊ ओजुको घरको गेटमा गएर झुण्डिरहन्छ । ओजु स्कुल गएको छ भनेर हजुरआमाले भनेपछि मात्र घर फर्कन्छ । 

बिहान उठेपछि घरबाट निस्केर बत्तिदै सडकमा दौडिन नपाए उसको खाना पनि पच्दैन । शुरुमा हाम्रो गेट तिर हेर्दै दौडिन्छ । हामीलाई देखे रोकिन्छ । नत्र फेरि शुरु हुन्छ उसको दौडको श्रृँखला । धेरै जनासँग कुरो गर्दा गर्दा ऊ धेरै बोल्ने भैसकेको छ । आफूले भनेजस्तो नभएमा बाबुआमासँग रिसाउन पनि जानी सकेको छ ।

हामीसँग बोल्न नपाउँदा ऊ दुःखी हुने र उसलाई देख्न नपाउँदा हामीलाई नरमाईलो लाग्ने एक किसिमको नाता नै बसेको छ उसको र हाम्रो बीचमा । दिनदिनैको भागम भागले उसलाई हाम्रो र हामीलाई उसको असल साथी बनाएको छ ।

यसरी बनेको हाम्रो सम्बन्धलाई यतिखेर अचानक संसारभर फैलिएको कोरोनाको त्रासले तहसनहस पारिदिएको छ । सरकारले लकडाउन घोषणा गरेकै दिनदेखि कियान र हाम्रो बीचमा एकाएक दुरी पैदा गरिदिएको छ । अनयासै हाम्रो साँझको रमझम बन्द भएको छ । साथीहरुसँगको भेटघाट निषेध गरिएको छ । चाहेर पनि हामी उसको नजिक जान सकिरहेका छैनौं ।

उसलाई कसैसँग पनि डर छैन तर हामीलाई सबैसँग डर छ । नबुझ्ने हुनु पनि कहिलेकाहीँ सुखद हुँदोरहेछ । शुरुको एक दुई दिन त ऊ लखरलखर एक्लै हामी सबैको घरघरमा हिँड्यो । हामीलाई नाम काटेर बोलायो । तर उसले जतिपटक बोलाए पनि हामी बाहिर ननिस्केपछि निन्याउरो मुख लगाउदै घर फक्र्यो ।

सँगैको छिमेकी भएकोले सधै ऊसँग लुकेर हिँड्न सक्ने कुरो भएन । एक न एक दिन त हामीले उसको मन दुखाउनु नै थियो । सकेसम्म उसको सम्मुख नपर्ने रणनीतिमा लाग्यौं । जति गर्दा पनि सधै उसको नजरबाट छिप्न गाह्रो हुँदै गयो । एक दिन बिहानै कियान मेरो घरको गेटमा आएर कराउन थाल्यो । अंकल, अंकल.... भनेर बारम्बार मलाई बोलाईरह्यो । म भित्र झ्यालको पर्दाबाट लुकेर उसलाई हेरिरहें ।

म बाहिर ननिस्केकोले ऊ पनि अझै ठूलो ठूलो स्वरमा कराईरह्यो । उसको आमाले फकाउन खोज्दा पनि मानेन । कियानले गेटमा आई बोलाउँदा पनि आफु जान नसकेकोले  भित्रभित्रै मन दुखिरह्यो । यो अवस्थाले मेरी छोरीलाई असह्य भएछ । उनी मसँग रिसाईन् । कियानको आग्रह देखेर  आफै बाहिर जान तम्सिईन् ।मैले नै  छोरीलाई रोकें ।

“हजुरलाई खोजेर कियान रोईरहेछ बुबा । यसरी बच्चालाई रुवाएर राख्नु मिल्दैन । म त सहन सक्दिन । कि गएर फकाउनुस् कि म जान्छु फकाउन । यस्तो ब्यवहारले बच्चाको दिमागमा कस्तो असर पर्छ बुझ्नु पर्यो नि ।” – छोरी रिसाउँदै बोलिन् । 

छोरीको खप्की खाएपछि म हातमा एउटा केरा बोकेर बाहिर निस्केँ । मलाई देख्नासाथै उसको रुवाई रोकियो । रुन्चे मुहारमा खुशीको लाली पोतियो । म गेट नजिकै गएर दुई खुट्टामा टुक्रुक्क बसेँ । ऊ पनि मेरो सामुन्ने गेट बाहिर म जस्तै गरी बस्यो । मैले गेटको प्वालबाट हात छिराएर केरा दिएँ । उसले केरा तिर ध्यानै नदिई हातले समात्यो । गेट भित्र र बाहिर बसेर उसको र मेरो लामो संबाद भयो ।

