बस्तीमा चितुवा देख्दा नआत्तिऔँ, खबर गरौँ

 असार १६, २०७७ मंगलबार १०:११:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चितुवा बाघजस्तो निश्चित क्षेत्रफल ओगटेर बस्ने जनावर होइन । निश्चित ठाउँमा नबसेर लामो दूरीमा घुमफिर गर्ने भएकाले चितुवा आहारको लागि एउटा जंगलबाट अर्को जंगल वा एउटा बासस्थानबाट अर्को बासस्थानमा जाने गर्छन् । 

अहिले उब्जनीजन्य भूमि अथवा समथर भूभाग सबै अतिक्रमित भइसकेको छ । यसकारण चितुवा मानव बस्तीमा जाने गर्छन् । आफ्नो बाटोमा ओहोरदोहोर गर्दा बीचमा मानव बस्ती पनि पर्ने हुन्छ । मानवीय गतिविधि र विभिन्न विकास निर्माणका कामहरुले गर्दा चितुवाको लागि जुन आहारजन्य वन्यजन्तुहरु हुन्, ती पर्याप्त रुपमा नपाउँदा चितुवा आफ्नो आहाराको खोजीमा नयाँ ठाउँहरुमा जाने गरेका हुन् ।

गाउँघरतिर चितुवालाई पनि बाघ भन्ने गरिन्छ । हुन् त बाघ र चितुवा बिरालो परिवार अन्तर्गतकै जनावर हुन् । बाघ नितान्त रुपमा आफ्नो निश्चित इलाका (टेरिटोरी) कायम गरेर बस्छ ।  बाघ एउटा इलाकाबाट कहिल्यै पनि अर्काको इलाका पार गरेर जाँदैन ।

चितुवा खासगरी मध्यपाडी क्षेत्रमा बस्छन् । उनीहरु लामो दूरीमा घुमफिर गर्न रुचाउँछन् । यिनीहरु आफ्नो निश्चित इलाका तोकेर बस्दैनन् । बाघ एकदमै घना जंगल, घाँसे मैदान, जहाँ जंगली जनावर प्रशस्त मात्रामा छन्  त्यस्तो ठाउँमा बस्न रुचाउँछ ।

नेपालमा यस्ता ११८ वटा ठाउँहरु छन्, जुन बाघको लागि उपयुक्त पर्यावरण मानिन्छ । यसमध्ये ८० वटा ठाउँलाई राष्ट्र्यि निकुञ्जभित्र  पहिचान गरेका छौं । तीमध्ये पनि तराईका निकुञ्जहरु पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा बाघको लागि राम्रो बासस्थान भएका ठाउँ हुन् । 

बाघ आकारमा ठूला हुन्छन्, स्वभाव पनि फरक हुन्छ । तर चितुवा फरक खालको हुन्छ । यिनीहरु मध्यपहाडमा बस्छन् । बाघहरु सेतो र कालो पाटा भएको हुन्छ । चितुवा काला धब्बा भएको हुन्छ । यसको शरीर एकदमै लचिलो, पातलो (स्लीम) हुन्छ । यो अलि सानो प्रकारको जनावर हो । बाघ तराईमा मात्र बस्छ । तर कहिलेकाहीँ मौसम अनुकूलनको लागि महाभारत पर्वतसम्म पनि पुगेको पाइन्छ ।

आम मानिसमा जनावर भन्नेबित्तिकै आक्रमण गर्ने प्रवृत्ति हुन्छ । चाहे त्यो भ्यागुता होस् या कीरा फट्याङ्ग्रा या त बाघ नै देख्नेबित्तिकै जिस्काउने, आक्रमण गर्ने, मार्नेसम्मका गलत काम हुने गरेको छ । बाघलाई देख्यो भने यो हिंस्रक हो भन्ने, त्यसलाई मार्नुपर्छ भन्ने आमधारणा छ । तर त्यो एकदमै गलत कुरा हो ।

