भुटानमा जेल जीवन बिताइरहेका छाेरालाई क्यानडाबाट आमाकाे पत्र

 असार २८, २०७७ आइतबार १४:५४:१२ | राममाया गाैतम
unn.prixa.net

प्यारो  छोरा,

आज धेरै वर्षपछि अनायासै तिम्रो यादले साह्रै सतायो र यो सानो पत्र कोर्दैछु । तिम्रो अनुहार नदेखेको पनि वर्षाैँ बितिसकेछ । तिमी कहाँ, हामी कहाँ सात समुद्रपारि । छोरा, परिबन्दले हामीलाई टाढा बनाएको छ । 

जीवनको यथार्थ एउटी आमाले सहेको प्रसव पीडा, जीवन र मरणको दोसाँधबाट तिमीलाई यस धर्तीमा पाइला टेकाउन सफल भएको दिन, ती प्रसवका पीडालाई भुलेर एउटी भाग्यमानी आमाको रूपमा आफूलाई उभ्याएको थिएँ । म त्यही आमा हुँ, जो तिमी रूँदा तिम्रो आँशु रोक्न बाढीको भेलसँग जुधेझैँ जुधिरहने, तिमीलाई भोक लाग्यो होला भनेर आफ्नो स्तन चुसाउने, जाडोयाममा न्यानो बनाउने, सानो बिमारीको लक्षण देखा पर्दा आत्तिएर धामी/झाँक्रीदेखि चिकित्सकसम्म देखाउने । डरले तिम्रा पाइला डगमगाउँदा हिम्मत दिने, तिम्रो ओठमा हाँसो ल्याउन एउटी आमाको कर्तव्य पूरा गर्दै मेरो छोरा भनेर सबैको सामु गर्वका साथ भन्ने तिम्रो आमा हुँ । 

शरणार्थी शिविरकाे अनिश्चितकालीन भविष्य र कहालीलाग्दो जीवन व्यतीत गर्दै भए पनि तिमीलाई आफ्नो आधा पेट काट्दै, खुवाउँदै, हुर्कायौँ, बढायौँ ।

एउटा मालीले आफ्नो फूल, बगैँचा जसरी रेखदेख गर्छ, त्यसरी नै हामी बाआमाले पनि तिमीलाई एक विद्वान मान्छे बनाउने र बुढेसकालको सहारा बनाउने सपनाबाहेक केही देखेका थिएनौँ । मेरो छोरा, कैयौँ पटक हामी तिम्रो चाहनाको लागि असफल र असामर्थ्य भयौँ होला । तिमीलाई तातेताते गर्न सिकाउने तिम्रो बाबाले तिम्रै खुसीकाे लागि कति परिश्रम गर्दथे, कति पसिना बगाउँथे । लाग्थ्यो हाम्रै लागि  दुःख गर्न जन्मेका रहेछन् । त्यसैलै होला आज पनि त्यहाँका खोला, नाला, पाखा, पर्वत, धर्ती, पशु–प्राणी सबै सपनामा दर्शन दिन छोडेका छैनन् भन्नुहुन्छ तिम्रा बाबा (भगीरथ गाैतम) । अब त उहाँ पनि वृद्ध भइसक्नु भयो । 

२० औँ वर्ष शरणार्थी क्याम्पमा विषम परिस्थति झेल्दै बसेकाे अवस्थामा पनि तिम्रो कलिलो मनमस्तिष्कमा एउटैमात्र प्रश्न उठ्ने गर्थ्यो कि हाम्रो देश कुन हो ? हामी यहाँ किन बस्दैछौँ, हाम्रो भविष्य कहाँ छ र हामी आफ्नो देश कहिले फिर्दैछौ ? भन्ने प्रश्न हामी आमाबाबालाई सोधी रहन्थ्यौ ।

सायद तिमीलाई आफ्नो देशप्रतिको माया ममताकै कारणले आफ्नो देश हेर्न जाँदा आफ्नै पैत्रिक भूमिमा अपराधी ठहरियौ र आज भूटानको केन्द्रीय जेल चेमगाङ्गमा १५ वर्षदेखि एक अपराधी बन्दीको रुपमा अनिश्चित भविष्य लिइ बसिरहेका छौँ । पाँच सन्तानमध्ये कान्छाे छाेरा तिमी ४० वर्षकाे भइसकेका छाै । हामीबाट यत्तिका वर्ष टाढा भएकोले गर्दा घरमा मिठोमसिनो पाक्दा तिम्राे याद आउँछ । चाडबाड आउँदा र हामी बिरामी हुँदातिम्रो याद आउँछ । सायद तिम्रो यादले हुन सक्छ कहिल्यै याे बुढेसकालमा हामी आमाबाबालाई सञ्चाे र सुविधा भएको छैन । प्रत्येक दिन डिप्रेसन र उच्त रक्तचापको औषधि खानु परेको छ । 

अहिले हामी सपरिवार क्यानडा भन्ने देशमा पुनर्वास भएका छौँ । हामी बाबाआमा पनि दिनानुदिन वृद्ध हुँदै गएका छाैँ । रोग र शोकले गर्दा हामी दिनदिनै जीर्ण हुँदैछौँ ।हामी तिमीलाई भेटने आशा साँच्दै, आफ्नो व्यथालाई हल्का बनाउँदै, मन शान्त पार्दैछौँ । 

अन्तमा यही पत्रमार्फत भुटानका महाराजधिराजसँग विनम्रतापूर्वक बिन्ती चढाउन चाहन्छु कि अब त भुटानमा पनि प्रजातान्त्रिक व्यवस्था आइसकेको हुँदा मेरो काखको छोरोजस्तै कैयन छोराहरुलाईसमेत सबैलाई एक निरीह, अन्जान, अनपढ मान्छे ठानी आममाफी दिइ जेलमुक्त गरी दिन हुन विनम्र बिन्ती गर्दछु । जसले मजस्ता कैयन आमाहरु आफ्नो प्यारो छोराहरु, आफ्नो प्राणभन्दा प्यारो श्रीमान् र आफ्नो परिवारको सदस्यकाे प्रतिक्षामा बस्नु हुने सबैकाे हृदयले गदगद हुँदै हजुरको जयजय गाउने थिए । साथै संसारका सबै मानव अधिकारकर्मीहरूमा पनि हाम्रा छोराहरुको रिहाइकाे लागि सहयोगको अपेक्षा गरेकी छु । 

मेरो जिन्दगीकाे अन्तिम क्षणमा तिमीलाई हेरेर मर्न चाहन्छु ,म तिम्रो साथमा अन्तिम पल बिताउन चाहन्छु । फर्केर आऊ छोरा । म तिम्रो बाटो कुरेर बसेको छु ।

उही तिम्राे अभागी आमा राममाया गाैतम, क्यानडा 

अन्तिम अपडेट: साउन २७, २०७७

राममाया गाैतम

गाैतम अहिले क्यानडामा बसाेबास गर्दै आइरहनु भएकाे छ । 

2 Comments

  • Balram bhattarayacharja

    July 13, 2020, 2:46 p.m.

    Please work Wol it’s red cross of Canada and Amnesty international from Canada to reunite with your son. It is your rights to go to bhutan yo reunite with famly so please work with RedCross&Amnesty, thanks

  •  0 Reply
  • Gokarna raj bhattari

    July 12, 2020, 5:14 p.m.

    सारै नै मर्मस्पर्शी र यथार्थ अनि हृदयबिदारक छिटो आमा छोरा को मिलन होस् जय पशुपति नाथ

  •  0 Reply

तपाईको प्रतिक्रिया