ब्रोकर लाइसेन्स दिने सम्बन्धमा नियामक निकायलाई नै जिम्मेवारी दिने अर्थ समितिकाे निर्णय

 असार २६, २०७७ शुक्रबार २२:११:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने सम्बन्धमा नियामक निकायलाई नै जिम्मेवारी दिने संसद्काे अर्थ समितिले निर्णय गरेको छ । 

सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको शुक्रबारको बैठकले सांसद रामकुमारी झाँक्री संयोजक रहेको उपसमितिले दिएको प्रतिवेदनलाई पारित गर्दै बैंकलाई लाइसेन्स दिने निर्णय गर्ने जिम्मा नियामक निकायलाई नै दिएको छ । 

उपसमितिको प्रतिवेदनमा केही विषयमा संशोधनसहित प्रतिवेदन पारित गरेको हो । अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले अहिले सञ्चालनमा रहेका ब्रोकर कम्पनीले गरेको व्यवसायभन्दा राम्रो गरी सेवा दिन सक्छन् भने अहिले नै बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिँदा समितिलाई कुनै समस्या नहुने बताउनुभयो । 

उहाँले प्रतिवेदनमा उठेका प्रश्नहरुको जवाफ नियामक निकायले दिने गरी बैंकका सहायक कम्पनीलाई लाइसेन्स दिनेसम्बन्धमा निर्णय गर्न सक्ने बताउनुभयो । समितिले पारित गरेको उपसमितिको प्रस्तावमा प्राकृतिक स्रोतसम्बन्धी काम गर्ने कम्पनीहरुको शेयर सर्वसाधारणमा जारी गर्नुपर्ने व्यवस्थालाई कायम राखेको छ । 

समिति सभापति दाहालले सानो कम्पनी भए पनि नेप्सेमा सूचीकृत गर्न सक्ने अवस्था नहुँदासमेत पब्लिक लिमिटेड कम्पनीमा दर्ता हुनुपर्ने व्यवस्था गरिएको बताउनुभयो ।​ धितोपत्र बजारमा वास्तविक क्षेत्रको हिस्सा बढाउनका लागि ५० करोड रुपैयाँ कर्जा लिने कुनै पनि निजी कम्पनी पब्लिक लिमिटेडमा दर्ता भइ सर्वसाधारणमा शेयर जारी गर्नुपर्ने व्यवस्थालाई भने परिमार्जन गरी एक अर्बसम्मको कारोबार हुने कम्पनीहरु अनिवार्य पब्लिक लिमिटेडमा दर्ता भइ नेप्सेमा सूचीकृत हुनुपर्ने निर्णय अर्थ समितिले गरेको छ ।

समितिले पारित गरेको प्रतिवेदनमा उल्लेख भएका ११ प्रश्नको सम्बोधन भएपछि मात्र बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनुपर्ने उल्लेख गरिएको छ । बैठकमा सांसदहरुले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने उल्लेख भए पनि शर्तहरु पूरा भएपछि मात्र दिन सकिने व्यवस्था भएकाले कहिलेसम्म प्रश्नको जवाफ दिने र लाइसेन्स दिने भन्ने विषय उल्लेख गर्नुपर्ने बताए । 

अन्तिम अपडेट: असार २७, २०७७

तपाईको प्रतिक्रिया