कोभिड–१९ विरुद्ध अपनाएको रणनीतिले राम्रो काम गरेको छ : डब्ल्यूएचओ प्रमुख डा. भ्यान्डेलर

 असार ९, २०७७ मंगलबार २१:१८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – नेपालको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डाक्टर जोस भ्यान्डेलरले कोभिड-१९ विरुद्ध अपनाएको रणनीतिले राम्रो काम गरेको भन्दै खुसी व्यक्त गर्नुभएको छ । सीमित स्राेत र साधनको बीच सङ्क्रमणलाई समुदायस्तरसम्म फैलन नदिन चालेको कदम ठिक भएको पनि उहाँले बताउनुभएको छ ।

अहिले लकडाउन खुकुलो भएपछि भने नेपालमा जोखिम बढेको डब्ल्यूएचओले बताउँदै आएको छ । यस्तै प्रसङ्ग र सन्दर्भमा रहेर न्यूज एजेन्सी नेपालले डब्ल्यूएचओका नेपाल प्रमुख डा. जोस भ्यान्डेलरसँग गरेकाे कुराकानी– 

अहिले कोरोनाको कहरमा छौँ हामी । विश्वको आँखाबाट नेपाललाई कसरी हेरिएको छ ? कस्तो छ नेपालको अवस्था ? 

अहिले विश्वव्यापी दृटिकोणबाट हेर्दाखेरि युरोपमा कोरोनाको सङ्क्रमण घटिराखेको छ भने संयुक्त राज्य अमेरिकामा अझै बढिराखेको देखिएको छ । त्यसै गरेर अहिले अफ्रिकामा पनि सङ्क्रमण बिस्तारै बढ्दै गएको देखिराखेको छ ।

नेपालमा पनि बढ्दै गएको देखिएको छ । अहिले बढ्नुको कारण धेरै केसहरुको पहिलाभन्दा रिपोर्टिङ भइराखेको छ । नेपालमा समुदायस्तरको सङ्क्रमणभन्दा पनि विदेशबाट फर्कने व्यक्तिहरुमा बढी सङ्क्रमण देखिएको छ । त्यसैले अहिले हामीले देखिएका केसहरु क्वरेण्टीन स्थलहरुबाट बढी आएका छन् । विशेषगरी भारतबाट फर्किएका व्यक्तिहरुमा र अन्य देशहरुबाट फर्केका व्यक्तिहरुमा देखिएको छ । 

 अब नेपालले विश्वलाई कसरी हेर्नुपर्छ अर्थात् नेपालले विश्वलाई यही प्याण्डामिकको बारेमा कोरोनाको बारेमा कसरी हेरिरहेको छ ? कस्तो अनुभव छ तपाईँको ?

महामारीले कुनै पनि सीमा भन्दैन । यो विश्वव्यापी कुरा हो । कुनै पनि सीमाले यसलाई रोक्ने कुरा हुँदैन र नेपालले पनि यो विश्वको परिवेशको एउटा हिस्सा हो भनेर हेर्नुपर्‍याे । सङ्क्रमणहरु बाहिर देशबाट फर्किएको व्यक्तिहरुमा देखिएको छ । फेरि भारतबाट फर्केका व्यक्तिहरुमा मात्र नभएर अन्य देशबाट पनि फर्किराखेका नेपालीहरुमा देखिएको छ । कुनै न कुनै बखतमा यो रोग नेपाल आउने क्रममा थियो र आउने नै क्रममा छ भन्ने कुरा चाहिँ बुझ्न जरुरी छ ।

नेपालको बाँकी विश्वभन्दा अलिकति फरक जस्तो देख्यौँ । जुनबेला हामीकोमा थोरै सङ्क्रमण देखिएको थियो, त्यो बेला हामीले लकडाउन गर्‍याैँ र झण्डै ८० दिनपछि लकडाउन खोल्यौँ तर अहिले सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । यसलाई प्राविधिक रुपमा कसरी हेर्न सकिन्छ ?

