सुरु भयो बाढी पहिरोको जोखिम : पालिकादेखि केन्द्रसम्म तयारी के छ ?

 असार १२, २०७७ शुक्रबार १२:३६:५९ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डाै - मनसुन सुरु भएसँगै बाढी पहिरोको जोखिम बढेको छ । तराईमा बाढी र डुबान, पहाड तथा हिमालमा पहिरो लगायतका जोखिमका कारण बर्सेनि ठूलो जनधनको नोक्सानी हुने गरेको छ । मनसुनी प्रकोपका कारण मानिसको ज्यान जानेदेखि घाइते हुने, घर खेत बगाएर बिस्थापित हुने समस्या देशले बर्सेनि झेल्दै आएको छ । 

यो वर्ष पनि ठाउँठाउँमा बाढी र पहिरोको समस्या देखिन थालिसकेको छ । बर्सेनि निम्तिने प्राकृतिक विपत्तिमा सरकारको बेलैमा ध्यान जान नसकेकोले जनधनको क्षति हुने गरेको छ । तर सरकारले भने सधैं आफ्ना सबै निकायहरु तयारीमै रहेका बताउने गरेको छ । यसवर्ष पनि पालिकादेखि केन्द्रसम्मका विभिन्न निकायहरुले विपद् व्यवस्थापनको तयारी थालिसकेको बताएका छन् । 

बाढीका हिसाबले अत्यन्तै प्रभावित मानिएको सप्तरीमा रोकथाम तथा नियन्त्रणको लागि तयारी सुरु भइसकेको सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिनुभयो । विपद व्यवस्थापन कार्यविधि पारित गरेर विपद व्यवस्थापन समितिका व्यक्तिहरुलाई तयारी अवस्थामा रहनका लागि निर्देशन दिइसकेको उहाँले बताउनुभयो । विभिन्न एनीओ, आएनीओ र रेडक्रस लगायतका संघसंस्थासँग पनि कसले, कस्तो तयारी गर्ने भनेर छलफल भइसकेको उहाँले जानकारी दिनुभयो ।  

घिमिरेकाअनुसार मनसुनजन्य विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्नेबारे पनि छलफल भैसकेको छ ।  खोज तथा उद्धार कार्यहरुमा सहयोग पुग्ने खालका कार्यक्रमहरु तीब्र रुपमा सञ्चालन गर्न आवश्यक तयारी भैसकेको उहाँले बताउनुभयो ।  खोज तथा उद्धार कार्यमा प्रयोग हुनसक्ने डोजर, एक्साभेटर जस्ता हेभी इक्विपमेन्ट र अन्य उपकरण औजार तयारी अवस्थामा राखिएको छ ।  

 नदी तथा खोलाको जोखिमयुक्त ठाउँ पहिचान गर्ने काम पनि सुरु भएको उहाँले बताउनुभयो । सप्तरीमा हरेक वर्ष बाढीका कारण जनधनको नोक्सानी हुने गरेको छ । 

यस्तै नदी कटान जस्ता समस्यामा आवश्यक हुने प्लाष्टिकको बोरा, ग्याबियन जाली लगायतका सामान पनि तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो ।  नदी तथा खोलाको जोखिमयुक्त ठाउँ पहिचान गर्ने काम पनि सुरु भएको उहाँले बताउनुभयो । सप्तरीमा हरेक वर्ष बाढीका कारण जनधनको नोक्सानी हुने गरेको छ । 

पहिरोको जोखिम रहने रसुवामा पनि पूर्वतयारी थालिएको छ । मनसुनजन्य विपद्का सम्बन्धमा नियमित जस्तै बैठक बसेर पूर्वतयारीहरु भइरहेको रसुवाको सहायक प्रमुख जिल्ला अधिकारी सपना कुमारी भट्टराईले जानकारी दिनुभयो । जाखिमयुक्त ठाउँको पहिचान गरेर सुरक्षाकर्मी तैनाथ गर्ने काम भइरहेको उहाँले बताउनुभयो । इन्धनको जोहो, लगायतका काम पनि भइरहेको छ । 

यो वर्ष छिट्टै नै मनसुन सक्रिय भएकाले पासाङल्हामु राजमार्ग, गल्छी–त्रिशुली–बेत्रावती, मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक खण्डका विभिन्न ठाउँमा नदी कटानका कारण सडक अवरुद्ध हुन थालिसकेका छन् । भोटेकोशी, त्रिशूली लगायतका नदी तथा खोलाहरुमा जलप्रवाह बढ्न गई आसपासका बस्तीहरुमा जोखिम बढेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरिसकेको छ । कुनै पनि प्राकृतिक प्रकोपजन्य घटना भएमा पालिका, सुरक्षा निकाय र जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा जानकारी गराउन अनुरोध गरिएको पनि भट्टराईले बताउनुभयो । 