चितुवा बस्तीमा आयो भने ढुंगामुढा प्रहार नगरेर जिम्मेवार निकायमा खबर गर्नुपर्छ । प्रहरी कार्यालय, वन विभाग, राष्ट्र्यि निकुञ्ज विभाग होस् या भूसंरक्षण विभागमा खबर गर्न सकिन्छ । अथवा कुनै पनि सरकारी निकायलाई खबर गर्नेबित्तिकै जिम्मेवार निकाय को हो भन्ने थाहा भैहाल्छ ।

यदि उपत्यकाभित्र कतै चितुवा बस्तीभित्र पस्यो भने खबर पाएको आधा घण्टाभित्र हामी पुग्न सक्छौं । त्यसलाई नियन्त्रण गरेर सुरक्षित बासस्थानमा पुर्‍याइदिन्छौं । तर यदि त्यो घाइते तथा बिरामी छ भने त्यसलाई चिडियाघरमा ल्याएर उपचार गर्छौं ।

आम मानिसले जनावर देख्नेबित्तिकै केही गर्ने होइन भने उ आफैं आफ्नो बाटो लागिहाल्छ । मानिसले केही नगर्ने हो भने चितुवाले पनि केही गर्दैन । कुनै ठाउँमा लुकेर बस्छ । लुकेर बस्दैमा त्यसले आक्रमण गरिहाल्छ भन्ने होइन । 

बर्दिया, चितवन लगायतका राष्ट्र्यि निकुञ्जमा सयौं बाघ छन् । यदि बाघको, चितुवाको आहारा मान्छे हुन्थ्यो भने त उनीहरु बाहिर निस्किएर मान्छेलाई खान्थे होला नि । तर त्यस्तो गर्दैनन् । गाडी हिँडिरहेका हुन्छन्, हात्तीले बाटो काटिरहेका हुन्छन् । तर हामी हाहाहुहु गर्छौं, हर्न बजाउँछौं र हात्तीलाई जिस्काइदिन्छौं । त्यसो गर्यो भने हात्तीले आक्रमण गर्छ ।

केही दिन पहिले पर्वतमा प्रहरीले एउटा चितुवालाई डोरीले बाँधेर डोर्याउँदै बजारमा हिँडाएको दृश्य निकै चर्चामा आएको थियो । तर त्यसो गर्नु उचित होइन । जनावरलाई खेलौना जस्तो बनाउनु हुँदैन । 

त्यो चितुवा बिरामी थियो र त्यसले कसैलाई पनि आक्रमण नगरेको भन्ने छ । डोर्याउने मान्छेसँग अरु साधन नभएर डोर्याएर ल्याएको भन्ने छ । तर त्यसरी डोहोर्याउनु हुँदैन । सावधानीपूर्वक त्यसलाई खोरमा राखेर गाडीमा हालेर सुरक्षित तरिकाले ल्याउनुपर्थ्याे ।

प्रकृति हाम्रो जीवनको अभिन्न अंग हो । प्रकृति भएन भने हाम्रो जीवन असम्भव छ । त्यसले हामीले प्रकृतिलाई जोगाउनुपर्छ । खोलानाला, झाडी बुट्यान मास्नु हुँदैन । कुनै जनावर आएको खण्डमा आफैंले कब्जामा ल्याउन सकिन्छ भने त्यसलाई सुरक्षित तरिकाले कब्जामा लगेर राख्नुहोस् र सम्बन्धित निकायलाई खबर गर्नुहोस् ।

जंगली जनावरले खेतीपाती अथवा बालीनालीमा क्षति पुर्‍यायो भने क्षतिपूर्ति दिने व्यवस्था छ । त्यस्तो अवस्थामा कहाँ कति नोक्सान गर्यो भनेर सम्बन्धित निकायका कर्मचारी, अथवा पालिकाका प्रतिनिधिहरुको रोहबरमा मुचुल्का बनाएर कागजपत्रसहित सम्बन्धित निकायमा पेश गर्नुपर्ने हुन्छ ।

त्यो पेश गरेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भू संरक्षण विभाग र अन्तर्गतका निकायहरु डिभिजन वन कार्यालय, वन्यजन्तु आरक्ष कार्यालयहरु, संरक्षण क्षेत्र कार्यालयहरुबाट राहत प्राप्त गर्न सकिन्छ । 

(राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक कँडेलसँगकाे कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: असार १६, २०७७

तपाईको प्रतिक्रिया