नेपालमा गरिएकोे लकडाउनको उद्देश्य भनेको भाइरसलाई कम गर्ने भन्ने हो । किनभने लकडाउन गरेपछि मानिसहरु घरमै बस्छन्, ट्राफिक पनि हुँदैन र आवत जावत कम हुन्छ । त्यसले भाइरसको असर कम गर्छ । 

भाइरस सङ्क्रमणको सङ्ख्या घट्छ भन्ने हो । नेपालले लकडाउनलाई एकदमै छिटो कार्यान्वयन गर्‍याे । मार्च महिनामा दोस्रो केस देखिनासाथ नै लकडाउन गर्‍याे । त्यसले गर्दा नै नेपालमा अहिले समुदायस्तरको सङ्क्रमण नदेखिएको हो जस्तो लाग्छ । पूर्णरुपमा नभए पनि आंशिक कारण लकडाउन हो भन्ने लाग्छ र त्यो अर्थमा लकडाउन नेपालको हकमा एकदमै प्रभावकारी भएको छ । तर लकडाउन भन्नाले त्यसको जनस्वास्थ्यको पक्ष त एउटा भयो तर त्योबाहेक अन्य पक्ष पनि हुन्छन् । लकडाउन लागू भएपछि मानिसहरु आफ्नो काममा जान पाउँदैनन् र कमाइमा असर गर्छ । लकडाउन लगाएको केही समयपछि कुनै पनि सरकारले आफूसामु एउटा द्विविधा देख्छ । 

लकडाउन खुकुलो बनाउँदा एकैचोटि नगरेर चरणबद्ध रुपमा गरेको देखिएको छ र नेपालले पनि त्यसै गरिराखेको छ । अहिले सरकारको लागि प्रमुख मुद्दा भनेको त्यसलाई कसरी सन्तुलनमा ल्याउने र भाइरसको नियन्त्रणको कुरा गर्ने हो । 

हामीकहाँ देखिएको कोरोना सङ्क्रमणमा लक्षण देखिएन । कुनै सङ्केत  देखिएन । व्यक्ति स्वस्थ रहँदा रहँदै पनि सङ्क्रमित भएको पायौँ । यसमा के छ डब्ल्यूएचओको अध्ययन ? नेपालमा आएको भाइरसले अनुवांशिक परिवर्तन गरिसकेको हो अथवा यहीको स्थानीय भाइरस बनिसकेको हो ? यसबारे डब्ल्यूएचओले कुनै अनुसन्धान गरेको छ ?

नेपालमा अहिले लक्षणसहित केसहरु एकदम धेरै देखिएको छ । मान्छेहरुलाई स्वस्थ्य नै छु जस्तो लागिरहेको छ । उनीहरुलाई खोकी पनि लागेको छैन, केही पनि भएको छैन तर कोरोनाको सङ्क्रमण चाँहि भइराखेको भनिएको छ । नेपालमा धेरैजसो केसहरु देखिएका छन्, ती सबै युवाहरुमा देखिएको छ । कम उमेरका मानिसहरुमा देखिरहेको छ । 

ती मानिसहरु कस्ता मानिस भन्दाखेरि प्रायजसो भारतमा काम गरिराखेका र भारतबाट फर्किएका व्यक्तिहरु हुन् । अहिले परीक्षण भइरहेको पनि उनीहरुमा बढी हो । यसले गर्दा यसमा अचम्म मान्नुपर्ने कुरा छैन । किनभने कोरोनाको सङ्क्रमण विशेष गरी युवाहरुमा एकदम कम लक्षण देखिने अथवा लक्षण नदेखिने हुन्छ । नेपालको हकमा हामीले अलि वृद्धवृद्धाहरुमा धेरै केसहरु देखिसकेका छैनौँ र भोलि त्यो केसहरु धेरै देखियो भने फरक कुरा हुन्छ । 

नेपालमा नयाँ खाले भाइरसभन्दा पनि भाइरस उस्तै हो । यो हामीले देखेका सङ्क्रमणका केसहरु फरक हाे । विश्वव्यापी रुपमा पनि अहिले यो भाइरसको मूलभूतरुपमा परिवर्तन देखिएको छैन । त्यसैले यो त्यही नै भाइरस हो वा फरक भाइरस हो भनेर मान्नुपर्ने अहिलेसम्म कुनै कारण कुनै पनि प्रमाण देखिएको छैन । 

नेपालमा एकदमै बहसको विषय पनि बनेको छ । हामीले आरडीटी परीक्षण र पीसीआर परीक्षणबारे नै बुझ्न सकेनौँ । यहाँ जनमानसमा एउटा विवाद पनि छ । कतिपय अवस्थामा सरकारको पनि दोष देखिन्छ । डब्ल्यूएचओले के भन्छ आरडीटी कस्तो अवस्थामा गर्ने हो, पीसीआर कस्तो अवस्थामा गर्ने हो, यसको प्राविधिक विशेषता के के हुन् ? 

आरडीटी र पीसीआर दुई वटा प्रयोगशालामा गरिने परीक्षणहरु हुन् तर यिनीहरु फरक हुन्छन् । पीसीआरले तपाईँको शरीरमा यो भाइरस छ कि छैन, तपाईँ अहिले सङ्क्रमित हुनुहुन्छ कि हुनुहुँदैन भनेर हेर्छ । 

यसको लागि तपाईँको नाकबाट स्वाब लिएर नमुना लिएर परीक्षण गरिन्छ । आरडीटीले शरीरमा एन्टीबडी छ कि छैन भनेर हेरिन्छ । एन्टीबडी भनेको त्यस्तो कुराहरु हो, जुन शरीर आफैले निर्माण गर्ने कुरा हो र एन्टीबडी शरीरले कुनै भाइरससँग प्रतिरक्षा गर्नको लागि भाइरसँग जुध्नका लागि उत्पादन गर्ने एउटा चिज हो । एन्टीबडीहरु पत्ता लाग्न सक्ने जतिको सङ्ख्यामा उत्पादन हुनेको लागि १० देखि १४ दिनसम्म लाग्न सक्छ । आरडीटीले व्यक्ति विगतमा कुनै समयमा त्यो भाइरसको सङ्क्रमणमा आएको थियो अथवा कुनै बेला सङ्क्रमित भएको थियो कि भन्ने कुरा जानकारी दिन्छ ।

यसरी हेर्दा यी दुई वटा फरक छन् । एकले अर्कोलाई प्रतिस्थापन गर्न मिल्दैन । पीसीआर हामीले प्रयोग गर्ने भनेको कुनै पनि व्यक्ति सङ्क्रमित छ कि छैन र उसले अरुलाई सङ्क्रमण सार्न सक्छ कि सक्दैन भनेर जाँच्नको लागि परीक्षण गर्छौं । आरडीटी चाहिँ विशेष गरी कुनै पनि समुदाय अथवा कुनै पनि वर्ग कुनै समयमा कुन अनुपातमा यो भाइरसको सङ्क्रमण आएको थियो भन्ने कुरा जान्नको लागि गर्छौं । 

पीसीआर कुनै पनि व्यक्तिमा अहिले सङ्क्रमण छ कि छैन र त्यो व्यक्तिले सङ्क्रमण सार्न सक्छ कि सक्दैन भन्ने जाँच्छ । आरडीटीले कुनै व्यक्ति अथवा कुनै समुदाय विगतमा कुनै बिन्दुमा त्यो भाइरसको सङ्क्रमित थियो अथवा त्यो भाइरसको सङ्क्रमणमा आएको थियो कि थिएन भन्ने कुरा जाँच्छ । 

हाम्रो क्वरेण्टीनको अवस्था राम्रो छैन, हामीले धेरै पीसीआर परीक्षण पनि गर्न सक्दैनौँ । हाम्रो क्षमता अर्थात् आर्थिक कुराहरु पनि आउँछ । यस्तो कतिपय अवस्थामा क्वरेण्टीनमा राखेका व्यक्तिहरुलाई परीक्षण नगरिकन हामीले पठाउनुपर्ने हुन सक्छ । यसबारे विश्वव्यापी रुपमा डब्ल्यूचओको कुनै गाइड लाइन छ ? यस्तो अवस्था के गर्ने भन्नेबारेमा अर्थात् आरडीटी वा पीसीआर कुनै पनि जाँच नगरिकन व्यक्तिहरुलाई क्वरेण्टीनबाट घरमा अथवा समुदायमा पठाउन सक्ने अवस्था आउन सक्छ ? के यो ठिक हुन्छ ? 