               “ भित आउनी ।“ – उसले बोल्यो ।
               “ नआउनी ।” – मैले बोले ।
               “ माचा हेनी ।” – उसले बोल्यो ।
              “ माछा भोलि हेर्नी ।” – मैले बोलेँ ।
              “ गेत खोनी । ” –उसले बोल्यो ।
              “ भोलि खोल्नी । आज हात ऐया भाछ । ” ( मैले बोलें ।

उसले बारबार गेट खोलिदिन आग्रह गर्यो । मैले बहाना बनाई टार्दै गएँ । गेट खोल्न नसक्दा उसलाई जति दुःख लागेको थियो मलाई त्यो भन्दा बढी पीडा भएको थियो । उसकै स्वास्थ्यको लागि यो दुरी बनाएको हो भनेर उसलाई बुझाउन सक्ने अवस्था थिएन । उसको बाल मष्तिष्कले त्यो कुरा बुझ्न सक्ने स्थिति पनि थिएन । ऊ गेट बाहिर बसेर केहीबेर रोयो पनि । म अत्यन्तै विषम परिस्थितिमा थिएँ ।

आज भित्र पस्न दिएमा उसलाई कहिल्यै रोक्न सक्नेछैन भन्ने मैले बुझेको थिएँ । उसको आँसुले भित्रभित्रै मेरो छाती भिजिरहेको थियो । उसको मायाले म कमजोर हुनु हँुदैन भन्ने मलाई थाहा थियो । ऊ जति रोए पनि मैले आफुलाई कठोर बनाउदै लगेँ । निकैबेर चल्यो हामी दुई बीचको पीडा संवाद ।

अन्ततः जति कोशिस गर्दा पनि मैले गेट नखोलेपछि ऊ रिसाउँदै जुरुक्क उठ्यो ।  मैले दिएको केरा गेट भित्र फ्याँकेर आफ्नो घरतर्फ लाग्यो । त्यस दिन केयानले मसँग निकै चित्त दुखायो । त्यो घटनापछि उसले मलाई देखे पनि नदेखेझैं गर्न थाल्यो । 

मसँगको त्यो घटना भएको भोलिपल्ट बिहान कियानलाई जगत बाको गेट हल्लाउँदै गरेको देखेँ । उसले जति गेट हल्लाए पनि जगत बा बाहिर निस्किएनन् । माथिसम्म सुन्ने गरी बा, बा.... भन्दै निकैबेर कराईरह्यो । म मेरो कोठाको पर्दाको चेपबाट नियालिरहेको थिएँ उसका कृयाकलापहरु । धेरैबेर कराउँदा पनि कोहि बाहिर नआएपछि रुँदै रुँदै घरतिर फक्र्याे ।

साँच्चै कोरोनाको भयले हामीलाई बिस्तारै असामाजिक र अमानवीय बनाउँदै लगेको छ । सामाजिक दुरी बनाउने चक्करमा मनको दुरी पो बढ्दै गएको हो कि भन्ने लाग्न थालेको छ ।

कियानको धेरै प्रयासका बाबजुद हामीहरुको गेट नखुलेपछि अजकल उसले पनि हामीसँग दुरी बनाउन थालेको छ । हामीले बनाएको दुरी त कुनै समयमा गएर मेटिएला । तर उसको मनमा बनेको दुरी मेटिने खालको छैन । ऊ पहिला पहिला जस्तो हामीलाई अंकल, बा भनेर बोलाउँदैन । हामीलाई देख्दा पहिला जस्तो नमस्ते, गुड मर्निङ, सलाम केही भन्दैन । हामीलाई देख्दा उसको मुहारमा देखिने चमक पनि हराएको छ ।

सायद उसले हामीलाई साथीको रुपमा हेर्न छाडेको छ । कियानसँग बनेको दुरीका बारेमा म आफै स्पष्ट हुन सकिरहेको छैन । यो दुरी कियानले हामीलाई गरेको मायाको अबमुल्यन थियो कि  ऊ प्रतिको हाम्रो अधिक प्रेम ? कियानको बाल मष्तिष्कमा हामीले पुर्याएको चोटको भर्पाई कुनै दिन समयले नै गराउला भन्ने प्रतिक्षा गर्नुभन्दा हामीसँग अरु उपाय पनि  थिएन । 

          आज बिहानै घरको गेटैमा कियानसँग भेट भयो । ऊ बुबाको काँधमा थियो । ऊ मेरो गेट बाहिर म भित्र । 
           “ गुड मर्निङ कियान सर ” – मैले ठूलो स्वरमा बोलाएँ । 
           उसले मेरो अभिवादनको जवाफ फर्काएन । 
           “ खै अंकललाई गुड मर्निङ भनेको बाबु ?” – उसको बुबाले सम्झाए । 
           “ गुड मर्निङ कियान सर ” – मैले फेरी दोहोर्याएँ । 

उसले मेरो अभिवादन र बुबाको अनुरोधको कुनै वास्तै गरेन । उसले मेरो अनुहार पनि हेरेन । उसको अनुहारमा कुनै प्रतिकृया पनि देखिएन । उसको व्यवहारले म आश्चर्यमा परेँ । भित्र कतै दुखे दुखे जस्तो भयो । मेरो घर आउनलाई हुरुक्क हुने ऊ आज मलाई देखेर पनि नदेखेझैं गर्दै थियो । 

           “ कियान चा नमस्ते ।” – मसँग नबोलेकोले संगै रहेका जगत बाले पनि बोलाए ।

           केयानले जगत बाको अभिवादनको पनि कुनै मतलबै गरेन । जगत बासँग त्यस्तो झ्याम्मिने ऊ आज बाले बोलाउँदा बोल्दै बोलेन । उसको बुबाले पनि नमिठो माने । हामी चुप लाग्यौं । उसलाई बोकेर उसका बुबा बाहिर गेटतर्फ लाग्यो ।

लकडाउनका कारणले कियानमा आएको परिवर्तनले म भित्रभित्रै भयभित भएको छु । यो सामाजिक दुरीले उसको मस्तिष्कमा हामीहरु र यो समाजप्रति नै एउटा नकारात्मक आकृति निर्माण गरेको छ । हामीप्रति उसको मन भाँचिएको छ । ऊ हामीबाट टाढिएको छ । यस्ता कैयौ बच्चाहरु होलान् जो यस सामाजिक दुरीलाई मनको दुरी बनाएर हुर्किंदै होलान् । बेलुकी सुत्ने बेलामा पनि कियानकै चिन्ताले मन खाईरह्यो । कियान जस्तै लाखौ बच्चाहरुको सम्झनाले उकुसमुकुस भयो छाती ।

बिहानको घटना बिर्सने प्रयास गर्दा गर्दै राति एकहुल केटाकेटी पछिपछि लगाएर कियान आईपुग्यो मेरो कोठामा । अकस्मात कोठा भित्र प्रवेश गरेकोले म अत्तालिएँ । कियान रिसले आँखा रातो रातो पार्दै बोल्यो  ः “ हामी सानो बच्चाहरुसँग तपाईंहरुले गर्ने व्यवहार यही हो ? मैले तपाईहरुको के बिगारिदिएको थिएँ र तपाईहरु मलाई आफ्नो घरमा पस्न दिनु हुन्न ? पहिले पहिले जस्तै किन बोल्नु हुन्न मसँग ?  किन बगैँचामा दौडिन दिनुहुन्न ? किन पोन्डको माछा हेर्न दिनुहुन्न ? किन मायाले गाला चिमोट्नु हुन्न ? किन काँधमा बोकेर हिँड्नुहुन्न ? तपाई मलाई माया गर्नुहुन्न भने अबदेखि म पनि तपाईंहरुसँग बोल्दिन । तपाईहरु जस्तो मान्छेहरुलाई गुड मर्निङ पनि भन्दिन । तपाईहरुको घरमा पनि आउँदिन । अनि.........”

कियान बोल्दाबोल्दै म झल्याँस्स ब्युझिएँ । यताउति हेरेँ कोठामा कोही थिएन । आँत सुकेसुके जस्तो भयो । नजिकैको जगमा रहेको पानी घुट्क्याएँ र कियानसँग मनमनै माफी माग्दै ओच्छ्यानमा पल्टिएँ ।

अन्तिम अपडेट: असार २८, २०७७

तपाईको प्रतिक्रिया