यस्तै मनसुनको समयमा सम्भावित विपद्बाट हुने क्षतिलाई न्यूनीकरण गर्नका लागि सरकारी, गैरसरकारी, संघसँस्था, पालिका, जलविद्युत आयोजनाहरु, राजनीतिक दलहरु, नागरिक समाज, सञ्चारमाध्यम, तथा पत्रकार सबैलाई समन्वयात्मक रुपमा परिचालित हुन अपिल गरिएको छ ।  

यस्तै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले पनि मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी थालिएको बताएको छ । कार्यालयका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले कोरोना भाइरस नियन्त्रणका लागि हुनसक्ने प्रयासका साथै मनसुनजन्य विपद् ब्यवस्थापनका लागि आवश्यक कदम थालेको जानकारी दिनुभएको हो ।

उहाँले पहिरोको सम्भावित जोखिम क्षेत्रहरु पत्ता लगाएर त्यही अनुसारको काम सुरु गरिएको जानकारी दिनुभयो । यस्तै पालिकाहरुलाई कुन ठाउँमा कस्तो खालको सम्भावित जोखिम हुन सक्छ र सम्भवित जोखिमयुक्त बस्तीलाई स्थानान्तरण गर्नुपरेमा कसरी गर्ने, कहाँ लैजाने लगायतको तयारी थालिएको बताउनुभयो ।

राष्ट्रिय विपद् ब्यवस्थापन प्राधिकरणका सूचना अधिकारी जनार्दन गौतम केन्द्रबाट पनि देशभर नै बिपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहनका लागि निर्देशन दिइसकेको बताउनुहुन्छ ।

अरु ठाउँमा जस्तै सुरक्षाकर्मीको पनि परिचालन गरिएको उहाँको भनाई छ । कोरोना भाइरसका कारण खुलाठाउँलाई क्वरेण्टीन बनाइएकोले आवश्यक परेमा उद्धार र स्थानान्तरण गरेर कहाँ, कसरी राख्ने भन्ने पनि समन्वय भएको जानकारी दिनुभयो ।  

राष्ट्रिय विपद् ब्यवस्थापन प्राधिकरणका सूचना अधिकारी जनार्दन गौतम केन्द्रबाट पनि देशभर नै बिपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहनका लागि निर्देशन दिइसकेको बताउनुहुन्छ । खोज तथा उद्धारका लागि सुरक्षाकर्मी, आवश्यक उपकरण, लगायत तयारी अवस्थामा राख्न निर्देशन दिइसकेको उहाँले बताउनुभयो ।

अहिले भएका खुला ठाउँहरुलाई क्वरेण्टीन बनाइएको र बाँकी भएका खुला ठाउँमा पनि गएका वर्षहरुमा जस्तो एकैठाउँमा धेरै जना राख्न नमिल्ने भएकाले आवश्यक कदम चाल्नका लागि निर्देशन दिइसकेको उहाँले बताउनुभयो  । देशका कुनकुन  ठाउँ जोखिमपूर्ण छन् भन्ने  पत्ता लगाएर तयारी गरिएको उहाँको भनाई छ ।  अहिले केन्द्रको ध्यान कोरोना नियन्त्रणतर्फ केन्द्रित भएकाले पनि महत्वपूर्ण भूमिका भनेको पालिकाहरुको हुने उहाँ बताउनुहुन्छ ।  

गएको वर्ष बाढी र पहिरोको कारण १ सय ५६ जनाले ज्यान गुमाए 

२०७६ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्ममा नेपालमा बाढी र पहिरोमा परेर १ सय ५६ जनाको ज्यान गएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीले बताउनुभयो । पहिरोमा मात्रै  ३४ जना पुरुष र ४९ जना महिला गरी ८३ जनाको ज्यान गएको छ । ११ जना हराइरहेका छन् ।  ११ सय ३२ वटा घर पूर्ण रुपमा क्षति भएको छ भने १५ सय ८७ घर आंशिक रुपमा क्षति भएको वस्तीले बताउनुभयो ।

७६ परिवार विस्थापित भएका छन् । ४० करोड १४ लाख ८६ हजार रुपैयाँको नोक्सानी भएको छ । यस्तै बाढीका कारण ५८ जना पुरुष र १५ जना महिला गरी ७३ जनाको ज्यान गएको उहाँको भनाइ छ । २७ जना हराइरहेका छन् । २ सय ४१ परिवार विस्थापित भएका छन् । १९ सय ७ घर आंशिक रुपमा क्षति भएका छन् भने ४ सय ५२ घर पूर्ण रुपमा क्षति भएका छन् । २१ जना घाइते भएका छन् । १ अर्ब ६ करोड ३४ लाख बाढीका कारण नोक्सानी भएको छ ।