हामीले क्वरेण्टीन गर्ने भनेको यस कारणले गर्ने हो कि मानिसहरुलाई कम्तीमा १४ दिनको लागि छुट्टै राख्छौँ । भाइरस भएकै भए पनि १४ दिनसम्ममा भाइरस मरिसक्छ, त्यसले अरु कसैलाई त्यो सङ्क्रमण सार्न सक्दैन । व्यक्ति पनि निको भइसकेको हुन्छ । तसर्थ हामीले यदी लामो समयसम्म कुनै पनि व्यक्तिलाई छुट्टै राख्न सकियो भने उसलाई परीक्षण नगरिकन समुदायमा अथवा घरमा पठाउँदाखेरि पनि भाइरस सङ्क्रमण हुने सम्भावना रहँदैन ।

किनभने उक्त व्यक्ति पहिले नै निको भइसकेको हुन्छ । तसर्थ हामीले यदि क्वरेण्टीन राम्रोसँग गर्न सक्यौँ भने टेस्ट नगर्दा पनि फरक पर्दैन । तर क्वरेण्टीन कसरी राम्रोसँग गर्ने भन्नेमा हामीसँग दुई वटा उपायहरु छन् । एउटा सबै मान्छेहरुलाई एक ठाउँमा लिएर आउने सम्भावित व्यक्तिहरुलाई र उनीहरुलाई त्यो ठाउँमा निश्चित समयको लागि राख्ने । अर्को उपाय भनेको घरमै पनि कुनै पनि व्यक्तिलाई क्वरेण्टीनमा राख्न सकिन्छ ।

क्वरेण्टीनमा नै भएका पनि यदि कोही व्यक्तिमा सङ्क्रमण देखियो भने त्याे व्यक्तिलाई आइसोलेशनमा लगेर छुट्टै राख्नुपर्छ, एकान्तवासमा लगेर राख्नुपर्छ । त्यसले हामीले क्वरेण्टीन पर्याप्त समयसम्म कायम राख्न सक्यौँ भने भाइरस सर्ने जोखिमबाट हामी बाच्न सक्छौँ, त्यसलाई रोकथाम गर्न सक्छौँ । 

तर यहाँ मुख्य प्रश्न भनेको हामीले क्वरेण्टीन राम्रोसँग गर्न सक्छौँ कि सक्दैनौँ भन्ने हो । जस्तै सामाजिक दुरी कायम गर्ने हामी यहाँ अहिले यसरी कायम गरेको जस्तै त्यसैगरी हात सफा गर्ने, खोक्दा र हाच्छिउँ गर्दा आफ्नो कुहिनोले छोप्ने जस्ता कुराहरु हामीले गर्न सक्छौँ, यी कामहरु कायम राख्न सक्छौँ कि सक्दैनौँ भन्ने कुराहरु हो । तसर्थ यदि हामीले उपयुक्त तरिकाले क्वरेण्टीन गर्न सक्यौँ भने परीक्षण नगर्दा पनि हुन्छ । 

समय समयमा परिवर्तन भइरहेका हुन्छन् । यसको अर्थ कुनै पनि देशले अघिल्लो गाइड लाइनलाई मानेर रणनीति तयार गरिसक्दा अथवा त्यसलाई कार्यान्वयनमा ल्याउँदा/नल्याउँदा अर्को गाइड लाइन आइसकेको हुन्छ । किन यसरी परिवर्तन भइरहेको हुन्छ । यसमा हामीले पनि महसुस गरेका छौँ, यसको कुनै कारण छ ?

तपाईँले एकदम सही अवलोकन गर्नुभयो । विश्व स्वास्थ्य सङ्गठनले प्राविधिक सहायता दिन्छ तर उसले दिने प्राविधिक सहायता  र जारी गर्ने मार्ग निर्देशन, ती सबै कुनै न कुनै प्रमाणमा आधारित हुन्छन्, विज्ञानमा आधारित हुन्छन् । 

यसबारेमा पाँच महिना अगाडिसम्म हामीलाई केही थाहा थिएन । यो पाँच महिनामा यति धेरै अध्ययनहरु भइराखेका छन् कि प्रत्येक दिन नयाँ कुराहरु पत्ता लागिराखेको छ । धेरै वैज्ञानिकहरुले पनि यो भाइरसको बारेमा अध्ययन गरिराखेका छन् । विश्व स्वास्थ्य सङ्गठनले ती सबै कुरा ट्रयाक गरिराखेको छ । वैज्ञानिकहरुले के नयाँ कुरा पत्ता लगाए भन्ने कुरा हेरिराखेको छ । हामीले देख्न सक्छौँ,  बेला बेलामा त्यो नयाँ कुरा पत्ता लाग्छ र विज्ञान आफै परिवर्तन भइराखेको देखिएको हुन्छ । 

विश्व स्वास्थ्य सङ्गठन के चाहन्छ भने उसले जारी गर्ने मार्ग निर्देशिका, उसले दिने निर्देशन सकेसम्म भर्खरैकाे सबैभन्दा नयाँ वैज्ञानिक आधार के छ त्यसको आधारमा हो । सबैभन्दा नयाँ अध्ययनले पत्ता लगाएको निष्कर्ष के छ, त्यसको आधारमा होस् भन्ने चाहन्छ । म बुझ्छु यो कुरा अलिकति अलमल्याउने खाले हुनसक्छ तर हामीले जारी गर्ने कुराहरु, हामीले दिने निर्देशनहरु सकेसम्म सबैभन्दा सत्यको नजिक हुन जरुरी छ, त्यसैले यस्तो भएको हो । 

नेपालले अहिलेसम्म आउँदाखेरि तपाईँ यही बसेर पनि हेरिरहनुभएको छ । नजिकबाट काम पनि गरिरहनुभएको छ, नेपाल सरकारसँग । हाम्रा सबल पक्षहरु, राम्रा पक्षहरु के पाउनुभयो ? यो विषयमा अलिकति सुधार्न पाए अझ राम्रो हुने थियो भन्ने तपाईँलाई लागेको त्यस्तो केही छ ? 

मैले नेपालमा काम गरेको पाँच वर्ष भयो, त्यसैले गर्दा मैले नेपालको प्रणालीले कसरी काम गर्छ भन्नेबारेमा केही हदसम्म जानकारी हासिल गरेको छु । मैले भन्नुपर्दा सरकारले जुन लकडाउन कार्यान्वयन गर्न लकडाउन लागू गर्न एकदमै छिटो गर्‍याे आंशिक रुपमा त्यो एउटा कारण हो, जसले गर्दा अहिले सामुदायिकस्तरमा सङ्क्रमण कम देखिएको छ । 

सरकारले गरेको अर्को राम्रो काम भनेको परीक्षण गर्ने क्षमतालाई निकै छिटो बढायो । त्यसले गर्दा अहिले समुदायस्तरमै त्यति धेरै सङ्क्रमण फैलिराखेको छैन र अहिले परीक्षणको सङ्ख्या पनि प्रत्येक दिन बढिराखेको छ । अर्को कुरा भनेको सरकारले यो लकडाउनको समय अवधिलाई चाहिँ आफूलाई अझ राम्रोसँग तयार गर्नको लागि प्रयोग गरेको छ । 

हाम्रो सामान्य अवस्थामै पनि हामीले भनेजस्तो स्वास्थ्य सेवा दिनलाई अलिकति सीमितताहरु हुन्छन् किनभने कतिपय अवस्थामा सामग्रीहरु हुँदैनन् । कतिपय अवस्थामा मानव जनशक्तिहरु हुँदैनन् । यसले गर्दा हामीले निम्न आय भएको नेपालजस्तो देशको प्रतिक्रिया र उच्च आय भएको देशको प्रतिक्रियासँग अलि दाज्न नमिल्ने हुन्छ । त्यसैगरी अब आउने दिनहरुमा केसहरु एकदमै धेरै नै बढ्ने क्रममा छ । त्यसको लागि सरकारले तयारी राम्रै गरेको देखेको छु । विशेषगरी परीक्षणहरुको सङ्ख्या बढाउनको लागि आगामी महिनाहरुमा पनि सरकारले अझ धेरै तयारी गर्छ भन्ने लागेको छ ।  

अन्तिम अपडेट: असार २८, २०७७

तपाईको प्रतिक्रिया