बाढीका कारण ९ जिल्लामा मात्र  ५७ जनाको मृत्यु 

गएको वर्षको साउन ११ गतेसम्म तराईका बिभिन्न ९ जिल्लामा बाढी  तथा डुबानबाट ५७ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयबाट अनुगमनका लागि पठाइएका समूहको स्थलगत रिपोर्टका अनुसार  रौतहटमा सबैभन्दा धेरै १६ जनाको ज्यान गएको थियो । बारामा २, पर्सामा ३, सर्लाहीमा ३, महोत्तरीमा ३, धनुषामा ९, सिरहामा ८, सप्तरीमा ४, सुनसरीमा २ र मोरङमा ४ जनाको जनाको ज्यान गएको थियो ।

यस्तै बेपत्ता हुनेमा पर्सामा २, रौतहतमा २, सर्लाहीमा १, धनुषामा ७, सप्तरीमा १, सुनसरीमा १ र मोरङमा ३ जना रहेका छन् । पर्सामा १, रौतहटमा ५, सर्लाहीमा १, महोत्तरीमा २, सिरहामा २, सप्तरीमा ३, सुनसरीमा २ र मोरङमा ३ जना घाइते भएका थिए  । यस्तै बारामा १६ सय ६५ परिवार, पर्सामा ९ सय ९१, रौतहतमा ११ सय १०, महोत्तरीमा ५ हजार ८ सय ४७, सुनसरीमा ३ सय ४८ र मोरङमा १५ सय ३९ परिवार विस्थापित भएका थिए ।

संयुक्त राष्टसंघीय विकास कार्यक्रम र संकट निवारण तथा पुनर्लाभ ब्यूरोका अनुसार बाढी र पहिरो जोखिमको हिसाबले विश्वमा नेपाल ३० औँ स्थानमा छ । तर सबैखाले विपदबाट हुने जनधनको क्षतिमा बाढी पहिरोको हिस्सा झण्डै आधा छ ।

अघिल्लो वर्ष बारामा  १ सय २८ घर पूर्ण रुपमा क्षति भएको थियो भने ४ सय ४१ घर आंशिक रुपमा क्षति भएको थियो । सर्लाहीमा २ हजार ४ सय घर पूर्ण रुपमा क्षति भएको थियो ।

महोत्तरीमा ४ हजार ५ सय ६२ घर पूर्ण रुपमा क्षति र ७ हजार ९ सय ६३ घर आंशिक रुपमा क्षति भएको थियो । धनुषामा २ हजार ९ सय ४५ घर पूर्ण रुपमा र ८ हजार ४ सय ९० घर आंशिक रुपमा क्षति भएको थियो ।

यस्तै सिराहामा ५ हजार ३ सय २६ घर पूर्ण रुपमा र १० हजार १ सय ८९ घर आंशिक रुपमा क्षति भएको थियो । सप्तरीमा भने ५ हजार ३ सय २६ घर पूर्ण रुपमा क्षति भएका थिए ।  

संयुक्त राष्टसंघीय विकास कार्यक्रम र संकट निवारण तथा पुनर्लाभ ब्यूरोका अनुसार बाढी र पहिरो जोखिमको हिसाबले विश्वमा नेपाल ३० औँ स्थानमा छ । तर सबैखाले विपदबाट हुने जनधनको क्षतिमा बाढी पहिरोको हिस्सा झण्डै आधा छ ।

प्रमुख विपदका रुपमा देखिएको बाढी पहिरो निम्तिनुमा कमजोर भौगर्भिक अवस्था, विषम भूबनोट, मौसमी विषमता, नदी, प्रकृतिभन्दा पनि मानव सिर्जित कारण प्रमुख भएको भूगर्भविद् लिलानाथ रिमालले बताउनुभयो । 

सरकारको तयारी पर्याप्त छ वा छैन त्यो त भविष्यमा विपद ब्यवस्थापनमा देखिने प्रभावकारिताले देखाउला, तर हरेक वर्ष विपद्का कारण हुने जनधनको क्षति कम होस् भन्नेतर्फ सबैको ध्यान जानु आवश्यक देखिन्छ ।  विपदको क्षति न्यूनीकरण गर्न पूर्वतयारी तथा विपदपछिको व्यवस्थापनका लागि पनि सरकार, नीजि क्षेत्र, नागरिक समाज लगायत हरेक व्यक्तिको महत्वपूर्ण भूमिका रहन्छ । 

अन्तिम अपडेट: असार १४, २०७७

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया